MENU

समृद्धि सपना

635x90

बन्दुक बोक्ने हातमा कुटो र कोदाली

खगेन्द्रबहादुर सिंह, डोटी शुक्रवार, भाद्र ९, २०७४

विसं २०५२ सालमा माओवादीले सशस्त्र संघर्ष शुरु गर्दा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका भरत बोहरा १ कक्षामा पढ्थे । गाउँमा माओवादी गतिविधि र प्रभाव बढदै थियो । कक्षा आठमा पढदै गर्दा माओवादीले सपना बाँडेझैं उनको मनमा पनि ‘देश बदल्ने मोह’ जाग्यो । ‘बुर्जुवा शिक्षा’ लिनु हुँदैन भन्दै पढाइ छोडेर उनी ०६० सालबाट भूमिगत भए । युद्धकालमा उनी ‘सेवक’ उपनाममा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला सचिव र क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यका रूपमा पूर्णकालीन कार्यकर्ता भए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि उनी ‘नमूना कृषक समूह’ खोलेर तरकारी खेतीमा लागेका छन् । राजनीतिक क्रान्तिबाट देश बदल्ने भनेर लागेका उनी किसानका रूपमा ‘कृषि क्रान्ति’को सपना देखिरहेका छन् । भन्छन्, ‘समाज र देश बदल्छु भनेर लागियो । तर, चाहेजस्तो भएन । अब आफ्नो जीवनचाँहि बदल्छु ।’

उनले सदरमुकाम सिलगढीमा तीन वर्षदेखि १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । ‘छिट्टै २० रोपनी पु¥याउने योजना छ । केही वर्षभित्रै ५० रोपनीमा तरकारी खेती गर्ने सोच छ,’ उनले भने, ‘अबको इच्छा भने ‘सफल कृषक’को रूपमा चिनिने छ ।’ कृषिबाट राम्रै आम्दानी भइरहेको छ । ‘बुवा र एक जना भाइसँगै काममा छन् । परिवारका अन्य सदस्य गाउँको घरमा छन्,’ उनले भने, तरकारी खेतीबाट घरखर्च चल्नुका साथै वर्षमा तीन लाख जति नाफा हुन्छ ।’ सदरमुकाममै तरकारी खेती भएकाले बजारको समस्या नभएको उनी बताउँछन् ।

‘राजनीतिक क्रान्ति’बाट समाज रूपान्तरण गर्न नसकेका भरत आफैँ रूपान्तरित भएर ‘कृषि क्रान्ति’को सपना देख्दैछन्।

बन्दुक बोक्ने हातले उनी कुटो कोदाली बोकेर बारीमा देखिन्छन् । बारीमा लटरम्म टमाटर, काँक्रा, लौका, भिण्डी, खुर्सानी, मुला, धनियाँ, सिमी, भण्टालगायत तरकारी फलेका छन् । उनी कृषिसँगै राजनीतिमा उत्तिकै सक्रिय छन् । माओवादी केन्द्रका डोटी जिल्ला समिति सदस्य रहेका उनी कृषक समूह महासंघ जिल्ला शाखाका अध्यक्ष पनि हुन् ।  ‘हिजो देशमा भइरहेको अन्यायविरुद्ध क्रान्ति गर्न प्रचण्ड कमरेडले सिकाए । त्यो आदर्श मात्रै रहेछ । बाँच्नका लागि केही न केही उद्यम गर्नैपर्ने रहेछ,’ उनले तरकारी खेतीमा लाग्नुको रहस्य खोतले ।

भूमिगत हुँदा तीन पटक मृत्युको मुखमा पुगेर बाँचेको बताउने बोहोराले ‘जनयुद्ध’बारे टिप्पणी गरे, ‘ज्यानको बाजी लगाएर जसरी युद्ध लडियो । त्यसअनुसारको उपलब्धि भएन ।’ ०६३ सालमा युद्धविराम घोषणा भएपछि कैलाली पार्टी कार्यालयमा बसिरहेका बेला उनीमाथि खुकुरी प्रहार भयो । उनलाई गम्भीर चोट लाग्यो । ३ फागुन ०६१ मा साबिकको लडागडा गाविसको नारिदाङमा भएको घटना सम्झँदै भन्छन्, ‘त्यस दिन झण्डै ज्यान गइसकेको थियो । सँगै रहेका ध्वजबहादुर चन्द ‘कर्णाली’ दाइको सहादत भयो । म बाँचे ।’ बोहरा आफ्नो जीवनलाई नाफाको जिन्दगी भन्न रुचाउँछन् । उनले भने, ‘मेरो नाफाको जिन्दगी हो ।

हिजो युद्धमा ज्यान हत्केलामा राखेर हिँडियो । सँगैका कैयौं साथी त्यहीँ शहीद भए । म बाँचे र आज कृषिमा रमाइरहेको छु ।’ उनी तरकारी खेतीलाई व्यवसायिक बनाउने ध्याउन्नमा छन् । उनले भने, ‘जुनसुकै कामलाई धैर्यताका साथ निरन्तरता दिए अवश्य सफल भइन्छ । कृषिलाई अब व्यवसायिकतातर्फ अघि बढाउनुपर्छ ।’ उनले भने, ‘म किसानको छोरो हुँ । कृषि कार्यमा लाग्दा कुनै दुःखेसो छैन । तरकारी बारीमा पुग्दा मन रमाउँछ ।’ जिल्लामा कृषि क्रान्ति ल्याउने उनको धोको छ । 

 

 

 

 

प्रतिकृया दिनुहोस