MENU

समाज/जीवनशैली

Annapurna635x90

रंगमञ्‍चकी रोशनी

विवश वस्ती मंगलवार, भाद्र १३, २०७४

आजपर्यन्त उनी ‘वासुदेव सर’ कै ‘सावित्री’ हुन् । जीवनमा कैयौं मोड आए पनि उनले वासुदेव सरको असल–पत्नी भएरै बस्न चाहिन्, पर्दाभित्र होस् वा बाहिरै । फरक यत्ति हो– पर्दामा उनी हरितन्नम ‘वासुदेव सर’ का पत्नी थिइन्, वास्तविक जीवनमा नितान्त भिन्नै । हुन पनि, ४० को दशकको चर्चित चलचित्र ‘वासुदेव’ हेरेपछि सबैले भन्थे, ‘जोडी हुनु त यस्तो, वासुदेव र सावित्रीजस्तो ।

अहो, कस्तो आदर्श जोडी ।’ त्यो नितान्त फिल्मी–कुरा थियो । कलाकार शकुन्तला गुरुङ र हरिहर शर्मा बिहे–बन्धनमा बाँधिएको ८ वर्षपछि बन्यो, ‘वासुदेव’ । त्यसले नेपाली समाजमा बेग्लै तरंग ल्यायो र फराकिलो बन्यो, फिल्मी–क्यानभास । डा. धु्रवचन्द्र गौतमको चर्चित उपन्यास ‘कट्टेल सरको चोटपटक’को फिल्मीकरणका क्रममा बनेको थियो, ‘वासुदेव’ । वास्तविक जीवनका पति–पत्नी गुरुङ र शर्मा सोही भूमिकामा देखिए । चोटिला थियो, भूमिका ।

बिहेको ४० औं ‘वर्षगाँठ’ कमाएका यी जोडीमा अझै पनि ‘वासुदेव’कै जस्तै चरित्र मौजुद छ । नेपाली चलचित्र, रंगमञ्च, रेडियो नाटककी प्रख्यात कलाकर्मी शर्मा भन्छिन्, ‘बिहेयता हामीबीच झैंझगडा भएको त्यति याद नै छैन । सबैले आदर्श जोडी भन्छन्, हामीलाई ।’ वासुदेव माड्साब र सावित्री पर्दामा मात्र होइन, पर्दाबाहिर पनि समाजको आदर्श जोडीकै रूपमा सावित छन् अहिलेसम्म । चलचित्रमा मात्र होइन, वास्तविक जीवनमा पनि शकुन्तला–हरिहरले ‘सामाजिक मान्यता’ पाए ।

कला–यात्राको आधा शतकभन्दा लामो हिँडाइमा चलचित्र, रेडियो नाटक, गायनतिर अल्झिए पनि उनको मन भने सदैव रंगमञ्चमै अडियो।

जातीय विभेदको साङ्लोले बेरिएको ३० को दशकको नेपाली समाजमा ‘बाहुन वर’ र ‘गुरुङ बधु’बीच मागी बिहे हुनु सम्भव थिएन । तर, भयो त्यस्तै बिहे । गुरुङ भन्छिन्, ‘दुवैका परिवारले नस्वीकार्ने हो कि भन्ने डर थियो । तर, दुवै पक्ष राजी भएपछि हामीले जग्गे नै राखेर बिहे गर्‍यौं ।’ काठमाडौंमा जन्मिएकी गुरुङ र प्युठानमा जन्मिएका शर्माबीच २०३३ सालमा बिहे हुँदा साहित्य र कला क्षेत्रका दिग्गज सर्जकहरूले साक्षी बस्ने मौका पाएका थिए । बिहेमा साक्षी बस्नेहरूमा थिए, विजय मल्ल, लैनसिंह बाङ्देल, हरिभक्त कट्वाल, श्यामदास वैष्णव, प्रचण्ड मल्ल, चूडानाथ भट्टराई आदि । शकुन्तला–हरिहरबीच ‘आँखा–फेराइ’ भएको तीन वर्षपछि बिहे भए पनि बिहेको प्रस्ताव भने हरिहरले नै राखेका थिए ।

