MENU

समाज/जीवनशैली

Annapurna635x90

वैज्ञानिक टमाटर खेती गर्दै

विवश वस्ती मंगलवार, भाद्र २७, २०७४

दशकयता डा. केदार बुढाथोकीको हुलिया बदलिएको छ । पिता–पुर्खाले अँगालेका खेती–किसानीमै फर्किएका छन् । अवकाशपछिको जीवन कसरी बिताउने भन्ने द्विविधामा उनी फसेनन् । २०६२ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को वरिष्ठ वैज्ञानिकबाट बिदा लिएपछि तीन दशकपूर्व आफूले गहन अध्ययन–अनुसन्धान थालेको टमाटर खेतीमै घोत्लिन थाले । साढे तीन दशकको जागिरे–यात्राले बिट मार्दा उनको हातमा ३० लाख रुपैयाँ पर्‍यो । उनले तत्काल संकल्प उमारे, ‘यो रकम म टमाटर खेतीकै अनुसन्धानमा लगाउँछु ।’ तरकारीको बीउ आयात गर्दा बर्सेनि लाखौं रुपैयाँ विदेशिन्छ । आफूले टमाटरको बीउ उत्पादन गर्न थालेपछि अहिले ८० प्रतिशत बीउमा नेपाल आत्मनिर्भर भएको उनको दाबी छ ।

जबकि, अरू तरकारीका बीउ भने भारत, जापान, थाइल्यान्ड, कोरियाबाट आयात गरिन्छ । उनले नार्कका अवकाशप्राप्त वैज्ञानिकहरूलाई हाइब्रिड तरकारीको बीउ उत्पादन अनुसन्धान कार्यमा अभिप्रेरित गर्न राज्यलाई नगुहारेका होइनन् । तर्क गरे पनि, ‘एउटा वैज्ञानिकमा ४० लाख रुपैयाँ लगानी गर्ने हो भने उसले पाँच वर्षमा एउटा नयाँ जात निकाल्छ ।’ तर, भएनन् केही पनि । डा. बुढाथोकी र टमाटर पर्याय नै बनिसके । उनलाई ‘टमाटर–क्रान्तिको नायक’भन्दा असान्दर्भिक नहोला । ०२८ सालमा भारतको राजस्थानस्थित उदयपुर युनिभर्सिटीबाट बीएस्सी–एजी गरेपछि नेपाल फर्किएर सहायक तरकारी विकास अधिकृतको रूपमा जागिर थालेका उनले एक वर्ष पोखरामा बिताए । त्यसलगत्तै उनी सर्लाहीको नवलपुर सरुवा भए । त्यहाँ पूरै चारकोसे झाडी थियो । उनले झाडी फाड्न लगाइ फार्म बनाए ।

त्यतिबेला पूर्व–पश्चिम राजमार्गले छोएको सर्लाहीको अधिकांश भेगका किसान तोरी खेतीमै मग्न थिए । आफूले टमाटर खेतीमै स्नातक गरेका हुँदा उनले किसानहरूलाई टमाटर खेतीमा लगाउने विचार गरे । भन्छन्, ‘मैले किसानहरूलाई तोरीको ठाउँमा टमाटर लगाए धेरै आम्दानी हुने बताएँ र गाउँ–गाउँ पुगी रातभरि मइन्टोल बालेर तालिम दिएँ ।’ लालबन्दीबाट आरम्भ भएको टमाटर–क्रान्ति फैलिएर हरिवन, जुटपानी, डाबरी, लखनदेहीसम्मै फैलियो । अहिले पूर्वमा ढल्केबरदेखि पश्चिममा निजगढसम्म टमाटर खेती फस्टाउने श्रेय डा. बुढाथोकीलाई नै जान्छ । त्यतिबेला वीरगन्जका व्यापारीहरू भारतबाट टमाटर ल्याउँथे र काठमाडौं र पोखरा लगेर बेच्थे । डा. बुढाथोकीले ती व्यापारीहरूलाई समाते र लालबन्दीको टमाटर गुणस्तरीय र स्वादिलो रहेको बताएर बेच्न प्रेरित गरे । नभन्दै उनको प्रयत्नले ‘गोल’ गर्‍यो । ०३२ सालदेखि लालबन्दीको टमाटर भित्रिन थाल्यो, काठमाडौं । उनी दाबी गर्छन्, ‘हिउँदमा भारतबाट आउने टमाटरलाई लालबन्दीको टमाटरले विस्थापित गर्‍यो ।’ त्यतिबेला हिउँदमा भारतको नासिक र वर्षाद्मा हिमाञ्चल प्रदेशबाट काठमाडौंमा टमाटर भित्रिन्थ्यो ।

