MENU

सीमान्त आवाज

dishhomeapp

लाइटम्यानको डार्क जीवन

राजु स्याङ्तान शुक्रवार, आषाढ १६, २०७४

भगवतीबहालबाट बालमन्दिरतिर मोडिन्छु । बालमन्दिरको गेटभित्र पस्दा नपस्दै चर्को गीतको आवाज कानमा ठोक्किन आइपुग्छ । ‘जय ललितकला, जय ललितकला ...।’ भूकम्पले अधमरो बनाएर छाडेको राणाकालीन दरबार । त्यही दरबारको आँगनमा सुटिङ भइरहेको छ, गीतको । कुलपतिदेखि प्राज्ञहरूसम्म अनिभय गर्दैछन् । ‘एक्सन कट्’सँगै फरक–फरक भावभंगीमा उनीहरू व्यस्त छन् । दौरा सुरुवाल र कोटमाथि सजिएको ढाकाटोपी । कोही सारीमा सजिएका । हातमा हथौडा र छिनो । चाखलाग्दो छ दृश्य । छेउमा उभिइरहन्छु ।

कुलपतिज्यूलाई भेट्न आउनुभएको हो ? एकजना जानपहिचान कलाकारले पछाडिबाट धाप मार्दै भन्छ । मुन्टो हल्लाएर होइन भन्छु । उसले फेरि प्रश्न गर्छ, ‘उपकुलपति, प्राज्ञज्यूहरूलाई ?’ म फेरि ‘होइन’ भन्छु । ‘निर्देशकज्यूलाई होला ?’ उनको पछिल्लो अनुमान पनि असफल हुन्छ । ‘लाइटम्यानसँग अन्तर्वार्ता लिन आ’को ?’ लाइटम्यानसँग ! उ आश्चर्यमा पर्छ । उसको अनुहारमा आधा हाँसो र आधा व्यंग्य मिसिएको सहजै अनुमान गर्छु । उ हाँस्दै पछि भेटुँला भन्दै ओझेल पर्छ । म चुपचाप उभिइरहन्छु ।

प्राज्ञहरूको भीड अघिल्तिर ठूलो क्यामेरा । क्यामेरालाई बडेमानको स्ट्यान्ड दिएर माथि उठाइएको छ । त्यति क्यामेराको फेदीमा गरुंगो फलामका टुक्राहरू बाउलाले पसिना पुछ्दै उठाइरहेको छ, एक जना । क्यामेरा घरी तल घरी माथि हुन्छ । फलामका टुक्राहरू राख्ने क्रममा उनको आँखा मेरो आँखामा ठोक्किन्छ । हत्तपत्त उसले निर्देशकसँग कानेखुसी गर्छ । कालो चस्मा लगाएका ती निर्देशकले एक नजर मलाई हेर्छन् । त्यसपछि एउटा बूढो मुखाकृति मेरोअघि देखापर्छ । कालो वर्ण, मझौला कद । खुट्टामा चप्पल, मैलो लुगा, नकोरिएको कपाल ।

६ दशक नाघेका वृद्ध । नेपाली चलचित्र क्षेत्रका पाका लाइटम्यान, जसले आफ्नो जीवन सधंै अँध्यारोमा राखेर झण्डै तीन दशक नेपाली चलचित्रलाई उज्यालो दिइरहे । उनै चन्द्रिका ठाकुर । मेरो सामुन्ने आइपुग्छन् । दुई वटा प्लास्टिकका कुर्सी हातमा लिएर उनी अघि लाग्छन् । कुर्सीमा आमनेसामने बस्छौँ, हामी । उनी थकितजस्ता देखिन्छन् । प्यास र थकानले घेरा हालेको छ, उनको बुढ्यौली अनुहारलाई । एकछिन लामो सास फेरेपछि पाका लाइटम्यान आफ्नो जीवनका बांगाटिंगा गल्छेंडाहरू नाप्न शुरु गर्छन् ।

विहारको मोतिहारीमा अंग्रेजले भारत छाडेको ६ वर्षपछि उनी जन्मिए । बुवा विजय ठाकुर र आमा पानामति देवीले उनलाई उचित शिक्षा दिन सकेनन् । कपाल काट्ने पुख्र्यौली पेसा बुवासँगै उनले पनि सानैमा सिके । अंग्रेजले भारत छाडे, तर दुःखले उनको घर छाडेन । त्यही दुःखको भंगालोमा तैरिँदै १४ वर्षको उमेरमा बुवासँग आसाम पुगे, उनी । बुवासँगै आसामीहरूको कपाल काट्न थाले । आसामको जंगली इलाका उनलाई मन परेन । त्यसपछि उनी फेरि फर्किए, विहार ।

