MENU

समाज/जीवनशैली

635x90

अाज फेरि रमिता छ

किरण दहाल शुक्रवार, कार्तिक १०, २०७४

करिब एक महिनाअघि क्यानडाबाट लेखिका मञ्जुश्री थापा काठमाडौं आइपुगिन् । मौलिक लेखन रोकेर दिनरात अनुवाद । १ वर्षयता उनको चटारो यसैमा थियो । त्यसका लागि उनले रोजेका लेखक थिए, इन्द्रबहादुर राई । ‘आज रमिता छ’को अंग्रेजी अनुवाद ‘देयर इज् अ कार्निभल टुडे’ मैझारो गरेपछिको दिव्य सन्तुष्टिमा उनी केही दिनअघि महाराजगन्ज निवासमा एक्लै रमाइरहेकी थिइन् । त्यसलाई आज शुक्रबार पाटनमा एक कार्यक्रम गरी लोकार्पण गर्ने उनको योजना छ ।

सन् २००० तिर मञ्जुश्री आफ्नो पहिलो कृतिमा काम गरिरहेकी थिइन् । नेपाली साहित्यलाई नजिकैबाट बुझ्ने चाह पनि बढ्दै थियो । मास्टर्स पढ्दै गरेकी उनलाई साथीहरूले ‘आज रमिता छ’ भन्ने पुस्तक थमाइदिए । त्यतिवेला साथीहरूले भनेका थिए, ‘यो पुस्तक निकै गाह्रो छ । तैंले बुझ्दिनस् होला, तै पनि पढ् ।’ साथीहरूले ठिकै भनेछन्, किताब सक्न संघर्ष नै गनुपर्‍यो । अहिलेसम्म पाँच पटक पढिसक्दा पनि उनलाई यो पुस्तक उत्तिकै जटिल लाग्छ । शुरुतिरका पढाइमा धेरै कुरा बुझिनन्, नबुझेरै किताब सकियो । अनुवाद नै गर्ने भएपछि चाहिँ पाठक मात्र भएर नपुग्ने रहेछ । त्यसपछि शब्द–शब्द ख्याल गर्न थालिन् । त्यतिवेलाको आफ्नै पढाइप्रति व्यङ्ग्य गर्छिन् उनी, ‘नबुझेपछि त्यतिवेला फड्किएर पढिएको थियो । पानामात्रै पल्टाएर सकिएछ ।’

Manjushree-Thapa_N_Indrabahadur-rai

आख्यानकार इन्द्रबहादुर राईसँंग अनुवादक मञ्जुश्री ।

नबुझेरै सही, यो पुस्तक अनुवाद गर्ने सुरचाहिँ त्यतिवेलै गरिसकेकी थिइन् । त्यसका लागि २००१ मा आफ्नो पहिलो उपन्यास ‘ट्युटर अफ हिस्ट्री’ विमोचन गर्न नेपाल आउँदा राईबाट अनुमति पनि लिइन् । त्यतिवेला काठमाडौं आएर मञ्जुश्रीको उपन्यास राइले नै विमोचन गरेका थिए । अनुवाद गर्ने भने पनि आँट थिएन । रहरले मात्रै किन अनुवाद हुन्थ्यो र ! उपन्यास जटिल भएकाले ‘सक्छु कि सक्दिनँ’ भन्ने द्विविधामै लामो समय बिताइन् । पाँच वर्षअघि कागजपत्र नै गरेर अनुवाद गर्ने प्रतिबद्धता जनाइन् । ‘उहाँको उमेरले पनि छिट्टै सक्नुपर्ने थियो । फेरि, मेरो सम्पादक पनि नेपालीमा पोख्त भएकाले सजिलो हुन्छ भनेर लागिहालेँ,’ उनले प्रस्ट्याइन्, ‘पुस्तक सकिँदासम्म शब्दहरू बुझ्न धेरै मान्छेको साथ लिनुपर्‍यो ।’

आख्यानकार मञ्जुश्री थापा एक वर्षको गुप्तबासपछि इन्द्रबहादुर राईको उपन्यास अनुवादमार्फत आज पाठकमाझ आउँदैछिन्।

‘अंग्रेजीमा गैरअंग्रेजीबारे लेख्नु पनि अनुवाद नै हो,’ मञ्जुश्रीको मास्टर्स गर्दाको थेसिस हो यो । मास्टर्स सकिने बित्तिकै उनी अनुवादको काममा लागिन् । सँगसँगै अनुदित कृतिहरू पनि पढिन् । त्यतिवेलै माइकल हटको ‘हिमालय भ्वाइस’ ले उनलाई खुबै प्रभाव पारेको थियो । हटले यसमा नेपालको क्लासिकदेखि अहिलेसम्मको छिटपुट साहित्य अनुवाद गरेका छन् । अनुवादको साङ्गोपाङ्गो बुझेपछि नेपालमा यसको अवस्था कस्तो छ भनेर ‘सिन्हास’मा लामो आर्टिकल नै लेखिन् । अनुवाद शृंखलाको शुरुवात गर्दै २००९ मा ४९ लेखकहरूको रचना समेटेर ‘द कन्ट्री इज योर्स’ नामक पुस्तक प्रकाशित गरिन् ।

