MENU

सीमान्त आवाज

635x90

बोटे समुदायकी आइकन

पवन पौडेल, तनहुँ सोमवार, आषाढ १९, २०७४

विद्यालयमा पुगेर औपचारिक शिक्षा लिनु श्रीमाया बोटे (१८) का लागि एकादेशकै कथा थियो । पढेर शिक्षक बन्ने त झन अल्पसंख्यक समुदायको सपनाकै कुरा थियो । तर, लगनशीलता अनि दृढ इच्छाशक्ति हुने हो भने जुनसुकै उद्देश्यमा पनि सफलता पाउन सकिन्छ भन्ने कुराको उदाहरण बनेकी छन्, तनहुँको व्यास ७ पाटनकी उनी । कार्यालय सहयोगीका रूपमा विद्यालय प्रवेश गरेकी उनले एक दशकको अवधिमा स्नातक तहसम्म उत्तीर्ण गरिन् ।
छिमेकको विद्यालयमा कार्यालय सहयोगी खोजेको खबर आएपछि उनले जागिरका लागि निवेदन दिइन् ।

विद्यालय नै प्रवेश नगरे पनि घरमै अक्षरसम्म चिन्नसक्ने श्रीमायालाई अरू उम्मेदवारका तुलनामा अब्बल ठानेपछि पराशर आधारभूत विद्यालयले ०६० सालमा नियुक्ति दियो । जागिरको वर्ष दिनमै उनको बिहे भयो । बिहेपछि घरमा आफन्तले बुहारीले कति पढेकी छन् भनेर सोध्दा आफूलाई लाज लागेको घटना उनीसँग ताजै छ । यो घटनाले पढ्नुपर्छ भन्ने उनलाई लाग्यो । विद्यालय भर्ना हुन प्रधानाध्यापक र शिक्षकबाट प्रेरणा मिल्यो । ‘मेडमले एक दिन अंक जोड्न लगाउँदा नसकेपछि कति पढेकी छौ भनेर सोध्नुभयो,’ उनी विगत सम्झन्छिन्, ‘त्यसपछि पढ्नुपर्छ भनेर उहाँले भन्नुभयो । मलाई पनि पढ्ने रहर थियो । हेडसरले पनि अनुमति दिएपछि त्यही दिनबाट पढ्न थालेँ ।’

त्यसपछि उनी आफैंले काम गर्ने विद्यालयको कक्षा पाँचमा भर्ना भइन् । घरको काम सकेर विद्यालयमा कर्मचारीको जिम्मेवारी पनि सँगै थियो । पठनपाठन त्यति सजिलो थिएन । ‘साढे ९ बजे विद्यालय आएर अरू काम सकेपछि कक्षामा जान्थेँ,’ उनी भन्छिन्, ‘शिक्षक शिक्षिका निस्कनुअघि घण्टी बजाएर फेरि कक्षा लिन आइपुग्थेँ ।’ शिक्षकहरूलाई खाजा खुवाउँदा भने उनको केही कक्षा छुट्थ्यो । विद्यालयबाट आठ कक्षा पास गरेपछि पनि उनको शिक्षाप्रतिको रहर मरेन । शिक्षकले नै खुला परीक्षा प्रणालीबारे जानकारी दिएपछि पढाइ नरोकेको उनी बताउँछिन् । त्यसको दुई वर्षपछि खुला प्रणालीबाट एसएलसी दिएकी उनी गणितमा फेल भइन् ।

०६८ सालमा एसएलसी पास गरिन् । त्यसपछि पनि जागिरसँगै अघि बढिन् । उनको शिक्षा–यात्रालाई कसैले रोक्न सकेन । शिक्षक शिक्षिकाकै सहयोग रह्यो, उनलाई । सत्यवती माविमा बिहानी कक्षामा प्लस टु पढ्दै घरधन्दा सकेर विद्यालय जान एक पिरियड छाड्नुपथ्र्यो । यति हुँदा पनि उनले अध्ययनलाई निरन्तरता दिइरहिन् । परिवारबाट सहयोग पाएको बताउने श्रीमायाले माइतीमै पढ्ने र जागिर खाने गर्दै अहिले स्नातक अध्ययन गरिरहेकी छन् । भावी दिनमा शिक्षक बन्ने सपना सँगालेकी उनी स्नातकोत्तरसम्मको अध्ययन गर्ने योजना सुनाउँछिन् ।

आफ्ना योजनाबारे बताइरहँदा उनको ध्यान बेला–बेला हातमा रहेको घडीमा पुगिरहेको हुन्थ्यो । संवाददातालाई एकैछिन रोकेर उनी अलप भइन् । विद्यालयमा अर्को कक्षा शुरु भएको सूचक घण्टी बजेको सुनियो । उनले भनिन्, ‘ड्युटी त धान्नै पर्यो नि सर ।’ यसले पनि पेशाप्रतिको उनको इमान्दारिता झल्काउँथ्यो । माछा मारेर गुजारा गर्ने बोटे समुदाय शिक्षामा निकै पछाडि छ । सानै उमेरमा विवाह अनि शिक्षाप्रतिको कम लगावका कारण यो समुदायको चेतना पनि कमजोर छ । जिल्ला शिक्षा कार्यालय तनहुँका अनुसार विद्यालयको पढाइ छोड्ने दर यस समुदायमा उच्च छ ।

पहिले अंग्रेजी केही नबुझ्ने श्रीमायालाई अहिले समस्या लाग्दैन । जिल्लाभरिका विद्यालय सहयोगीहरूको संस्थाको जिल्ला अध्यक्षको पदमा पुग्न पनि उनलाई उनले प्राप्त गरेको शिक्षाका कारण विकास गरेको नेतृत्व कौशलले सहयोग गरेको छ । यसकारण पनि हुनसक्छ शिक्षाप्रतिको उनको लगाव निरन्तर छ । श्रीमायाले अपवाद बनेर उच्च शिक्षा हासिल गरिरहेकी छन् । उनी बोटे समुदायकी ‘आइकन’ हुन् अनि हरेक पढ्न चाहने निरक्षरका लागि प्रेरणाकी स्रोत । कार्यालय सहयोगी भए पनि श्रीमाया विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीलाई पढाउँछिन् । विद्यालयका शिक्षक परशुराम गिरी भन्छन्, ‘उनको लगाव प्रसंशायोग्य छ ।  शिक्षकका लागि सहयोगी शिक्षकका रूपमा पनि । हामीलाई धेरै सजिलो भएको छ ।’

 

प्रतिकृया दिनुहोस