MENU

समाज/जीवनशैली

Annapurna635x90

हेलिकोप्टर कुर्दाकुदै अकालमै ज्यान गुमाउँछन् पर्वतारोही

राजु स्याङ्तान मंगलवार, भाद्र २७, २०७४

पर्वतारोहणका क्रममा विपत परे सम्झिने पहिलो नाम हो हेलिकोप्टर । तर, त्यही हेलिकोप्टरले मौकाको फाइदा छोप्दा कैयौंले अकालमै ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा आरोहीदेखि दुर्गम गाउँका मानिससमेत छन् ।

* १५ माघ २०७३ को बिहान १० बजे सगरमाथा आधार शिविरमा ५१ वर्षीय चिनियाँ आरोही जाइन वेनलाई उद्धार गर्नुपर्ने खबर इजी हेली चार्टर सर्भिस प्रालिमा आयो । उनका सहयोगी प्रताप तामाङले उद्धारका लागि खबर गरेका थिए । खबर गरेको साढे तीन घण्टापछि काठमाडौंबाट हेलिकोप्टर उड्यो । तर, सम्बन्धित स्थानमा नपुगी लुक्ला पुगेर बास बस्यो । बिहान बिरामीलाई उद्धार गरी लुक्लास्थित पासाङ ल्हामु अस्पतालमा भर्ना गर्दासम्म ढिला भइसकेको थियो । अस्पतालले बिहान साढे सात बजे मृत घोषित गर्‍यो । घटनापछि नेपाल उड्ययन प्राधिकरणले इजी हेली चार्टरलाई स्पष्टीकरण सोध्यो । चार्टर प्रतिनिधि प्राधिकरणलाई झुटो विवरण पेस गरेर उम्किए ।

* त्यस्तै २७ वैशाख २०७४ मा बिहान ७ बजे नेचा बतासे सोलुखुम्बुबाट सेभन समिट ट्रेकलाई उद्धारका लागि खबर आयो । एक जना नेपाली आरोहण सहयोगी सिकिस्त बिरामी थिए । बिहान ८ बजे आइपुग्ने भनिए पनि हेलिकोप्टर बेलुकी साढे ५ बजे मात्र पुग्यो । त्यतिन्जेल बिरामीको मृत्यु भइसकेको थियो । आक्रोशित स्थानीयले पाइटलमाथि आक्रमण प्रयास गरे । हेलिकोप्टरमा केही क्षतिसमेत भयो ।

 * २३ वैशाख २०७४ मा बिहान १० बजे पनि एक बिरामीका छोराले नेचा बतासेबाटै सेभन समिट ट्रेकलाई उद्धारको लागि आग्रह गरे । उद्धार एजेन्सीले हेलिकोप्टर खबर आएको दोस्रो दिन दिउँसो अढाइ बजे पठायो । त्यतिन्जेल बिरामीको मृत्यु भइसकेको थियो ।

* गत १७ साउनमा सोलुखुम्बु बुङका साम्दु शेर्पाले सिकिस्त बहिनी तेलु शेर्पाका लागि श्री एयरमार्फत उद्धार गरिदिन खबर गरे । एयरले शुरुमै दुई लाख १० हजार ‘डिपोजिट’ गर्न लगायो । उनले गरे पनि । भोलिपल्ट हेलिकोप्टर उड्यो । तर, मौसम खराब भएको भन्दै ५० किमि तलको वाकुमा अवतरण गर्‍यो । त्यति टाढा बिरामी बोकेर ल्याउन असम्भव भएपछि हेलिकोप्टर फर्कियो । अर्को दिन बिहान सिम्रिक एयरले एक लाख ६५ हजार रुपैयाँ लिएर उद्धार गर्‍ यो । हाल बिरामी सफल उपचारपछि घर फर्किसकेकी छन् ।

उनका आफन्त रकम फिर्ताका लागि पटक–पटक श्री एयर धाइरहेका छन् । त्यहाँका कर्मचारीले पैसा फिर्ता नहुने बताउँदै आएका छन् । साम्दु शेर्पा भन्छन्, ‘हामीले मुख्य व्यक्तिसँग सीधै भेट्न खोज्यौं । तर, त्यहाँका कर्मचारीले मिटिङ बसेर खबर गर्ने बताएका छन् ।’

