MENU

समाज/जीवनशैली

dishhomeapp

अपराध : नाबालकमाथि यौन दुराचार

दिनेश गौतम शुक्रवार, श्रावण २०, २०७४

* १५ असार ०७४ मा काठमाडौंको ठमेल ज्याँठास्थित होटलको कोठाबाट जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिके (६३) एक जना बालकसँगै अर्धनग्न अवस्थामा पक्राउ परे । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बाल यौन दुराचार अभियोगमा जबर्जस्तीकरणी मुद्दा दायर गरिएको छ ।

* २४ भदौ ०७३ मा ठमेलकै अर्को होटलबाट अमेरिकी नागरिक केनिथ जोसेफ (४८) कुम्बस पक्राउ परे। उनी पटक–पटक नेपाल आएर बाल यौन दुराचारमा संलग्न थिए । होटलबाट पाँच जना पीडित नाबालकलाई प्रहरीले उद्घार गर्‍यो। उनी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।

* चार वर्षीय बालकलाई चकलेट खान दिएर समीर शाक्यले गुद्द्वारमा करणी गरे। अदालतको बयानमा शाक्यले अभियोग अस्वीकार गरे। तर, गुप्तांगमा शुक्रकीट देखिनुको कुनै आधार पेस गर्न नसक्दा सर्वोच्च अदालतले उनलाई दोषी ठहर्‍यायो।

* नेदरल्यान्डस्का मोल्हुसेन हेन्ड्रिक ओटोले काठमाडौं, गल्कोपाखामा ‘हाम्रो जीवन संरक्षण’ बालगृह खोले। बालगृहका निर्देशक ओटो बालकहरूलाई बेग्लाबेग्लै समयमा कोठामा बोलाएर गुप्तांग खेलाउन लगाउँथे। उनीविरुद्ध बाल यौन दुराचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर भयो । जिल्ला, पुनरावेदन हुँदैअन्ततः सर्वोच्चले नौ वर्षको कैद सजाय सुनाएपछि उनी बन्दी जीवन बिताइरहेका छन् ।

१५असार २०७४ का दिन मध्याह्नको १२ बजे एसपी मीरा चौधरीले काठमाडौंको ठमेल ज्याठास्थित एक होटेलको बन्द कोठा ‘नक’ गरिन् । बल्लतल्ल ढोका खुल्यो । तर, भित्रको दृश्यले उनी चकित परिन् । कोठाभित्र थिए, जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिके (६३) । जसको कम्मरमाथि नेकेट थियो । ढोकामा चुकुल भएपनि डोरीले बाधेर लक गरिएको थियो ।

भित्र पस्दा बाथरुम पनि ‘लक’ थियो । ढोका खोल्दा एक नाबालक डराउँदै बाहिर निस्किए । एसपी चौधरीले सीआईबीबाट आएको परिचय दिएपछि अल्बर्ट झस्किए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बाल यौन दुराचार अभियोगमा जबर्जस्तीकरणी मुद्दा दायर गर्न म्याद लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विभिन्न प्रलोभनमा पारेर होस् वा संरक्षणका नाममा बाल यौन दुराचार भइरहेको नाबालक कन्फ्युज्ड हुँदा नेपालमा बाल यौन दुराचार बढ्दै गएको छ । यही बाल अज्ञानताको फाइदा लिँदै विदेशी मात्र होइन नेपालीहरू पनि बाल यौन दुराचारमा संलग्न छन् ।

दुराचारमा दलाली

चाइल्ड केयर सेन्टरका रूपमा नेपालमा संस्था खोल्ने र संरक्षणमा रहेका असहाय बालकहरूको दुराचार गर्ने प्रवृत्ति रहेकोमा अहिले फेरिएको छ । पछिल्लो समय भने त्रिभुवन विमानस्थलबाट छिरेपछि होटलमा कोठा बुक गर्ने र कोठैमा बोलाएर यौन दुराचार गर्नेहरू बढ्दै गएको प्रहरी अधिकृतहरू बताउँछन् । विदेशीहरूलाई दुराचार गर्न नाबालकहरू उपलब्ध गराइदिने बिचौलियाको काममा भने नेपाली युवा नै संलग्न भएका छन् । ठमेलको एक कोठाबाट पक्राउ परेका केनेथलाई स्वयम्भू, इचंगुनारायणका बुद्ध पुतवारले दलालीको काम गर्थे । २१ वर्षीय पुतवारले विभिन्न स्थानबाट बालबालिकाहरूलाई प्रलोभनमा पारेर होटलसम्म पु¥याइदिने गरेको एक प्रहरी अधिकृत बताउँछन् ।

pra.da.rajitbhakta अदालतले बाल यौन दुराचारको दायरा कति हुने र नाबालकउपर गरिने के–कस्ता कार्य दुराचारभित्र पर्छन् भनी फैसलामा उल्लेख गर्न सकेको पाइँदैन। प्रा.डा. रजितभक्त प्रधानाङ्ग फौजदारी कानुन विज्ञ

