MENU

समाज/जीवनशैली

635x90

'प्रधानमन्त्रीसँग अन्तर्वार्ता गर्दैमा ठूलो पत्रकार भइन्न'

किरण दहाल शुक्रवार, कार्तिक १७, २०७४

कुन्द दीक्षित आठ वर्षको उमेरमै सम्पादक बने । झट्ट सुन्दा पत्यार नै लाग्दैन । त्यतिवेला कपीको पानामा हातैले लेखेर पत्रिका निकालिन्थ्यो । पाटनस्थित श्रीदरबारबाट निस्कने उक्त पत्रिकाको नाम थियो, ‘श्री दरबार समाचार’ । पत्रिकाको ‘सर्कुलेसन’ दीक्षित परिवारभित्रै सीमित थियो । छिमेकीहरूको गतिविधि, वरिपरि हुने कार्यक्रमहरू, परिवारभित्रै घट्ने घटनाहरू समाचारको रूपमा आउँथे । पत्रिकाको उप–सम्पादक भाइ र संवाददाता बहिनी थिए । उनी बाल्यकाल सम्झन्छन्, ‘त्यतिवेला हामीले ‘गाई ब्यायो’, कार्यक्रम सम्पन्न भयो जस्ता कुराहरु कार्बन पेपरमार्फत छापेर बाँड्थ्यौँ । त्यो एक किसिमले केटोकेटी खेलेजस्तै थियो ।’ गुच्चा खेल्ने, चंगा उडाउने, घरघर खेल्ने उमेरमा उनीहरू पत्रिका निकाल्थे ।

दीक्षित स्कुलबाटै निस्कने पत्रिका र भारतमा कलेजमा पढ्दाताका सम्पादक बने । बाबु, बराजुदेखि नै आफूहरू लेखक भएको उनको जिकिर छ । ‘मेरा बराजुहरूले राणाकालीन डायरीहरूलाई समेटेर किताब लेखे । मेरी हजुरआमा कवयित्री थिइन्,’ उनी सुनाउँछन् ।

कुन्द दीक्षित, दीपक ज्ञवाली, चट्याङमास्टर मिलेर सन् १९८० तिर ‘शक्ति’ नामको पत्रिका निकाले । यसमा ऊर्जासम्बन्धी लेखनलाई प्राथमिकता दिइन्थ्यो । नेपाललाई आवश्यक पर्ने ऊर्जाका विषयमा लेख्थे, दीक्षित । ‘बायो ग्यास न्युज लेटर’मा पनि नियमित लेखे । विज्ञान विषयको विद्यार्थी भए पनि पत्रकारितातिर रस बस्न थालेको थियो । विस्तारै उनी मूलधारको पत्रिकामा देखिन थाले । ‘द राइजिङ नेपाल’मा वातावरण र विकासबारे लेख्थे । सन् १९८२ मा कलकत्ताबाट प्रकाशित हुने ‘टेलिग्राफ’ पत्रिकाको नेपाल संवाददाता पनि भए । कुन्दको पत्रकारिता यात्राको शुरुवाती चरणहरू हुन्, यी । यतिवेलासम्म आइपुग्दा पत्रकार बन्ने कुरामा ढुक्क थिए, उनी । त्यसको केही समयपछि पत्रकारिताको डिग्री लिन अमेरिका पुगे ।

kunda

विकास र वातावरणका सन्दर्भमा नियमित लेखिरहने दीक्षित राइजिङ नेपालमा शुक्रबारीय परिशिष्टांक हेर्थे । जतिवेला विकासलाई ‘बिट’ बनाएर लेख्ने चलनै थिएन । मान्छेहरू अचम्म मान्थे । समाचार भनेकै राजनीतिक दलहरूको झगडा भन्ने ठानिन्थ्यो । पत्रिकाको पृष्ठ पल्टाउँदा नेताका अनुहार र तिनको झगडा मात्रै देखिन्थ्यो । उनलाई चाहीँ राजनीतिक विषयका समाचार पटक्कै मन नपर्ने ।

दीक्षित अंग्रेजी विषयमा राम्रो दक्खल राख्थे । अंग्रेजीमै लेख्ने हुनाले विदेशबाट आएका पत्रकारहरूले पनि चिन्थे उनलाई । अमेरिका गएपछि उनले बीबीसीको संवाददाताका रूपमा संयुक्त राष्ट्रसंघको कार्यालयको रिपोर्टिङ गर्नुपथ्र्याे । त्यहाँको सेक्युरिटी एसेम्ब्ली, जेनेरल एसेम्ब्लीबारे रेडियोका लागि रिपोर्टिङ गरे । त्यहाँ बस्दा अन्तर्राष्ट्रिय सम्बन्धबारे पनि बुझ्ने अवसर पाए । सन् १९८४ देखि १९८६ सम्म बीबीसीमा रहँदा पत्रकारितामा निक्खार ल्याउने थलो बन्यो, उनलाई । बीबीसीपछि उनले ‘इन्टरप्रेस सर्भिस’ नामक न्युज एजेन्सीमा काम गरे । जहाँ एसिया प्यासिफिक क्षेत्र प्रमुख थिए । उच्च तहको जागिर छाडेर उनी सन् १९९६ मा नेपाल फर्के ।

