MENU

समाज/जीवनशैली

Annapurna635x90

रुक्मिणीको यात्रा : चितवनदेखि सिंहदरबारसम्म

 राजु स्याङ्तान सोमवार, भाद्र १९, २०७४

क्रिकेटको शतक भुलाउने राजनीतिक दल, संसद्मा मात्रै २५ दल । संसद्बाहिर कति हो कति । ती सबै दलका अध्यक्ष पुरुष । घुम्ने कुर्सीमा पुस्तौंदेखि उनीहरू नै गजधम्म । तर, त्यसदिन सामुन्नेमा थिइन् कुर्ता सुरुवालमा सजिएकी एक थारू महिला । जो संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये एक्लो महिला अध्यक्ष हुन् । बिदाको दिन पनि कार्यालयमा थिइन्, उनी । पार्टीका नेताहरूसँग योजना बनाउँदै थिइन् । ३९ वर्षीया रुक्मिणी चौधरीले राजनीतिक जीवनका बांगाटिंगा बाटोसँगै बाल्यकालका केही स्मृति सुनाइन् ।

त्यो राँके जुलुस

‘बुवा भित्र बैठकमा बस्नुहुन्थ्यो । म सडकमा प्रहरी आए/नआएको हेर्थेँ । त्यो भन्छ नि सुराकी । हो त्यही सुराकी गर्थेँ म’, सेतो र पहेंलो रंगको सल मिलाउँदै रुक्मिणी चौधरीले भनिन् । सिंहदरबारभित्रको परिसर । विभिन्न मन्त्रालयका अग्ला–अग्ला भवनले साँझको पहेंलो घाम ओझेल बनाउँदै थियो । अग्लो मन्त्रालयको भुइँतलामा उनको कार्यालय । ठूला पार्टीका संसदीय दलको कार्यालय हेरी सीमान्त कार्यालय भन्न सुहाउने । थोरै खुलेको झ्याल । उनी गफिन थालिन् ।

‘मेरो बुवा कृष्ण गुराऊ कांग्रेस चितवन जिल्ला सभापति हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध आन्दोलनमा हुनुहुन्थ्यो’, उनले बाल्यकालका सुनौला दिनहरू सुनाउन थालिन् । पश्चिम चितवनको थारू बस्ती शुक्रनगरमा २०३५ सालमा उनी माइली छोरीको रूपमा जन्मिइन् । आमा धर्मीदेवीले १७ वर्षअघि नै कहिल्यै नआउने गरी छाडेर गइसकेकी थिइन् । उनको गाउँमा जमिन्दारी प्रथा थियो । हजुरबुवा ०१५ सालका प्रधानपञ्च । बुवा २० औं वर्ष प्रधानपञ्च चलाएका । पूरै परिवार राजनीतिमा । दुःखलाई नजिकबाट महसुस गर्नु परेन । ११–१२ वर्षको उमेरमै पञ्चायतविरुद्ध लहलहैमा राँके जुलुस बाल्दै हिँडिन् । ‘त्यसको अर्थ थाहा थिएन । तर, रमाइलो मान्दै जुलुसमा हिँडियो,’ टेबलमाथिको गिलासको पानी पिउँदै उनले भनिन् ।

‘मलाई नपुग्दो थिएन। अर्काको गोबर सोहोर्ने जात भन्दै हेला गरेको सहन सकिनँ। त्यसपछि जिल्ला शिक्षा कार्यालयको जागिर छाडेर राजनीतिमा आएँ।’

पञ्चायतविरुद्ध आन्दोलनमा उनको बुवा भूमिगत थिए । खाने बस्नेको टुंगो थिएन । ओछ्यान कहिले मकैबारीमा त कहिले खोला किनारामा भेटिन्थ्यो । उनी बुवालाई सघाउँथिन् । बुवालाई सघाएको प्रहरीले थाहा पाएपछि बालखैमा उनी कयौंपटक गिरफ्तारीमा परिन् । ‘तिम्रो बुवा कहाँ छ’ भन्दै पोल खोल्न प्रहरीले दबाब दिन्थे । दिनभरि प्रहरी चौकी बस्थिन् । थानाको झ्यालबाट नारायणीपारि घाम डुब्दै गएको देखेपछि घर सम्झिएर उनी रुन्थिन् । त्यसपछि पुलिसले छाडिदिन्थे ।