हरिभक्तले त उनीहरूको बिहेमा यति धेरै सक्रियता देखाएका थिए कि, हरिहरलाई उनी ‘ज्वाइँ’ भन्थे र शकुन्तलालाई ‘बहिनी’ । नेपाली भाषा–साहित्यका यी विख्यात प्रतिभाको दुवै सँग सौहार्द सम्बन्ध कायम रह्यो, धेरै वर्षसम्म । हुन पनि, शर्मा–दम्पत्ति एउटै खोलीका प्रवाह र सुसाइजस्तै लाग्छन् । प्रवाह नभए सुसाइ हुँदैन, सुसाइ नभए प्रवाहको अस्तित्व बाँकी रहँदैन । अहिले त त्यो प्रवाहले ४० जंघार छिचोलिसकेको छ र कलाकर्ममा खर्चिएका क्षणलाई कुनै न कुनै हिसाबले लिपिबद्ध गर्ने तयारीमा जुटेकी छिन्, शर्मा । भन्छिन्, ‘अचेल म फुर्सदमा छु । तर, फुर्सदको समयमा मैले जीवनमा आफूले भोगेका अनुभूति लेख्दै छु ।’ के आत्मकथा ? शर्मा स्वीकार्छिन्, ‘हो, त्यो आत्मकथा नै हुनेछ । केही अंश लेखिसकेको छु ।’

११ वर्षमै रंगमञ्चमा

भारतीय सेनामा कार्यरत थिए, शर्माका बुबा । मूलघर लमजुङ भए पनि बस्थे, काठमाडौंको लाजिम्पाटमा । ००८ सालमा उनी लाजिम्पाटमै जन्मिइन् । कलाप्रति उनको रुचि भने चार वर्षको उमेरदेखि नै जाग्यो । भन्छिन्, ‘एक पटक, बुवाले मलाई लमजुङ लिएर जानुभयो । बाटामा रहेका पाटी–पौवामा बस्दा मानिसहरूले नाचगान गरेको देखेँ । त्यही बेलादेखि नै ममा कलाप्रति रुचि जाग्यो ।’ अझ, काठमाडौंको नेवारी समुदायमा हुर्किएकी उनलाई विभिन्न चाडपर्वमा डबलीमा नाटक मञ्चन हुँदा र मानिसहरू उमंगपूर्वक नाच्दा कला क्षेत्रमा बढ्ने गोरेटो तय गरिदियो । तत्कालीन समाज नै त्यस्तै । महिलालाई नाटक खेल्ने अनुमति थिएन । सम्झिन्छन्, ‘रातभरि मइन्टोल बालेर नाटक प्रदर्शन हुन्थ्यो । महिलाको भूमिका भने पुरुषले नै निभाउनुपथ्र्यो ।’ त्यो त्यही बेला थियो, उपन्यासकार दौलतविक्रम विष्ट, नीरविक्रम प्यासीजस्ता सर्जकहरू महिलाका भेषमा डबली र रंगमञ्चमा उत्रन्थे ।

sabitri2

नाटक हेर्ने रहर मौलाउँदै जाँदा ११ वर्षकी उमेरमा उनले खेलिन्, ‘पलाँसको फूल’ । जगतमर्दन थापाले लेखेको कथालाई नाट्य रूपान्तरण गरिएको थियो । आफ्नै दाजुका साथी थिए, थापा र त्यही भएर उनलाई नाटक खेल्ने बाटो सहजै खुल्यो । उक्त नाटक महाराजगञ्जमा करिब डेढ महिनासम्मै रिहर्सल भयो र राष्ट्रिय नाचघरमा चार दिनसम्म प्रदर्शन । भन्छिन्, ‘रङ्गमञ्चमा पहिलोपटक उत्रिँदा ममा कुनै डर उत्पन्न भएन ।

