MENU

सीमान्त आवाज

635x90

हवाईजहाज रंगाउने श्रीप्रसादको रंगहीन जिन्दगी

राजु स्याङ्तान मंगलवार, श्रावण ३१, २०७४

श्रीप्रसाद गुरुङले कयौं हवाईजहाज रंगाइसके । उनलाई आजसम्म हवार्ईजहाज चढ्ने मौका जुरेको छैन । जहाज मर्मत गरिसकेर त्रिपालमुनि ओत लाग्न आइपुगेका अधबैंशे श्रीप्रसाद हस्यौली गर्छन्, ‘हवाइजहाजमाथि चढेको छु, तर हवाइजहाजमा चाहिँ चढेको छैन ।’ कुरो के रहेछ भने, उनी रंग लगाउन हवाइजहाजमाथि चढ्दा रहेछन्, तर सिटमा बसेर उडानको मज्जा लिन चाहिँ पाएका रहेनछन् । भूकम्पले भत्काएको बीपी संग्रहालय । त्यसको ठीक पछाडि हरियो दुबोमाथि तीन खट्टा टेकेर बसिरहेको हवाइजहाज । झट्ट हेर्दा ठूलो फट्याङ्ग्रा जस्तो । पखेंटामा निलो त्रिपाल फ्यारफ्यार गरिरहेको । अलि पर लडिरहेका थिए, जहाजका केही टुक्रा । चित्रवन ८, चितवनका श्रीप्रसाद यहीँ काम गर्छन् ।

कांग्रेसले विसं २०३० सालमा अपहरण गरेको जहाजका अवशेष जोडेर उनी दुरुस्तै देखाउने उपक्रममा थिए । ३० जेठ ०३० मा विराटनगरबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन एबीबीको ट्विनटर जहाज काठमाडौं अवतरण नभइ भारत फारबिसगन्जको घाँसे मैदानमा अवतरण गराइएको थियो । राष्ट्रबैंकको ३० लाख भारु लिएर उडेको जहाजलाई अपहरण गर्न सघाएका थिए, पूर्वप्रधानमन्त्री सुशील कोइराला र कांग्रेस नेता चक्र बाँस्तोला लगायतले ।  काम फत्ते भइसकेलगत्तै छाडिएको यो जहाज नेपाली आकाशमा ४० वर्ष निरन्तर उड्यो ।

४ फागुन ०७० मा अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त भएपछि भग्नावशेषलाई ट्रकमा राखेर नेपालगन्ज लगियो । त्यही विमानका अवशेषलाई जोडेर दुरुस्तै विमान बनाउन खोज्दै थिए, उनी । चितवनबाट जीविकोपाजर्नको लागि भौतारिँदै श्रीप्रसाद ०३७ सालतिर काठमाडौं पसे । बालाजुस्थित निसान कम्पनीको ग्यारेजमा जीवनको दुई दशक बिताए । गाडीको इन्जिनदेखि बडी बनाउने काममा उनी निपूर्ण थिए । पछि आफ्नै लगानीमा सानोतिनो वर्कसप त खोले तर चलाउन सकेनन् । देशभर सल्किएको सशस्त्र युद्धले काठमाडौंका यी मजदुरलाई पनि छोयो ।

aeroplane1

उनी ०५६ सालमा माओवादी पार्टीमा संगठित भए । लुकीलुकी पार्टीलाई सघाउन थाले । उनको कार्यक्षेत्र थियो, तत्कालीन उपत्यका ब्युरो । उनी मजदुर संगठन पूर्वी इलाकामा कार्यरत थिए । ०६२/६३ पछि उपत्यकाको मजदुर इकाइ कमिटी अध्यक्ष रहे । ०७० मा आइपुग्दा उनी अटोमेकानिक मजदुर संघको केन्द्रीय अध्यक्ष नै भए ।

अनाथालयमा छोरी

संगठनको पछि लाग्दालाग्दै उनको जीवनको अर्को पाटो छुट्यो । चितवनमा भएको तीन छोरी र एक छोरा आमाविहीन हुन पुगे । ०६१ सालमा जीविकोपार्जनका लागि खोलेको होटेल, दुई छोरा र एक छोरी छाडेर उनकी श्रीमती अन्तै गइन् । उनले सुस्तरी सुनाए, ‘मैले घरमा समय दिन सकिनँ ।’ त्यसपछि उनको जीवनले नयाँ मोड लियो । अब पार्टीको झण्डा बोकेर मात्रै नहिँड्ने सोचमा पुगे, उनी । छोराछोरी हुर्काउन थाले, तर उपाय लागेन । पुरानो हजाईजहाज मर्मत गर्ने कामले मात्रै उनको जीविका चलेन । तीन चार वर्षमा एकपटक पाउने कामले जीविका नचल्ने भयो । अन्ततः उनले छोरीहरूलाई ०६४ सालमा भैंसेपाटीस्थित आशा गृह आश्रम अनाथालयमा लगेर राखे ।

