MENU

समाज/जीवनशैली

Annapurna635x90

रंगीन इन्द्रधनुषका जसराज जीवनकथाको तयारीमा

विवश वस्ती मंगलवार, श्रावण ३१, २०७४

अहिले पनि जसराज किरातीलाई लाग्छ, ‘काठमाडौं डनहरूको कब्जा’मा छ । २०३० को दशकदेखि नै काठमाडौंप्रतिको उनको हेराइ अझै उस्तै छ, एक थोपै बदलिएको छैन । काठमाडौंको बानीबेहोरा देख्दा आफूभित्र विरक्तभाव उत्पत्ति हुने उनको सीधा र सपाट वक्तव्य छ । उनको अन्तर्मनले भन्छ, ‘काठमाडौं पहुँचवालाहरूको ठाउँ हो । काठमाडौंमा कसैले गरेर खानु पर्दैन, झिकेर खान जाने हुन्छ ।’ अनौठो त, किराती अचेल काठमाडौंमै बस्न थालेका छन् । स्थायी रूपमा भने होइन । भन्छन्, ‘काठमाडौं बस्न थालेको दुई–चार महिना मात्रै भयो ।

दशैंतिर घर फर्किन्छु होला ।’ काठमाडौं र गृहजिल्ला खोटाङको बुइपाबीच ओहोरदोहोर गर्नै थालेको ५० वर्ष नाघिसकेको छ, उनको । तर, काठमाडौंलाई उनले कहिल्यै रुचाएनन् । उनलाई लाग्छ, अहिले पनि गाउँको कुरा काठमाडौंले सुन्दैन । त्यही भएर, आफूले बुझेका काठमाडौंबारे दुई थान कविता नै लेखे र संज्ञा दिए, ‘हिउँदभन्दा चिसो ।’ बुइपाकै सेरोफेरोमा ‘जनवादी चण्डी’ गाउँदै बसेका किरातीलाई ४० कै दशकमा अग्रज कवि मञ्जुलले एउटा प्रखर उपमा दिए, ‘पहेँलो सुनाखरी ।’ ०४४ सालमै मञ्जुलले ‘सम्झनाका पाइलाहरू’मा लेखे, ‘अहिले पनि जसराजलाई सम्झिँदा लाग्छ, उच्च लेकाली एकान्तको अग्लो रूखमा लरक्क लर्किएर फुलेको रहरलाग्दो पहेँलो सुनाखरी फूल हो ऊ ।’

किन मञ्जुलले यस्तो उपमा दिए त ? किराती भन्छन्, ‘सुनाखरी जंगलमा फुल्छ र त्यहीँ ओइलाउँछ । प्रतिभा भएर गाउँमै बसेको देखेर मलाई त्यस्तो विशेषण दिइएको हुनुपर्छ ।’ काठमाडौंमा सात वर्ष बिताएर राल्फाली संगीत–यात्रा लिई पूर्वी नेपालको पहाडी भूभाग चहार्दै हिँडेका रामेश र मञ्जुलमध्ये मञ्जुलले त उनलाई २० को अन्तिम दशकतिरै भनेका रहेछन्, ‘तँ किन गाउँमै बस्छस् ? हिँड काठमाडौं । आफ्नो प्रतिभा देखाउनुपर्छ ।’ तर, उनमा त्यो आँटै आएन । किराती गाउँमै बसे, कविता लेखे, पढाए र राजनीति पनि गरे ।

राजनीतिमा रुचि

राल्फालीहरूसँग भिज्नुअघि उनी राजनीतिमा लागिसकेका थिए । भइसकेका थिए, बुइपा गाउँ पञ्चायतको उपप्रधानपञ्च । उठ्न त उनी प्रधानपञ्चमा नै उठ्न खोजेका थिए । तर, गाउँकै शारदा माविमा अध्यापन गर्न थालेका हुँदा प्रधानपञ्चको जिम्मेवारी बोझिलो लाग्यो र उपप्रधान भए । ०३६ को राजनीतिक उभारका बेला खोटाङ जिल्ला पञ्चायतका सदस्य भएका किराती ०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले समानुपातिकमा राखेर सभासद् नबनाएकोमा खिन्न छन् । भन्छन्, ‘खोटाङको २ नम्बर क्षेत्रमा प्रत्यक्षबाट उठेका माओवादीका उम्मेदवारले १८ हजार मत ल्याएर चुनाव जिते । तर, त्यही क्षेत्रमा म समानुपातिकबाट उठेको हुँदा २३ हजार मत आयो । पछि, मलाई सभासद् बनाइएन । मन केही खिन्न भयो ।’

