MENU

समाज/जीवनशैली

635x90

कविगोष्ठीमा एक्लो स्रोता ( निबन्‍ध)

शार्दूल भट्टराई शुक्रवार, आश्विन ६, २०७४

 

एउटा नाम चलेको साहित्यिक संस्थाले राजधानीमा कविगोष्ठीको आयोजना गर्‍यो । राष्ट्रियस्तरको संस्थाले गरेको कविगोष्ठी अर्थपूर्ण हुने अनुमान गरिनु स्वाभाविकै थियो । त्यही अनुमान गरेर म पद्मकन्या क्याम्पसको डेनिस हलमा पुगेको थिएँ । मलाई खबर गर्नेले साढे १२ बजे भनेका थिए । म समयमा पुगेथेँ । हलभित्र कोही थिएनन् । बाहिर एक अपरिचित भेट भए । परिचयको क्रममा उनले आफू कवि भएको बताए । उनको नाम पारस रहेछ तर मैले कविको रूपमा उनको नाम सुनेको थिइनँ । उनी कार्यक्रमको ठीक समय थाहा नभएका कारण १२ बजे नै आइपुगेका रहेछन् । त्यहाँ अन्य आमन्त्रित त के, आयोजकसमेत उपस्थित थिएनन् । आयोजक संस्थाका जिम्मेवार पदाधिकारीका रूपमा रहेका कवि सुमनले साढे १२ बजे बोलाएर मलाईसमेत झुक्याएजस्तो लाग्यो । उनले किन यसो गरेका हुन्, मैले बुझ्न सकिनँ ।

म एकैछिन डेनिस हलबाहिर तिनै कवि पारससँग उभिएँ । कवि सुमनदेखि रिस उठेर कार्यक्रममै नबसी फर्किने विचार पनि गर्दै थिएँ, तर उनी र अर्का कवि धीरप्रसाद आइपुगे । कवि सुमनको हातमा फ्लेक्स थियो भने कवि धीरप्रसादले विभिन्न सामग्रीले भरिएको रातो कपडाको झोला बोकेका थिए । उनीहरू हलभित्र पस्नेबित्तिकै फ्लेक्स झुण्ड्याउन थाले । त्यसमा ठूला अक्षरमा लेखिएको थियो, ‘बृहद् कविगोष्ठी’ । त्यसबाहेक साना अक्षरमा आयोजक संस्थाको नाम, मिति आदि लेखिएको थियो । न उल्लेख्य संख्यामा आमन्त्रित आइपुगेका थिए, न त प्रमुख अतिथि र अतिथिहरू नै । आयोजकसमेत सबै आइसकेका थिएनन् । आयोजक संस्थाका जेजति सदस्य आइपुगेका थिए ती पनि कार्यक्रम शुरु गर्ने सुरसारमा थिएनन् । निर्धारित समयमै कार्यक्रम शुरु गर्न नसकेकोमा आयोजकहरूमा कुनै चिन्ता थिएन ।

कविगोष्ठीका लागि कोही पौने एकै बजे आइपुगेका थिए । कोही ठीक एक बजे आइपुगेका थिए । कोही सवा एकबजेतिर आएका थिए । नाम चलेका केही कवि साढे एक बजेतिर आएका थिए । कतिपय भुक्तभोगी र नेपाली परम्परालाई बुझेका कविहरू भने पौने दुई बजे आइपुगेका थिए । कार्यक्रमका प्रमुख अतिथि सोमनाथ, जो ठूलै कवि पनि मानिन्छन्, उनी त दुई बज्न पाँच मिनेट बाँकी हुँदा आइपुगेका थिए । आफैं ढिलो आइपुगेका, आयोजक संस्थाकै सचिव रहेका कवि धरणी आफ्नो नाडीको घडी हेर्दै मञ्चमा उक्लिए । उनी माइकअघि पुगे । उद्घोषक उनै रहेछन् । कार्यक्रमको निर्धारित समय एक बजे रहेछ । तर, परम्परालाई पछ्याउँदै कार्यक्रम शुरु भयो दुई बजे ।