पुतवारले यौन दुराचारका लागि १० जना बालकहरूलाई पुर्‍याएका थिए । त्यस्तै बाल यौन दुराचारी ओटोकै आर्थिक सहयोगमा खोलिएको बालगृहका सञ्चालक रेशमराज सिंखडाले सहयोगीको भूमिका खेलेका थिए । ओटोले आफूहरूमाथि अप्राकृतिक मैथुन गरेको जानकारी दिँदा पनि सिंखडाले बेवास्ता गरेको एक पीडित बताउँछन् । काठमाडौं जिल्ला अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।

बेवास्ताले अपराध बढ्दै

समाज र मानवताविरुद्धको अपराधका रूपमा लिइने नाबालकमाथिको यौन दुराचारबारे अभिभावकलाई समेत जानकारी छैन । छोरामाथि जर्मन नागरिक
अल्बर्टले गरेको यौन दुराचारबारे प्रहरीले जानकारी दिएपछि मात्र अभिभावकले थाहा पाएका थिए । बाल यौनदुराचारबारे केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोकै एसपी मीरा चौधरी यसमा तीन तहका व्यक्तिहरू रहेको बताउँछिन् । पहिलो, यस सम्बन्धमा कतिपयलाई जानकारी नै छैन, कतिपयले मतलब नै गर्दैनन् । दोस्रो, कतिपयलाई केही जानकारी भए पनि अन्य मुलुकको तुलनामा नेपालमा छैन होला भनेर ‘इग्नोर’ गर्छन् । तेस्रो, बाल यौन दुराचारबारे थाहै छैन । एसपी चौधरी भन्छिन्, ‘भुसभित्रको आगोझैं भित्र–भित्र बाल यौन दुराचार भएको हुन सक्छ ।

बाहिर सार्वजनिक नभएको मात्र हो ।’ लुकिछिपी गरिने कसुर भएका कारण पनि नेपालमा नाबालकमाथि हुने गरेका कतिपय यौन दुराचार सार्वजनिक भएका छैनन् । त्यसैले, अज्ञानता र बेवास्ताको फाइदा लिँदै विदेशीहरू नेपालका बालबालिकामाथि यौन दुराचार गर्दै आएका छन् । नाबालकहरूमा गलत र सही छुट्याउन नसक्ने क्षमताको कमीका कारण यौन दुराचार र पीडकले के गर्न लागेको÷गरिरहेको छ भन्नेबारे थाहा पाउँदैनन् । यही अपरिपक्वपनाका कारण यौन दुराचारीले प्रलोभन दिएर फकाउने गरेका छन् ।

आफ्नो इच्छाविपरीत भएको दुराचारमा पनि बचाउको लागि विरोध गर्दै आत्मरक्षाको प्रयत्न गर्न नै सक्दैनन् । यौनसम्बन्धी गम्भीर अपराध भए पनि साक्षी नभएको भन्दै बेवास्ता गर्ने प्रवृत्ति रहेको प्रहरी अधिकृतहरू बताउँछन् । यौन दुराचारीको तर्फबाट बहस पैरवी गर्नेहरूले प्रत्यक्षदर्शी नभएको भन्दै कसुरबाट उन्मुक्ति पाउनुपर्ने भनी जिकिर गर्ने जिल्ला न्यायाधीशहरूको भनाइ छ । काठमाडौं जिल्ला अदालतका एक न्यायाधीश भन्छन्, ‘यस्ता घटनामा सामान्यतया प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुने हुँदा पीडित नै घटनाको आधारभूत गबाह हुन्छन् ।’