बीबीसीमा रहँदा दुई–तीन वटा कुरामा खुबै ध्यान दिनुपथ्र्याे । तथ्यगत गल्ती गर्नै नहुने । नेपाली पत्रकारितामा नामलगायत सानातिना गल्ती हुनुलाई सामान्य मानिन्छ । तर, तीन पटकसम्म गल्ती दोहोरियो भने ‘वार्निङ’ नै हुन्थ्यो । दीक्षित भन्छन्, ‘विश्वसनीय र तथ्यमा आधारित भएर पत्रकारिता गर्न सिकेँ ।’

लामो समयसम्म विकास र वातावरणबारे लेखेका यिनले पछिल्लो समय हरेक समस्यामा राजनीतिसँग जोडिएर आउने कुरालाई उजागर गरे, त्यसलाई सतही अध्ययन गरे । त्यसपछि वातावरण, विकास र राजनीति तीनै कुरालाई जोडेर हेर्न थाले । लेख्न थाले । 

उनले अन्तर्राष्ट्रिय मिडियामा काम गर्दा फिलिपिन्स, श्रीलंकालगायत देशमा भइरहको युद्धको रिपोर्टिङ गरे । जोखिममै पनि सूचना प्रवाह गरिरहे । उनलाई लाग्छ, ‘पत्रकारिता भनेको सिपाहीको काममा जोखिम जोडिएर आएजस्तै हो ।’ युद्ध क्षेत्रमा गोली चलिरहँदा उनले कलम चलाए । ६१ वर्षीया यी सम्पादकले त्यतिवेलाका थुप्रैघटना बिर्सिसके । त्यतिवेला ‘डायरी’ नलेखेर जिन्दगीमा ठूलै गल्ती गरेँको भान हुन्छ, उनलाई । भन्छन्, ‘डायरी हुँदो हो त विगत पल्टाउँदा कति मज्जा आउँथ्यो होला ।’

दीक्षितलाई राजधानीकेन्द्रित पत्रकारिता मन पर्दैन । युद्ध पत्रकारिता पनि उनको रोजाइ हैन, बाध्यता हो । गाउँतिर जाने, जिल्लाका अनकन्टार ठाउँमा पुगेर स्थानीय बासिन्दाको कुरा ल्याउन मन पराउँछन् । विदेशमा रहँदा पनि गाउँ, जंगल धेरै घुमे । राजधानीमा बसेर हाइसञ्चोले गरिने पत्रकारिताले कहिले छोएन । ‘फिसरम्यान’हरूसँग घण्टौंसम्म डुंगामा हिँड्ने, जंगलभित्रका जाति समूहहरूसँग बस्ने र उनीहरूको जीवनशैली बुझेर तिनीहरूबारे लेख्थे ।

छिटो–छिटो ‘प्रेस कन्फरेन्स’ पुगेर त्यसबारे हतार–हतार छाप्नु कुनै पत्रकारिता नै ठान्दैनन्, उनी । भन्छन्, ‘यदि कुनै पत्रकारले प्रधानमन्त्रीको अन्तर्वार्तालाई आधार बनाएर म ठूलो पत्रकार हुँ भन्छ भने मलाई त्यो पत्रकार होजस्तो लाग्दैन ।’ सरकारलाई देशको बारेमा जानकारी दिन भए पनि पत्रकारले दूरदराजबाट जनताको बोली ल्याउनुपर्ने बताउँछन् । यस्ता सूचना ल्याउन सरकारको आफ्नै निकाय भए पनि सरकारी निकायभन्दा पत्रकारको भूमिका ठूलो देख्छन् ।

उनी पत्रकारितालाई ‘पब्लिक सर्भिस’को संज्ञा दिन्छन् । त्यसैले त अनकन्टार गाउँमा अपरिचित मान्छेहरूसँग हप्तौं बिताएको अनुभव सँगालेका छन् ।

