MENU

समाज/जीवनशैली

dishhomeapp

चौथो अंग : कपी एडिटरका कथा

यमबहादुर दुरा आइतवार, श्रावण २९, २०७४

पत्रकार वृत्तमा आजकल एउटा गम्भीर प्रकृतिको चर्चा चल्न थालेको छ । चर्चाको विषय हो, पत्रकारितामा प्रतिबद्ध जनशक्तिको घट्दो दर । यसबारे खासै शोधखोज नभए पनि पत्रकारिताको प्रतिबद्ध जनशक्ति निरन्तर घट्दै गइरहेको दैनिक व्यवहारमै महसुस गर्न थालिएको छ । रिपोर्टिङमा जनशक्तिको खासै अभाव महसुस नगरिए पनि सम्पादन (डेक्स वर्क) गर्नेहरूको अभाव बढ्दो छ । विगतमा मिडियासम्बन्धी औपचारिक जनशक्ति उत्पादन नभएको बेला यस्तो महसुस गरिएको थिएन । त्यतिबेला एकसे एक राम्रा र प्रतिबद्ध सम्पादनकर्मी (कपी एडिटर)हरू थिए । अहिले विश्वविद्यालयबाट मिडियासम्बन्धी जनशक्ति निरन्तर उत्पादन भइरहँदा पनि किन यस्तो अवस्था आयो ? प्रश्न पेचिलो छ ।

२०४६ सालअघि नेपाली मिडियाको आयतन फैलिन पाएको थिएन । बजार सानो थियो । मिडियाको दुनियाँमा सरकारी सञ्चार माध्यमको एकछत्र रजाइँ थियो । निजी क्षेत्रमा प्रसारण माध्यम थिएन । निजी स्मामित्वका छापा माध्यम मूलतः मिसन पत्रकारिताको अभियानमा थियो । दलविहीन पञ्चायती व्यवस्था ढलेपछि आएको ‘राष्ट्रिय सञ्चार नीति, २०४९’ र ‘राष्ट्रिय प्रसारण ऐन, २०४९’ ले निजी क्षेत्रका लागि प्रसारण माध्यमका बाटो खोलिदिए । सँगसँगै ब्रोडसिट दैनिक पनि जन्मिन थाले । समयक्रममा रेडियो र टेलिभिजन आए । पछिल्लो समयमा अनलाइन न्युज पोर्टलको बाढी नै आएको छ ।
हिजो कुवाजस्तै संकीर्ण दायरामा रहेको नेपाली मिडिया आज समुद्रजस्तै विस्तारित हुन पुगेको छ ।

मिडिया अर्थतन्त्रको दायरा फराकिलो बनेको छ । अवसर र सम्भावना बढेको छ । नेपाल पत्रकार महासंघसँग आबद्ध पत्रकारहरूको संख्या १२ हजारभन्दा माथि छ । यसले मिडियालाई ‘करिअर’ बनाउनेहरूको कमी छैन भन्ने देखाउँछ । मिडियामा यस्ता उत्साहप्रद पक्षको उभार हुँदाहुँदै पनि पत्रकारितामा दक्ष र प्रतिबद्ध जनशक्ति ऋणात्मक दिशातर्फ उन्मुख भइरहेको महसुस गरिँदैछ । त्यसमा पनि न्युज रुममा दक्ष र प्रतिबद्ध कपी एडिटर अभाव टड्कारै देखिन थालेको छ । संवाददाता र कपी एडिटर पत्रकारिताका दुई बलिया स्तम्भ हुन् । यीमध्ये संवाददाता बढी चलयमान छन् । उनीहरू बाइलाइनको फाइदा उठाउन सक्छन् । कपी एडिटरलाई यस्तो लाभ प्राप्त हुँदैन ।

कपी एडिटर पर्दापछिका नायक हुन्। पाण्डुलिपिका त्रुटि सच्याउने र लेखाइमा बान्की थपिदिने काम कपी एडिटरको हो ।

कपी एडिटर पर्दापछाडिका नायक हुन् । संवाददाता वा लेखकको पाण्डुलिपिमा रहेका त्रुटि सच्याउने र लेखाइमा बान्की थपिदिने काम कपी एडिटरको हो । तर, पनि उसले ‘जस’ पाउँदैन । धेरैको दृष्टिमा कपी एडिटिङ ‘थ्याङ्कलेस जब’ हो । न्युज रुममा एउटा भनाइ प्रचलित छ, ‘कपी एडिटरको काम त्यतिबेला मात्र ख्याल गरिन्छ, जतिबेला सम्पादनका क्रममा गम्भीर गल्ती भेटिन्छन् ।’ संवाददाताको तुलनामा कपी एडिटरलाई ‘एक्सपोजर’को अभाव छ । कुनै शक्ति, समूह वा व्यक्तिको अभीष्ट पूरा गरिदिएवापत कुनै खास पृष्ठ वा संस्करण हेर्ने निश्चित कपी एडिटरले क्यान्डल–लाइट डिनर, विदेश सयर वा यस्तै प्रकृतिका ‘बनञ्जा’ पाउनेबाहेक धेरैले ‘तर मार्न’ पाउँदैनन् । अधिकांशको अवस्था ‘विचरा’ नै छ ।

