MENU

समाज/जीवनशैली

635x90

अपराध : 'हाई प्रोफाइल' को गाडीमै हत्या

 दिनेश गौतम आइतवार, आश्विन २९, २०७४

* २३ असोज ०७४ मा काठमाडौंको शान्तिनगरस्थित निवासबाट बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा कार्यालय जाँदै गरेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन (५७) माथि दिनदहाडै गाडीभित्र गोली प्रहार गरी हत्या गरियो । गोली प्रहार गर्नेहरू मोटरसाइकलबाटै फरार भए ।

* १८ जेठ ०६९ मा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको बगलामुखी मन्दिरको दर्शन गरी फर्कने क्रममा ललितपुरको शंखमुलमा गोली प्रहार गरी घटनास्थलमै हत्या गरियो । हत्याको दुई वर्षपछि १८ पुस ०७१ मा हत्याका मुख्य योजनाकार बाबु थापासहित पाँच जना पक्राउ परे ।

* २४ माघ ०६६ होटल याक एन्ड यतीको हेल्थ क्लबबाट कारमा चढेर फर्कंदै गर्दा लाजिम्पाटस्थित फ्रान्सेली दूतावासअघि मिडिया उद्यमी जमिम शाहमाथि गोली प्रहार भयो । उनको पनि घटनास्थलमै मृत्यु भयो । गोली प्रहार गर्ने दुई जना मोटरसाइकलमा फरार भए ।

* २९ वैशाख ०६१ काठमाडौं मेडिकल कलेजका तत्कालीन प्रिन्सिपल डा. हेमांग दीक्षितलाई काठमाडौंको बानेश्वर हाइटनजिकै पुग्दा कारको पछाडिपट्टिको झ्यालमा गोली प्रहार भयो । केही क्षणमै उनको दायाँ काँधमा बगेको रगतले सेतो सर्ट भिज्यो । ड्राइभरले तुरुन्तै गाडी चलाएर इमरजेन्सीमा पुर्‍याई अप्रेसन गरेर दुईवटा गोली निकालेपछि उनी बाँचे । गोली प्रहार गर्ने फरार भए ।

‘सार्प सुटर’द्वारा कारभित्रै गोली प्रहार गरी हत्या गर्ने शृंखलाको पछिल्लो कडीका रूपमा निर्माण व्यवसायी संघका अध्यक्ष गौचन जोडिन पुगेका छन् । डाँफे कन्सट्रक्सनका संस्थापक गौचन काठमाडौंमा सरकारी एव निजी भवन निर्माणमा संलग्न थिए । गुण्डाहरूले चन्दा मागेर हैरान पारेको गुनासो गर्दै गौचनले महानगरीय अपराध महाशाखामा एक वर्षअघि मौखिक उजुरी दिएका थिए, तर प्रहरीले बेवास्ता गर्‍यो । गौचनको हत्यालगत्तै अर्का व्यवसायी जिपछिरिङ लामालाई इन्टरनेट कल गरी चन्दा मागेपछि निर्माण व्यवसायी त्रसित भएका छन् ।

हत्याको अनुसन्धान गर्न डीआईजी गणेश केसीको संयोजकत्वमा एसएसपीद्वय शेरबहादुर बस्नेत, दिवेश लोहनी, डीएसपी अजय केसी, सोमेन्द्र सिंह राठौर, अंगुर जीसी र इन्सपेक्टर दीपेन्द्र अधिकारीसहितको सात सदस्यीय टोली खटिएको छ । यसबाहेक प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर पनि छुट्टाछुट्टै रूपमा अनुसन्धानमा संलग्न भएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपाने बताउँछन । भन्छन, ‘अनुसन्धानको क्रममै छ । अनुसन्धान प्रक्रियामा धेरै कुरा आएका छन् । सबै कुरा खोल्न मिल्दैन । अनुसन्धानले सफलता पाउनेबित्तिकै जानकारी गराउँछौँ ।’ सुरक्षा संयन्त्रको सहज पहुँच भएको बानेश्वर, लाजिम्पाटलगायत मुख्य स्थानमा पनि गाडीभित्रै ‘हाई प्रोफाइल’का व्यक्तिहरू ज्यान गुमाउन पुगेका छन् । हत्याराहरू पक्राउ गर्न प्रहरीलाई लामो समय लाग्ने गरेको छ ।

सवारी साधनमा सहज

हाई प्रोफाइल भएका व्यक्तिहरूलाई कारभित्रै गोली हान्न ‘सार्प सुटर’हरूको प्रयोग गरिएको पाइएको छ । कोही भारतबाट झिकाइएका छन् भने कोही नेपालीहरू नै संलग्न रहेका छन् ।

महासंघका अध्यक्ष गौचनको हत्या योजनाबद्ध ढंगले गरिएको अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकृत बताउँछन् । उनी गाडीभित्र चढेपछि शुरुमा एक युवाले अगाडिको दायाँतिरको भागमा ढुंगा प्रहार गरेका थिए । त्यसलगत्तै उनी भागे ।

सुरक्षा संयन्त्रको सहज पहुँच भएका स्थानमै ‘हाई प्रोफाइल’ व्यक्‍तिहरुले गाडीभित्रै ज्यान गुमाउन पुगेका छन्। 