उनले गाउँकै प्रभात माविबाट ०५४ सालमा एसएलसी दिइन् । लगत्तै घरमा मंगनी गरिदिने कुरा चल्यो । संगीहरूमाझ उनको मंगनीबारे हल्ला चल्यो । उनी कहिले लजाउँथिन्, कहिले चिन्तित हुन्थिन् । तर, विवाह गरेर जाने परिवार शिक्षित परिवार भएको थाहा पाएपछि उनी राजी भइन् । त्यसपछि रुक्मिणीको पदचाप नारायणी तिरमा देखिन छाड्यो । नारायणी कटेर उनी दाङदेउखुरीको राप्ती तिरमा पुगिन् । राजनीतिमा नलागेका सरकारी कर्मचारी सनातनदेव सतगौंवाको लौली (नयाँ दुलही) बनेर भित्रिइन् ।

जब दाङ पुगिन्, तब उनको जीवनले नयाँ मोड लियो । चितवनमा नदेखेको दुःख दाङमा देखिन् । अन्याय देखिन्, शोषण देखिन् । उनको घरमा दुःख थिएन । तर, गाउँमा थारू जातिमाथि हुने अन्यायलाई नजिकबाट देखिन् । ‘आफूले दुःख नपाएर के भो र आफ्नो समुदायका धेरैले दुःख पाएको देखें । अर्काको भाँडा माँझ्ने जात, गोबर सोहोर्ने जात भन्दै हेला होंचो गरेको देखेँ । त्यो मैले सहन सकिनँ,’ गम्भीर मुद्रामा सुनाइन् । त्यसपछि उनी आफ्नो जातिको मुक्तिका लागि राजनीतिमा लाग्ने सोचमा पुगिन् ।

परिवारबाट सहयोग पाइन् । पतिको साथ पाइन् । शिक्षण पेसामा रहेका ससुराले अघि बढ्न हौसला दिए । सासूबाट ढाडस पाइन् । त्यसपछि निस्किइन् एउटी थरूनी राजनीतिको मैदानमा । ‘मलाई नपुग्दो थिएन । तर, मलाई घरमा बस्न मनै लागेन । जिल्ला शिक्षा कार्यालयमा जागिरे थिएँ । त्यो पछि छाडिदिएँ ।’ उनले भनिन् ।

राजनीतिक यात्रा

त्यसपछि लक्ष्मण थारूको पार्टीमा आबद्ध भइन् । संयुक्त थारू राष्ट्रिय मोर्चा थियो पार्टीको नाम । ०६३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नामाकरण गरी निर्वाचन आयोगमा दर्ता गरियो । ०६४ को संविधानसभाको निर्वाचनमा समानुपातिकबाट दुई सांसद भए । त्यसमध्ये उनी पनि थिइन् । रुक्मिणीको राजनीतिक यात्रा दाङको थारू बस्तीबाट सिंहदरबार सर्‍यो । एउटी थरूनी युगौंपछि सिंहदरबारमा थारू पोशाकमै पुगिन् । विविध कारणले लक्ष्मण थारूसँगको चारवर्षे सहयात्रा टुट्यो । ९ भदौ ०६८ मा पार्टी गठन गरी उनी आफैँ अध्यक्ष भइन् । पार्टीको नाम राखिन् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) । त्यसपछि टीका–टिप्पणी शुरु भयो, ‘त्यो थरूनीले पार्टी चलाउन सक्दिन ।’

अहिले रुक्मिणी मात्रै एक्ली पात्र हुन्, जो पार्टीको प्रमुख पदमा छिन्। उनले दुई कार्यकाल अध्यक्ष चलाइसकेकी छिन्।

राजनीतिको जटिल घुम्तीमा आफू आइपुगेको उनी बताउँछिन् । भन्छिन, परिवारमा नभोगेको दुःख राजनीतिमा भोगेँ, ‘समाजमा यति असमानता छ भनेर कल्पना पनि गरेकी थिइनँ । पछि थाहा भयो त्यो असमानता र अन्यायको जड राजनीतिमा अडिएको हुँदोरहेछ ।’

एक्ली महिला अध्यक्ष

एक समय सहाना प्रधान नेकपा मालेको पार्टी अध्यक्ष थिइन् । त्यसपछि सरिता गिरी सद्भावनाको र यशोदाकुमारी लामा दलित जनजाति पार्टीको छोटो समय अध्यक्ष भएका थिए । अहिले रुक्मिणी मात्रै एक्ली पात्र हुन्, जो पार्टीको प्रमुख पदमा छिन् । उनले दुई कार्यकाल अध्यक्ष चलाइसकेकी छिन् । उनी धेरै पुरुष अध्यक्षहरूको माझमा बस्दा रमाइलो लाग्ने बताउँछिन् । ‘उमेरले मभन्दा उहाँहरू अनुभवी हुनुहुन्छ होला, तर म सक्छु । मान्छे जुनसुकै लिंगको होस्, पद बराबर हुन्छ ।’