जीवनभन्दा पैसा ठूलो

हेलिकोप्टर कम्पनीहरूले मानिसको जीवनमाथि खेलवाड गरेका केही प्रतिनिधि उदाहरण हुन् यी । उनीहरूले विदेशीदेखि स्वदेशी नागरिकसम्मलाई छाडेका छैनन् । सिकिस्त बिरामी हेलिकोप्टरको पर्खाइमा छट्पटाइरहन्छ । हेलिकोप्टर कम्पनीको पहिलो प्रश्न हुन्छ, ‘विदेशी हो कि नेपाली ?’ विदेशी हो भने उनीहरू तयार हुन्छन् । नेपाली हो भने शुरुमा बोल्दैनन् । निकै कर गरेपछि चर्को मूल्यमा ‘बार्गेनिङ’ शुरु हुन्छ । नेपाली आकाशमा नौ वटा कम्पनीका हेलिकोप्टर उडिरहेका छन् । उनीहरूका लागि कुनै शुल्क निर्धारण गरिएको छैन । मोलमोलाइ मिलेपछि हेलिकोप्टर उड्छ । तर, पुग्नुपर्ने समय र स्थानमा कहिल्यै पुग्दैन । जसको लागि गएको हो, त्यहाँ पहिला जाँदैनन् । लोकल बसले यात्रु बटुलेझैं ‘रेस्क्यु कलेक्सन’ गरेर बस्छन् या पहुँचवाला ठूला पसलेको सामान ओसारपसार गरी बस्छन् । अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष नामग्याल शेर्पा भन्छन्, ‘उनीहरूका लागि त्यो बोनसजस्तो भएको छ ।’ सेवाग्राहीसँग मनपरी मूल्य असुल्ने गरेको बताउँछन् आरोहण सहयोगी आङदावा शेर्पा । उनी भन्छन्, ‘ट्याक्सीमा समेत मिटर व्यवस्था छ । तर, हेलिकोप्टरमा केही नियम छैन ।’

ट्याक्सीमा समेत मिटर व्यवस्था छ। तर, हलिकोप्टरमा केही नियम छैन। आङदावा शेर्पा, आरोहण सहयोगी

स्रोतका अनुसार एकजनाका लागि भनेर उडेको हेलिकोप्टरले एकैपटक धेरै बिरामी जम्मा गर्छन् । त्यसपछि प्रत्येक व्यक्तिबाट चर्को मूल्य असुल्छन् । कम्पनीहरूले कर छल्दै सोही प्रकृतिको काम गर्न पाइलटहरूलाई दबाबसमेत दिने गरेको स्रोतको दाबी छ । ‘तर, सबै पाइलट पैसामुखी छैनन् । इमानदार पाइलटलाई समेत गैरकानुनी मिसनका लागि पटकपटक बाध्य बनाइन्छ ।’ स्रोतले भन्छ ।मनाङ एयरमा कार्यरत पाइलट हीरा दाहाल हेलिकोप्टर ढिलो हुनुमा मौसम कारक हुने बताउँछन् । हेलिकोप्टर अर्को काममा गइरहेको पनि हुन सक्ने बताउँछन्, उनी । ‘हेलिकोप्टर अन्नपूर्ण गइरहेको हुन सक्छ । सगरमाथामा तुरुन्तै त आउन सक्दैन नि । त्यस्तै, सूचना सही नहुँदा पनि ढिलो हुन्छ । हाम्रो काम धेरैजसो उद्धार गर्ने नै हुन्छ । ढिलो गर्ने हाम्रो उद्देश्य हुँदैन,’ उनी भन्छन् ।

सबै पाइलट राम्रै हुन्छन् भन्न नसकिने दाहालको भनाइ छ । भन्छन्, ‘पाइलटको स्वभावमा पनि भर पर्छ । सबै मान्छे राम्रा हुँदैनन् । तर, केहीले ग¥यो भन्दैमा समग्रलाई दोष दिनु उपयुक्त हुन्न ।’ उनी आफ्नो कामको दुरुपयोग गर्ने पाइलटहरू पनि देखेको बतााउँछन् । भन्छन्, ‘त्यस्तो किन गर्छन् होला जस्तो लाग्छ ।’ पेसालाई मर्यादित बनाउनुपर्ने उनको भनाइ छ । फिस्टेल एयरका अपरेसन म्यानेजर रमेश सिवाकोटी ढिलो हुनुमा मौसम खराबीसँगै बिचौलियाका कारण भएको बताउँछन् । भन्छन्, ‘हामीसँग बिरामीको सीधै सम्पर्क हुँदैन । बिरामीका आफन्तले बिचौलियामार्फत् सम्पर्क गर्छन् । त्यसले पनि ढिला हुन्छ ।’ उनी आपतकालीन अवस्थामा सीधै कम्पनीलाई फोन गर्न सेवाग्राहीलाई आग्रह गर्छन् ।

helicoptar

मनास्लुमा गएको हिउँ पहिरोपछि आरोहीको उद्धार गर्दै उद्धारकर्मीहरु । स्रोत : एबीसी डट नेट डट एयु