कवि धरणीले माइक समाएर बोल्न शुरु गरे । उनले कविगोष्ठी शुरु गर्नुभन्दा पनि कार्यक्रम आयोजनाको औचित्य बताउन थाले, त्यो पनि बडो पट्यारलाग्दो पारामा । कविगोष्ठी किन गर्नुप¥यो, कविता सुनाउनका लागि हैन ? तर, उनी कविगोष्ठी आयोजनाको उद्देश्य के हो, त्यसकोे उपलब्धि के रहन्छ र त्यसले नेपाली कविताको विकासमा केकति प्रभाव पार्छ भन्नेबारेमा लामै भाषण ठोक्न थाले । सञ्चालक भएर कार्यक्रम थाल्नुअघि नै १५ मिनेटको समय उनले खाए । २ः१५ मा बल्ल कार्यक्रम शुरु भयो । आयोजक संस्थाका अध्यक्ष कवि शिवराम कार्यक्रमको सभापतित्व गर्न मञ्चमा पुगे । सभापतित्व ग्रहण गर्नुअघि उनले पनि १० मिनेटको भाषण ठोकिहाले । आफ्नो नेतृत्वको संस्थाले नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै उनी कुर्सीमा बसे । त्यसपछि प्रमुख अतिथि कवि सोमनाथले आसन ग्रहण गरे ।

अतिथि त कति हो कति ! त्यसमा पनि सबै कवि । विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै आएका सात कविलाई अतिथिको आसन ग्रहण गराएर कार्यक्रम शुरु गरियो । कार्यक्रमका सञ्चालकले आयोजक संस्थाका उपाध्यक्ष कवि रविलोचनलाई संक्षिप्त स्वागत मन्तव्य प्रस्तुत गर्न अनुरोध गरे । स्वागत मन्तव्य प्रस्तुत गर्ने ती कविले कार्यक्रमका सहभागीहरूको स्वागत गर्नुभन्दा पनि राजनीतिक पार्टी र नेतालाई तथानाम गर्नमै समय बिताए । १० मिनेटको भाषणमा उनले आठ मिनेट नेताहरूलाई गाली गरे भने मात्र दुई मिनेटमा कविगोष्ठीबारे चर्चा गर्दै सहभागीहरूलाई स्वागत गर्न भ्याए । शुरु भयो कविता वाचन । कवितावाचनको आरम्भ एकजना नाम चलेका कवि यदुवंशबाट भयो । आफ्नो कविताबारे दुई मिनेटको प्रवचन दिइसकेपछि उनले कविता सुनाए । उनको कविताको एउटा अंश यस्तो थियो :

हाम्रा आँखाहरू

तिनीहरूलाई हेर्न र नियाल्न
असक्षम भएका छन्
आ“खा भएर पनि
तिनीहरूका लागि हामी अन्धा भएका छौं ।

कविता सुनाइसकेपछि कवि तल ओर्लिए । आफ्नो कवितामा बीच–बीचमा ताली नबजेकामा कवि यदुवंश मञ्चबाट ओर्लिंदा अलि खिन्न देखिएका थिए । उनीपछि अर्को कविले कविता सुनाउन नपाउँदै ती कवि अन्यत्र जानुपर्ने बताएर त्यहाँबाट हिँडे । उनी आफ्नो कविता सुनाउनमात्र आएका जस्ता थिए । ती कवि ढोकाबाट निस्कन नपाउँदै अर्का कविले आफ्ना साथीहरूका बीचमा खासखुस गरिहाले, ‘सबैभन्दा पहिला कविता वाचन गर्ने कवि नै आफ्नो कविता सुनाएर हिँडेपछि अरूचाहिँ किन बस्नुपर्‍यो ?’दोस्रोमा कवयित्री तिरुलतालाई कविता सुनाउन बोलाइयो । उनी पनि मञ्चमा पुगेर कविता वाचन गर्नुअघि भाषण ठोक्न थालिन् । शुरुमा स्त्री कविलाई कविता वाचन गर्न नदिई किन पुरुष कविलाई दिइयो भनेर उनले विरोध जनाइन् । तीन मिनेटको भाषणपछि कवयित्री तिरुलताले कविता वाचन गरिन् :

ऊ कतै कालो देखिन्छ
ऊ कतै सेतो देखिन्छ
कतै रातो देखिन्छ ऊ
र कतै नीलो देखिन्छ ऊ
उसलाई बुझ्न धेरै गाह्रो छ
किनकि
ऊ अनेक रङ्गहरूमा देखिन सिपालु छ ।

