MENU

समाज/जीवनशैली

635x90

रसाइलीको अवकास अनुभूति

विवश वस्ती बुधवार, श्रावण १८, २०७४

जीवन–यात्रामा टिपिएका अनुभूतिका अनेक चाङ छन्, सीके रसाइलीसँग । पूरै जीवन नेपाली गीत–संगीतको श्रीवृद्धिमा समर्पण गरेका रसाइलीलाई अचेल भने आफ्ना अनुभूतिलाई अक्षरमा कुँद्न मन लाग्न थालेको छ । नेपाली सिर्जना–संसारका अनेक सर्जकहरूसँग उनले उठबस गरे । उनले सामीप्य गाँसेका अधिकांश सर्जकहरू अहिले भौतिक रूपमा छैनन् । तर, जीवनमा जोडिन आइपुगेका त्यस्ता सर्जकहरूसँग बिताएका कालजयी स्मृति भने उनको मनमस्तिष्कमा गढेरै रहेका छन् ।

लस्करै सम्झिन्छन् उनी, हरिभक्त कटुवाल, नारायणगोपाल, लीलबहादुर क्षत्री आदिलाई । आसाममा बस्दादेखि नै संगत बढेको हो, हरिभक्तसँग त । पछि दुवै जना काठमाडौं आएपछि आसामदेखि जोडिएको संगत अझ बाक्लियो । एक पटक, नारायणगोपाललाई गाउन लगाउने हेतुले हरिभक्तको शब्दमा रसाइलीले संगीत भरे । शब्द थियो, ‘आँखादेखि ओझेल भएँ बिर्सिदिन सकूँला कि भनेर...’ । यो गीतमा रसाइलीले धुन भर्नुअघि अर्का संगीत–सर्जक अम्बर गुरुङलाई संगीतका लागि दिइएको रहेछ । तर, शब्दमा ‘मिटर’ नपुगेको भन्दै गुरुङले डेढ वर्षसम्म छुँदै छोएन छन् । त्यसपछि हरिभक्तले रसाइलीलाई दिएका रहेछन् ।

ब्रम्हपुत्रको लहरमा

धेरै मिहिनेत गरे, रसाइली त्यो गीतमा । भन्छन्, ‘म एक पटक ब्रम्हपुत्र नदी किनार टहलिँदै गर्दा यो गीतमा धुन भरेँ । ब्रम्हपुत्रकै लहरमा डुबेर मैले संगीत भरेको हुँ ।’ पछि, रेडियो नेपालमा नारायणगोपालको स्वरमा रेकर्ड गर्ने टुंगो लाग्यो । तर, गीत गाउन रेडियोमा आएका नारायणगोपालले भने स्टुडियोका कुनै मानिससँग विवाद परेपछि गाउँनै छाडेर हिँडे । यो गीत रेकर्ड गर्ने बेलामा हरिभक्त पनि आएका थिए । नारायणगोपाल हिँडेपछि हरिभक्तले तिम्रो गायक त रिसाएर हिँडे नि भनेछन् । पछि उनले नै स्वर दिए ।

लामो समय नेपाली सेनाको संगीत विभागमा रहेर काम गरेका रसाइली अचेल भने अवकाशप्राप्त जीवन बिताइरहेका छन्। तर, संगीतप्रति सानैदेखि बसेको मोह भने अझै कायमै छ।

मदिराप्रेमी कटवालका जीवन्त गीतहरूमा संगीत दिएका रसाइलीले तिनै ‘पियक्कड’सँग बसेर पिए, अनेक पटक । कुनै बेला त, कमलपोखरीमा डेरा लिएर बस्ने रसाइलीले उनलाई केही समय आफ्नै कोठामा राखेका थिए । पत्नी र छोराछोरी आसाम गएका बेला रसाइलीले कटवालको कोठामा आश्रय लिएका रहेछन् । भन्छन्, ‘हरिभक्त दाइले जीवन नै रक्सीमा समर्पित गर्नुभएको थियो । मैले कोठामा एक क्वाटर ल्याएर दिन्थेँ । तर, त्यतिले उहाँलाई पुग्दैनथ्यो र बाहिर निस्केर खाइहाल्नु हुन्थ्यो ।’

