MENU

समाज/जीवनशैली

dishhomeapp

डिजाइनमै तन–मन

विवश वस्ती बुधवार, श्रावण २५, २०७४

कला हो वा महँगो क्यामराले खिचेको तस्बिर । वरिष्ठ कलासाधक केके कर्माचार्यका कला–सिर्जनाले यस्तै गहिरो भ्रम उत्पत्ति गराउँछ । अझ, उनले क्यानभासमा पोतेका ‘मुहार–चित्र’लाई झट्ट हेर्दा त दामी क्यामेराले खिचेको तस्बिर भन्न करै लाग्छ । कुनै पनि व्यक्तिको अनुहारलाई उनी हुबहु नै उतार्छन् । तस्बिर खिचेभन्दा पनि राम्रो । फरक यत्ति हो, एउटा तस्बिर ४÷५ सय रुपैयाँमै खिच्न सकिन्छ भने कर्माचार्यले एउटा ‘मुहार–चित्र’ उतारेको कम्तीमा २५ हजार लिन्छन् ।

सीपमा निखार

मानिसका अनुहारलाई क्यानभासमा रिठ्ठो नबिराई उतार्ने सीप भने उनमा हुलाक सेवा विभागमा ‘हुलाक टिकट डिजाइनर’को जागिरे भएदेखि नै मौलायो । जीवनका अधिकांश ऊर्जावान् दिन हुलाक टिकट डिजाइनमा सिर्जना र प्रयोग गर्दै बिताएका कर्माचार्यले जागिरमै ३८ वर्षभन्दा बढी समय खपाए । विस २०२४ सालमा हुलाकमा प्रवेश गर्दा सीमित थिए, डिजाइनरहरू । भन्छन्, ‘त्यतिबेला हुलाक कार्यालय भोटाहिटीमा थियो । टिकट प्रकाशन हुने पहिलो दिन त्यहाँ निकै भीडभाड हुन्थ्यो । मैले ती दृश्यहरू देख्थे र किन भीड भयो भनेर सोध्थेँ । टिकटमा पहिलो टाँचा लगाउँदा यस्तै भीड हुन्छ भन्ने जवाफ पाएपछि मलाई उक्त पेसाले नजानिँदो ढंगले लोभ्यायो ।’

धेरै स्मृति हुलाकमा छँदा नै जोडिएका छन्, उनको । हुलाकमा जाँच दिएर उत्तीर्ण भएपछि दुई सय ५५ रूपैयाँ पाए, तलबस्वरूप । प्रशासनतिरका कर्मचारीहरूभन्दा उनको तलब पाँच रूपैयाँ बढी थियो । प्राविधिकहरूलाई प्रशासनका कर्मचारीभन्दा बढी तलब दिने नियमले पछ्याएको थियो । तर, गरिबी र अभावको तापले हदैसम्म पिल्सिएका कर्माचार्यले पहिलो तलबबाट आफूले पाँच रूपैयाँ राखेर सबै आमालाई दिए । छोराको पहिलो कमाइले आमा असाध्यै खुशी भइन् । भन्छन्, ‘अफिस जाँदा पनि म एक रूपैयाँ मात्र लिएर जान्थेँ ।

३८ वर्ष नौ महिना हुलाकमा रहँदा कर्माचार्यले प्रख्यात व्यक्‍ति हिमाल, चराचुरुंगीलगायत चार सय सात वटा हुलाक टिकटको डिजाइन गरे।

त्यति रकमले मलाई खाजा खान र चुरोट खान पुग्थ्यो ।’ एक समय कर्माचार्य र चुरोट पर्याय नै थिए । उनी ‘चेन स्मोकर’कै रूपमा कहलिएका थिए । आमाले पसलमा चुरोट किन्न पठाउँदा पसलमै सल्काएर घरसम्मै आउने बानीले चुरोटमा लत लागेको थियो, उनको । हुलाक सेवामा छिरेपछि त अर्का चुरौटे साथी फेला पारे, गोपालराज मैनाली । प्रख्यात हास्यकलाकार मैनाली पनि हुलाकमै काम गर्थे । हुलाकको खरिदार पदमा जागिरे मैनालीले उनलाई ‘कान्छा काजी’ भनेर बोलाउँथे । खास नाम कान्छाकुमार कर्माचार्य भए पनि उनलाई त्यतिबेला ‘काजी’ भनेर किन सम्बोधन गरिएको थियो, अहिलेसम्म त्यसको छेउटुप्पो पत्ता लगाउन सकेका छैनन् । भन्छन्, ‘गोपालराज र मबीच चुरोट खानेमा प्रतिस्पर्धा नै चल्थ्यो ।

