MENU

समाज/जीवनशैली

635x90

नेपाली पत्रकारितामा समाचार कक्षको संकट

चन्द्रकिशोर मंगलवार, आश्विन २४, २०७४

नेपाली पत्रकारिता र लोकतन्त्र दुवैको इतिहास लामो छैन । तर पनि नेपाली पत्रकारिताको प्रभाव र पहुँच बढ्दै गएको छ । यसले नेपाली पत्रकारितासँग जोडिएका अनेकौं आयामहरूबारे बहसको थालनी ल्याएको छ, त्यसमध्येकै एक हो संवाददाता र न्युज रुमको सम्बन्ध । जब संवाददाताहरू जोखिममा पर्छन्, त्यतिखेर ती संवाददाताको कार्यक्षमता र निष्ठासम्बन्धी खोजीनीति त हुन्छ नै, न्युज रुमको भूमिका पनि छलफलमा आउँछ । त्यसैगरी जब न्युज रुमको अस्तित्व, अस्मिता र आकारको कुरा उठ्छ, त्यतिखेर पनि न्युज रुमको बनोट र सामथ्र्यबारे बहस गर्नेहरूको नजर जान्छ । वर्तमानमा राजनीति यति जटिल भइसकेको छ कि यसलाई पुरानो ढंगको पत्रकारिताबाट बुझ्न गाह्रो हुन्छ । राजनीति अपारदर्शी त छँदैछ, यसले समाजलाई इकाई तहमा समेत दलीय आधारमा विभाजन गरिदिएको छ ।

पत्रकारिताको ठूलो जनशक्ति दलीय औजारको रूपमा प्रस्तुत हुनुमा कुनै संकोच राख्दैन । पहिला यो मानिन्थ्यो कि पत्रकारको काम कुनै पनि मुद्दामा पक्ष र विपक्ष दुइटै स्वरलाई प्रस्तुत गरिदिनु र त्यसका आधारमा एउटा दृष्टि बनाउने काम पाठक, दर्शक र स्रोताको जिम्मा हो । तर अहिले रिपोर्टिङमा पनि ध्रुवीकरण प्रस्टसँग देखिन्छ । यसको अर्थ के हो भने त्यहाँ न्युज रुम सक्रिय भएको छ । न्युज रुमले अह्राए/खटाएअनुसार संवाददाताहरू काम गर्न विवश छन् त कतै संवाददाताले न्युज रुमलाई प्रभावमा लिएका हुन्छन् । समाचार संकलनमा हामीकहाँ थोरै खर्च गर्ने प्रवृति छ । एउटा माध्यमले अर्को माध्यमवाट चुहिएको खबरकै आधारमा आफ्नो शैलीमा समाचार निर्माण गरिरहेको हुन्छ । संवाददाताहरूको ठूलो हिस्सा के मनोविज्ञानले ग्रसित छ भने जति दौडधुप गरेपनि आखिर पाउने पारिश्रमिक त त्यति नै हो ।

संवाददाताहरू हतारमा पनि हुन्छन्, तिनलाई एउटा निश्चित समयसीमाभित्र न्युज ब्रेक गर्नुपर्ने हुन्छ । पत्रिकामा कुन खबर बढी छापिने कुरा यसमाथि निर्भर गर्छ कि त्यो संवाददाता/न्युज रुमले समाजको कुन अनुहारलाई प्रस्तुत गर्न चाहन्छ । कतिपय अवस्थामा यिनीहरू के सोच्छन् भने हामी जे पस्किन्छौँ, त्यही मात्र पाठक थाहा पाऊन् । पत्रकारको दायित्व उसको सामाजिक सरोकार उसको स्वाधीनताको विस्तार हो । उसलाई आफ्नो विचार अभिव्यक्त गर्ने हक समाजको तर्फबाट प्राप्त भएको छ । त्यसैले समाजप्रति उसको पनि कर्तव्य हुन जान्छ कि फरक विचार र मान्यताहरूलाई पनि समाजको सामुन्ने उजागर गरून् । समाजले स्वतन्त्रतापूर्वक आत्मविवेकले यो निर्णय गर्न सकून्, कुन मुद्दाप्रति सहमत हुने वा असहमत । पत्रकारिताको यो पक्ष व्यक्तिको स्वायत्ततासँग पनि जोडिएको छ । तर एउटा पाठक अलमलमा हुन्छ । यस्तोमा कुनै एउटै रिपोर्ट पढेर सच्चाई के हो बुझ्न सकिँदैन । भुइँसतहको यथार्थ बुझ्न पाठक स्वयंले क्रसचेकको पद्धति अवलम्बन र आफ्नो विवेकलाई जाग्रत राख्नुपर्ने हुन्छ ।