आफूले हरिभक्तसँग बसेर पिए पनि उनले जति सीमा नाघेर नपिएको रसाइलीले बताए । बेलायती सेनामा कार्यरत थिए, रसाइलीका बुबा । सन् १९४१ मा पाकिस्तानको क्वेटा शहरमा उनका बुबा सैनिक सेवामा कार्यरत रहँदा त्यही जन्मिए, उनी । मूलथलो तेह्रथुमको म्यागलुङ भए पनि बुबाले सैनिक सेवाका क्रममा देश–देशान्तर चहार्दा उनी पनि सँगै रहे । तर, द्वितीय विश्वयुद्ध उत्कर्षमा पुगेको हुँदा क्वेटामा रहेको उनको परिवारलाई आसामको सिलोङमा स्थानान्तर गरियो ।

र, उनको बाल्यकाल रमणीय पहाडी सहर सिलोङमा बित्न थाल्यो । उनी सिलोङमा बस्दाबस्दै बुबा मलाया गए । उनी पनि मलायातिरै लागे । उनले मलायामा सेनाकै मातहतमा रहेर पढाइ अघि बढाए र केही समयसम्म सेनाको तालिम पनि लिए । पछि, सिलोङ फर्केर म्याट्रिक्ससम्मको अध्ययन पूरा गरेका उनमा गीत–संगीतको नसा भने मलायामा छँदाखेरी नै चढिसकेको थियो । पछि उनले प्रयाग संगीत महाविद्यालय, अलाहावादबाट बी म्युजिक गरे ।

उनको बुबा पनि संगीतप्रति निकै अभिरुचि राख्दथे । उनलाई धमिलो सम्झना छ, सन् १९५०–५१ तिर नेपालबाट गायक मित्रसेन सिलोङ गएका थिए । मित्रसेनले केही गीत ग्रामोफोनमा रेकर्ड गरेर लगेका थिए । भन्छन्, ‘बुबाले मित्रसेनलाई सिलोङमा स्वागत गर्नुभयो । उहाँका गीत किनिदिनुभयो । मैले पहिलो पटक नेपाली गीत सुनेको त्यहीबेला नै हो ।’ विस्तारै गीत–संगीतप्रति रुचि जाग्दै गए पनि नेपाली भाषाका गीत सुन्ने कुरा त्यतिबेला टाढाकै विषय थियो । हिन्दी, बंगालीलगायत भाषाका गीत भने रेडियो आकाशवाणीबाट निरन्तर बजिरहन्थे र तिनै गीत सुन्दै उनमा गुन्गुनाउने बानी बस्न थाल्यो । उनले मोहम्मद रफी, मुकेश, किशोरकुमार, लता मंगेशकरका गीत र तलद महम्मुदका गजल सुन्न थाले र नक्कल गर्दैै गाउन थाले । यसरी गीत नक्कल गरेर गाउन थालेपछि उनमा गीत–संगीतप्रति झनै लगाव बढ्न थाल्यो ।

ck1

त्यसपछि त उनलाई कतै पूजा, जमघट हुँदा गाउनका लागि बोलाउन थालियो । एक पटक आफैंले माउथ आर्गन किनेर बजाए । त्यतिबेला खुबै हिट भएको फिल्म ‘अनारकली’ को एउटा गीत ‘इल्लीविल्ली लाईलाई’ लाई माउथ आर्गनको धुनमा ढालेपछि त उनको संगीत–क्षमताको झनै खोजी हुन थाल्यो । त्यहीबेला नै, आसामका खासी जातिका मानिसहरूले एउटा क्लब खोलेका थिए । भन्छन्, ‘म एक पटक त्यो क्लबमा पुग्दा त्यहाँ गितार, हारमोनियमजस्ता बाजा देखेँ । तिनले ममा संगीतप्रति झनै मोह बढ्यो ।’

सन् १९५९ तिर लीलबहादुर क्षत्री अलइन्डिया रेडियो गुवाहाटीमा कार्यक्रम चलाउँथे । नेपालीभाषी सर्जकहरूका खोजी गर्दै हिँड्ने क्रममा सिलोङ पुगेका क्षत्रीले त्यही नै केही प्रतिभाहरूसँग ‘अडिसन’ लिए । त्यही क्रममा छानिए, रसाइली पनि । भन्छन्, ‘मलाई संगीत क्षेत्रमा पाइला चाल्न उत्प्रेरित र प्रोत्साहित गर्ने लीलबहादुर दाइ नै हुन् । मलाई त्यो बेलासम्म अरू भाषाका गीत गाउन आउँथ्यो तर नेपाली भाषाको भने गाउन आउँदैनथ्यो । त्यसपछि भने नेपाली भाषामा गीत लेख्ने र गाउनेहरू धमाधम जन्मिन थाले ।’ उनले पनि पहिलो पटक ‘जन्म गर्दिन माताले कति दुःख, कष्ट पाएर...’ बोलको नेपाली गीतमा स्वर दिए र आकाशवाणीबाट प्रसारण हुन थाल्यो । यो गीत रेडियो खर्साङ, दिल्ली, गुवाहाटीबाट बज्न थालेपछि नेपाली भाषीहरूबीच धेरै नै लोकप्रिय बन्यो ।