तर, मैले नै जित्थेँ सधैं ।’ महँगो चुरोट खाने हैसियत त दुवैको थिएन । सबैको प्रिय थियो, उही ‘फूलमार्क’ । चुरोटको बट्टाबाहिर फूलको चित्र कोरिएको हुँदा नाम नै ‘फूलमार्क’ राखिएको थियो । अलि महँगो पर्दथ्यो, मोटरको चित्रले ढाकिएको ‘मोटरमार्क’ चुरोट । भन्छन्, ‘हामी मोटरमार्क किनेर खान सक्दैनथ्यौं । पछि कमाउन थालेपछि भने मैले गैंडा र त्यसपछि याक चुरोट खान थालेँ ।’ दिनमा एक बट्टा खपत हुन थालेपछि एक दिन मैनालीले उनीसामु प्रस्ताव राख्दै भने, ‘अब हामी राम्रो ब्रान्ड ५५५ खाऔं र त्यसपछि बिस्तारै छाडौं ।’ एक–दुई पटक त दुवैले छाड्न खोजे । तर, भोलिपल्टदेखि उस्तै । उनीहरूको टिममा चुरोट खानेमा साहित्यकार जनकप्रसाद हुमागाइँ पनि हुन्थे ।

दिनमा एक बट्टा नै सिध्याउने कर्माचार्यले दुई दशकयता भने चट्टै चुरोट छाडे । हुलाकमा छँदा टेबुलअगाडि स्ट्रे राखेर डिजाइन गर्ने उनले सबैतिरबाट तीव्र दबाब आएपछि चुरोट छाड्न बाध्य भए । कर्माचार्य काठमाडौंको पश्चिमी विन्दु डल्लुमा जन्मिए, ००४ सालमा । व्यापार गर्ने सिलसिलामा उनका बुवा काभ्रेको पनौतीबाट डल्लुमा आएर बस्न थालेपछि यतै जन्मिएका उनको बाल्यकाल भने निकै दुःखले गुज्रियो । आठ सन्तानमध्ये दुई जना मात्र बाँचेपछि उनका बुवा र आमाले धेरै ठाउँ चहारे ।

कहिले डल्लु, कहिले भोटाहिटी, कहिले क्षेत्रपाटी, कहिले इन्द्रचोक । भन्छन्, ‘जन्मिएका सन्तानहरूका एकपछि अर्को मृत्यु हुँदै गएपछि त्यही शोक र पीडामा धेरै ठाउँमा सर्नुभएको रहेछ ।’ तर, जहाँ गए पनि उनमा कलाप्रतिको रुचि भने सानैदेखि रह्यो । घरको भित्ता देखे भित्तैमा कोर्ने, माटामा खेल्न लाग्दा माटैमा कोर्ने स्वभावले उनलाई चित्रकारितातिर नजानिदो रूपले तान्दै लग्यो ।

चित्रकला पाठशाला

चित्रकलालाई नै पेसा बनाउने उद्देश्यले कर्माचार्यले भोटाहिटीमा रहेको जुद्धकला पाठशालामा भर्ना हुन चाहे । ६ वर्षे कोर्स थियो । भर्ना हुने मनसाय बोकेर पाठशाला पुग्दा वरिष्ठ चित्रकार तेजबहादुर चित्रकारले उनको उमेर सोधे । त्यतिबेला उनी १० वर्षका मात्रै थिए । तर, चित्रकारले ‘१२ वर्ष नपुगी भर्ना लिन मिल्दैन’ भने । उनी खिन्न भए । त्यहीबेला, उनलाई भर्ना गराउन लैजानेले चित्रकारलाई अनुनय गरेपछि ‘उमेर पुगेपछि भर्ना गरिदिने’ शर्तमा उनी पाठशालामा बसेर चित्रकारिता सिक्न थाले । उनी सम्झिन्छन्, ‘एक वर्षपछि नै मेरो उमेर १२ वर्ष पुर्‍याएर चित्रकारले भर्ना गरिदिनुभयो ।’ तर, त्यहीबेला उनको बुबालाई कसैले  भड्काइदिएछन् । ‘आर्ट होइन, अक्षर पढ्नुपर्छ’ भनेर कसैले उक्साइदिएपछि उनी दरबार हाइस्कुलमा भर्ना गरिए । भन्छन्, ‘मेरो मन चित्रकलामै थियो । पछि दरबार हाइस्कुलमा पढ्न छाडेर फेरि आर्ट नै पढ्न थालेँ ।’