अनुवादमा लागेपछि मञ्जुश्रीले बुझेको कुरा हो, यसले लेख्ने क्षमतालाई पनि बलियो बनाउँछ । लेख्नु, अनुवाद गर्नु भनेको भाषाकै खेल हो भन्ने ठम्याइ छ, भाषाकै खेलाडी मञ्जुश्रीको । ‘मलाई धेरै प्रभावित गरेकी गायत्री स्पिभाकले महाश्वेतादेवीका रचनाहरू अनुवाद गरेकी छन्,’ उनै स्पिभाकको भनाइ सम्झिन्छिन् मञ्जुश्री, ‘ट्रान्सलेसन इज एक्ट अफ लभ ।’ यो उद्गारले उनलाई खुबै छोएको छ । एउटा कृतिको भित्रसम्म पुगेर त्यसलाई अनुवाद गर्नु भनेको प्रेम गर्नु नै भएको बताउँछिन् । पैसा नहुने यस्तो काम गरेर आफू अलि मूर्ख हुन खोजेको हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ, उनलाई । मुर्खता मात्र हैन, ‘आज रमिता छ’ अनुवाद गर्नुको अर्काे पनि कारण छ, यति राम्रो कृति नेपालीले मात्र हैन सबैले पढ्न पाउनुपर्छ ।

manju2

अनुवाद गर्नु भनेको ‘डिकन्स्ट्रक्सन थ्योरी’का अनुसार असफल हुनु नै हो । मञ्जुश्रीले बुझेकी छन्, मूल कृतिजस्तो आनन्ददायक हुँदैन, अनुवाद । यसमा कहीँ न कहीँ, केही न केही हराएकै हुन्छ । त्यसको पूर्ण अर्थमा केही कुरा गुमेको भान परिहाल्छ । त्यसैले यो एक किसिमको असफलता हो । तर पनि यसमा आफू कम असफल हुने प्रयास गरेकी छन्, उनले ।

नयाँ कृति लेख्नभन्दा अनुवाद गर्न सजिलो लाग्छ, उनलाई । कृति अनुवाद गर्दाको पछिल्लो एक वर्ष उनका लागि रमाइलो क्षण रह्यो । भन्छिन्, ‘सारा अप्ठ्यारो काम त लेखकले गरिसकेको हुन्छ ।’

अनुवादमा अनुवादकको सिर्जनशीलता प्रयोग गर्ने कुरामा बन्धन हुन्छ कि जस्तो लाग्छ, मञ्जुश्रीलाई । तर, पूर्ण रूपमा हैन । अनुवाद गर्दा मूल कृति प्रति उनी प्रतिबद्ध हुन्छिन्, कम्तीमा गलत अर्थ नजाओस् । राइको उपन्यास अनुवाद गर्दा उनले दुईटा जटिलता भोगिन् । पहिलो, कृति लयात्मक भएकाले त्यसलाई अंग्रेजीमा कसरी ल्याउने भन्ने । दोस्रो, जटिल संस्कृत शब्ददेखि सामान्य नेपाली भाषासम्म प्रयोग थियो । हिन्दी, बंगाली शब्दहरू मिसमास थिए । त्यसलाई सरल अंग्रेजीमा अनुवाद गरियो भने जस्ताको तस्तै प्रतिबिम्बित हुँदैन थियो । यी कुरालाई खुबै ध्यान दिइन् ।

समस्या यतिमात्र हैन । पुस्तकको बीच–बीचमा उखानटुक्काको अत्याधिक प्रयोग भएको छ । उनीसँग एउटा उदाहरण ताजै छ, ‘पात्रहरू एकअर्कालाई ‘नाथे’ भन्छन् । अब अंग्रेजीमा नाथे जनाउन के लेख्ने ? यसलाई अंग्रेजीमा लेख्दा अर्थ आउँदैन । अर्थ गराउने गरी लेख्यो, मिठास जान्छ ।’ यति हुँदाहुँदै पनि अनुवादको रमाइलो पक्ष यही हो जस्तो लाग्छ, उनलाई । ‘५–१० वर्षपछि अर्काे अनुवादकलाई झूर लागेर नयाँ अनुवाद गर्न सक्छ,’ उनले थपिन्, ‘अंग्रेजी जर्मन साहित्यको चाहिँ हरेक १०–१५ वर्षको समयमा नयाँपुस्ताले ताजा रूपमा पढ्न पाउन भनेर एउटै कृति पनि अनुवाद भइरहन्छ ।’ अनुवादमा दुईटा पक्ष देख्छिन्, उनी । पहिलो कुरा मूल कृतिको अर्थ आउनुपर्‍यो । त्योबाहेकको संघर्ष भनेको चाहिँ ‘स्टाइल’ मा हो । मुख्य चिप्लिने पनि यसैमा हो । धेरै लेखक चिप्लिने यो बाटोमा उनीचाहिँ सकेसम्म दह्रोगरी हिँड्ने प्रयास गरेकी छन् ।