गाडी रोक्दै गर्दा मुखमा मास्क लगाएका अर्का अधबैंशे युवा पेस्तोल तेर्साउँदै छातीमा ताकेर तीन राउन्ड गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणकारीहरू साँघुरो बाटोबाट भाग्दै अलि टाढा राखिएको मोटरसाइकलमा चढेर फरार भए । उनीहरूलाई पछ्याउने आँट कसैले गरेन ।अपराधीले विभिन्न प्रकारले अपराध गर्ने भएकोले विभिन्न रणनीति अपनाउन सक्ने डीआईजी न्यौपाने बताउँछन् । भन्छन, ‘शान्ति सुरक्षाको स्थिति सबल हुँदाहुँदै पनि अपराधीले पनि आफूअनुकूल योजना बनाउँछन् ।’

कार चढेर यात्रा गर्ने भएका कारण हाई प्रोफाइल भएका व्यक्तिहरूको रेकी गर्न सहज हुन्छ । आक्रमणकारीले गोली प्रहार गर्न घटनास्थलको छनोट, गाडी रोक्ने शैली र गोली प्रहार गरी भाग्न सजिलो हुने मार्गको छनोट गर्न केही साता ‘रुट’को अवलोकन गरी तय गर्ने गरेको पाइएको छ । एक एसएसपी भन्छन, ‘पैदल हिँडिरहेको वेला गोली हान्दा बडिगार्ड वा अन्य व्यक्तिले समात्ने डर हुन्छ । तर, गाडी चढेको वेला रोकेर गोली हानिसकेपछि भाग्न सजिलो हुन्छ । ड्राइभरले दौडेर गई समात्ने आँट पनि गर्दैन । गाडी स्टार्ट गरेर आक्रमणकारीलाई लखेट्ने शैली नेपालमा छैन । गोली हानेपछि ड्राइभर आत्तिने भएका कारण त्यस कमजोरीको फाइदा सुटरहरूले उपयोग गर्ने गरेका छन् ।

अहिलेसम्म गौचनको आफन्तसँग सोधपुछ र कल डिटेल्सका आधारमा अनुसन्धान भइरहेको छ । गोली प्रहार गर्ने सार्प सुटर र मुख्य योजनाकारको कुनै सुइँको पाइएको छैन । यद्यपि, प्रहरी प्रारम्भिक अनुसन्धानमा गौचनको हत्या बुटवलमा रहेका मनोज पुन (बुढामगर )को समूहले गरेको अनुमान गरेको छ । हत्यालगत्तै उक्त समूहका लोप्साङ लामाले काठमाडौं परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए । सोही आधारमा पुनको समूहका सदस्यहरूको खोजी भइरहेको अनुसन्धानमा संलग्न प्रहरीले बताए ।

रूपन्देही, देवदह ८ का पुन कहिले मलेसिया त कहिले भारतमा बसेर नेपालका व्यवसायीसँग चन्दा असुल्ने गर्छन् । टेलिफोनमार्फत चन्दा माग्ने उनी गत पुसमा युवा संघ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यापछि चर्चामा आएका हुन् । उनी चन्दा नदिने व्यक्तिलाई सिध्याइदिने भन्दै आतंक मच्चाउन थालेपछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । उनले रूपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका व्यवसायीसँग चन्दा मागेर सताउँदै आएका थिए । एक महिनाअघि रूपन्देहीका व्यवसायी दीपक भण्डारीले ३० लाख चन्दा नदिएको भन्दै पसलमा गोली प्रहार गरेका थिए ।

तीन वर्षअघि एमाले भ्रातृ संगठनमा रहेका पुन पछिल्लो समय वाईसीएलमा आबद्ध भएका थिए । तिवारीको हत्यापछि गठन भएको पूर्वएआईजी विज्ञानराज शर्माको नेतृत्वको छानबिन समितिले मनोज पुनले नै हत्या गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै, सुजन पौडेल उर्फ ‘रमेश बाहुन’ समूहले उनीसँग चन्दा मागेको समेत प्रहरीको भनाइ छ । २२ असार ०७० मा दिनेश अधिकारी ‘चरी’को र २१ साउन ०७२ मा कुमार घैटें प्रहरी इनकाउन्टरमा मारिएपछि चन्दा आतंकमा कमी आएको थियो । तर, गौचनको हत्या पनि चन्दा नदिएको निहुँमा भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘अहिलेसम्मको अनुसन्धानबाट लेनदेनकै विषय हो भन्नेमा पुगेका छौँ । तर त्यसमा संलग्न पुनकै समूह हो वा अर्को समूह हो भन्नेमा थप अनुसन्धान भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । चन्दा लिने समूहहरूमध्ये एकले अर्कोको चियोचर्चो गर्ने भएकोले एक साताभित्रै कून समूहले हत्या गरेको हो सो खुल्ने आशा प्रहरीको छ । भारतबाट सार्प सुटर ल्याइएको वा पूर्वमाओवादी लडाकुको पनि प्रयोग गरिएको हुन सक्ने प्रहरी अधिकृतहरू बताउँछन् । व्यवसायीहरूले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेपछि जनआक्रोश साम्य पार्न पनि प्रहरी ‘फन्डा’ प्रयोग गरेको भए पनि भारतीय अन्डरवल्र्ड समूहको सार्प सुटरको प्रयोग भएको हुन सक्ने एक पूर्वएआईजी बताउँछन् । गौचनको विगत कस्तो थियो सो आधारमा अनुसन्धान गर्दा हत्यारा पत्ता लाग्ने उनको सुझाव छ । 

 

 

प्रतिकृया दिनुहोस