लालबन्दीबाट आरम्भ भएको टमाटर–क्रान्ति फैलिएर हरिवन, जुटपानी, डाबरी, लखनदेहीसम्मै फैलियो

सन् १९४८ मा कीर्तिपुरको चारघरेमा जन्मिएका डा. बुढाथोकीलाई कृषि क्षेत्रमा लाग्ने उत्प्रेरणा घरायसी वातावरणले नै दियो । बुवा तरकारी खेतीमा तन्मयपूर्वक लागेको सानैदेखि देखे उनले । कीर्तिपुरमा उत्पादित तरकारी कालीमाटीसम्म डोकोमै पु¥याउनुपर्ने जमाना थियो त्यो । उनी सम्झिन्छन्, ‘०३० सालमा कीर्तिपुरमा गाडी पुगेपछि मात्रै गाडीमै तरकारी ओसार्न थालिएको हो ।’ त्यसो त, आधा शताब्दीअघिको कीर्तिपुर उनको स्मृतिमा गढेरै बसेको छ । भन्छन्, ‘कीर्तिपुरका घरका कोठाहरू अत्यन्तै साँघुरा हुन्थे । ठूलो परिवार भएको हुँदा सबै सदस्यलाई कोठा पु¥याउनुपर्ने कारण त्यसो गरिएको रहेछ ।’
पुरानो समयको कीर्तिपुर सम्झिँदा डा. बुढाथोकी ‘हरितन्नम कीर्तिपुर’को स्मरण गर्न पुग्छन् । भन्छन्, ‘चारघरेमा ८० घर थियो । तर, ६–७ घरपरिवारका मानिसलाई मात्र खान पुग्थ्यो ।’ ०२१ सालमा नयाँ विकासे धान (ताइचिन), विकासे मकै (खुमल) र नयाँ गहुँ (पीटी ६२) लगाउन थालेपछि भने त्यसले कायापलट नै ल्यायो । भन्छन्, ‘चार रोपनी जग्गामा पुरानो धान रोप्दा १० मुरी फल्थ्यो, ताइचिन रोप्दा भने ३२ मुरीसम्म फल्न थाल्यो । उत्पादन बढ्न थालेपछि कीर्तिपुरका मानिसले खाद्य संकटबाट छुट्कारा पाए ।’

डा. बुढाथोकी ०५२ सालमा वागवानी अनुसन्धान महाशाखाका प्रमुख भए । त्यसपछि उनले ‘प्लास्टिक–घर’ को अवधारणा ल्याए । मध्यपहाडी भेगमा हिउँदमा तुषारो र वर्षामा अत्यधिक वर्षात्ले तरकारीलाई नोक्सानी तुल्याउने देखेपछि ‘प्लास्टिक–घर’को बाटो रोजेका उनले शुरुमा लुभुका तीन, धर्मस्थलीका दुई र टौदहका दुई किसानको जग्गामा प्रयोग गरे । ती सबै जग्गामा टमाटर रोपे । भन्छन्, ‘प्लास्टिक–घरको उत्पादनपछि किसानहरूले एक रोपनीबाटै दुई लाखसम्म आम्दानी गर्न थालेपछि यसको माग बढ्न थाल्यो । मैले पनि नक्खुमा ५० रोपनी जग्गा भाडामा लिएर टमाटर खेती गर्न थालेँ ।’ जेठदेखि साउनसम्म नेपालको पहाडी भेगमा उत्पादित टमाटर भारतसम्मै पुग्ने डा. बुढाथोकी बताउँछन् । २०५४ सालमा नार्कमा वरिष्ठ वैज्ञानिक भएर प्रवेश गरेका उनी त्यही वर्ष काभ्रेको पाँचखाल गएका थिए । त्यहाँ उनले ‘ब्याक्टेरियल विइल्ड’ नामक जीवाणुका कारण ८० प्रतिशत टमाटर ओइलाएको पाए । एउटा किसानले त ठाडै चुनौती दिँदै भने, ‘अब कुनै माइकालालले पनि नओइलाउने जातको टमाटर निकाल्न सक्दैनन्, कसैले निकाल्छन् भने हामी सुनकै शालिक बनाइदिन्छौँ ।’ ती किसानका चुनौतीले डा. बुढाथोकीलाई घोत्लिन बाध्य पार्‍यो ।