२०२८ सालमा पहिलो पटक एकल चित्रकला प्रदर्शनी गरेका कर्माचार्यले कोरिया र जर्मनीमा दुई–दुई पटक समेत गरी सात पटक एकल चित्रकला प्रदर्शनी गरिसके।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यकालमा सदस्यसचिव भएका कर्माचार्यका सहपाठीहरूमा थिए, प्रज्ञा प्रतिष्ठानका वर्तमान उपकुलपति शारदा चित्रकार, कृष्ण मानन्धर । जुद्धकलामा पढेका गोविन्दनारायण ज्यापू र कुलमानसिंह भण्डारी पनि पछि प्रसिद्ध चित्रशिल्पीका रूपमा उदाए । २० को दशकमा डल्लु गाउँ नै थियो । शहरीकरणको कुनै गन्ध छिरिसकेको थिएन । डल्लु र मुख्य शहर असन, इन्द्रचोकलाई जोड्ने विष्णुमती नदीमा सङ्लो पानी बग्थ्यो । विष्णुमतीकै छेउछाउमा बाल्यकाल गुजारेका कर्माचार्य ती दिनहरूतिर फर्किँदै भन्छन्, ‘भुरुङ खेलबाट तल विष्णुमतीमा झरेपछि पूरै सुनसान हुन्थ्यो । साँझ परेपछि मानिहरू हिँड्दैनथे ।

अझ, विष्णुमती त यति सफा थियो कि, मेरी आमा हरेक दिन बिहान विष्णुमतीमा नुहाउनुहुन्थ्यो र घरमा आएर पूजापाठ गर्नुहुन्थ्यो ।’ हरेक वर्षात्मा विष्णुमतीमा बाढी आउँदा पौडी खेल्नु र जाडो महिनामा विष्णुमतीमा स्नान गरेर छेउकै चौरमा घाम ताप्नु त्यति बेला कर्माचार्यको दिनचर्या नै थियो । उनी थप्छन्, ‘कति सफा थियो, विष्णुमती । अब त सफा हुने कल्पना गर्न सकिँदैन ।’ डल्लुमा उनको बुबाले चामल पसल राखेका थिए । उनलाई धमिलो सम्झना छ, भीमढुंगा र सीतापाइलातिरका मानिसहरू फलफूल लिएर बेच्न आउँथे र हलचोकका दलीहरू भने दाउरा र रातो माटो लिएर आउँथे । अलि उपद्रयाहा स्वभावकै थिए उनी । भन्छन्, ‘हामी ती मानिसहरूले बेच्न लिएर आएका फलफूल चोरेर खान्थ्यौँ ।’

ती मानिस इन्द्रचोक नाघेर पूर्वतिर भने जाँदैनथे । उनीहरूले गाउँतिरबाट ल्याएका सामान बेच्ने अन्तिम विन्दु नै थियो, इन्द्रचोक । २५ पैसामा एक धार्नी आलु आउथ्यो । उनी सम्झिन्छन्, ‘एक माना चामललाई एक मोहर पर्न थालेपछि भने मेरा बुबा, आमा महँगी बढ्यो, अब अनिकाल लाग्छ भन्नुहुन्थ्यो ।’
हुलाकमा जागिरे हुनुअघि कर्माचार्यले छाउनीस्थित म्युजियममा जागिर खाए, जम्मा चार दिन । त्यसको पनि रमाइलो कथा छ । ०२१ सालमा फाइन आर्टको पढाइ पूरा गरेपछि म्युजियमबाट जागिरको प्रस्ताव आयो, घरपायक जागिर । जाँच दिए, उत्तीर्ण पनि भए । तर, म्युजियमको काम गराइले उनलाई सन्तुष्टि दिलाउन सकेन । भन्छन्, ‘मलाई शुरुमै राजा–महाराजाका तस्बिर तथा अरू तस्बिरहरूमुनि नाम र साल लेख्ने जिम्मा दिइयो । तर चार दिन काम गरेपछि मलाई त्यस्तो जागिर मन परेन र राजीनामा दिएर छाडेँ ।’

जागिरे जीवनका क्रममा बिहान र बेलुकी चित्र कोर्ने कर्माचार्यले ५७ वटा बालसाहित्यका पुस्तकमा पनि आफ्नो कला–सीप पोखिसकेका छन्।

त्यतिबेला नेपालमा पर्यटकहरू आउने क्रम भर्खरै शुरु भएको थियो । उनले भूदृश्ययुक्त चित्रहरू बनाउन थाले । उनी चित्र बनाउँथे र उनका साथीले ती चित्र पर्यटकहरूलाई लगेर बेच्थे । एउटा चित्र बेच्दा ४० रूपैयाँ आउन थालेपछि उनले कमाइको स्वाद थाहा पाए । भन्छन्, ‘चित्र बेच्दा आएको रकमले घर खर्च चलाउन थालेँ ।’३८ वर्ष नौ महिना हुलाकमा रहँदा उनले प्रख्यात व्यक्ति, हिमाल, चराचुरुंगी, फूल, ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदालगायत चार सय सात वटा हुलाक टिकटको डिजाइन गरे । शुरुमा आमादब्लम हिमाल, काठमाडौं र भक्तपुर शहरको डिजाइन गर्दा एउटा टिकटको दाम पाँच पैसा थियो । यो सन् १९६७ को कुरा थियो ।