बालुवाटारमा पार्टी अध्यक्षहरूको बैठक हुँदा ‘यी महिलाले के बोल्छिन् होला’ भन्दै बोल्न दिन अन्कनाउने गरेको उनको अनुभव छ । ‘थरूनीले के पो बोल्न सक्छिन् र’, ‘योसँग के मुद्दा छ र’ भन्नेजस्तो व्यवहार पनि भोगेँ ।’ उनी भन्छिन् । तर, उनी बोल्न छाडिनन् । संसद्मा निरन्तर बोलिरहिन् । संसद्मा विशेष समय लिएर सबै पार्टीका प्रमुखहरूले बोल्थे । उनी पनि बोल्थिन् । बेलुकी टीभीमा सबै पार्टीका अध्यक्षहरूले बोलेको देखाउँथ्यो । उनको पालो आइपुग्दा पर्दामा देखिन्थ्यो ‘सेभेन अप’को विज्ञापन । तर, उनी कहिल्यै आत्तिइन् । उनले सुस्तरी भनिन्, ‘बलेको आगो जसले नि ताप्छ । एकदिन सबै मिडियाले खोज्ने काम गरेर देखाउँछु ।’

नेपालमा पितृसत्ता

नेपाली समाज पितृसत्तात्मक छ । अगेनाछेउको पिर्कादेखि राज्यको कुर्सीसम्म कहाँ कसरी लुकेको छ पितृसत्ता ? यसबारे उनको अनुभव छुट्टै छ । भन्छिन्, ‘पितृसत्ता सबैभन्दा धेरै घरमै छ । घरपछि समाज अनि राज्यको उपल्लो तहमा ।’ उनको सीधा प्रश्न छ, ‘घरमै पितृसत्ता राख्ने अनि राज्यको उपल्लो निकायमा पुगी ठूल्ठूलो कुरा गर्ने ?’ महिलाले धेरै घेरा तोड्नुपर्छ, भन्छिन्, ‘बल्लबल्ल घरको घेरा तोड्यो, समाजको घेरा आइपुग्छ । त्यो पनि तोड्यो । राज्यको अजंगको घेरा आइपुग्छ ।’

साना ठूला सबै पार्टीभित्र पितृसत्ता रहेको उनी बताउँछिन् । आफ्नै पार्टीमा अस्वीकार भएको उनको तीतो अनुभव छ । रुक्मिणीले पार्टी चलाउन सक्दिनन् भन्ने धेरै सुनिन् । उनी त्यसलाई पितृसत्तावादी मानसिकता भएको बताउँछिन् । उनले आफ्नै पार्टीको २३ जनाको केन्द्रीय समितिमा पाँच महिला छन् । अरू थप्ने तयारी गर्दैछिन् । रोचक त के छ भने उनको पार्टीमा केन्द्रीय सदस्य छन्, उनकै पति । सभा समारोहमा उनी प्रमुख अतिथि भएर मञ्चमा भाषण गर्छिन् । तल पति ताली बजाउँछन् ।

शान्तिनगरमा दुई छोराछोरीसँगै बस्दै आएकी उनी आफंै खाना पकाउँँछिन् । पति गाउँमा छन् । यता आउँदा उनले खाना पकाउँछन् । बिहान छोराछोरीलाई खाना खुवाएर अफिस आउँछिन् । दिनभरि सिंहदरबारभित्रै जनताका काम गर्छिन् ।थारू आन्दोलन फेरि उठ्नेमा उनी विश्वस्त छिन् । राज्यले फुटाउ र शासन गर भन्ने नीति लिएको उनको भनाइ छ । जातीय संख्याको आधारमा राज्यका हरेक अंगमा पूर्ण समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टीले मात्र समाजमा समानता स्थापना हुने उनको भनाइ छ ।

पछिल्लो समय थ्रेसहोल्डको कुरा चलिरहेको छ । स्थायी सत्ता नहुनुमा दर्जनौंको संख्यामा रहेको स–साना पार्टीको दोष देख्छन्, एकथरी विज्ञ । तर, उनले हालै आगामी चुनावको लागि ५० औं नम्बरमा निर्वाचन आयोगमा दल दर्ता गराइन् । उनी आक्रोशित हुँदै भन्छिन्, ‘कसैले भन्दैमा हाम्रो अस्तित्व सकिँदैन । पार्टी सकिने र नसकिने सिद्धान्त र नेतृत्वमा भर पर्छ ।’ अघिल्लो दुई तहको स्थानीय निर्वाचनमा प्रमुख पदमा शून्य सिट प्राप्त गरेको उनको पार्टीको हारे पनि जिते पनि लडिरहने नीति छ ।

 

 

प्रतिकृया दिनुहोस