MENU

समाज/जीवनशैली

635x90

‘जदौ ’ फेरि रेडियोमा

लुइटेल दिनेश मंगलवार, श्रावण ३१, २०७४

रेडियो भन्नु नै दाहाल यज्ञनिधि । त्यो एउटा समय थियो । आज धेरैका घरमा रेडियो सेट छैन, तर यज्ञनिधि उसैगरी छाउने तयारीमा छन् । हुन सक्छ, उनी कसैको कारमा बजिरहेका हुन सक्छन् । माइक्रोबसमा या सेलफोनमा । एचबीसी एफएम बन्द भएपछि अन्त्य भएको यज्ञनिधिको रेडियो यात्रा १२ वर्षपछि फेरि रेडियो अन्नपूर्ण नेपालबाट शुरु भएको छ । रेडियो नेपाल र एचबीसी एफएममा उनको ‘जदौ’ सुन्ने बानी परेका स्रोताले अब प्रत्येक शनिबार बिहान ८ बजेको अन्नपूर्ण अपडेटपछि उनलाई फेरि पाउनेछन् ।

पुरानो पुस्ता टेलिभिजनमा अडेको छ । नयाँ पुस्ताको मन सामाजिक सञ्जालमा बहलाएको छ । राजधानीको मन्डिखाटारमा रहेको सुधाको डिही (दाहाल यज्ञनिधिका घर) मा एउटा कुर्सीमा सर्टवेभ र मिडियमवेभ ब्यान्डकोे रेडियो सुरक्षित छ । त्यो रेडियो दैनिक उसैगरी घन्किन्छ । केही लेख पढेपछि यज्ञनिधिलाई रेडियोमा सुनाउने जाँगर बढ्दोरहेछ । चन्द्रसिंह कार्कीको एउटा किताबको ‘कठै कमला’ र ‘एक छात्रा छात्रावासमा’ दुई शीर्षकका सामग्री पढेपछि यज्ञनिधिमा तिनलाई प्रसारण गर्ने हुटहुटी बढ्यो ।

‘कठै कमला’मा सुदूरपश्चिमको एउटा परम्परालाई राम्ररी उतारिएको छ । ‘नेपालका परम्परागत रुढीग्रस्त लोग्ने मान्छेको दिमाग कतिसम्म असत्ति हुन्छ भन्ने कुरा कठै कमलामा पढेँ’, यज्ञनिधिले भूमिका बाँधेर भने, ‘एउटी देउकीको कुमारीत्व कसले पहिला तोड्ने भन्नेमा त्यहाँका पुरुषको बाजी थापाथाप हुँदो रैछ र उसलाई झुक्याएर केटीसाथी बनाइदिएर घर जाँदा जंगलको बाटो लगेर बलात्कार गरिएछ । बालिकाले पोल खोल्दिन्छु भनेर निरन्तर भनेपछि डरले उसैको सलले घाँटी बाँधेर दुई बलात्कारीले मारेको कुरा उल्लेख छ ।’

रेडियो नेपालमा जदौ भन्दै वर्षौं कार्यक्रम चलाएका प्रस्तोता दाहाल यज्ञनिधि १२ वर्षपछि फेरि रेडियो फर्केका छन्।

यो विषयलाई ठाकुर वेल्बासेसँग समय मागेर यज्ञनिधिले इमेज रेडियोबाट प्रसारण गरे । यसरी यज्ञनिधि रेडियोमा बोल्न चाहन्छन् भन्ने थाहा पाएका बेल्बासे अन्नपूर्ण रेडियोमा आबद्ध भएपछि यज्ञनिधिलाई कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । यज्ञनिधि मन्जुर भए । यज्ञनिधि अहिले सातामा तीन दिन डायलसिस गर्छन् । त्यसबाट जोगिएको समय मंगलबार रेडियोमा पुगेर कार्यक्रम रेकर्ड गर्छन् ।

