MENU

समाज/जीवनशैली

635x90

२५ वर्षदेखि निशुल्क डाक्टरी सेवा

राजु स्याङ्तान, दमक सोमवार, भाद्र ५, २०७४

नेपालको पूर्वी शहर दमक । त्यही शहरसँग जोडिएर आउने अर्को नाम हो, बेलडाँगी शरणार्थी शिविर । बाँसको टाटी, खरको झुपडी र प्लास्टिक ओढेर करिब सवा लाख मान्छेले अढाइ दशक कटाए । कैयौं पटक आन्दोलन गरे । वार्ता भयो, तर केही पाएनन् । पाए त केवल मेची पुलमा तातो गोली । अनि संयुक्त राष्ट्र संघको केही आश्वासन ।सन् १९८६ मा जिग्मे सिंघे भुटानमा राजा भएपछि नेपालीभाषी ल्होत्साम्पाको दुर्दिन शुरु भयो । उनले नेपालीभाषीलाई आफ्नो नागरिक ठानेनन् । दक्षिण भुटानमा बसोबास गरिरहेका ल्होत्साम्पामाथि राज्यले दमन गर्‍यो । नेपालीभाषीका अगुवा नेता टेकनाथ रिजाल सन् १९८८ मा थिम्पुबाट लखेटिन बाध्य भए ।त्यसपछि घरबार छाडेर भाग्ने क्रम रोकिएन । रातारात नेपालीभाषी खेदिने क्रम बढ्न थाल्यो । त्यसरी खेदिनेमध्ये एक थिए, भुटान बाँडाका डा. भम्पा राई ।

पेसाले उनी न्युरो सर्जन । भुटानको दरबारले उनलाई बंगलादेशमा पढ्न पठाएको थियो । उनले ढाकाबाट एमडी गरे । राम्रो सामाजिक हैसियत कमाएका उनलाई भुटान सरकारले खेद्न चाँहदैनथ्यो । कारण उनी रोयल फेमलीकै न्युरो सर्जन थिए । हेर्दाहेर्दै गाउँ रित्तो हुँदै गएपछि उनको मन थामिएन । अन्ततः उनले भुटान छाड्ने निर्णय गरे । भुटान छाड्दा उनी ४८ वर्षका थिए ।

अँध्यारो गल्लीमा डाक्टर

दमक चौकदेखि दक्षिण । भुइँतलमा मजदुर बस्ने अँध्यारो कोठा । साँघुरो भर्‍याङ । त्यही घरको दोस्रो तलामा भेटिएका उनले भने, ‘मलाई राजाले निकालेको होइन । म आफैं हिँडेको हुँ ।’ २४ वर्षदेखि उनी त्यहीँ बस्दै आएका छन् ।उनले कोठाको भित्ताभरि तस्बिरहरू झुन्ड्याएका थिए । लालीगुँरासको फूललाई फ्रेममा सजाएर राखेका थिए । मिर्गौलाको रोगले थलिएकी श्रीमती पल्लो कोठामा थिइन् । पुरानो घर चुहिन्थ्यो । भुटानबाट सँगै आएकी बहिनी पल्लो कोठामा थिइन् ।

देश छाड्दा

दक्षिण भुटानमा नेपालीभाषीहरूले आन्दोलन चर्काए । तर, आन्दोलन सफल भएन । कैयौंलाई गिरफ्तार गरियो । राज्य आतंक मच्चियो । ‘भुटानी पुलिसले तीन दिनको सुत्केरीलाई बलात्कार गर्‍यो ।’ उनले गम्भीर हुँदै सुनाए । डाक्टरी पेसामा रमाइरहेका उनको जीवनमा ठूलो प्रश्न चिह्न खडा भयो । राजालाई उनले देश छा‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ड्ला जस्तो लागेको थिएन । भाइहरू आन्दोलनकारी भएकाले उनको घरमा पुलिसको निगरानी बढ्यो । उनीहरू घरमा आउने परिस्थिति बिगिँ्रदै गयो । प्रहरीले भाइ ल्याऊ भन्दै मानसिक यातना दिन थाले । त्यसपछि भाइहरूले भुटान छाडे ।