भूपिको कवितालेखनको प्रभाव उनमा वैशाखको घाम गढेझैं गढ्यो। भूपिकै सिको गर्दै उनले पनि लेखे, ‘सेल्फ पोट्रेट’। भूपिले लेखनपीडा पोखे भने किरातीले ‘जसराज’ शीर्षकमा आफ्नो गरिबी दर्शाए।

किरातीलाई वैचारिक रूपले तिक्खर बनाउने काम ग¥यो, राल्फाली समूहले । ०२७ सालमा आफूले पढाइरहेकै विद्यालयका हेडसर गोरखबहादुर श्रेष्ठलाई भेट्न पुगेका थिए, उनका सहोदर भाइ रामेश्वर श्रेष्ठ अर्थात् रामेशका साथै मञ्जुल र अरिम । राल्फालीको प्रभाव उनमा यति गाढा रूपले गढ्यो, सामेल हुन थाले उनीहरूकै अभियानमा । भन्छन्, ‘ग्रामीण भेगमा हुने शोषणलाई म रुचाउन्नथेँ । राल्फालीहरूले सामन्ती व्यवस्थाको विरोध गर्ने गीत–संगीत घन्काउन थालेपछि म पनि आबद्ध भएँ ।’ तर, प्रशासनको नजरमा बिझ्न पुगे किराती । राल्फाली–अभियानबाट आजित प्रशासनले रामेश–मञ्जुललाई गिरफ्तार गर्न चाहेको थियो । गिरफ्तार त भएनन्, बुइपालाई भने ‘बाइबाइ’ गर्नुपर्‍यो, दुवैले ।

२००१ सालमा जन्मिए पनि किरातीको नागरिकता बन्दा भने ‘२००२ साल’ लेखियो । किन यस्तो भयो, उनलाई नै थाहा छैन । तर, जन्मेदेखि नै उनले गरिबीसँग संगत गर्नुप¥यो । उनी सम्झिन्छन्, ‘हामीले चामलको भात खाने अवसर दशैंमा मात्र पाउँथ्यौँ । धान किन्न बोरा बोकेर गएको सम्झना अझै पनि ताजै छ ।’ चरम गरिबीबीच हुर्किएका उनका अभिभावकमा सन्तानलाई पढाउनुपर्छ भन्ने चेत नै थिएन । अग्रजहरूले भन्थे पनि, ‘राई पढ्ने जात होइन्, पाखाबारी खनीखोस्री खाने जात हो ।’ १२ वर्षको छँदा बिहे भएपछि भने उनले बल्ल पढ्न पाए । भन्छन्, ‘मलाई आफ्नो बिहे भएको सम्झनै छैन ।’ बिहेको ६ वर्ष कटेर छोरी जन्मिएपछि बिहे–अनुभूति गरेका उनले २१ वर्षमै पहिलो पत्नी गुमाउन पुगे । पछि, दोस्रो बिहे गरे ।

बुवा थिए, पढाइका कट्टर विरोधी । सिधै भन्थे, ‘पढेर के काम ?’ ८ कक्षासम्म पढेपछि उनले बुवाले शुरु गरेका भाँडाकुँडा बेच्ने नयाँ व्यापारलाई सघाउन करै लाग्यो । गाउँ–गाउँ डुलेर बिक्री गर्न थाले । तर, पारिवारिक समर्थन नभए पनि ०२२ सालमा भने उनले एसएलसी उत्तीर्ण गरेरै छाडे । त्यही वर्ष हो, उनले काठमाडौंमा पाइला टेकेको । भन्छन्, ‘रामनवमीका दिन हलेसीमा ठूलो मेला लाग्ने भएको हुँदा हामीले पाटनमा आएर भाँडा लिएर गयौँ र बेच्यौं ।’ १५–१६ जना भरिया लिएर आएका थिए । खोटाङबाट आउँदा ठ्याम्मै सात दिन लागेको थियो र फर्किँदा भने १२ दिन । दोस्रो पटक ०२६ सालमा प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिन काठमाडौं आएपछि भने उनको काठमाडौं आउजाउ बाक्लियो ।

कविता लेख्ने जाँगर

मनोकांक्षा खुम्चिँदै जान थाल्दा उनीभित्र अनेक तरंग उब्जिन्थ्यो । गुम्सिएका भावना र खुल्दुलीलाई व्यक्त गर्ने माध्यम साहित्य लेखन हो भन्ने कुरा उनले १९–२० हुँदा बुझ्न थाले । र, शिक्षक पशुपति भट्टराईले छन्दमा लेखेका कविता पढ्न थालेपछि उनमा पनि छन्दोबद्ध कविता लेख्ने जाँगर पलायो । भन्छन्, ‘मैले मुनामदन, प्रेमलहरीजस्ता किताबहरू पढ्न थालेँ र त्यसकै सिको गर्दै झ्याउरेमा लेख्न थालेँ ।’ एक पटक भने, काठमाडौं आएका शिक्षक गोरख श्रेष्ठले उनलाई केही कोसेली लगिदिए– त्यतिबेलाका चर्चित साहित्यिक पत्रिका रूपरेखा, रचना आदि ।