रेडियो नेपाल

यज्ञनिधिबारे लेख्दा रेडियो नेपाल छुटाउन मिल्दैन । विज्ञापनअनुसार दिएको आवेदन, स्वर परीक्षा र अन्तर्वार्ताबाट पहिलो नम्बरमा नाम निस्किएपछि उनले ११ कात्तिक २०३४ मा रेडियो नेपालको औपचारिक करार सेवा शुरु गरे । स्वर परीक्षा लिनेमा प्रचण्डमान प्रधान, भोग्यप्रसाद शाह र केही अग्रज थिए । उनीहरूको मन जितेपछि उनको रेडियो नेपालको जागिर निश्चित भयो । करारको आयु लम्ब्याउँदै ०५७ साल असार मसान्तसम्म रेडियो नेपालमा जागिर खाए । हाकिम र राजा महाराजाको चाकडी नगरेकै कारण उनको जागिर २३ वर्षसम्म करारमै बित्यो । त्यसबीचमा स्पष्टिकरणका फेहरिस्तसहित दर्जनांै कारबाही भोगे । करार टुटेको थिएन ।

रेडियो प्रवेशका शुरुका दिनमा सातै दिन कार्यक्रम चलाउनुपथ्र्यो । साहित्यिक कार्यक्रमसँगै उनी जुनसुकै कार्यक्रम पनि चलाउन तयार हुन्थे । ‘साहित्य संसार’, ‘प्रवासका कुरा’, ‘हाम्रो संस्कृति’ ‘हाम्रो परम्परा’जस्ता कार्यक्रम उनले चलाए । धेरै व्यापारी र संघ संस्थाले आग्रह गरे पनि यज्ञनिधिले कहिल्यै विज्ञापनमा बोलेनन् । ‘मैले वैचारिकबाहेक कामै गरिन,’ यज्ञनिधि भन्छन्, ‘विज्ञापनमा बोल्दा बोलीको स्तर खस्किन्छ भन्ने मान्यता राख्छु ।’रेडियो नेपालको जागिर खुस्किँदा यज्ञनिधि मिर्गाैला फेल भएर १० महिना स्टुडियो जान सकेका थिएनन् । ०५७ असार मसान्तमा सकिएको करार तत्कालीन निर्देशक शैलेन्द्रराज शर्माले थपेनन् ।

nidhi_1

मिर्गौला जस्तो महँगो रोगले थलिएको सञ्चारकर्मीको घाउमा मह्लम लगाउनुको साटो जागिर खाइदिएर नुन चुक छर्किदिए शर्माले । यज्ञनिधिको करार नथपिनुमा शैलेन्द्रसँगको सम्बन्धले महत्वपूर्ण थियो । रिस उठेपछि मुख छोडिहाल्ने आफ्नो बानीका कारण एकपटक शर्मासँग चर्कै भनाभन भएको दाहाल बताउँछन् ।  २३ वर्ष रेडियो नेपालका काम गर्दा दर्जनांै निर्देशक भए तर यज्ञनिधि कसैका पनि घरमा गएनन् । अपवादको रूपमा निर्देशक भोग्यप्रसाद शाह घरमा दुईपल्ट पुगे । ‘पहिलो पटक नियुक्तिपत्र लिन र दोस्रो पटक सञ्चारमन्त्री हरिबहादुर बस्नेतको निर्देशनअनुसार रेडियोमा बीपी कोइरालाको नाम लिएवापतको स्पष्टिकरण दिन’ यज्ञनिधि सम्झन्छन्, ‘त्यसबाहेक कुनै पनि निर्देशकको घरमा मैले पाइला टेकिनँ ।’

फेरि रेडियो नेपाल

२०६३ सालमा शान्ति वार्ता भयो । यज्ञनिधि रेडियो नेपाल छोडेको ६ वर्षमा फेरि रेडियो नेपाल प्रवेश गरे । शान्ति वार्तापछि बनेको अन्तरिम सरकारमा दिलेन्द्र बडू सञ्चारमन्त्री थिए । ती दिन सम्झिँदै उनी भन्छन्, ‘विष्णु निष्ठुरीले त्यो रोगी दाइ रेडियोबाट अपहेलित भएर हिँड्नुभयो । अहिले बाटोमा देख्छु,’ भनेर सञ्चारमन्त्रीकहाँ पु¥याएछन् । लगत्तै मन्त्री बडूले सचिवमार्फत् फोन गराए । १ कात्तिक ०६३ देखि फेरि रेडियो नेपालको नियुक्ति पाएँ ।’ दुई वर्षभन्दा सेवा अवधि बढाउन नपाइने कानुन भएकाले उनकोे करार सकियो ।