केही एयरलाइन्स राम्रो सेवा नदिएका कारण बन्द हुने अवस्थामा छन् । दुर्घटनामा पर्ने एयरलाइन्सहरूमा एभरेस्ट, कस्मिक, अग्नि र लुम्बिनी एयरलगायत छन् । हिमालयन, मनकामना, कर्णाली, नेपाल एयरवेज हेलिकोप्टर, एसियन, हेली हान्सा त बन्द नै भइसके । अहिले भएका मध्ये कतिपय हेलिकोप्टर कम्पनीहरूले पनि मानिसको जीवनभन्दा पैसालाई प्राथमिकता दिइरहेको आरोप छ । हेलिकोप्टरको मात्रै दोष दिन नमिल्ने बताउँछन्, आरोहण सहयोगी शेर्पा । पाइलट दाहालको जस्तै मत राख्छन्, उनी । भन्छन्, ‘ढिलो आइपुग्नुमा मौसमको खराबी पनि हुन सक्छ ।’ विदेशीलाई पहिलो प्राथमिकता दिने र नेपालीले उद्धारका लागि बोलाउँदा नआउने गरेको अनुभव छ, उनीसँग । उनले आरोहणका क्रममा हिमाली क्षेत्रमा धेरै शव देखे । ती प्रायः शव नेपालीकै हुने उनी सुनाउँछन् । बेवारिसे छाडिएका शव उद्धारको पर्खाइमा बस्दाबस्दै त्यहीँ प्राण गएको हुन सक्ने उनको अनुमान छ ।

कालोसूचीमा एयरलाइन्स

केही एयरलाइन्सले राम्रो सेवा दिए पनि अरूले नदिँदा एयरलाइन्स उद्योग नै धरासायी बन्दै गएको स्वीकार्छन्, विज्ञहरू । भौगोलिक प्रतिकूलता त छँदैछ । त्यसमाथि हेलिकोप्टर कम्पनीहरूको लापरबाहीले गर्दा युरोपियन युनियनले सन् २०१३ देखि कालोसूचीमा राखिसकेको छ । एयरलाइन्सहरूले पैसामात्रै कमाउने उद्देश्यले काम गरिरहेको युनियनको आरोप छ । सन् २०१५ मा एयरलाइन रेटिङ डटकमलाई उद्धृत गर्दै सीएनएनले नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा असुरक्षित एयरलाइन्स भनी उल्लेख गरेको थियो । एयरलाइन्स कम्पनीझैं समस्या हेलिकोप्टर कम्पनीको पनि छ । स्रोतका अनुसार केही एयरलाइन्सबाहेक अरू हेलिकोप्टर कम्पनीहरू ट्राभल एजेन्ट, ट्रेकिङ एजेन्ट, हेलिकोप्टर चार्टर कम्पनीबाट परिचालित छन् । उनीहरू सुरक्षाप्रति जिम्मेवार छैनन् । जसरी हुन्छ, पैसा कमाउने ध्याउन्नमा छन् । 

नेपाल सरकारले ‘हवाई नीति २०६३’ जारी गरी दुर्गम क्षेत्रसम्म हवाई सेवा विस्तार गर्न ‘दुर्गम क्षेत्र हवाई सेवा सञ्चालन कोष’को स्थापना गर्ने लक्ष्य लिएको थियो । तर, नागरिक ठगिनुपर्ने अवस्थाले सरकारको नीतिमा प्रश्न चिह्न उठेको छ । हवाई नीतिमा ‘नागरिक उड्डयन प्राधिकरणको सिफारिसका आधारमा अधिकतम र न्यूनतम सीमा तोकी प्रत्येक उडानखण्डको हवाई भाडा सरकारले निर्धारण गर्नेछ’ भनिएको छ । त्यस्तै, सरकारले तोकेको हवाई भाडादरमा सेवा सञ्चालन नगरी बढी भाडा लिने तथा अस्वस्थ प्रतिस्पर्धा गर्ने वायुसेवाहरूलाई नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गरी कानुनी कारबाही गर्न सक्नेछ’समेत भनिएको छ ।

 सिकिस्त बिरामी हेलिकोप्टरको पर्खाइमा छट्पटाइरहन्छ। हेलिकोप्टर कम्पनीको पहिलो प्रश्न हुन्छ, ‘विदेशी हो कि नेपाली ?’