उनले गीत गाएपछि कतिपयले उक्त गीतलाई ‘विद्रोही पाराको’ समेत भने । गीतमा त्यस्तो विद्रोही भाव भने कतै पनि थिएन । भन्छन्, ‘मैले त्यो गीतमा आमाको बिलौना पोखेको थिएँ । कसरी विद्रोही गीत हुन्थ्यो र ?’ हुन पनि त्यतिबेला भारत सरकारलाई अम्बर गुरुङको ‘नौलाखे तारा उदाए’ले निकै तर्साएको थियो, जुन गीत अलइन्डिया रेडियोबाट बज्न थालेपछि प्रतिबन्ध नै लगाइयो । गीतमा प्रतिबन्ध लागेपछि गुरुङलाई जागिरबाट समेत निकालियो र भारतमा बस्न÷टिक्न गाह्रो भएपछि उनी नेपाल भित्रिए ।

गीत–संगीतकै लोकप्रियताले तान्दै उनलाई काठमाडौंसम्मै ल्याइपुर्‍यायो । सन्दर्भ थियो, राजा महेन्द्रको ४४ औं जन्मदिन । भन्छन्, ‘हामीलाई राजाको जन्मोत्सवमा गीत गाउन सूचना तथा सांस्कृतिक विभागबाट पत्र आयो । हामीले गठन गरेको नेपाली संगीत कला समितिको नाममा पत्र आएपछि २०–२५ जनाको टोली हामी काठमाडौं आएका थियौं ।’ त्यस बेला चीन र भारतबीचको तनाव उत्कर्षमा थियो । दुवै देशबीच युद्ध चलेको थियो र भारतले पराजय बेहोर्दै गइरहेको थियो ।

तर, भारत र चीनको सीमाक्षेत्रमा बमबारी चले पनि रसाइली भने नेपालमा पहिलो पटक आफ्नो सांगीतिक प्रस्तुतिका लागि आए । गुहावाटीबाट रेल चढेर रक्सौल हुँदै भीमफेदीको उकालो चढेर काठमाडौंमा पहिलो पटक आएका रसाइली त्यतिबेलाको काठमाडौं–बसाइ उतार्दै भन्छन्, ‘हामीलाई काठमाडौं त कता हो, कता भन्ने लागेको थियो । अहिलेको दशरथ रंगशाला त्यतिबेला एउटा ठूलो चौर थियो, जहाँ सबैलाई आफ्नो गीत सुनायौँ ।’ त्यही बेला, राष्ट्रिय नाचघरमा राजा र परिवारका सदस्यहरूलाई गीत सुनाएपछि राजा महेन्द्र मन्त्रमुग्ध नै भए र भोलिपल्ट उनीहरूलाई सिंहदरबारमा भोज नै दिए । त्यही बेला सूचना तथा सांस्कृतिक विभागका प्रमुखले राजा महेन्द्रले लेखेका ‘फेरि उसैका लागि’ काव्यकृतिको एउटा गीतमा संगीत भरेर राजासक्षम सुनाउनुपर्ने जिम्मा दिए । भन्छन्, ‘म त निकै आत्तिएँ ।


तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, ज्ञानु राणा, प्रकाश श्रेष्ठ, उदितजस्ता गायकले रसाइलीको संगीतमा स्वर दिएका छन्।

भोलिपल्ट नै संगीत भरेर सुनाउनु मेरा लागि ठूलो चुनौती थियो । तर, मैले तत्कालै संगीत गरेँ र भोलिपल्ट सुनाएँ । मेरो गीत सुनेपछि राजा महेन्द्र खुशी हुनुभयो र मप्रति स्नेहसमेत प्रकट गर्नुभयो’ । गीतको बोल थियो, ‘दुखेको दिल, टुटेको मन’ । पछि, यही गीत राजा महेन्द्रको अनुरोधमा संगीत–प्रवीण नरराज ढकालले कलकत्तामा गएर रेकर्डसमेत गरे । त्यसपछि त रसाइलीलगायत सिलोङमा बस्ने सांस्कृतिककर्मीहरूलाई लगातार तीन वर्षसम्म काठमाडौंमा निम्ता दिइयो । त्यतिबेलै राजा महेन्द्रले उनलाई ‘किन प्रवासमा बस्छौ ? आफ्नै देशमा आएर सेवा गर’ भन्न पनि भ्याएका थिए । तर, पछि विचार गर्ने गरी उनी सिलोङ नै फर्किए ।