manu1

नेपाली कृति विश्व बजारमा पुगेन भनेर चर्चा चलिरहँदा अनुवादको आवश्यकता उनले पनि देखेकी छन् । तर, यसका लागि गाह्रो छ भन्ने कुरा बुझेकी छन् । व्यवहारिक पक्षलाई ध्यान दिँदै उनले भनिन्, ‘अनुवादक हुनुपर्‍यो, बजेट हुनुपर्‍यो । युरोपतिर त जीविका चलाउने हिसाबले नै यसमा लाग्छन् ।’ लेखक भएरै खान पुग्ने कि नपुग्ने भन्ने विषयलाई लिएर बहस भइरहेको क्षणमा अनुवादमै लागेर जिन्दगी गुजार्न नेपालमा गाह्रो छ ।

लिम्बू, राई, तामाङ जस्ता भाषाका कृति पनि नेपालीमा अनुवाद हुनुपर्ने उनको जोड छ । नेपालकै अन्य भाषाका कृतिहरू नेपाली भाषामा अनुवाद भएको पाइँदैन । नेपालकै विभिन्न भाषामा कस्ताखाले कृतिहरू लेखिएका छन् भन्ने धेरैलाई थाहै छैन । नेपालको खास साहित्य के हो भनेर बुझ्न पनि त्यस्ता साहित्य नेपालीमा अनुवाद हुनुपर्ने बताउँछिन्, उनी । अंग्रेजी त एउटा ‘ग्ल्यामर’ मात्र भएका ठान्छिन् । अहिले तत्काल अंग्रेजीमा अनुवाद गर्न नसके पनि हिन्दीमा अनुवाद गरेर नेपाली साहित्यको बजार फराकिलो पार्नुपर्ने बताउँछिन् ।

मञ्जुश्रीले बुझेकी छन् – अनुवाद गर्नु भनेको एक अर्थमा असफलजस्तै हुनु हो। किनकि मूल कृतिजस्तो आनन्ददायक हुँदैन अनुवाद।

आज रमिता छ अनुवाद गर्दा मञ्जुश्री एकोहोरै भएर लागिन् । दिन भरिभरि अनुवाद गरेर बसिन् । यो पुस्तक तीन वटा ड्राफ्टपछि तयार भयो । क्यानडामै तीन साताको कार्यशालामा बसेर पहिलो ड्राफ्ट सकेकी थिइन् । त्यसको लगभग एक महिनापछि घरमै बसेर दोस्रो ड्राफ्टका लागि काम गरिन् । लगभग चार महिना एकदमै मसिनो अध्ययन गरेपछि दास्रो ड्राफ्ट पनि सकियो । तेस्रो ड्राफ्टमा चाहिँ उनले वाक्य–वाक्य दाँजेर अध्ययन गरिन् । आफ्नो अनुवादको प्रक्रिया बताइरहँदा उनी आफ्नो स्कुलेपन सम्झिन्छिन् । उनी फ्रेन्च भाषामा कमजोर थिइन् । त्यसपछि फ्रेन्च सिक्न एक पातो अंग्रेजी र अर्काे पातोमा त्यसैको फ्रेन्च अनुवाद भएको पुस्तक पढ्थिन् । अन्तिम ड्राफ्टमा काम गर्दा उनले यही तरिका अपनाइन् । एकातिर ‘आज रमिता छ’, अर्काेतिर ‘दियर इज अ कार्निभल टुडे ।’

र, अन्तिम ड्राफ्ट सक्काएर सम्पादकलाई पठाइदिइन् । त्यसपछि पनि विभिन्न चरणमा छलफल भएर किताब तयार भयो । पुस्तक निकाल्दाको समय लेखकलाई खुबै तनाव हुने भए पनि पुस्तक प्रकाशित हुने समय नजिकिँदै गर्दा आफूलाई रमाइलो लागिरहेको बताउँछिन्, उनी । राम्रो अनुवाद गरेको छु भन्ने कुरामा ढुक्क छिन्, उनी ।

यो पुस्तक सकिँदा क्यानडा टोरन्टो शहरमै थिइन्, मञ्जुश्री । दार्जलिङे लेखक इन्द्रबहादुर राइको पुस्तक अनुवाद गरेर सकिँदा मञ्जुश्रीको टेबलमा रहेको दार्जलिङकै चिया भने सकिएको थिएन ।त्यसको एक महिनापछि उनी नेपाल फर्किइन् । र, सीधै मनाङतिर हान्निइन् ।

 

 

 

प्रतिकृया दिनुहोस