lightman

विहार आएर उनले घरजम गरे । एक छोरा र पाँच छोरीका बाबु उनी हजाम पेसाकै सिलसिलामा ०३३ सालमा नेपाल पसे । ‘त्यसपछि मैले बत्तीसपुतलीमा हजामको काम गर्न थालेँ ।’ उनी सुनाउँछन् । १३ वर्षसम्म बत्तीसपुतलीदेखि पुतलीसडक वरपरसम्मका काठमाडौंवासीका कपाल काटे । ०४५ सालतिर एकदिन कपाल काट्न आइपुगे, निर्देशक शम्भु प्रधान । कयौं पटक कपाल काट्दै फर्किन्थे, प्रधान । हट्टाकट्टा ज्यान देखेपछि एकदिन उनले चन्द्रिकालाई सिनेमामा काम गर्न प्रस्ताव राखे । ‘त्यसपछि म निकै खुशी भएँ । नयाँ काम केही सिकिन्छ र पैसा पनि कमाइन्छ कि भन्ने लाग्यो ।’ उनी हौसिँदै सुनाउँछन् ।

लाइटम्यान चन्द्रिका

त्यसपछि चन्द्रिकाको परिचय फेरियो । हजाम चन्द्रिकाबाट लाइटम्यान चन्द्रिका बन्यो । प्रधानले निर्देशन गरेको फिल्म ‘मायालु’मा उनले पहिलोपटक दिनको ५० रुपैयाँमा काम गरे । ‘मायालु’, ‘नेपालीबाबु’ हुँदै ‘सुखदुःख’सम्म सयौं नेपाली फिल्ममा उनले काम गरिसकेका छन् । छोरालाई पनि उनले फिल्म क्षेत्रमै काम सिकाए ।

म फिल्मी क्षेत्रमा सबैको दाइ हुँ । सरोज खनाल, राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, विराज भट्ट सबैले दाइ भन्नुहुन्छ। चन्द्रिका ठाकुर, लाइटम्यान

लाइटम्यानको रूपमा काम गर्दागर्दै उनको प्रमोसन भयो । उनले क्यामेरा चलाउन सिके । दर्जनौं मैथिली, भोजपुरी, थारू चलचित्रमा छायांकन पनि गरे । तर, उनको प्रतिभा मूलधारका चलचित्रकर्मीहरूले पत्याएनन् । उनी लाइटम्यानमै सीमित भए । ‘म राम्रो क्यामेरा चलाउन सक्छु । मैले सिकिसकेको छु तर मलाई पत्याउँदैनन् ।’ उनी गम्भीर हुँदै सुनाउँछन् ।

सबैको दाइ

‘म फिल्मी क्षेत्रमा सबैको दाइ हुँ । सरोज खनाल, राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, विराज भट्ट सबैले दाइ भन्नुहुन्छ ।’ उनी सुनाउँछन् । अभिनेत्रीहरूको पनि प्रिय व्यक्ति हुन्, चन्द्रिका । यतिका वर्ष काम गर्दा आजसम्म कसैले पनि नमिठो वचन नगरेको उनी सुनाउँछन् ।

सबैभन्दा प्रिय मिथिला

अभिनेत्री मिथिला शर्मा उनको सबैभन्दा प्रिय कलाकार हो । चन्द्रिका आदर गर्छन्, उनलाई । उमेरले चन्द्रिकाभन्दा सानी भए पनि आफ्नै दिदीजस्तो लाग्ने बताउँछन्, उनी । आजसम्म मिथिलाले कसैसँग नमिठो बोलेको उनलाई थाहा छैन । आफू संलग्न नभएको छायांकन स्थलमा पुग्दा राजेश हमालले देखे भने एकछिन छायांकन रोकेरै भए पनि आफ्नो नजिक आउने र अंकमाल गरेर हालखबर सोध्ने गरेको पल उनको मस्तिष्कमा ताजै छ । त्यस्तै शिव श्रेष्ठ आफू कतै सडकमा हिँड्दै गर्दा देखे भने गाडी रोकेरै आफूसँगै बसाएको पल पनि उत्तिकै ताजा छ ।