उनका अनुसार, प्रत्यक्षदर्शी नभएको अवस्थामा पनि अपराधी यही नै हो भनी ठम्याउन वस्तुनिष्ठ र परिस्थितिजन्य प्रमाणहरूलाई हेरेर फैसला गरिन्छ । दुराचारीहरूले घुमाउन लैजाने, होटलमा खाना खुवाउने र नयाँ लुगा किनिदिने गरेका थिए । पछिल्लोपटक पक्राउ परेका जर्मन नागरिक अल्बर्ट फ्रेट क्लिनिकेले पनि केक, चप्पल, लुगा किनेदिने गरेको पीडित बालकहरू बताउँछन् ।

कानुनी व्यवस्था

यस्तो यौन दुराचारको कार्य मुलुकी ऐन जबर्जस्ती करणीको (९) क नम्बरमा अप्राकृतिक करणी र मुलुकी ऐन पशुकरणीको महलको १ नम्बरमा अप्राकृतिक मैथुन भनी उल्लेख गरिएको छ । बालकलाई गुदद्वारमा गरिएको करणी अप्राकृतिक मैथुन भएकोले जबर्जस्तीकरणीको (९) क बमोजिम सजाय हुने कानुनमा उल्लेख छ । मुलुकी ऐन पशुकरणीकै महलको १ नम्बरले पशु करणीका अलावा अन्य कुनै अप्राकृतिक मैथुन गर्न/गराउन हुँदैन भनी अन्य अप्राकृतिक मैथुनलाई निषेध गरेको छ । प्रस्तावित अपराधसंहिता, २०६७ को दफा २२७ (१)ले कसैले कसैको इच्छाविरुद्ध अप्राकृतिक मैथुन गर्नु हुँदैन । र, उपदफा (४)ले कसैले अन्य कुनै किसिमले अप्राकृतिक मैथुन गर्न/गराउन हुँदैन भन्ने व्यवस्था गरेको फौजदारी कानुनविज्ञ रञ्जितभक्त प्रधानाङ्ग बताउँछन् ।

नेपालमा बाल यौन दुराचारमा विदेशी र स्वदेशी संलग्न भएको पुष्टि भइरहेको छ। तर, अझै पनि कानुनमा भने बाल यौन दुराचारको परिभाषा र दायरा प्रस्ट छैन।

मुलुकी ऐन, पशुकरणीको महलको १ नम्बर र प्रस्तावित अपराधसंहिता २०६७ को दफा २२७ (१) र (४) मा अप्राकृतिक मैथुनअन्तर्गत के–के पर्छन् भन्ने कुरा स्पष्ट छैन । प्राकृतिक नियमविपरीत मैथुन गर्नु अप्राकृतिक मैथुन हो भनी परिभाषा गर्नु उचित हुन्छ । यसबाट पशुकरणीलाई छुट्याइ अन्य प्राकृतिक नियमविपरीतका मैथुनलाई अप्राकृतिक मैथुनअन्तर्गत परिभाषित गर्नुपर्ने फौजदारी कानुन विज्ञ प्रधानाङ्ग बताउँछन् । शुरुमा बालबालिकाहरूलाई माया गर्ने र त्यसको सीमा नाघेपछि बाल यौन दुराचार हुने गरेको बाल अधिकारकर्मी गौरी प्रधान बताउँछन् ।

भन्छन, ‘कतिपय विदेशीहरू बाल यौन दुराचारको मनशाय नै लिएर गर्नकै आउँछन भने कतिपय एक्सिडेन्टली पनि दुराचार गर्न पुग्छन ।’सरकारवादी फौजदारी मुद्दा भएकाले प्रहरीबाट गरिने अपराध अनुसन्धानमा पीडित, स्वास्थ्य संस्था, विधि विज्ञान प्रयोगशाला, सरकारी वकिललगायत व्यक्ति तथा निकायहरूको सकारात्मक सहयोग अपरिहार्य हुन्छ । बयानमुखी अनुसन्धान प्रणाली र परम्परागत ढंगबाट गरिने अपराधको अनुसन्धान र अभियोजनले सफलता प्राप्त गर्न कठिनाइ हुन्छ । विधायिकाले नै नाबालकउपरको अप्राकृतिक मैथुनलाई जबर्जस्ती करणीको परिभाषाभित्र पारेको छ । नाबालकमाथि भएको अप्राकृतिक मैथुनलाई बालक वा बालिकाको विभेदमा नराखी जबर्जस्तीकरणी मानी सर्वोच्च अदालतले फैसला गरेको पाइन्छ ।