यी कवयित्रीको कवितामा पनि खासै ताली बजेन । कविता वाचन गरेर मञ्चबाट तल झर्दा उनी पनि त्यति खुशी देखिएकी थिइनन् । पहिले सबैभन्दा अगाडि बसेकी उनी कविता वाचनपछि सबैभन्दा पछाडिकोबेन्चमा गएर बसिन् । उनको यो स्थानान्तरणलाई केही कविले विरोध र विद्रोहको रूपमा चर्चा गरेका थिए । त्यसपछि अर्का कवि अखिलरामलाई कविता वाचनका लागि मञ्चमा आमन्त्रण गरियो । उनी मञ्चमा पुगेर अलि चर्कै स्वरमा कराउन थाले :

सडकमा जुलुस छ
र मलाई त्यहाँ पुग्नु छ
आज म एकदमै हतारमा छु
मस“ग कविता त छ
तर सुनाउने फुर्सद छैन
कविता सुनाउन छोडेर
जुलुस भ्याउनु छ मलाई ।

कवि अखिलराम भाषणको शैलीमा चिच्याएर यी कुरा भनिरहेका थिए । सबैले भन्ठाने, ती कवि अलिकति भाषण ठोकेर कविता नसुनाइकन जान लागेछन् । तर, कुरा त्यस्तो होइन रहेछ । उनी कविता नै पढिरहेका रहेछन् । उनको कवितामा केही ताली पनि बज्यो । उनी आफ्नो कविता वाचन गरेर मञ्चबाट फर्किंदै गर्दा एक–दुईले हात मिलाएर उनलाई भन्दै पनि थिए, ‘कविता राम्रो छ, बधाई छ ।’ प्रशंसा र बधाईमा मक्ख पर्दै कवि अखिलराम जुलुसमा जान भनेर हिँडे । त्यसपछि अर्का कवि अरुणकुमारलाई बोलाइयो । उनले पनि मञ्चमा पुगेर माइक समाउँदै आफ्नै कविताबारे लगभग दुई मिनेटको भाषण ठोक्न भ्याइहाले । उनले कविगोष्ठी शुरु हुनुभन्दा एकै छिनअघि, कविगोष्ठी भइरहेको हलमै लेखेको भन्दै आफ्नो कविता वाचन गरे :

म आकाशमा उड्न सक्छु
म पातालमा गुड्न सक्छु
यो पृथ्वी पल्टाएर
अर्कै संसार बनाउन सक्छु
कसले रोक्न सक्छ मलाई ?

उनी पनि आफ्नो कविता वाचनपछि फटाफट बाहिर निस्किए । अरूका कविता सुन्ने जाँगर उनले पनि देखाएनन् । कविता वाचन गर्नेमध्ये अर्का कवि ध्रुवरत्न अर्को कविगोष्ठी भ्याउनु छ भनेर हिँडे । कवयित्री दिलशोभा भोलि बहिनीको बिहे छ भनेर निस्किइन् । अर्का युवाकवि दीपेश बिहेको पार्टीमा बनेपा पुग्नु छ भनेर कुलेलाम ठोके । आयोजक संस्थाकै एक जिम्मेवार व्यक्ति, कवि श्यामचन्द्रसमेत अस्ट्रेलियाबाट आउँदै गरेकी सालीलाई विमानस्थलमा स्वागत गर्न जानु छ भनेर दौडिए । अरू कवि र कवयित्रीहरू पनि एउटा–एउटा बहानामा त्यहाँबाट क्रमशः निस्किँदै गए । कविहरूमा त अरूको कविता सुन्ने धैर्य छैन भने स्रोतामा किन होस् ? भएका थोरै स्रोतामा पनि आधाभन्दा बढी हिँडिसकेका थिए । कविता वाचनको क्रम भने जारी नै थियो ।

आफैं ढिलो आइपुगेका, आयोजक संस्थाकै सचिव रहेका कवि धरणी आफ्नो नाडीको घडी हेर्दै मञ्चमा उक्लिए। उनी माइकअघि पुगे। उद्घोषक उनै रहेछन्।