२०२६ सालमा भने सुनौली–पोखरा सडकखण्डमा काम गर्ने दाइलाई भेट्न बुटवल पुगेका उनले राजालाई भेट्ने उद्देश्य लिएर काठमाडौं आए । तर, जन्मोत्सवका बेला भेट गर्न पाइने अपेक्षा राखे पनि त्यतिबेला राजा महेन्द्र जापान गएका कारण भेट हुन सकेन । त्यही बेला नै, उनी रेडियो नेपाल गए र नातिकाजी, शिवशंकरजस्ता हस्तीहरूलाई भेटे ।

उनीहरूले ‘तपाईं नेपालमै बसेर संगीत साधनामा लाग्नुस्’ भनेपछि उनको मन काठमाडौंमै अडियो । उनले रेडियो नेपालमा करार सेवामा जागिर पनि पाए । त्यहाँ काम थालेपछि उनले गायन कम गरे । नयाँ प्रतिभाहरूलाई अगाडि बढाउन थाले । त्यही क्रममा उनले मौलिक नेपाली बाजा टुङ्नाबाट धुन निकाल्ने र मेन्डोलिनबाट पनि धुन निकालेर रेकर्डिङ गरे ।

उदितनारायण झा, रवीन शर्मा, तारा थापा, मधु क्षत्री, रचना जीसी, रमेश ताम्राकारजस्ता गायक–गायिकालाई संगीतको क्षितिजमा चम्काउने श्रेय रसाइलीलाई नै जान्छ । भन्छन्, ‘त्यतिबेला उदितनारायण त सानै थिए । उनलाई तालमा गाउन मैले नै सिकाएँ र उनको स्वरले परिपक्वता पायो ।’ केही वर्षअघि उनले उदितले सिकारुदेखि परिपक्व हुँदासम्म गाएका केही प्रतिनिधि गीतलाई समेटेर ‘अतितबाट उदित’ नामक एलबम नै निकाले ।

उदित मुम्बई जम्नुमा उनको स्वरमा बेग्लै पहिचान रहेको रसाइलीको ठहर छ । उनका अनुसार कसैका नक्कल गरेर नगाउँदा र पृथक स्वर रहेका हुँदा उदित मुम्बईमा जमे । करिब १० वर्षसम्म रेडियो नेपालमा बिताएका रसाइलीले संगीतबद्ध गरेका गीतहरूमा पुराना पुस्ताका अधिकांश गायक–गायिकाले आफ्ना स्वर तिखारेका छन् ।

नारायणगोपालले गाएका ‘प्रेमको माला पहिराइदिएँ’ होस् वा ‘कहिलेकाहीँ म हाँस्छु’ होस्, उनले नै सिँगारे । तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, ज्ञानु राणा, प्रकाश श्रेष्ठ, उदितजस्ता गायकले उनको संगीतमा स्वर दिएका छन् । लामो समय नेपाली सेनाको संगीत विभागमा रहेर काम गरेका रसाइली अचेल भने अवकाशप्राप्त जीवन बिताइरहेका छन् । तर, संगीतप्रति सानैदेखि बसेको मोह भने अझै कायम नै छ ।

अरुणा लामाले गाएका १० वटा गीतमा एकल वाद्यवादन प्रयोग गरेर उनले एउटा एलबम नै ल्याएका छन्, ‘साजको ताज’ ।खाली बस्न नरुचाउने रसाइलीले विश्वमा भइरहेको कोलाहलप्रति चिन्ता जनाउँदै शान्तिको पक्षमा उभिएका गीतहरू ल्याउने सोच बोकेर अर्को एल्बमको तयारीसमेत गरिरहेका छन् । हुन पनि, १२ वर्ष रेडियो नेपाल, चार वर्ष प्रहरी र २६ वर्ष सेनाको संगीत शाखामा रहेर काम गरेको अनुभव छ, उनीसँग ।

 

प्रतिकृया दिनुहोस