नेपालको पत्रकारिता दक्षिण एसियामै उत्कृष्ट देख्छन्, दीक्षित । खासगरी टीभी । ‘ग्राउन्ड रिपोर्टिङ’ पनि राम्रो लाग्छ, उनलाई । भूकम्पपछि ‘सर्भिस जर्नालिजम’ झनै राम्रो भएको देख्छन् । तर, सबै ठीकठाक भयो भन्नेचाहिँ हैन । अन्य देशहरूमा जस्तै यहाँ पनि राजधानीकेन्द्रित पत्रकारिता मौलाउँदै गएको छ । तर पछिल्लो समय यो अवस्था सुध्रिँदै गएको हो कि भन्ने अनुमान लगाउन पनि पछि पर्दैनन्, उनी ।

kunda.2

‘नेपालमा सबैभन्दा ठूलो उपलब्धि रेडियोद्वारा सूचनाको विकेन्द्रीकरण हो जस्तो लाग्छ,’ उनले थपे, ‘नेपालीहरूले नेपाली मिडियाहरूप्रति लाज मान्नुपर्ने कुनै कारण छैन ।’ बरु अलि बढी तालिम, प्रविधिको आवश्यकताचाहिँ देखेका छन् । अन्तर्राष्ट्रिय र नेपाली मिडियालाई तुलना गर्दै भन्छन्, ‘ अरू देशमा कन्टेन्ट बेकारको हुन्छ तर प्रविधि राम्रो छ ।’ हाम्रोमा चाहिँ त्यसको ठीक विपरीत अवस्था छ ।

विगत १२ वर्षदेखि दीक्षित काठमाडौं विश्वविद्यालयमा पत्रकारिता पढाउँदै आएका छन् । पढाउँदा कक्षामै पनि को–को पत्रकार बन्ने भनेर सोध्यो भने दुई–चार वटा हात उठेको देख्छन् । कक्षामा पत्रकारिताबारे भन्दा पनि नेपालमा पत्रकारिता किन गर्ने भन्ने नै सिकाउँछन्,उनी । गहिरो, खोजमूलक पत्रकारिताको आवश्यकताबारे सुनाउँछन् ।

विकासोन्मुख मुलुक त्यसमा पनि लोकतान्त्रिक व्यवस्थाले जरा गाडिनसकेको अवस्थामा पत्रकारिताको ठूलो भूमिका देख्छन्, दीक्षित । कुनै पनि कुराको सुनिश्चितता नभएको अवस्थामा पत्रकारले जिम्मेवार भएर काम गर्नुपर्ने कुरालाई जोड दिन्छन् । ‘प्रजातन्त्र र प्रेस स्वतन्त्रता दुवैलाई रक्षा गर्ने भनेको पत्रकारिताले नै हो,’ उनले थपे, ‘कार्यपालिका, न्यायपालिका र व्यस्थापिकाबीच खासै तालमेल नभएको वेलामा मिडियाले काँध थाप्ने हो ।’

टेबुलको चार खुट्टामध्ये एउटा मिडिया भएको ठान्छन्, उनी । पछिल्लो पाँच वर्षयताको एक सर्वेक्षणमा आम जनताले सबैभन्दा विश्वसनीय संस्था भनेर मिडियालाई नै देखाएको उदाहरण सुनाउँदै भन्छन्, ‘सत्तरी प्रतिशतभन्दा बढीले मिडियालाई देखाएका छन् । हाम्रो जिम्मेवारी झनै बढेको छ ।’

नकारात्मक प्रभाव पार्ने खालका हल्ला हुने, साम्प्रदायिक दंगा भड्काउने, मान्छेलाई उल्याउने जस्तो ठाउँको रूपमा अहिले सामाजिक सञ्जाललाई लिइने गरिएको छ ।

अहिलेको अवस्था हेर्ने हो भने, खल्तीमा मोबाइल हुनेजति सबै पत्रकार । सामाजिक सञ्जालमा मन लागेको कुरा लेख्न सबैलाई छुट छ । यस्तो अवस्थामा पत्रकारको भूमिका झनै बढ्ने बताउँछन् । नकारात्मक प्रभाव पार्ने खालका हल्ला हुने, साम्प्रदायिक दंगा भड्काउने, मान्छेलाई उल्याउने जस्तो ठाउँको रूपमा अहिले सामाजिक सञ्जाललाई लिइने गरिएको छ । यस्ता घटना उनले भारत, अमेरिकातिरको बसाइमा पनि अनुभव गरेका छन् । पत्रकारहरूले यस्ता घटनाहरूलाई निर्मुल पार्दै गलत तथ्यहरूलाई लुकाउनुपर्ने उनको सुझाव छ ।