कवि गोष्ठी साढे तीन घण्टासम्म चल्यो । कार्यक्रम शुरु हुँदा त्यहाँ ४४ जना उपस्थित थिए । तीमध्ये ३१ जनाले कविता वाचन गरे । कविगोष्ठीका सञ्चालक, सभापति, स्वागत भाषणकर्ता, प्रमुख अतिथि र अतिथिसमेतले कविता सुनाए । विशुद्ध स्रोता जम्मा १३ जना थिए । वाचन गर्ने कविहरूमध्येमा १४ जना त कविता पढ्नेबित्तिकै हिँडिसकेका थिए । त्यसबाहेक १० स्रोता पनि कार्यक्रम समापन हुनुअघि नै निस्किसकेका थिए । कविगोष्ठी समापन हु“दा जम्मा १८ मात्र बा“की थिए, जसमा १७ कवि थिए भने स्रोता एक जनामात्र । त्यो स्रोता म थिएँ । कवि नै कविका बीच म एक स्रोता ! मलाई अलि असजिलो पनि लागिरहेको थियो ।

कार्यक्रम सकिएर चिया–बिस्कुट खाने वेलामा आयोजक संस्थाकै एक कवि अजयराजले मलाई भने, ‘किन, तपाईंले चाहिँ कविता सुनाउनुभएन नि ?’‘कविहरूले कविहरूलाई नै के कविता सुनाउनु ? यत्रो कविगोष्ठीमा एकजना त स्रोता पनि चाहियो नि, हैन र ?’ मैले उत्तर दिएँ । मेरो उत्तर सुनेपछि ती कवि अर्कैतिर फर्किए र अर्कैसँग गफ गर्न लागे । अरू पनि सबै गफमै व्यस्त थिए । म एक्लै एकछेउमा उभिएर चिया–बिस्कुट खान थालेँ । चिया–बिस्कुट खाइरहँदा पनि मलाई कवि अजयराजको प्रश्नले अलिअलि चिमोटिरहेको थियो । त्यस प्रश्नको उत्तर म आफूले आफैंलाई दिइरहेको थिएँ । खासमा मलाई मञ्चमा उभिएर कविता सुनाउने रहर कहिल्यै भएन ।

राम्रा कविता लेख्न नसकेर पनि होला । कदाचित मञ्चमा बस्ने र माइकअगाडि उभिएर बोल्ने कुरा मेरा लागि निकै ठूलो तनावको क्षण बन्छ । डर पनि लाग्छ । बोल्ने ढंग नभएर पनि त्यस्तो भएको होला । सम्बन्धित विषयमा गहिरो अध्ययन नभएर पनि त्यस्तो लागेको हुन सक्छ । कुनै पनि विषयलाई आफैंले गहिराइमा बुझेको छैन भने अरूलाई अर्ती–उपदेश दिएर के बोल्ने ? मैले मञ्चमा उभिने योग्यता र क्षमताबिनाका कतिपयको अनुहारमा यो समाजका सामन्तहरूको प्रतिबिम्ब देख्ने गरेको छु । त्यस्तै, मञ्चमा रहने कतिपय अनुहारमा ढोंग, आडम्बर र पाखण्डका छायाँहरू पनि देख्ने गरेको छु । त्यसकारण पनि मञ्चमा बस्ने र माइकअगाडि उभिएर बोल्ने कुरा मेरा लागि असाध्यै अरुचिको विषय हो । म त्यस्ता कुराबाट सकेसम्म भाग्ने गरेको छु । आफ्नो यही कमजोरीकै कारण त्यो कार्यक्रममा पनि कविता सुनाउने उद्देश्य मेरो थिएन । म कविता बोकेर गएको पनि थिइनँ ।

स्वागत मन्तव्य प्रस्तुत गर्ने ती कविले सहभागीहरूको स्वागत गर्नुभन्दा पनि राजनीतिक पार्टी र नेतालाई तथानाममै गर्नै समय बिताए।

चिया–बिस्कुटसँगै कविहरूको कविता–गफ चलिरहेको थियो । युवाकवि रोहन अर्का युवाकवि सोहनसँग भनिरहेका थिए, ‘कविगोष्ठी त राम्रो भयो नि, हैन ? कविता पनि सबै एकसेएक थिए ।’‘हो त, कार्यक्रम त गजबै भयो नि !’ कवि सोहनले जवाफ दिए ।‘मेरो कविता हजुरलाई कस्तो लाग्यो त, कविज्यू ?’ कवयित्री त्रिपुरासुन्दरीले वरिष्ठ कवि कृष्णकान्तसँग सोधिन् । ‘तिमी मान्छे पनि राम्री, कविता पनि राम्रो ।’ वरिष्ठ कवि कृष्णकान्तले जवाफ दिए । कवयित्री त्रिपुरासुन्दरी निकै खुशी भइन् ।अर्का वरिष्ठ कवि शोभाकरले कवि सुमनलाई भने, ‘राम्रो कविगोष्ठी गर्‍ यौ । भव्य भयो । धन्यवाद छ ।’अत्यन्तै खुशी भएर कवि सुमनले भने, ‘हजुरहरूजस्तो व्यक्तित्वको उपस्थितिबाटै कार्यक्रम सफल भएको हो । हामी हजुरहरूप्रति आभारी छौँ ।’