bhampa

गाउँ शून्य हुँदै जान थाल्यो । ताला लगाइएको खाली घरमा साता, महिना बितेपछि कुकुर पनि देखिन छाड्यो । रातको मध्यप्रहरमा बसाइँ सर्नेको ताँती बढ्न थाल्यो । नेपालीभाषीलाई राज्यले लखेटेको उनलाई मन परेन । उनी सोचमग्न हुन थाले । अन्ततः उनी डाक्टरी पेसा र मानसम्मानलाई तिलाञ्जली दिने निष्कर्षमा पुगे । घरमा ताला लगाए । दुई वटा सिरक गुटमुट्याए । बारीको एकमुठी माटो पोको पारेर झोलामा हाले । त्यसपछि श्रीमती, दुई बहिनी र आमा पछि लगाएर सन् १९९१ मार्चमा जन्मभूमि छाडे ।उनी शुरुमै नेपाल आएनन् । राजाको नीति परिवर्तन हुने कल्पनामा उनी केही समय बोर्डरतिरै अलमलिए । तर, परिस्थितिमा तात्विक परिवर्तन नहुने देखेपछि उनी नेपाल पसे ।

शरणार्थी जीवन

नेपाल आएर आफन्तहरूसँग भेटे । दर्दनाक जिन्दगी झेलिरहेका आफन्तहरूको विजोग देखे । भोक र रोगले थलिएका आफन्तहरूको पीडा देखे । आफू पनि त्यही पीडामा एकाकार भएर बसे । अन्ततः उनले अठोट गरे, आफन्त शरणार्थीहरूको जिन्दगीभर निःशुल्क उपचार गर्ने । दमक बजारको एक क्लिनिकमा काम गर्न थाले । नजिकै सानो कोठा भाडामा लिए । त्यसदिनदेखि यता २५ वर्ष बितिसकेको छ । उनले शरणार्थीहरूको निःशुल्क उपचार गरिरहेका छन् । कति भुटानी उपचार गर्न आए । उनले राजाको दोष देखे । निमुखा जनताको केही दोष देखेनन् । र, निःशुल्क उपचार गरे । नेपालकै दीनदुःखीहरूको पनि उनी निःशुल्क उपचार गरिदिन्छन् । कसैकसैलाई औषधिसमेत किनिदिन्छन् ।

तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा उनी शरणार्थीका समस्या लिएर गए । तर, आश्वासनभन्दा केही पाएनन् । उनको अविराम यात्रा रोकिएन । आन्दोलनमा घाइते भएकालाई उपचार गरिरहे । आन्दोलनकर्मीलाई हौसला दिए । ‘आन्दोलन भनेको राम्रो ठाउँमा बसेर मिठो खाएर हुँदैन । आफ्नो मन पर्ने मान्छे मर्न सक्छ ।’ उनले हौसिँदै भने । तर, आजभोलि उनी काम गर्ने क्लिनिकमा शिविरबाट आउने बिरामीको संख्या ह्वात्तै घटेको छ । कारण, शिविर रित्तिँदै गएको छ ।

bhampa1

पछिल्लो तथ्यांकअनुसार ९० हजारभन्दा बढी शरणार्थी पुनर्वासका क्रममा तेस्रो राष्ट्र गइसकेका छन् । बस्ती पूरै पातलिँदै गएको छ । पहिलेको घना बस्तीहरूमा झाडी उम्रिएको छ । उठेको बस्ती हेर्दा आन्दोलन तुहिएको आभास हुन्छ । भुटान फर्किन चाहने सपना विस्तारै ओझेल पर्दैछ । तर, उनी अझै गलेका छैनन् । नेतृत्वले बाटो बिराएकोमा उनको धेरै गुनासो छैन । भन्छन्, ‘जजसलाई विदेश जानु छ, तुरुन्तै गइहाल । तर, आन्दोलन रोकिनेवाला छैन ।’