२०५२ सालमा लन्डन युनिभर्सिटीबाट ‘बेमौसमी प्याज’मा विद्यावारिधि गरे पनि डा. बुढाथोकीले आफ्नो सिंगो जीवनलाई टमाटरकै अनुसन्धान र विकासमा समर्पित गरे।

 एक दिन, नार्कमै बसिरहेका बेला काठमाडौं, पशुपतिकी सिर्जना आचार्य उनलाई भेट्न आइन् र भनिन्, ‘सर, मैले हिमाञ्चलबाट बीएस्सी–एजी गरेकी छु । तर, जागिर पाइनँ । जागिर पाइन्छ कि भनेर आएकी हुँ ।’ डा. बुढाथोकीले उनीसामु एउटा प्रस्ताव राखे, ‘तिमी हिमाञ्चल प्रदेशमा जाऊ र नओइलाउने जातको टमाटर लिएर आऊ ।’ डा. बुढाथोकीले सिर्जनालाई उक्त कामका निम्ति ५० हजारसमेत दिए । सिर्जनाले भाले–पोथी गरेर १६ वटा जात ल्याइन् । भन्छन्, ‘त्यसपछि म र सिर्जना त्यो जीवाणु सहन सक्ने नयाँ जात विकास गर्नमा लाग्यौं । हामीले १६ जातलाई विस्तार गरेर ६४ वटा कम्युनिकेसन बनायौं । पाँच वर्षको अनुसन्धानपछि हामीले ब्याक्टेरियल विइल्ड नामक जीवाणुलाई सहन सक्ने नयाँ जातको टमाटर विकास गर्‍यौं ।’ नयाँ जातको नाम राखियो– ‘सिर्जना’ । उनै सिर्जना आचार्यको नाम । डा. बुढाथोकी भन्छन्, ‘जसले मिहिनेत गरेको छ, उनैको नाम राखेको हुँ, मैले ।’ डा. बुढाथोकीले ‘सिर्जना’लाई एउटै बोटमा ३१ केजीसम्म फलाए । त्यसको बीउको माग बढ्न थालेपछि भने उनले बीउ उत्पादनमै जोड दिँदै आए ।

हरेक वर्ष उनी एक सय १५ केजीजति बीउ उत्पादन र बिक्री गर्छन् । एक केजी बीउ बेच्दा एक लाख आम्दानी हुन्छ । त्यसो त, सिर्जना ६० ग्रामको टमाटर हो । तर, उनले सिर्जनापछि धेरै ग्राम हुने टमाटरहरू पनि विकास गर्दै आए ।‘उन्नत सिर्जना’ ८० ग्रामसम्म हुन्छ भने ‘सम्झना’चाहिँ सय ग्राम । एक सय २५ ग्रामसम्मको ‘डा.सरिता’ फलाएपछि उनले गत वर्ष मात्रै एक सय ५० ग्रामको ‘डा. तीन’ नामक नयाँ जातको विकास गरे । सम्झना, सरिता भने उनकै फार्ममा कार्यरत केटीहरू हुन् । र, उनीहरूकै नामबाट राखे, विकसित टमाटरको नाम । भन्छन्, ‘जुन काममा जसको श्रम परेको छ, तिनैको नाम राख्न मन पर्छ मलाई ।’

२०५२ सालमा लन्डन युनिभर्सिटीबाट ‘बेमौसमी प्याज’मा विद्यावारिधि गरे पनि डा. बुढाथोकीले आफ्नो सिंगो जीवनलाई टमाटरकै अनुसन्धान र विकासमा समर्पित गरे । त्यसो त उनी प्याजको अनुसन्धानमा पनि लागे । बेमौसमी–१ नामको नयाँ जात पनि विकास गरे । तर, त्यसलाई रजिस्टर्ड गर्न सकेनन् । देशलाई टमाटरमा आत्मनिर्भर बनाएर उनी प्रशन्न छन् । भन्छन्, ‘मजस्तै अरू वैज्ञानिकहरू पनि यसरी नै अनुसन्धानमा दत्तचित्त भएर लाग्ने हो भने हामीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन सक्छौं ।’

 

 

प्रतिकृया दिनुहोस