बरु, पर्दा लागेका बेला उघारेर दर्शकलाई चियाएर हेर्थेँ ।’ सो नाटकमा बहिनीको भूमिकामा खेलेपछि उनलाई जताततैबाट नाटक खेल्ने प्रस्ताव आउन थाल्यो । लगत्तै श्यामदास वैष्णवले उनलाई ‘अन्नपूर्ण’ नामक ओपेरामा खेलाए । भन्छिन्, ‘महिला कलाकार कम थिए, त्यतिबेला । मलाई नाटक खेल्न धेरै ठाउँबाट बोलाउन थालियो ।’ उनीभन्दा पहिले सुभद्रा अधिकारी, भूवन चन्द, बसुन्धरा भुसालजस्ता सीमित कलाकारले नेपाली रङ्गमञ्च धानेका थिए ।

०२२ सालमा भने उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको गीति–काव्य ‘कृषिवाला’ का कृषिवालामै देखिइन् । निर्देशन वैष्णवले नै गरेका थिए । १५ दिनसम्म राष्ट्रिय नाचघरमा प्रदर्शित उक्त नाटकमा अभिनय गर्दा उनी तन्मयतापूर्वक डुबिन् । भन्छिन्, ‘महाकवि देवकोटाले जुन कृषिवालाको परिकल्पना गर्नुभएको थियो, जुन पात्रलाई जन्माउनुभएको थियो, त्यो पात्र म नै हुँ भन्ने ठानेर अभिनय गरेकी थिएँ ।’रेडियो नाटकमा अभिनय गर्न शर्माले ०२२ सालमा रेडियो नेपालको प्रांगण टेकिन् । रेडियो नेपाल पुगेका बेला उनको स्वर मन पराए, हरिप्रसाद रिमाल र वैष्णवले । र, रेडियो नाटकका लागि प्रस्ताव गरे सीधै । त्यतिबेला नाटक बिनारेकर्ड प्रसारण हुन्थ्यो, प्रत्यक्ष प्रसारण ।

धेरै सजग भएर संवाद बोल्नुपथ्र्यो । हरेक शनिबार दिउँसो प्रशारण हुने नाटकको अति नै भाउ थियो । ‘शकुन्तला शर्मा, रेडियो नेपाल, सिंहदरबार, काठमाडौं’, यही ठेगाना तोकेर प्रशस्तै चिठी–पत्र आउँथे । अधिकांश चिठी उनको ‘स्वर–प्रशंसा’ मै अक्षरबद्ध हुन्थे । भन्छिन्, ‘कुनै–कुनै स्रोताले त मलाई तपाईंको स्वर मन पर्‍यो, तपाईसँग बिहे गर्न चाहन्छु भन्ने आशय व्यक्त गरेर पनि चिठी पठाउँथे ।’ रेडियोमा नाटक खेलेवापत पारिश्रमिक भने मिनटको आधारमा दिइन्थ्यो ।

एक मिनट बोलेको उनले पाउँथिन्, ३ रुपैयाँ । मुख्य पात्रले एउटा नाटकमा १० मिनेटसम्म बोल्न पाउथे । उनको पेसा नै बन्यो, हरेक शनिबार १० मिनेट नाटकमा अभिनय गर्ने र ३० रुपियाँ पारिश्रमिक कमाउने । पछि ०३२ सालमा रेडियो नाटकबाट अलग हुँदा भने प्रतिमिनेट १० रुपियाँ पारिश्रमिक पुगेको थियो । रेडियोमा नाटक खेल्दाताका उनका समकालीन थिए, यादव खरेल, जीतेन्द्र महत ‘अभिलाषी’, खगेन्द्र नेपाली, मदनदास श्रेष्ठ, लोकमणि सापकोटा, हरिहर शर्मा आदि । ०२६ सालमै उनी तत्कालीन ‘रोयल नेपाल एकेडमी’ मा ‘क’ वर्गको नाटक–कलाकारका रूपमा छिरिन् । तलब थियो, दुई सय २५ रुपैयाँ । तीन रुपैयाँ केजी पोखरेली चामल आउने त्यो समय उनलाई त्यति तलब छेलोखेलो नै हुन्थ्यो । तलब आएपछि खर्च गरेरै उडाउने स्वभाव थियो, उनको । भन्छिन्, ‘घरमा दिनु पर्दैनथ्यो । साथीभाइलाई खुवाउने र घुमफिर गरेर नै म आफूले पाएको तलब सिध्याउँथे ।’