हवाईजहाजको भाडादर तोकिए पनि हेलिकोप्टरको तोकिएको छैन । ट्याक्सीजस्तै प्रतिघण्टा २५ सय डलरका दरले उडिरहेका छन् । नतोकीकनै हेलिकोप्टर प्रयोग गर्ने सेवाग्राही पनि हुने पाइलट दाहाल बताउँछन् । यातायातको सुविधा नपुगेको दुर्गम गाउँका मानिस विपतमा हेलिकोप्टर प्रयोग गर्छन् । सुदूरपश्चिमलगायत क्षेत्रबाट बढी प्रयोग हुने गरेको छ । सरकारको कुनै पनि ऐन र कानुन दुर्गम गाउँमैत्री बन्न सकेको छैन ।निजी लगानीमा हेलिकोप्टर कम्पनीहरू फस्टाइरहेका छन् । दुर्गम गाउँबाट हेलिकोप्टर बोलाइन्छ । उनीहरू पहिला नेपाली हो कि विदेशी हो भनेर बुझ्छन् । बिरामीअनुसार व्यवहार गर्छन् । अझ हिमाली क्षेत्रमा काम गर्ने पोर्टरहरू कोही गम्भीर बिरामी पर्‍यो भने कुनै पनि हेलिकोप्टर कम्पनी तयार हुँदैनन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष नामग्याल शेर्पा भन्छन्, ‘पोर्टरले सिटामोलसम्म पाउँदैन । हिमाली मजदुरहरू बिरामी भएमा मृत्युमात्रै विकल्प हुन्छ ।’ ३०–४० किलोसम्म भारी बोकेर हिँड्ने प्रत्येक मजदुरबाट सगरमाथा राष्ट्रिय निकुञ्जले २५ रुपैयाँ शुल्क लिने गरेको उनी बताउँछन् । ‘मजदुरमाथि मानवीय व्यवहार छैन । त्यसमाथि राज्यले धराजस्व संकलन गरी मजदुरलाई चुसिरहेको छ ।’ उनी भन्छन् । हेलिकोप्टर कम्पनीहरू पैसा मात्रै हेर्ने गरेको उनी आरोप लगाउँछन् । ‘एकजना बिरामी विदेशीलाई हेलिकोप्टरले रेस्क्यु गर्न आयो, उनी सुनाउँछन्, ‘ऊसँगै एकजना नेपाली मजदुर पनि सिकिस्त थियो । हेलिकोप्टर पनि खाली थियो । विदेशीले लैजाऊँ भन्यो । तर, नेपाली पाइलटले मान्दै मानेन ।’

हेलिकोप्टर कम्पनीहरूको मनोमानी, अपरिपक्व व्यक्तिहरूको नियन्त्रणमा पर्यटन उद्योग, लगानीकर्ताहरू पैसामुखी हुनु र धेरैजसो लगानीकर्ताहरू ट्राभल र टुर कम्पनी सञ्चालक रहेका कारण पर्यटन क्षेत्र धरासायी बन्दै गएको भुक्तभोगीहरूको ठहर छ । पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको नेपालमा निजी कम्पनीहरूको मनोमानी नरोकिने हो भने पर्यटन क्षेत्रबाट राज्यले ठूलो नोक्सानी बेहोर्नुपर्ने चिन्ता व्यक्त गर्छन्, उनीहरू । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बनेको छ । वायुयानसम्बन्धी नीतिहरू पुनःपरिभाषित हुनुपर्नेसमेत उनीहरूको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सिभिल एभिएसन सेफ्टी रेगुलेसन निर्देशनालयका उपनिर्देशक सुवास झा हेलिकोप्टर कम्पनीहरूले ठगी गरेको प्रमाणसहित लिखित उजुरी ल्याउन आग्रह गर्छन् । उनी भन्छन्, ‘अहिलेसम्म कुनै उजुरी आएको छैन । सप्रमाण उजुरी ल्याउनुस् कारबाही हुन्छ ।’ राज्यको लगानी हेलिकोप्टर कम्पनीमा नरहेको बताउँदै उनी भन्छन्, ‘लगानी गरेका निजी कम्पनीहरू घाटामा काम गर्न चाहँदैनन् ।’

 

 

प्रतिकृया दिनुहोस