रेडियो नेपालको दोस्रो करार पनि यज्ञनिधिका लागि सहज भएन । यो अवधिमा पनि थुप्रै अप्ठेरा आइपरे । ‘रक्तकुण्ड’ पढेको भन्दै राजदरबारबाट विज्ञप्ति नै सार्वजनिक भयो । रक्तकुण्ड प्रसारण गर्ने विषयमा गिरिजाबाबुसँग सल्लाह गरेरै आफू रेडियो नेपाल गएको यज्ञनिधि बताउँछन् । गिरिजाबाबुले जिम्मेवार नागरिक बनेर काम गर्न समेत सम्झाएकोले नडराई करार रहुन्जेल काम गरेको यज्ञनिधि बताउँछन् ।

एचबीसी अनुभूति

यज्ञनिधिले एचबीसी एफएममा पनि काम गरे । एचबीसीको कार्यक्रम कसरी शुरु भयो भन्नेबारे उनी भन्छन्, ‘मिर्गाैला फेरेर अलिअलि हिँडडुल गर्न सक्ने भएको थिएँ । अच्युत घिमिरे भाइ आइपुग्नुभयो । अनि तपाईंकै घरमा आएर रेकर्ड गरेर भए पनि म एउटा कार्यक्रम प्रसारण गर्छु,’ भन्नुभयो । मैले हुन्छ भने ।’ पहिला घरमै रेकर्ड गरेर दुई कार्यक्रम प्रसारण भए तर, त्यो कार्यक्रमको गुणस्तर यज्ञनिधिलाई मन परेन । आफैंलाई चित्त नबुझिकन कुनै काम गर्नु हुँदैन भन्ने लागेर एचबीसी एफएमको कार्यालय आफैं जान थाले । ०५९ जेठ–असारमा एचबीसी प्रवेश गरेर त्यो रेडियो रहुन्जेल २०६५ माघसम्म त्यहाँ कार्यक्रम चलाए ।

हाकिम र राजा महाराजाको चाकडी नगरेकै कारण उनको जागिर २३ वर्षसम्म करारमै बित्यो। त्यसबीचमा स्पष्टिकरणसहित दर्जनांै कारबाही भोगे।

साहित्य संसार

रेडियोमा कार्यक्रम शुरु गरेपछि यज्ञनिधिलाई प्रतिक्रिया आइरहेका छन् । ‘अहिले पनि स्रोता बढेको भेटेको छु । बाटाबाटामा, समारोहमा अन्य कार्यक्रममा सहभागी हुँदा सुनियो पो भन्न थाले ।’ स्रोताले आफ्नो स्वर उस्तै भएको बताए पनि यज्ञनिधि आफू कमजोर भएको ठान्छन् । अहिले यज्ञनिधिलाई छन्द र लयका कविता पढ्न कठिन हुन्छ । स्वर लगाएर पढ्न नसके पनि कविताको उच्चारण दिन पाएकोमा उनी खुशी छन् । स्वास्थ्य प्रतिकूल भए पनि वर्षमा ५२ कार्यक्रम बनाउन सक्षम भएको सुनाउँछन् । ‘गीति लयमा बोल्दिनँ, किनभने स्वरले साथ दिएको छैन,’ यज्ञनिधिले भने, ‘पहिलेजस्तो लेख र कविता बाचन गरेर मात्र कार्यक्रम चलाउनु पर्दैन ।

लेखक नै सामुन्ने पाउने भएकाले वर्षभरिका लागि ५२ कार्यक्रम बनाउन कुनै अप्ठेरो छैन ।’ ‘मलाई केही नीति निर्देशन छैन । भाषा सकभर भद्र हुन्छ । ठाडा खोलाको पानी खाएको छुँ, झर्रो भाषा नमिसेको बोली मेरो हुँदैन । ठाडो उत्तर खोज्छु, तर भाषाचाहिँ सकभर भद्र नै हुन्छ’ उनी भन्छन् । रेडियो नेपालको सेवाअवधिका तुलनामा अहिले स्वतन्त्रता पाएको महसुस यज्ञनिधिको छ । रेडियो नेपालको अनुभव साट्दै यज्ञनिधिले भने, ‘गैरजिम्मेवार भएर काम गर्दिनँ, भाषाको उत्तम बोली नै नागरिकको आवाज हो ।’

 

प्रतिकृया दिनुहोस