विजय मल्लले त आफू बाँचुन्जेल आफ्ना नाटकका महिला कलाकारमा शर्माको विकल्प देखेनन्, कहिल्यै। जुन नाटक लेखे पनि शकुन्तलालाई नखेलाई उनको चित्तौ बुझ्दैनथ्यो।

अमृत साइन्स क्याम्पसमा आईएस्सीमा अध्ययनरत एउटा ‘ठिटो’ अर्थात् हरिहर शर्मा ०३० मा एकेडेमीमा जागिर खान आएपछि भने उनको सामीप्यता बाक्लिँदै गयो । एकेडेमीमा दुवै जागिरे भएपछि विजय मल्लले लेखेको नाटक ‘अन्धाको पनि आँखा खुलेको हुन्छ’ मा दुवैले मुख्य चरित्रमा अभिनय गरे । नाटकमा शर्मा चिकित्सकको चरित्रमा थिए भने गुरुङ तिनै चिकित्सककी बहिनी । अमेरिका जाने चक्करमा रहेका चिकित्सकलाई आफ्नी अन्धी बहिनीले ‘देशमै रहेर काम गर्न’ अनुरोध गरिएको उक्त नाटक बौद्धिक पलायनप्रति केन्द्रित थियो । त्यसपछि त शकुन्तला–हरिहर नाटकमै भिज्न थाले । बालकृष्ण समको ‘मुटुको व्यथा’, गोविन्दबहादुर मल्ल गोठालेको ‘भुसको आगो’, सत्यमोहन जोशीको ‘जब घाम लाग्छ’, ‘फर्केर हेर्दा’ र ‘अनि सपना ब्युँझिन्छ’ मा खेले, दुवैले ।

विजय मल्लले त आफू बाँचुन्जेल आफ्ना नाटकका महिला कलाकारमा शर्माको विकल्प देखेनन्, कहिल्यै । जुन नाटक लेखे पनि शकुन्तलालाई नखेलाई उनको चित्त नै बुझ्दैनथ्यो । भन्छिन्, ‘उहाँलाई के विश्वास थियो भने मैले नाटक खेलेँ भने चरित्रमा शतप्रतिशत न्याय गर्न सक्छु ।’ हुन पनि, मल्ल र शर्मा–दम्पत्तिबीच पारिवारिक मित्रता नै थियो । सुख–दुःखका कुराहरू निख्रिएर नै हुन्थ्यो । त्यही भएर, शर्माले मल्लका प्रायः सबै चर्चित नाटक ‘मानिस र मखुन्डो’, ‘स्मृतिको पर्खालभित्र’, ‘हामी बाँच्न सक्छौं’, ‘सन्त्रास र जिन्दगी’, ‘दोभान’ मा मुख्य चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिन् ।

सम र रिक्सा

नाट्य–सम्राट बालकृष्ण सम त उनको अभिनयप्रति मुग्ध नै रहे । भन्छिन्, ‘मैले उहाँको नाटकको रिहर्सल गर्दा होस् वा मञ्चन हुँदा नै होस्, एउटा कुनामा बसेर मेरो अभिनयलाई नियालेर हेर्नु हुन्थ्यो । र, अभिनय सकेपछि तिमीले राम्रो गर्‍यौ भनेर प्रशंसा गर्नु हुन्थ्यो ।’ समले आफ्नो चर्चित नाटक ‘मुटुको व्यथा’ मा शर्मालाई मुख्य चरित्रमा उतारेका थिए ।एकेडेमीमा छँदा उनी आफ्ना साथीहरूसँग दिउँसोको खाजा खान बारम्बार जान्थिन्, कमलपोखरीको कृष्ण पाउरोटी भण्डार र एकेडेमी अगाडि गणेशस्थाननिरको सानोमैयाँको पसलमा ।

life-circle

ज्ञानेश्वरमा बस्ने सम रिक्सा चढेर त्यही बाटो आउँथे । भन्छिन्, ‘समलाई देखेपछि हामी रिक्सा रोक्थ्यौं । रिक्सा रोकेपछि उहाँले ‘तिमीहरूले खाजा खाएको कति भयो ?’ भनेर सोध्नु हुन्थ्यो र हामीले खाएको खाजाको पैसा तिरिदिनु हुन्थ्यो ।’ कतिपटक त रिक्सामा आएका समले ‘लौ तिमीहरू पनि रिक्सा चढ’ भनेर अर्को रिक्साको व्यवस्था गरिदिन्थे । समको रिक्सा अघिअघि र उनी र साथीहरू चढेका रिक्सा पछिपछि हुँदै रत्नपार्क घुमेर आ–आफ्नो घरतिर जान्थे, सबैजना । त्यतिबेला रिक्साले एक रुपैयाँमा रत्नपार्क घुमाइदिएको सम्झना छ, उनलाई ।