कविहरूको कविता–गफ तुरुन्तै सकिने खालको थिएन । सबै प्रसन्नताका साथ गफ गरिरहेका थिए । त्यो कविता–गफ सुन्ने स्रोता पनि म एक्लै थिएँ । कवितामात्र होइन, गफको समेत एक्लो स्रोता भएर त्यहाँ धेरैबेर बस्न मन लागेन । म त्यहाँबाट हिँडेँ । म क्याम्पसको गेटबाट बाहिर निस्किएँ । दिमागमा कविगोष्ठीकै चित्र घुमिरहेको थियो । त्यही कविगोष्ठीको सेरोफेरोमा म आफैंसँग अनेक प्रश्नहरू सोधिरहेको थिएँ । कविगोष्ठीहरू निरन्तर भइरहनु राम्रो कुरा हो तर ‘कविगोष्ठी सम्पन्न गरिनु’ मात्रलाई सफलताको मापन मान्न सकिन्छ ? जेजस्ता कविता सुनाए पनि हुने, आफ्नो कविता सुनाएपछि अरूको चाहिँ नसुनी कार्यक्रमबाट हिँडे पनि हुने, कविगोष्ठीमा कविता सुन्ने स्रोता नभए पनि हुने जस्तो स्थितिमा कवि गोष्ठीहरू सम्पन्न हुन थाले भने त्यस्ता गोष्ठीको वास्तविक उपलब्धि के मान्ने ? स्रोताको सहभागिताको महत्व रहेन भने सार्वजनिक कविता वाचनको अर्थ के हुन्छ ?

विभिन्न संस्थाको आयोजनामा विभिन्न ठाउ“मा, विभिन्न ढंगका कवि गोष्ठीहरू हुँदै आएका छन् । काठमाडौं उपत्यकामा त त्यस्ता कार्यक्रम निरन्तर भइरहने गरेका समाचारहरू पढ्न पाइन्छ । अहिले त त्यस्ता कार्यक्रमहरू दिनहुँ मात्र होइन, एकैदिनमा तीन–चारवटासम्म हुने गरेका छन् । एउटै भवनका तीन वटा हलमा एकै दिन तीनै ठाउँमा भइरहेका उदाहरणसमेत हामीले देख्दै आएका छौँ । कविले कविलाई नै कविता सुनाए पुग्छ भने त यसरी सार्वजनिक कार्यक्रमको आयोजना नै किन गर्नुपर्‍यो ?

 मैले मञ्चमा उभिने योग्यता र क्षमताबिनाका कतिपयको अनुहारमा यो समाजका सामन्तहरूको प्रतिबिम्ब देख्ने गरेको छु। त्यस्तै, मञ्चमा रहने कतिपय अनुहारमा ढोंग, आडम्बर र पाखण्डका छायाँहरू पनि देख्ने गरेको छु।

मेरो अनुभवको एउटामात्र कविगोष्ठीको अवस्था त्यस्तो होइन । अरू पनि कतिपय कविगोष्ठीमा कविहरूको उपस्थितिको तुलनामा स्रोताको उपस्थिति न्यून हुने गरेको देखिन्छ । त्यसको कारण के होला ? कविता राम्रा नभएर हो ? कवि, कविता र पाठकबीचको सम्बन्ध टाढा बन्दै गएर त्यस्तो भएको हो ? वा कविता राम्रा भएर पनि पाठक–स्रोताको रुचि कविताप्रति कम हु“दै गएको हो ? कविता लेख्ने कविहरूको संख्या बढ्दै जाने, कविताका पाठक र स्रोताको संख्या भने घट्दै जाने अवस्थाको दोष कसले लिने ? कवि, कविता, स्रोता–पाठक वा कविगोष्ठीका आयोजकले ?

 

 

 

 

प्रतिकृया दिनुहोस