MENU

समृद्धि सपना

635x90

कपाल काटेरै लखपति

राजेन्द्र कार्की, जाजरकोट आइतवार, कार्तिक १२, २०७४

भेरी नगरपालिका ४ का उदाम नेपाली (३५) बिहान उठेदेखि बेलुका अबेरसम्म कपाल काट्नमै व्यस्त हुन्छन् । उनलाई खाजा र खान खानेसमेत फुर्सद हुँदैन । दारी, जुँगा र कपाल काट्न ग्राहकले पालो कुर्नुपर्छ । राम्रो कपाल काट्ने भनेर ग्राहकको रोजाइमा पर्छन्, उनी ।

आर्थिक अवस्था निकै कमजोर भएपछि गुजाराको लागि उनका आमा बुवा कालापहाड (भारत) गए । त्यतिवेला उनी चार वर्षका मात्र थिए । हिमाञ्चल प्रदेशको गढवालमा डेढ दशक बस्यो, उनको परिवार । त्यहीँ उनको बाल्यकाल बित्यो । ‘बाआमाले ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउनुहुन्थ्यो । त्यहीँ मैलै ७ कक्षासम्म पढेँ । १४ वर्षपछि स्वदेश फर्केर आयौँ । मेरो पढाइ रोकियो,’ उनले विगत सम्झे, ‘सम्पत्तिको नाउँमा भएको जीर्ण घर पनि भत्किसकेको थियो । १८ वर्षे मलाई निकै उराठ लाग्यो, आफ्नै जन्म थलोदेखि । सात जनाको परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताइरहेको थियो ।’

घरमा बसेर रोजगारी पनि नपाइने । बिहान–बेलुकाको छाक टार्नसमेत समस्या भएपछि विदेश गएर धेरै धन कमाउने अभिलाषा बुन्न थाले, उनले । एक लाख ६५ हजार रुपैयाँ ऋण काढेर दुई वर्षे मजदुर भिसामा उनी कतार गए । तर, १६ महिनामै फर्किए । सात महिनाको तलब पनि कम्पनीले खाइदियो । उनी कतारबाट रित्तो हात घर फर्किए । विदेशको हन्डरले उनको चेत खुल्यो ।

स्वदेश फर्केपछि अब केही व्यवसाय गर्नुपर्छ भन्ने उनमा सोेच थियो । तर, हातमा कुनै सीप थिएन । बिनातालिम साथीभाइ र परिवारका सदस्यको कपाल काट्दा काट्दै उनी कपाल काट्न सिपालु भइसकेका थिए । साथीभाइ र परिवारले कपाल काट्ने व्यवसाय सञ्चालन गर्न सल्लाह दिए । सोही सल्लाहलाई शिरोपर गरी उनले सदरमुकाममा एउटा कोठा भाडामा लिएर १४ वर्षअघि कपाल काट्ने व्यवसाय सञ्चालन गरे । व्यवसाय उनलाई फाप्यो पनि । अहिले कपाल काट्न जिल्लामै अब्बल मानिन्छन् उनी ।

गाउँमा साथीभाइ र परिवारका सदस्यको कपाल काट्दा काट्दै उदाम नेपाली जिल्लामा राम्रो ‘हेयर कटिङ’ गर्ने व्यक्‍तिमा गनिन्छन्। उनीसँग कपाल काट्न पालो कुर्नुपर्छ।

इच्छाशक्ति भए कुनै पनि सीप सिक्न गाह्रो नभएको उनले प्रमाणित गरिदिएका छन् । सामान्य सीपबाट शुरु गरेको व्यवसाय अहिले ‘उदाम फेमस हेयर कटिङ’का नाममा स्थापित भइसकेको छ । घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गराएर व्यवसाय सञ्चालन गरिरहेका उनी उक्त पेसाका प्रशिक्षकसमेत भइसकेका छन् । घरेलु तथा साना उद्योगको सहकार्यमा करिब पाँच सय युवाहरूलाई उनले कपाल काट्ने तालिम दिएका छन् । उनले मासिक ५०–६० हजार रुपैयाँसम्म कमाउँछन् । भन्छन्, ‘व्यवसायबाट निकै सन्तुष्ट छु ।’

हातमा सीप हुनु नै सम्पत्ति रहेछ नेपालीले भने, ‘सीपबिनाको मानिस परनिर्भर हुन्छ ।’ कपाल काटेरै उनले विदेश जाँदा लागेको ऋण तिरेर घरघडेरीसमेत जोडिसकेका छन् । खानलाउनको कुनै पिरलो छैन । उनका दुई सन्तान छन् । छोरा स्थानीय एक सामुदायिक विद्यालयमा १० कक्षामा र छोरी निजी स्कुलमा चार कक्षामा अध्ययनरत छिन् ।

आफूले पढ्न नसके पनि छोराछोरीलाई उनीहरूले चाहेअनुसारको उच्च शिक्षा दिलाउने योजना उनी सुनाउँछन् । भन्छन्, ‘आर्थिक अवस्था कमजोर हुँदा हाम्रो परिवारलाई दलित भनेर सबैले हेला गर्थे दुई÷चार सय पनि कसैले पत्याउँदैन्थे, तर अहिले परिवारको आर्थिक अवस्था सुधार भएकोले सबैले सम्मान गर्न थालेका छन् ।’ उनको अचेल समाजमा बेग्लै पहिचान बनेको छ, एउटा सफल व्यवसायीको रूपमा । भन्छन् ‘परिश्रमी र मिहिनेती हुने हो भने विदेश जानै पर्दैन । स्वदेशमै आत्मसम्मानका साथ धेरै कमाउन सकिन्छ ।’

 

 

प्रतिकृया दिनुहोस