रंगमञ्चमा व्यस्त रहनु परे पनि उनले केही नेपाली चलचित्रमा पनि खेलिन् । ०२४ सालमा ‘हिजो, आज, भोलि’ निर्माण हुँदा एउटा सानो भूमिका निभाएकी उनले पछि त ‘बदलिँदो आकाश’ मा राम्रै भूमिका पाइन् । ‘वासुदेव’ मा उनको भूमिकाको त कुरै नगरौं, त्यो चलचित्रले शिखरमा पुर्‍याइदियो उनको अभिनय–यात्रालाई । त्यसपछि, ‘जीवनरेखा’, ‘चेलीबेटी’, ‘मायाप्रीति’, ‘चोखो माया’, ‘सन्तान थरीथरीका’मा उनी जमिन् । फिल्मी–यात्रा अझै रोकिएको छैन । पछिल्लो समय दुई वर्षअघि मात्रै ‘क्लासिक’ मा अन्धी महिलाको भूमिका खेलिन् र ‘फस्ट लभ’ मा पनि उनको अभिनयकला हेर्न सकिन्छ । ‘वासुदेव’ की सावित्री, छोटै भूमिका भए पनि ‘चेलीबेटी’को वकिलको भूमिका उनलाई अहिले पनि स्मरण भइरहन्छन् ।

कला–यात्राको आधा शतकभन्दा लामो हिँडाइमा चलचित्र, रेडियो नाटक, गायनतिर अल्झिए पनि उनको मन भने सदैव रंगमञ्चमै अडियो। रंमञ्चमै रमाइन्, उनी।

 नाटक र फिल्ममध्ये उनलाई चित्त बुझाउने माध्यम भने नाटक नै हो । किन त ? भन्छिन्, ‘माध्यम फरक भए पनि यी दुवै सिर्जनाका विधा हुन्् । तर, रंगमञ्चमा भने दर्शकको प्रतिक्रिया तुरुन्तै बुझ्न सकिन्छ । नाटकमा हामी रुँदा दर्शक रुन्छन्, हामी हाँस्दा दर्शक हाँस्छन् । तर, चलचित्रमा त्यस्तो हुँदैन ।’ त्यसो त, केही गीतमा स्वरसमेत दिएकी शर्मालाई सानै छँदा मास्टर रत्नदास प्रकाशले दरबारमा गीत गाउन लिएर जाने कुराको पनि राम्रो सम्झना छ । प्रकाशले आफ्नी छोरी र शर्मालाई गीत गाउन लिएर गए पनि पारिश्रमिक भने दिइँदैनथ्यो । शर्मा भन्छिन्, ‘म पैसा पाउनेभन्दा पनि दरबारमा दिइने मालपुवा खान पाउने लोभमा गीत गाउन जान्थेँ ।’

कलायात्राको आधा शतकभन्दा लामो हिँडाइमा चलचित्र, रेडियो नाटक, गायनतिर अल्झिए पनि उनको मन भने सदैव रंगमञ्चमै अडियो । रंगमञ्चमै रमाइन्, उनी । रंगमञ्चभन्दा पर अर्को क्षितिज देखिनन्, उनले । भन्छिन् पनि, ‘रंगमञ्चमा जस्तो व्यापकता अरूमा मैले देखिनँ ।’ रंग–यात्रामै आधा शताब्दी गुजारेकी शर्मालाई ‘नेपाली रंगमञ्चकी रोशनी’ भनेर फूलबुट्टा भर्दा पक्कै अतिशयोक्ति नठहरिएला ।

 

 

प्रतिकृया दिनुहोस