यहाँ संवाददाता र न्युज रुमको विश्वसनीयता र बदलिँदा मूल्यहरू आकर्षित हुन्छन् । एकात्मकताविरुद्ध समाजले खोजेजस्तै पत्रकारिता पनि बहुलतातर्फ उन्मुख भएको छ । पत्रकारिता अब मिसन र निर्देशबाट विस्तारै सुसूचित छनोटको अवसर प्रदान गर्ने माध्यमको रूपमा आत्मविकसित गर्नुपरेको छ । के अहिलेका सम्पादकहरूले यी कुरामा आन्तरिक विमर्शका थालनी गरेका छन्, यो कुरासँग पक्कै इन्कार गर्न सकिँदैन । मिडिया प्रतिष्ठानको पृष्ठभूमिले गर्दा पनि यस्ता बहसहरूको अस्तित्व सम्बन्धित प्रतिष्ठानहरूमा सोहीबमोजिम हुने गरेको छ । संवाददाता भनेको कुनै पनि प्रतिष्ठानका लागि एउटा सम्पत्ति हो । त्यसैगरी संवाददाताले पनि बुझ्नुपर्ने हो, उसको एउटा रिपोर्टिङले उसको करिअरलाई निर्धारित गरिरहेको हुन्छ । एउटा रिपोर्टसँगै संवाददाताको योग्यता, क्षमता र पहुँचजन्य योग्यता उजागर भइरहेको हुन्छ । समाजमा ध्रुवीकरणका सँगसँगै एउटा तटस्थ मत पनि हुन्छ यस्तो अवस्थामा प्रो र एन्टी खेमामा आफूलाई विभाजित गर्नुभन्दा पनि यी दुई पक्षबाहेक अर्को पक्षतिर पनि हेर्नुपर्छ ।

न्युज रुम र संवाददाताबीच कत्तिको छलफल हुन्छ । एउटा संवाददाताले आफ्नो लेखनमा कत्तिको विविधता राखेको छ र उसले न्युज रुमलाई सहमत गराउने कत्तिको ताकत राख्छ । यसमा पनि रिपोर्टको भविष्य निश्चित हुन्छ । त्यसैगरी न्युज रुम पनि कस्तो छ, त्यसले भुइँसतहसँग जोडिएका आयामहरूसँग आफूलाई कत्तिको तादात्म्य बनाएर राखेको छ, त्यसमा तिनको निर्देशनको प्रश्नरहितता निश्चित हुन्छ । सामाजिक सञ्जालमा बसेर वा केही दलविशेषका सूत्रहरूसँग मात्र निर्देशित भएर संवाददाताहरूलाई खटाउने न्युज रुम संवाददातालाई मात्र होइन, समाचारसँग अन्याय गरिरहेको हुन्छ । एउटा सही सूचनालाई मृत्यु गराउन कतै न्युज रुम त कतै संवाददाता दोषी छ । न्युज रुम र संवाददाताबीचको सम्बन्ध जति सहज र खुला हुन्छ, समाचारको अकाल मृत्यु त्यत्तिकै रोकिन्छ ।

 

प्रतिकृया दिनुहोस