पुनर्वास जानेको भविष्य

देशबाट निकालिएर अनागरिक बनाइएकाहरू संसारको जुनसुकै कुनामा पुगे पनि पुस्तौं तड्पिरहनुपर्ने उनको ठम्याइ छ । पुनर्वास जानेहरूको भविष्यप्रति उनी चिन्ता गर्छन् । धेरैको परिवार छिन्नभिन्न छ । कहिल्यै मिल्न नसकिने गरी देशको सिमानाले अलग गरिदिएको छ एउटै गुँडका चराहरूलाई । अगेनाछेउमा गोलो घेरा हालेर भुटेको मकै खाने दिन अब कहिल्यै आउने छैन । सोही विषयमा चलचित्र ‘देश खोज्दै जाँदा’ बनाएका निर्देशक प्रकाश आङ्देम्बे भन्छन्, ‘नेपालबाट हिँड्ने क्रममा कति शरणार्थीले भुटानको माटो लिएरै गए ।’ डा. राई चिन्तित हुँदै भन्छन्, ‘उनीहरूको भोलिको भविष्य कस्तो होला ? केही समय त राम्रै व्यवहार गर्लान् । तर, उसकै देशमा काला जाति र अन्य आप्रवासीको जीवन अत्यासलाग्दो छ ।’

प्रश्नको घेरामा राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भुटानले  राष्ट्रसंघको बडापत्रमा सही गरेअनुरूप व्यवहार गर्नुपर्ने उनको मत छ । उनी आक्रोशित हुँदै भन्छन्, ‘यूएनले भनिदिनुप¥यो भुटानको राजाले जनतालाई जे गर्न पनि छुट छ भनेर ।’ संघको नियम भुटानले किन लागू गर्दैन ? उनी प्रश्न गर्छन् । ‘यूएनले भुटानी राजालाई छुट दिएकै हो भने हामी प्रस्ट हुन चाहन्छौँ । त्यसपछि हामी कि आत्महत्या गर्छौँ कि भिखारी बन्छौँ ।’ राष्ट्रसंघले भुटानसँग आमनेसामने कुरा राख्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ । उनी हाकाहाकी भन्छन्, ‘भुटानको राजा तानाशाह हुन् । उनले लाखौँ मान्छे लखेटे । घर जलाए । धेरै बलात्कृत भए । खै हाम्रो पीडाको रेकर्ड ?’

भुटानबाट ल्याएको एक मुठी माटो अझै छ, डा. भम्पा राईको सिरानीमा। प्रत्येक दिन बिहान माटोको टीका लगाएर शुरु हुन्छ उनको दिनचर्या। क्लिनिक पुग्छन्, अनि बेलडाँगी शिविरवासीको निःशुल्क उपचारकर्ममा लाग्छन्।

राजालाई चिठी

देश छाडेको कैयौं वर्षपछि उनले एकपटक भुटानी राजालाई सम्बोधन गरी चिठी लेखे । त्यसबेला जिग्मे सिंगे राजगद्दीमा थिए । ‘तपाईंले मलाई देश छाड्न भन्नु भएको त थिएन तर, मैले देश छाडेँ । किनकि, मैले लाखौँ जनतामाथि भएको अन्याय सहन सकिनँ ।’ उनले चिठीको व्यहोरा सम्झिँदै अलिकति अंश सुनाए । जनतालाई तत्काल देश फर्काउन आग्रह गर्दै चिठी टुंग्याए । चिठीको सकारात्मक उत्तर आउने झिनो आशामा थिए, उनी । तर, लामो समयसम्म चिठीको उत्तर आएन । तर, निरास भएनन् । किनकि, अपेक्षा धेरै थिएन, उनको । निरन्तर लागिरहे शरणार्थीहरूको निःशुल्क उपचारमा ।