अहिलेसम्म नेपालका ७१ जिल्ला पुगिसकेका दीक्षितले भ्रमणको हरेक ठाउँको जीवनशैली नजिकैबाट नियालेका छन् । गाउँमा मान्छेहरू रित्तिँदै गएको देखेका छन् । खेतबारी बाँझै देखेका छन् । हरेक ठाउँमा पुग्दा विदेश जान ठिक्क परेका मान्छेहरूलाई भेटेका छन् ।

लामो समयसम्म विकास र वातावरणबारे लेखेका यिनले पछिल्लो समय हरेक समस्यामा राजनीतिसँग जोडिएर आउने कुरालाई उजागर गरे, त्यसलाई सतही अध्ययन गरे । त्यसपछि वातावरण, विकास र राजनीति तीनै कुरालाई जोडेर हेर्न थाले । लेख्न थाले । मिडियाले पनि पछिल्लो समय यस्ता विषयलाई प्राथमिकता दिन थालेको होजस्तो लाग्यो, उनलाई । भन्छन्, ‘हाम्रो पत्रकारितामा पनि विकास हुँदैछ ।’

अहिले दीक्षितिलाई राजनीतिक चिन्ता बढ्न थालेको छ । सही नेतृत्वको आवश्यकताका लागि पत्रकारहरूले राजनीतिक संरक्षण पाइरहेकाहरूको विरुद्ध लेखेर सहयोग गर्नुपर्ने बताउँछन् । गलत नेतृत्वले देश हाँक्ने हो कि भन्ने कुराले उनलाई खुबै पिरोलेको छ । राज्यको दायित्व भनेको जनतालाई सुरक्षा दिने हो । ‘त्यो भनेको सैनिक सुरक्षा हैन,’ उनले भने, ‘रोजगारीको सुरक्षा, स्वास्थ्यको सुरक्षा, शिक्षाको सुरक्षा । सरकारले त्यो गर्न सकेन भने आवाज उठाउने पत्रकारहरूले हो ।’

kunda.1

१२ वर्षयता ‘नेपाली टाइम्स’ साप्ताहिकका सम्पादक दीक्षित आफूलाई अझै रिपोर्टर ठान्छन् । केही समयअघि मात्रै डोल्पा पुगेर रिपोर्टिङ गरेका उनले काठमाडौं बसेर जसले पनि सम्पादन गर्न सक्ने र रिपोर्टिङको खास मजा लिन फिल्डमै जानुपर्ने तर्क गर्छन् ।’

दीक्षित यस्ता पत्रकार हुन्, जसले पढाएका विद्यार्थी अहिले विभिन्न मुलुकमा चर्चित पत्रकारका रूपमा गनिन्छन् । थुप्रै देशमा पुगेर उनले पत्रकारिता सिकाए, पढाए । विदेशमा पत्रकारिता पढाउँदा र नेपालमै पत्रकारिता सिकाउँदाको अनुभव सँगाल्न पाए ।

लामो समयसम्म अन्तर्राष्ट्रिय मिडियामा काम गरेका दीक्षितलाई नेपाली पत्रकारहरूको अंग्रेजी भाषा मध्यमस्तरकै हुने भएकाले विदेशी मिडियामा काम गर्न भाषिक समस्या आइपर्ने देख्छन् । फिल्म, उपन्यासलगायत रचनाहरूले बाहिर ठाउँ नपाउनुको कारण पनि भाषा नै हो जस्तो लाग्छ, उनलाई ।

उनको पत्रकारिता यात्रा लगभग ३० वर्ष पुगिसकेको छ । त्यतिवेला र अहिलेको कुन्द दीक्षितमा आएको फरकलाई उनी आफू बूढो भएको रूपमा स्वीकार्छन् । त्यतिवेला कपाल कालो थियो । जोश जाँगरै बेग्लै थियो । टाढा–टाढासम्म रिपोर्टिङ गर्न पुगिन्थ्यो । ‘एउटा पत्रकारले गर्ने कुरा मैले पनि गरेको हुँ,’ उनले भने, ‘मेरो अनुभव पत्रकार हुन चाहने अथवा पत्रकारहरूलाई सिकाउन पाए सबैलाई राम्रो हुने थियो ।’ त्यही सिकाउने रहरले नै उनी पत्रकारिता पढाउँछन् ।

नेपाल आएपछि कुन्दले फेरि वातावरण र विकासका विषयमा लेखिरहेका छन् । लामो समय युद्ध पत्रकारिता गरेर दिक्क भइसकेका उनी २१ वर्षअघि नेपाल आएका थिए, स्वदेशमै बसेर वातावरण विकासबारे रिपोर्टिङ गर्ने चाह बोकेर । यहाँ आइपुग्ने बित्तिकै उनले सुने– नेपालमा माओवादी युद्ध शुरु भएको छ ।

प्रतिकृया दिनुहोस