MENU

समृद्धि सपना

635x90

गँड्यौलाले मालमाल

सूर्यप्रकाश कँडेल, चितवन बुधवार, आश्विन २५, २०७४

कम्पोस्ट मल उत्पादन प्रक्रिया बुझ्न माघ ०६५ मा भारतको लुदियाना पुगेका थिए, नरेन्द्र गिरी । त्यहाँ गोबर र अन्य जैविक फोहोरको थुप्रोमा गँड्यौलापालन गरेको देखे । उनले जैविक फोहोर मिसाइएको गोबरभित्र लुकेर त्यसलाई खाने रेड अर्थवर्मले ६० देखि ९० दिनमा जैविक मल तयार पार्ने तथ्य बुझे । त्यसपछि नेपाल फर्केर भरतपुर महानगरपालिका १६ शरणपुरमा तीन बिघा जमिन किनेर गँड्यौलाको लागि ४५ वटा टहराभित्र चार सय ८५ वटा च्याम्बर बनाए गिरीले । आठ वर्षअघि काठमाडौंको चाल्नाखेलस्थित दिव्या इन्टिग्रेट एग्रोफर्ममा जैविक मल (भर्मीकम्पोस्ट) प्रयोग गरेपछि यसप्रति आकर्षित भएपछि उद्योग नै स्थापना गरेको गिरीले जानकारी दिए ।

गँड्यौला पालन गरेर सात वर्षदेखि जैविक मल उत्पादन गर्दै आइरहेका छन्, उनी । शरणपुरमा अहिले ३० करोड रुपैयाँ लगानीमा जैविक मल उत्पादन गर्ने उद्योग स्थापना भएको छ । ०६७ वैशाखमा स्थापना भएको दिव्या अर्गानिक फर्टिलाइजर कम्पनी प्रालिले १० हजार मेट्रिक टनभन्दा बढी जैविक मल उत्पादन गरिसकेको छ । कम्पनीको गोदाममा अहिले आठ हजार मेट्रिक टन जैविक मल मौज्दात छ ।

गाईभैंसीको गोबर किनेर च्याम्बरमा गँड्यौलालाई खुवाई जैविक मल उत्पादन गर्दै आएका गिरी चितवनमा महँगो पर्ने भएकोले काठमाडौंबाट प्रतिकिलो चार रुपैयाँमा गोबर ल्याउने गरेको बताउँछन् । उनका अनुसार, चार किलो गोबरबाट एक किलो जैविक मल निस्कन्छ । गोबरको खर्चबाहेक एक किलो मलका लागि थप दुई रुपैयाँ खर्च लाग्छ । जैविक मलको उत्पादन लागत १८ रुपैयाँ प्रतिकिलो पर्न आउने गिरी बताउँछन् । ‘माटोको पीएच बढाउने काममा चुनभन्दा भर्मीकम्पोस्ट १० गुणा बढी प्रभावकारी छ,’ गिरीले भने, ‘भर्मीकम्पोस्ट मल किसानको लागि वरदान हो । राज्यले उपयुक्त नीति बनाएर जैविक मल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ ।

राज्यले नीति बनाउन नसक्दा जैविक मलको प्रयोग बढ्न सकेको छैन ।’ कम्पनीका सञ्चालक गिरीका अनुसार उत्पादित जैविक मलमा नाइट्रोजन एक दशमलव पाँच, पोटास शून्य दशमलव पाँच, फोस्फोरस एक दशमलव पाँच र चिसोपना (मोइस्चर) ३० देखि ४० प्रतिशत हुन्छ । एकपटक जैविक मल प्रयोग गरेका किसानले रासायनिक मलको प्रयोग बन्द गर्ने गिरीको दाबी छ । जैविक मल बिक्रीका लागि कम्पनीले डिलर वा बिक्री केन्द्र नराखेको जानकारी दिँदै कम्पनीका प्रबन्धक भविश्वर पौडेलले कम्पनी परिसरबाटै ५० किलोभन्दा बढी परिमाणको मल प्रतिकिलो २० रुपैयाँको दरले बिक्री गर्दै आएको बताए ।

दिव्या अर्गानिकबाट उत्पादित जैविक मल एक बोरामा २५ किलो हुन्छ । सरकारी अनुदान नहुँदा किसानलाई जैविक मल महँगो पर्ने भएकोले यसको बिक्री प्रभावकारी हुन नसकेको उनको भनाइ छ । उनका अनुसार गँड्यौलाको स्याहारसुसार र उत्पादित मल व्यवस्थापनको लागि ४० जना कामदारले दैनिक ज्यालादारीमा काम गर्छन् । गँड्यौलापालन गरेर भर्मीकम्पोस्ट मल उत्पादन गर्ने कम्पनी देशभरमा आधा दर्जनमात्र छन् । विराटनगरमा दुई वटा, सर्लाहीमा एउटा, चितवनमा एउटा, काठमाडौंमा एउटा र नेपालगन्जमा एउटा जैविक मल उत्पादक कम्पनी रहेका छन् ।

रासायनिक मलको तुलनामा महँगो पर्ने भएकोले जैविक मलको प्रयोग बढ्न नसकेको जैविक मल उत्पादकहरूको भनाइ छ । सरकारले चालु आर्थिक वर्षभित्र तराईका २३ जिल्लामा १८ करोड रुपैयाँ अनुदान छुट्याएर किसानलाई जैविक मल उपलब्ध गराउने तयारी गरेको छ । प्रांगारिक खेतीको लागि जैविक मल अनिवार्य मानिन्छ । जैविक मल उत्पादनका लागि प्रयोगमा ल्याइने लुम्ब्रिकस रुबेलस नामक गँड्यौला एकदेखि चार इन्च लामो हुन्छ । दुई महिनाका गँड्यौला प्रजनन्योग्य हुन्छ, जसले तीन सातामा संख्या वृद्धि गर्न शुरु गर्छ ।

 

 

प्रतिकृया दिनुहोस