तानेन अमेरिकी मोहले

उनलाई अमेरिका र क्यानाडाको मोहले तानेन । उनका भाइहरू अमेरिका गए । सारा गाउँले गए । कतिले राम्रै जिन्दगी पाए होलान् तर, त्यो मूल्यवान नहुने उनको ठम्याइ छ । ‘मलाई पैसाको दुःख थिएन । भुटानमा पहिलोस्तरको सर्जन थिएँ । सम्मान थियो । आज म यहाँ बूढो स्यालजस्तो भएको छु, तर आत्मसम्मान गुम्न दिएको छैन ।’ गम्भीर हुँदै उनले सुनाए । आत्मसम्मानसहित बाँच्न चाहने भएकाले अमेरिका, अस्ट्रेलिया भासिन चाहेनन्, उनी । पैसा नै कमाउनु थियो भने भारतमै बसेको भए सुखको जिन्दगी बाँच्न सक्ने थिए । तर, उनी खेदिएका भुटानीहरूको पक्षमा लागे । अन्यायविरुद्ध लड्नुपर्छ भनेर लागे । उनी भन्छन्, ‘हामीले लड्यौँ भने संसारले लड्न सिक्छ । सारा दबिएका मान्छेले सिक्नेछन् ।’

dr-bhampa1

सपनामा भुटान

देश हराएकाहरू सपनामा देश देख्छन् । सपनामै देश पुग्छन् । झन्डा फहराएर राष्ट्रिय गान गाउँछन् । देश नभएकाहरूका लागि सपना नै प्यारो भइदिन्छ कहिलेकाहीँ । झल्यास्स बिउँझिँदा शिविरको प्लास्टिक निधारमाथि हल्लिरहेको हुन्छ । अनि बेस्सरी चिथोर्छ, अनागरिक हुनुको पीडाले । ७२ वर्षीय वृद्ध डा. बारम्बार सपनामा भुटान पुग्छन् । ‘आजै राति सपनामा भुटान पुगेको थिएँ ।’ उनले विस्तारै ढोकातिर हेर्दै भने । ‘भोटेको उपचार गरिरहेको रहेछु । फेरि कता कता हराएँ । कसैले पक्रिन्छ भनेर दौडिँदै रहेछु । पासपोर्ट देखाउन खोज्दो रहेछु । तर, साथमा रहेनछ ।’ उनले खिसिक्क हाँस्दै भने ।

आमाको चिहान

बुवा उतै गुमाएका उनले नेपाल आएको केही वर्षमै बहिनी र आमा गुमाए । आज उनी रोगी श्रीमती र बहिनीसँगै बस्दै आएका छन् । भुटानबाट ल्याएको एक मुठी माटो अझै उनको सिरानीमा छ । प्रत्येक दिन बिहान माटोको टीका लगाएर शुरु हुन्छ, उनको दिनचर्या । क्लिनिक पुग्छन्, अनि शिविरवासीको निःशुल्क उपचारकर्ममा लाग्छन् । दिनभरि उपचार गरेर साँझ फेरि उक्लिन्छन्, त्यही अँध्यारो भर्‍याङ ।

dr-bhumpa1

बिरामी श्रीमतीलाई एकछिन टुलुटुलु हेर्छन् अनि ओछ्यानमा पल्टिन्छन् । त्यसपछि आँखाअघि आउँछ, दक्षिणी भुटानको त्यही गाउँ । बाल्यकालका सम्झना, लेकबेसी गरेका पल, कलेजका सुनौला दिनहरू । सिनेमाको दृश्यजस्तै घुमिरहन्छ फनफनी । अन्तिममा आँखामा ठोक्किन आइपुग्छ, आमाको तस्बिर । अनि आइपुग्छ, आमाको चिहान । जहाँ उनले लेखेका थिए । ‘आमा, तिमीलाई गाउँको देउरालीले पर्खिरहेको होला । हामी एकदिन पक्कै फर्किनेछौँ, आमा ।’

 

प्रतिकृया दिनुहोस