दुराचारको दायरा

सर्वोच्च अदालतका पटक–पटक अप्राकृतिक मैथुन बालक वा बालिका दुवै उपर हुन्छ भन्ने प्रस्ट्याएको छ । तर, यो अपराध पुरुषले मात्र गर्न सक्ने धारणा सर्वोच्चको छ । नाबालकविरुद्ध गरिने अप्राकृतिक मैथुन (बाल यौन दुराचार)को परिभाषा नै स्पष्ट छैन । अप्राकृतिक मैथुनको किसिम र मैथुन गर्ने गराउने क्रिया र माध्यम फरक–फरक हुन्छन् । नाबालकसँग गरिएका कस्ता कार्य र क्रियाकलापहरू बालयौन दुराचारभित्र पर्छन भने स्पष्ट छैन । फौजदारी कानुनका विज्ञ प्रा.डा. रजितभक्त प्रधानाङ्ग भन्छन, ‘अदालतले बाल यौन दुराचारको दायरा कति हुने र नाबालक उपर गरिने के–कस्ता कार्य दुराचारभित्र पर्छन् भनी निर्णयमा उल्लेख गर्न सकेको पाइँदैन ।’ तर, सर्वोच्चले यस प्रकृतिका घटनालाई गम्भीर अपराधको रूपमा लिई सजाय गर्ने र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

पीडितको गुप्तांग चलाएमा वा चुसेमा अप्राकृतिक मैथुनको दायराभित्र पर्ने वा नपर्ने सम्बन्धमा अहिलेसम्म विवाद सर्वोच्च अदालतमा पुगेको छैन । मुलुकी ऐन, एघारौं संशोधनले नाबालक उपर गरिने यौन दुराचारलाई अपराधीकरणमा परिभाषित गरेको छ ।मुलुकी ऐन एघारौं संशोधनले यस अपराधलाई पहिलो पटक कानुनी दायरामा ल्याएको थियो । उक्त कानुनी व्यवस्थालाई १४ असोज २०७२ मा लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, ०७२ ले संशोधन गरेको थियो ।  यही कानुनी व्यवस्थाले बाल यौन दुराचारलाई जबर्जस्तीकरणीसरहको अपराध मानी थप सजायसमेत हुने व्यवस्था गरेको हो । ‘यही कानुनी व्यवस्थाले घुमाउरो रूपमा जबर्जस्तीकरणीको सजायसमेत गरी यस अपराधमा थप सजायको व्यवस्था गरेको छ,’ प्रा.डा. प्रधानाङ्गले भने ।

gauri बाल बालिकालाई शिक्षा र सचेतना दिनुपर्छ। विद्यालयस्तरका पाठ्यक्रममा समावेश गरी बालबालिकालाई सचेत गराउनु आवश्यक छ। गौरी प्रधान बालअधिकार अभियन्ता

अदालतले फैसला गर्दा विद्यमान कानुनी व्यवस्थामा रहेको त्रुटिपूर्ण व्यवस्थातर्फ उचित ध्यान दिन सकेको छैन । उनी भन्छन, ‘अपराधको प्रकृतिले यो अपराध आधारभूत अपराध हो । भने अपराधको कसुर कायम हुन अन्य कुनै अपराध भएको पुष्टि हुनु पर्दैन । तर, त्रुटिपूर्ण कानुनी व्यवस्थाले सजायको हकमा जबर्जस्तीकरणीको सजाय गरी थप सजायसमेत हुने घुमाउरो व्यवस्था गर्न पुगेको छ । अपराधको घोषणा र सजायको व्यवस्था गर्दा विधायिका चुक्न पुगेको छ ।’ नेपालको संविधान, २०७२ को धारा ३९ मा बालबालिकालाई शारिरीक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।

पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको प्रत्याभूति संविधानमा नै उल्लेख गरिएको छ । संवैधानिक प्रत्याभूति मात्र नभई बाल यौन दुराचारबाट जोगिन विद्यालयस्तरमा बालअधिकारलगायत यौन दुव्र्यवहारका विषयलाई पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने बालअधिकारकर्मीहरू बताउँछन् । अधिकारकर्मी प्रधान भन्छन, ‘यस सम्बन्धमा बालबालिकालाई शिक्षा र सचेतना दिनुपर्छ । विद्यालयस्तरका पाठ्यक्रममा समावेश गरी बालबालिकालाई सचेत गराउनु आवश्यक छ ।’

 

 

 

प्रतिकृया दिनुहोस