MENU

समाज/जीवनशैली

635x90

अब्बल बन्‍दै सरकारी विद्यालय

सूर्यप्रसाद पाण्डे आइतवार, आश्विन २९, २०७४

चार हजार तीन सय ९७ विद्यार्थी । आधुनिक विद्यालय भवनमा ८४ कक्षाकोठा । एउटै कक्षामा चार सय विद्यार्थी । एक सय ८३ शिक्षक । स्मार्ट बोर्डबाट पढाइ अनि विद्यार्थीलाई अभ्यास । विद्यार्थी ओसार्न दैनिक तीन वटा बसको प्रयोग । झट्ट सुन्दा कुनै राम्रो निजी विद्यालय जस्तो लाग्ने यो दृश्य रूपन्देहीको बुटवलस्थित सामुदायिक विद्यालय कालिका माविको हो । विद्यालयको प्रगतिको कथा सुन्दा ‘सामुदायिक विद्यालयले पनि यस्तो प्रगति गर्न सक्छ र’ भनेर धेरैले जिब्रो काट्छन् ।

विद्यार्थीको संख्या मात्र धेरै होइन, परीक्षाकोउत्तीर्ण दर पनि राम्रो छ । जस्तो : ‘गतवर्ष एसईईमा तीन सय ६५ जना विद्यार्थी सहभागी थिए । जसमध्ये सी प्लसभन्दा तल्लो ग्रेड ल्याउने एक जना पनि नपरेको प्रधानाध्यापक घनश्याम पाठक बताउँछन् ।२०४० सालतिर एसएलसी परीक्षामा यही विद्यालयका विद्यार्थी अत्यन्तै थोरै उत्तीर्ण भएको भनेर सरकारी अनुदानसमेत काटिएको थियो । ‘त्यत्तिवेला भवन पर्याप्त थिएनन् । विद्यार्थी भर्नादर पनि अत्यन्त न्यून थियो,’ सोही विद्यालयबाट ०३६ सालमा एसएलसी उत्तीर्ण गरेका प्रअ पाठक सम्झन्छन्, ‘०६५ सालमा म प्रअ बन्दा विद्यालयको ३८ लाख ऋण थियो । सबै चुक्ता गरेर हामीले बचत पनि गरेका छौँ ।’

त्यसको एक दशककै विद्यालयले चमत्कार गर्‍यो । विद्यालयमा एकदेखि पाँच कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । ६ देखि आठ कक्षासम्म कम्प्युटर विषयलाई अनिवार्य बनाइएको छ । त्यसबाहेक विद्यालयले सार्वजनिक बिदाका दिन पनि (विशेष पर्वबाहेक) विद्यालय सञ्चालन गरिरहेको छ । विद्यालयमा कसरी सुधार आयो त ? प्रअ पाठक भन्छन्, ‘शिक्षक, अभिभावक र व्यवस्थापन समितिले आफ्नो भूमिका के हो त्यो सम्झिदिए मात्र पुग्छ । विद्यालय सुधार्न नयाँ केही काम गर्नुपर्दैन ।’

व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले भने, ‘विद्यालय सुधारका लागि सबैभन्दा ठूलो कुरा इच्छाशक्ति रहेछ । प्रअ सक्रिय भए विद्यालय उकास्न गाह्रो नहुने मेरो अनुभव छ ।’ विद्यालयले हरेक कक्षामा नियमित ‘युनिट टेस्ट’ लिने गर्छ । वार्षिक परीक्षामा एउटा मात्र विषयमा अनुत्तीर्ण विद्यार्थीले सोही कक्षामा पढ्नुपर्छ । दक्ष र जिम्मेवार विषयगत शिक्षक छन् । विद्यालय सुधार्न सबैभन्दा ठूलो मिहिनेत शिक्षकको रहेको पाठकको ठम्याइ छ ।

भर्नाका वेलामा शिक्षकहरूले घरदैलो अभियान चलाएर अब्बल विद्यालय बनाउन प्रतिबद्धता जनाए । कतिपय अभिभावक प्रभावित भएर निजीमा पढिरहेका छोराछोरीलाई यस विद्यालयमा सारिदिए । छोराछोरी विद्यालय भर्ना गर्ने सोच बनाइरहेकाहरूले पनि यही विद्यालय रोजे । विद्यालयले पनि विद्यार्थी आकर्षित गर्न नर्सरीमा भर्ना हुँदा एक थान झोला, पोशाक र शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउन थाल्यो । टाढाका विद्यार्थीका लागि बसको व्यवस्थासमेत गर्‍यो । सँगसँगै विद्यालय चार वटा बस थप्ने योजनामा पनि छ ।

देशैभरि सामुदायिक विद्यालयको स्तर खस्किरहेको वेला कालिका माविलगायतका विद्यालय भने समुदायको शान बनेका छन्।