गोरखले सुझाव थोपर्दै भने पनि, ‘अब तिमी झ्याउरे लेख्न छाड । यी पत्रिकामा छापिएकाजस्ता आधुनिक साहित्य लेख्न थाल ।’ भूपि शेरचन, विजय मल्ल र पारिजातलाई उनले पहिलोचोटि पढेको त्यतिबेलै हो । भूपिको कविता–लेखनको प्रभाव त उनमा वैशाखको घाम गढेझैं गढ्न पुग्यो । भूपिकै सिको गर्दै उनले पनि लेखे, ‘सेल्फ पोट्रेट’ । भूपिले लेखनपीडा पोखे भने किरातीले ‘जसराज’ शीर्षकमा आफ्नो गरिबी दर्शाए । उनी खुलेआम स्वीकार्छन्, ‘हो, मेरो कविता–लेखनमा भूपिको अत्यधिक प्रभाव परेको छ । रिमाल, विजय मल्ल र पारिजात पनि मेरा प्रिय कवि हुन् । तर, पारिजातका पछिल्ला कविता भने त्यति दमदार लाग्दैन मलाई ।’ अचेलका पुस्तामा भने मनु मञ्जिलका कविताले उनलाई तान्छ ।

jasrat1

तर, मिथकहरू धेरै खेलाउने नयाँ पुस्ताका स्वप्निल स्मृति, उपेन्द्र सुब्बाका लेखनप्रति भने उनको केही विमति देखिन्छ । भन्छन्, ‘कविहरूले धेरै मिथक भित्र्याउन थाले । एउटा कविता पढ्न बस्दा शब्दकोश नै पल्टाउनुपर्ने देखियो ।’ भूपिको प्रभावचिन्ह पछ्याएका किरातीले भने संख्यात्मक रूपमा पनि भूपिका जत्तिकै कविता लेखेका छन् । ०३६ सालमा प्रकाशित ‘उज्यालो खोज्ने आँखाहरू’ निस्किएपछि दुई दशकपछि निस्कियो, जसराज किरातीका कविता । तिनै दुई संग्रहमा समेटिएका कवितालाई मिलाएर पछि ०६५ सालमा ‘जसराज किरातीका प्रतिनिधि कविताहरू’ निस्किए । र, संख्या नै किटेर भन्नुपर्दा अहिलेसम्म सय थानजति मात्र लेखे उनले । अचेल सामान्य रूपमा केही कविता लेखिरहेका उनले स्वीकारे, ‘अहिले समाज धेरै अगाडि बढिसकेको छ । मेरो कविता लेखनशैली र अहिलेका कविको शैली नै मिल्दैन ।’

लेखनका प्रारम्भिक दिनहरूमा त्यसलाई तिखार्ने आधार भने चिठीपत्र नै बन्यो । ०२२ सालदेखि उनले भोजपुरका शैलेन्द्र साकार, रमेश श्रेष्ठ र टीका आँचल, चैनपुरका ज्ञान उदास, धरानका वम देवानलाई पत्र लेख्न थाले । पत्रमै हुन्थ्यो, सबै कुराकानी । साहित्य लेखनसम्बन्धी विमर्श चलाउनेदेखि कवितासम्म आदानप्रदान हुन्थ्यो । धरानबाट देवान र कृष्ण पाख्रिनले साहित्यिक पत्रिका पठाउँदा भने उनलाई निकै पोसिलो खुराक पाएजस्तै महसुस हुन्थ्यो । त्यहीबेला, परशु प्रधानले उनको लेखन–यात्रालाई गति दिन भूमिका खेले । भन्छन्, ‘मलाई साहित्य यात्रामा अघि बढाउन परशु दाइले धेरै प्रयत्न गर्नुभयो । उहाँले प्रयत्न नगर्नुभएको भए आज म यसरी स्थापित हुन्नथेँ होला ।’ त्यही गुन तिर्न हो कि, किरातीले परशुलाई सम्बोधन गरेरै लेखे, ‘ट्याम्के, परशु र म ।’