बालकृष्ण समको टिकट डिजाइन गर्दा अस्ट्रेलियाको एउटा संस्थाबाट ‘राम्रो डिजाइनर’को उपाधि पाएका कर्माचार्यले राष्ट्रिय जीवनका थुप्रै ख्यातिप्राप्त व्यक्तित्वहरूका टिकट डिजाइन गरे । पारिजात, युद्धप्रसाद मिश्र, चन्द्रमान मास्के, चित्तधर हृदय, पहलमानसिंह स्वाँर, जयपृथ्वीबहादुर सिंह, सोमनाथ सिग्द्याल, बाबुराम आचार्य, ज्ञानी दिलदास, सिद्धिदास अमात्य, सूर्यविक्रम ज्ञवाली, बीपी कोइराला, गणेशमान सिंह, नारायणगोपाल, धरणीधर कोइराला, पासाङल्हामु शेर्पा यस्ता धेरै प्रतिभालाई उनले टिकटमा सजाए । पासाङल्हामुको टिकट डिजाइन गर्दा त बबालै मच्चियो । भन्छन्, ‘पासाङल्हामुको टिकट प्रकाशित भएर आएपछि उनको जन्ममिति नै गल्ती भएर आएछ । त्यसले ठूलै हंगामा मच्चायो । पछि ती सबै टिकट डम्प गरियो ।’ राजारानीको तस्बिरअंकित टिकट प्रकाशन हुनुपूर्व त्यसको फाइनल भने दरबारले नै गथ्र्याे ।

दरबारले स्वीकृत गरेपछि मात्रै छाप्नका लागि विदेशमा पठाइन्थ्यो । अहिले पनि टिकटहरू विदेशकै प्रेसमा छापिन्छन् । बेल्जियम, बेलायत, अस्टे«लिया र भारतजस्ता देशहरूमा हुलाक टिकट छापिन्छन् । भन्छन्, ‘हामीकहाँ हुलाक टिकट छापिँदैन । किनभने, पैसा र टिकट छपाइमा सेक्युरिटीको कुरा हुने भएको हुँदा विदेशमा छापिने गरेको हो ।’ एक पटक त, छापिएर आएको एउटा टिकटमा ‘सरकार’ भन्ने शब्द नै छुटेको पाइएपछि उनको ग्रेड नै रोक्नेसम्मको कुरा उठ्यो । तत्कालीन राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली...’ को पूरै शब्दलाई टिकटमा राखिएर प्रकाशन गरिएको थियो ।

तर, त्यसमा ‘सरकार’ भन्ने शब्द नै छुट्न पुग्यो । भन्छन्, ‘गल्ती मेरो मात्र थिएन । सूचना मन्त्रालयका उच्च तहका कर्मचारीहरूले पनि हेर्थे । तर, त्यो टिकट छापिएर आएपछि ठूलै हंगामा मच्चियो । मलाई स्पष्टीकरण सोधियो । ग्रेड रोक्का गर्ने कुरा उठेको थियो तर अबदेखि त्यस्तो गल्ती नदोहोर्‍याउने भनेपछि कारबाही गरिएन ।’ टिकट डिजाइनमा विशेषज्ञता कायम गरे पनि सानैदेखि चित्रकारितामा पोखिएको उनको मन अझैसम्म यथावत नै छ । ०२८ सालमा पहिलो पटक एकल चित्रकला प्रदर्शनी गरेका कर्माचार्यले कोरिया र जर्मनीमा दुई–दुई पटक समेत गरी सात पटक एकल चित्रकला प्रदर्शनी गरिसके ।

जागिरे जीवनका क्रममा बिहान र बेलुकी चित्र कोर्ने कर्माचार्यले ५७ वटा बालसाहित्यका पुस्तकमा पनि आफ्नो कला–सीप पोखिसकेका छन् । तर, अझै पनि उनको मन भने हुलाक टिकट डिजाइनमै बसेको छ । केही महिनापूर्व उनले ६ वटा हुलाक टिकटको डिजाइन गरे । टिकट डिजाइन गर्दा आर्थिक गर्जो टर्ने भएको हुँदा किन नबनाउने ? उनी भन्छन्, ‘एउटा टिकट डिजाइन गरेको २० हजार रूपैयाँ लिन्छु । त्यसले मेरो घरखर्च चल्न मद्दत पुग्छ ।’

 

 

 

प्रतिकृया दिनुहोस