ती स्टारहरूले आफूप्रति गर्ने सम्मान नै आफ्नो जीवनभरिको कमाइ ठान्छन्, उनी । एक पटक उनलाई छायांकार विनोद प्रधानले बम्बईमा अवसर राम्रो हुने भन्दै उतै जान हौस्याए । तर, उनलाई नेपाल छाडेर जान मनै लागेन । भन्छन्, ‘म इन्डियामा जन्मिएँ । तर, बम्बई शहरभन्दा नेपाली चलचित्र उद्योगले दिएको मायाले कतै जान मन लागेन ।चन्द्रिकाले फिल्ममा विशेष भूमिका कहिल्यै पाएनन् । फिल्ममा अत्यावश्यक पर्दा कोही नभेटेपछि मात्र उनको पालो आउँछ । फाइटका दृश्यहरूमा खलनायकको झुण्डपछाडि छेलिएर उनी कयौंपटक बसे ।

lightman2

आफूले खेलेको फिल्म हेर्न हलमा सपरिवार पुग्छन् कहिलेकाँही । आफू पनि देखिने दृश्यको प्रतीक्षा गर्दागर्दै फिल्म सकिन्छ । निःशब्द लुरुलुरु कोठामा फकिन्छन्, उनी । आफूले निभाएका भूमिकाहरूमध्ये उनको सम्झनामा दुई/तीन वटा मात्रै दृश्य छ । पहिलो भुवन केसीसँग फाइट खेलेको, दोस्रो रमेश बुढाथोकीको बडिगार्ड बसेको र तेस्रो गीताञ्जलीमा देखिएको । सबैमा संवाद शून्य । जुध्न र मूर्तिजस्तै उभिनुपर्ने । र पनि ती पलहरू बारम्बार सम्झिन्छन्, उनी । तीन दशकको फिल्म करियरमा स्वर्णपल सायदै यिनै हुन् ।

अरूबेला त सधंै फाटेको चप्पल लगाएर नायक नायिकाको अनुहारमा उज्यालो बनाउँदैमा बित्न लाग्यो, उनको तीन दशक । आजसम्म उनले कुनै सरकारी सुखसुविधा लिएका छैनन् । भारतीय नागरिक भएका कारण कुनै पनि संघको निर्वाचनमा उनले भोट हाल्न पाएका छैनन् । तर, सिंगो जीवन नेपाली चलचित्रमै बिताएका चन्द्रिकाका लागि चलचित्रकर्मीहरू दूतावासमार्फत् केही राहत मिलाउन लागिपरेका, उनी सुनाउँछन् ।

गाउँमा छुट्टै शान

नेपाल टेलिभिजनबाट प्रसारित गीताञ्जलीमा उनले संवादबिनाको छोटो भूमिका निभाए । उक्त टेलिफिल्म गाउँमा मानिसहरूले हेरेपछि उनको सामाजिक स्तरोन्नति भयो । पर्दामा हजाम चन्द्रिकालाई देखेपछि सारा गाउँलेले सिठ्ठी मारे । खुशीले नाचे, झुमे । ‘हमारे चन्द्रिका,’ भन्दै गाउँलेहरूले स्याबासी दिए । त्यसपछि चन्द्रिका गाउँकै एकमात्र कलाकार भए । आज पनि उनी गाउँ जाँदा बूढाबूढीदेखि, तन्नेरी, बच्चाबच्ची सबै झुम्मिन्छन्, उनको वरिपरि ।

अँध्यारो जीवन

उनको जीवन अरूको अनुहार उज्यालो बनाउँदैमा बित्ने गर्छ । अझै पनि उनी सुटिङ स्पोर्टहरूमा लाइट बोक्न पुग्छन् । उनले बनाइदिएको उज्यालोबाट कति कलाकारले जीवनको रंग फेरे, उनले कुनै हिसाब राखेका छैनन् । आज दिनको दुई हजारमा उनी दिनभरि लाइट बोक्छन् र साँझ एक्लै पुरानो बानेश्वरको अँध्यारो कोठामा फर्किन्छन् । अरूलाई उज्यालो दिने मान्छे आफू भने अँध्यारोमा बाँच्नुपरेको प्रति कुनै दुःखेसो पोख्दैनन् । तीन दशकको यात्रामा उनले केही सम्मान पनि पाएका छन् । ०७२ सालमा चलचित्र प्राविधिक संघले उनको योगदानको कदर गर्दै सम्मान गर्‍यो । यस्तै, थारू चलचित्र ‘बेटी’मा छायांकन गरेवापत प्रधानमन्त्रीबाट सम्मानित पनि भए ।

तीनै तीतामीठा पलबाहेक जीवनमा संगाल्नुपर्ने अरूथोक छैन । ६२ वर्ष टेकिसकेका उनी विहारमा भएकी जीवनसाथीलाई फोनमा हालखबर सोध्छन् । ‘अब तो बुड्ढे हो गए ? तुम कब आओगे ?’ उताबाट मधुरो स्वरमा श्रीमतीको आवाज आउँछ । उनी लामो सास तान्दै एकछिन रोकिन्छन् । अनि विस्तारै भन्छन्, ‘यतै राम्रो छ । अब तिमी पनि यतै आउने । एकमुठी प्राण यतै जाओस् ।’

 

 

प्रतिकृया दिनुहोस