आफ्ना सिर्जनाहरू जतन गरेर नराख्ने बानीले भने उनलाई कहिलेकाहीँ नराम्ररी चिमोट्छ । ०२२ सालमा ओखलढुंगाबाट भीमप्रसाद श्रेष्ठको सम्पादकीयमा निस्किएको ‘जुनकिरी’मा उनको कविता छापियो, ‘त्यो अर्धचन्द्र’ । पहिलो पटक कविता छापिँदा र आफ्नो नाम प्रिन्ट हुँदा उनको खुट्टा जमिनमै रहेन । भन्छन्, ‘मलाई यति धेरै खुशी महसुस भयो कि, कतै उफ्रिएर चिच्याउँ जस्तो लाग्यो ।’ सबैलाई देखाएँ, त्यो कविता । तर, न अहिले त्यो पत्रिका छ उनीसँग, न त प्रकाशनको अनुहार देखेको पहिलो कविता नै ।  यस्तै, ०२८ सालमा रामेश–मञ्जुल र उनी मिलेर ‘आक्रोश’ नामक सामयिक संकलन निकाले । त्यो त मञ्जुलले बनारससम्मै पुगेर छपाएर ल्याए । यसको पनि एउटै प्रति पाइँदैन, अहिले । किराती थकथक मान्छन्, ‘हामी कस्तो बेहोसी र लापरबाही स्वभावका ? एक प्रति पनि जोगाएर राख्न सकेनौँ ।’

नयाँ कविप्रति किरातीको केही विमति देखिन्छ। भन्छन्, ‘कविहरूले धेरै मिथक भित्र्याउन थाले। कविता पढ्न बस्दा शब्दकोश नै पल्टाउनुपर्ने देखियो।’

धेरैजसो गाउँमै बस्ने र आफूलाई ‘गाउँको मान्छे’ भन्न रुचाउने किराती काठमाडौं आउँदा रामेश, मञ्जुललाई भेट्न छुटाउँदैनन् । पछिल्लो पटक यही जेठमा भेट भयो, आफूलाई ‘पहेँलो सुनाखरी’ को उपमाले सिंगार्ने मञ्जुलसँग । प्रसंग थियो, रामेशमाथि बन्दै गरेको वृत्तचित्रमा अन्तर्वार्ता दिनुपर्ने । कालिकास्थानको सर्वनाम नाट्यघरमा मञ्जुलसँग भेट भयो । मञ्जुल–पत्नी सुस्मिता नेपालले किरातीलाई आग्रह गर्दै भनिन्, ‘दाइमा विस्मृतिका संकेतहरू देखिएका छन्, एक पटक तपाईंले कुराकानी गर्नुप¥यो ।’ एउटा कोठामा बसे, दुवै जना ।

मञ्जुलले ‘जसराज’ भन्दै उनलाई अंगालो मारे । उनले पनि सोधे, ‘मञ्जुल, तिमी बिरामी छौ ?’ मञ्जुलले प्रत्युत्तरमा भने, ‘बिरामी छु भन्छन् सबैले ।’ त्यसपछि दुवै जना अंगालोमा बेरिएर रुन थाले । त्यो क्षण सम्झिँदा भावुक बन्दै किराती भन्छन्, ‘तर, मञ्जुलमा विस्मृतिका चिह्न मैले फेला पार्न सकिनँ ।

पुराना कुरा एक–एक गरी सम्झिए ।’ गाउँमै रहेर सिर्जनारत किरातीमा ‘ठूलो पद’ ताक्ने रहर कहिल्यै मौलाएन । एक पटक, नेपाल प्रज्ञा–प्रतिष्ठानमा लैजान खोजिएको थियो । माथिल्लै तहबाट प्रस्ताव आयो पनि । भन्छन्, ‘मैले सिधै अस्वीकार गरेँ । एकेडेमीजस्ता संस्थाहरूमा विशुद्ध साहित्यकारलाई लैजानुपर्छ भन्ने मेरो मान्यता भएको हुँदा मैले स्वीकार गर्न चाहिनँ ।’ त्यसो त, किराती पुरस्कारविहीन कवि पनि हुन् । उनको खातामा अहिलेसम्म दुई सम्मानमात्र चढेका छन्, वाणी सम्मान र आदिवासी गीति सम्मान ।

तर, अचेल कविता कम लेख्ने किरातीले आफूले जीवनयात्रामा भोगेका अनगिन्ती पक्षहरूलाई भने शब्दमा उतार्ने सोच बनाएका छन् । साथीभाइले निकै कर गरेपछि उनले जीवनकथा लेख्ने विचार उमारेका हुन् । भन्छन्, ‘अब चाँडै नै लेख्न थाल्छु ।’ अपेक्षा गरौँ, ३० को दशकमै किरातीले लेखेका र रामेशले संगीतबद्ध गरेका इन्द्रधनुषमाथिको त्यो बेजोड सिर्जनाको प्रसंग उनको जीवनकथामा उल्लेख हुनेछन्, कतै न कतै ।

‘क्षितिजको लामो अंगालोमा
बादलमुनि, कुइरोमाथि, माथि आकाशमा
इन्द्रधनु सुन्दर छ
इन्द्रधनु रंगीन छ ।’

 

 

 

प्रतिकृया दिनुहोस