बालाजुस्थित निसान कम्पनीको ग्यारेजमा श्रीप्रसाद गुरुङले जीवनको दुई दशक बिताए। गाडीको इन्जिनदेखि बडी बनाउने काममा उनी निपूर्ण थिए। उनले पछि आफ्नै लगानीमा सानोतिनो वर्कसप त खोले तर चलाउन सकेनन्।

दुई अनाथालयमा छोरीहरू राखेर उनी काम खोज्दै हिँड्न थाले । उनका सानैदेखिका साथी थिए, सीबी लामा । उनैले दुर्घटनाग्रस्त हजाईजहाजका टुक्राटाक्री उठाएर ल्याउने काम दिलाइदिए । त्यसपछि उनी दुर्घटनास्थल पुगेर जहाजका टुक्रा काट्ने काम गर्न थाले । सबैभन्दा पहिला नेपाल एयरलाइन्सको विमानलाई धनगढी गएर समान उठाउने र काट्ने काम गरे । त्यसपछि रामेछाप, बागलुङ, रसुवालगायत स्थानमा गई दुर्घटनाग्रस्त विमानको टुक्रा बटुल्ने काम गर्न थाले । पछिल्लो समय उनले सिनामंगलमा बन्दै गरेको संग्रहालयमा काम गरिरहेका छन् । कामकै सिलसिलामा उनी कयौं पटक त्रिभुवन विमानस्थल पुगे । एयरपोर्टभित्र उनलाई ठूलो काम भने मिल्दैन ।

विमानको स–सानो काम पाउँछन्, उनले । चराले प्वाल पारेको विमानलाई अनुभवी विशेषज्ञले टाले पनि उनी रंग लगाउन पुग्छन् । टालेको ठाउँमा नटबोल्ट कस्ने जस्ता साना काम उनको भागमा पर्छ । ‘एयरपोर्टभित्र कयौं पटक गएर हवार्ईजहाजमा रंग लगाएको छु । कतै कतै टालेको पनि छु ।’ उनले भने । पछिल्लो एक वर्षअघिदेखि उनले पाएको काम हो बीपी संग्रहालयमा पुरानो हवाईजहाजलाई दुरुस्तै बनाउने ।

aeroplane2

त्यहाँ उनको एक वर्ष बित्न लागेको छ । प्रत्येक दिन बिहान थोत्रो मोटर मोटरसाइकल कुदाएर कोटेश्वर डेराबाट उनी बीपी संग्रहालय पुग्छन् । दिनभरि नक्सा हेर्दै हवाईजहाजलाई दुरुस्तै उतार्ने कोशिस गर्छन् । कहिल्यै विमान नचढेका उनी बनाउनचाहिँ कसरी बनाउछन् होला ? मुसुक्क हाँस्दै भन्छन्, ‘यसबारे पढेको छैन, तर टुक्रा बटुलेर काटकुट पार्दापार्दै थाहा भइसक्यो ।’

अब पानी रोकियो । उनी काममा जान हतारिए । सिमसिम पानीको पर्वाह नगरी उनी फटाफट बाहिरिए । भर्‍याङ लगाएर जहाजमाथि चढे । ककपिटमा गएर इन्चिटेप लिएर नाप्न थाले । उनले माथि बोलाएर चोर औंलाले देखाउँदै भने, ‘उ त्यहाँ बस्छ पाइलट ।’ फलाम काट्नु, जोड्नु, फेरि काट्नु र फेरि जोड्नु दशकौंदेखिको पेसा हो, श्रीप्रसादको । कैयौं हवाईजहाज रंगाइसकेका उनको जीवन भने रंगहीन बितिरहेछ । मानिस हेर्न आउनेछन्, अब यो जहाजलाई । तर, उनको जिन्दगी म्युजियमको निर्जीव वस्तुभन्दा गुमनाम भएर बित्नेछ कतै ।

प्रतिकृया दिनुहोस