विद्यार्थीको चाप र राम्रो नतिजा ल्याउँदा पनि सरकारले पर्याप्त शिक्षक दरबन्दीको व्यवस्था गर्न सकेको छैन । विद्यालयमा दरबन्दीका शिक्षक ४० जना मात्र छन् । दरबन्दीभन्दा स्थानीय स्रोतका शिक्षकको संख्या तीन गुणाभन्दा बढी छ, अर्थात् एक सय ४३ जना त निजी स्रोतका शिक्षक मात्र छन् । विद्यालयमा एकदेखि पाँच कक्षासम्म सात सय ७२ जना विद्यार्थी छन् । आठ कक्षामा सबैभन्दा धेरै चार सय १०, नौमा तीन सय ९० र कक्षा दशमा तीन सय ६८ जना विद्यार्थी छन् । विद्यालयले पनि स्थायी दरबन्दीलाई प्राथमिकतामा राखेको छैन । अनौठो कुरा के छ भने जिशिकाले स्थायी दरबन्दीमा एक जना शिक्षक पठाउने प्रस्ताव गरेको भए पनि विद्यालयले उक्त प्रस्तावलाई अस्वीकार गरिदियो । स्थायी शिक्षकले विद्यालयको वातावरण बिगार्छ भन्ने चिन्ताले स्थायी दरबन्दी अस्वीकार गरेको स्रोत व्यक्ति नारायण पौडेलले प्रस्ट पारे ।

यो विद्यालयमा राजनीति पनि हाबी हुन सकेको छैन । सामुदायिक विद्यालयमा शिक्षक नियुक्तिदेखि व्यवस्थापन समिति गठनमा दलको प्रभाव पर्छ, तर यहाँ अवस्था फरक छ । ‘फरक विचार बोकेका शिक्षक साथीहरू हुनुहुन्छ, तर उहाँहरू आफ्नो विचारलाई विद्यालयमा प्रकट गर्नु हुँदैन,’ नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट शिक्षक संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका पाठक भन्छन् । विद्यालयको प्रगतिसँगै दाताहरू पनि बढेका छन् । व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले गतवर्ष मात्र छोराको बिहे खर्चको रकम कटौती गरेर ११ लाख रुपैयाँ विद्यालयलाई सहयोग गरे । चालु शैक्षिक सत्रका लागि दुई हजार २६ जनाले प्रवेश परीक्षा दिए पनि स्रोत र साधनले नभ्याउने भएपछि सात सयलाई मात्र भर्ना लिइएको समितिका अध्यक्ष होमबहादुर गलामीले प्रस्ट्याए । शिक्षा मन्त्रालय, शिक्षा विभाग र शिक्षासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिका लागि कालिका मावि नमुना विद्यालयको रूपमा अवलोकन गर्छन् ।

त्यसो त, बुटवलकै सियारी गाउँपालिका ७ (साबिक पश्चिम अमवा गाविस ८) स्थित त्रिवेणी आधारभूत विद्यालय पनि स्थापना भएको एक दशकमै परिवर्तन भएको छ । १२ जना विद्यार्थीबाट पढाइ शुरु भएको विद्यालयमा अहिले चार सय ६८ विद्यार्थी छन् । त्रिवेणी स्कुलको स्थापना त्यतिखेर भएको थियो, जतिखेर सामुदायिक विद्यालयप्रति जनविश्वास घटेर थुप्रै विद्यालय बन्द हुने अवस्थामा पुगेका थिए । विद्यालयलाई अब्बल बनाउनुभन्दा विद्यार्थी टिकाइराख्नु चुनौतीपूर्ण बन्यो । तर, अहिले अभिभावकको रोज्जा विद्यालय बनेको प्रअ मथुरा यादव दाबी गर्छन् ।

विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको पाल्पाको भुसालडाँडा माध्यमिक विद्यालयको कथा पनि कालिका र त्रिवेणीको भन्दा कम रोचक छैन । शिक्षक सुन्दर श्रेष्ठका विद्यार्थी घटेर १२ जनामा सीमित भएको यस विद्यालयलाई शिक्षक, व्यवस्थापन समिति र समुदायले सुधार गरेपछि अहिले चार सय विद्यार्थी अध्ययनरत छन् । पाल्पाका निमित्त जिल्ला शिक्षा अधिकारी महेन्द्र सुवेदी व्यवस्थापन, विद्यार्थीको सिकाइ स्तरलगायत सूचकांकका आधारमा जिल्लाका उत्कृष्ट दश विद्यालयमा भुसालडाँडा मावि रहेको बताउँछन् ।

राज्यले चालु आर्थिक वर्षका लागि शिक्षामा एक खर्ब २६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । तीमध्ये ८० प्रतिशतभन्दा धेरै रकम शिक्षक तलबमा खर्च हुन्छ । अझै पनि सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्ने नै मुख्य चुनौती छ । शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्साल भन्छन्, ‘विद्यालय सुधारका लागि भएको खर्चअनुसार प्रतिफल आउन नसक्नु दुर्भाग्य हो ।’

 

 

प्रतिकृया दिनुहोस