कपी एडिटरले ‘एक्सपोजर’ नपाए पनि उसको काँधमा जिम्मेवारी ठूलो हुन्छ । कपी एडिटिङ प्राविधिक र सिर्जनशील काम हो । उसले अरूले तयार पारेको झर्कोलाग्दो सामग्रीलाई रुचिकर र पठनीय बनाउनुपर्छ । त्यो पनि समयसीमाभित्रै  । यो चानचुने काम होइन । लर्तरो जाँगर, ज्ञान र सीपले यस्तो जिम्मेवारी पूरा गर्न सकिन्न । असल कपी एडिटर भाषिक हिसाबले शब्दशिल्पी र ज्ञानको गहनताको दृष्टिले इन्साइक्लोपिडिया बन्नु पर्नेमा दुई मत छैन । अरूको प्राणहीन रचनालाई जीवन्त बनाउन कपी एडिटरले धेरै मिहिनेत गर्नुपर्छ । ऊ ऊर्जावान्, सिर्जनशील, कल्पनाशील र विचारवान् हुन आवश्यक छ । उसका लागि दिलबहलाव आवश्यक छ । यसका लागि उसले प्रशस्त अवसर र समय पाउनुपर्छ ।

मिडिया हाउसले उसको कामको चरित्र र प्रकृति बुझिदिनुपर्छ । विदेशतिर कपी एडिटरलाई आकर्षक पारिश्रमिक र पर्याप्त बिदा दिने चलन छ । नेपाली न्युज रुममा यस्तो परिपाटीको अभाव छ । कपी एडिटरको कामबारे कुरा गरिरहँदा हाम्रो शिक्षा पद्धतिबारे चर्चा गर्नुपर्ने हुन्छ । राम्रा स्कुलमा अंग्रेजीमा माध्यममा पढेकाहरू सामान्यता यो दुनियाँमा आउँदैनन् । उनीहरू कि त पश्चिमा दुनियाँमा भासिन्छन् कि त स्वदेशमै आईएनजीओको कारिन्दा बन्न पुग्छन् । नेपाली न्युज रुममा खपत हुने जनशक्ति मूलतः सरकारी विद्यालय वा सामान्य बोर्डिङ स्कुलमा पढेकाहरू नै हुन्छन् । सामान्यता उनीहरूको भाषिक दक्षता र ज्ञानको गहिराइ सरदर नै देखिन्छ । यही जनशक्ति न्युज रुममा पुग्छ ।

त्यसको नजिता के हुन्छ, भनिरहनु नपर्ला । अहिलेको न्युज रुम जनशक्तिका दृष्टिले मात्र होइन, गुणवत्ताका दृष्टिले पनि शून्यतातर्फ लम्किँदैछ भन्नेहरू पनि भेटिन थालेका छन् । न्युज रुमले प्रतिभावान् जनशक्ति माग गर्छ तर बजारले सरदर खालको जनशक्ति उपलब्ध गराइरहेको छ । यहाँनेर, पत्रकारिताप्रतिको सामाजिक मनोविज्ञानबारे सानो चर्चा गर्नुपर्ने हुन्छ । धेरैको बुझाइ छ, पत्रकारिता ‘लो पेड जब’ हो । वास्तविकता पनि लगभग यस्तै छ । टेलिभिजनको स्क्रिनमा अनुहार देखाउने, रेडियोमा स्वर सुनाउने र अखबार (बाइलाइन) मा छाउने रोमान्टिक आकांक्षाले मात्र पत्रकारिताको दुनियाँमा प्रवेश गर्नेहरू छिट्टै ‘स्याचुरेसन पोइन्ट’ मा पुग्छन् ।

धेरै मिहिनेत गरेर पनि अपेक्षित आम्दानी नहुँदा उनीहरू कालान्तरमा निरास बन्छन् । अन्ततः दुई दिनको पाहुनाजस्तो बनेर बाहिरिन्छन् । सुन्दा अप्रिय लागे पनि वास्तविकता यही हो । बाहिरबाट खासै जटिल नेदेखिए पनि भित्रभित्रै बिकराल बन्दै गएको जनशक्तिसम्बन्धी समस्याले मिडिया उद्योगको अस्तित्व र गुणवत्तामा धक्का पु¥याउन सक्छ । पत्रकारितालाई आशा र भरोसाको केन्द्र बनाउन सम्बन्धित निकायको रचनात्मक भूमिका अपेक्षित छ ।

 

प्रतिकृया दिनुहोस