MENU

सम्पादकीय

635x90

शक्तिसीनलाई नागरिक लगाम

अन्‍नपूर्ण टुडे शुक्रवार, कार्तिक १०, २०७४

दुई धुरीमा विभाजित संसारलाई दोस्रो विश्वयुद्धले आ–आफ्नै स्थानिक अवयवमा सीमित गरिदिएको थियो । सोभियत संघको पतनसँगै शीतयुद्धको समाप्तिले अमेरिका संसारको एक्लो महाशक्ति बन्न गयो । विश्वशक्तिको अभ्यासमा एसियाका चीन र जापानको उदयसँगै पछिल्ला वर्षहरूमा फेरि धुरीहरू बन्ने क्रम बढ्दो छ । योसँगै सेना, अर्थतन्त्र र ज्ञान उत्पादनमा अमेरिकाको एकछत्र तोडिने आभासहरू मिल्न थालेका छन् । भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङमा असीमित प्राधिकार सुम्पेसँगै अब विश्वमा बहुनायकत्वको युग सकिने, त्यसको ठाउँ केही सीमित शक्तिमानहरूले लिने युग शुरु भएका संकेतहरू देखिएका छन् । यो परिघटना नेपालका लागि बुझ्नैपर्ने पाठ हो ।

चुनावको बाटोबाट होस् या एकाधिकारी बाटोबाट सर्वशक्तिमानहरूको उदयले बहुनायकत्वको युगमाथि चुनौती थपेको हो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय पद्धतिको बाटोबाट उदाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो लोकतान्त्रिक पद्धतिमाथि नै प्रश्न उठ्ने गरी स्रोत र शक्तिको अकन्टक दुरुपयोग गरिरहेका छन् । समाज र नागरिक सम्बन्धमा ध्रुवीकरण थोपर्ने उनका बोली र व्यवहारलाई लगाम लगाउने न्यायिक र सिनेट प्रयासहरू पर्याप्त सफल भएका छैनन् । संसदीय सिटसंख्याबाट जनमत पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साढे तीन वर्षसम्मको कार्यकाल शक्ति केन्द्रीकरण र नेतृत्वमा एकत्व सिर्जना गर्ने रोमाञ्चकारी दाउबाट अभिप्रेरित छ ।वस्तुतः लोकतान्त्रिक विधिभन्दा बाहिरबाट छानिएका चिनियाँ राष्ट्रपति सीले पाएको अति अधिकार र चुनावबाट स्थापित उल्लेखित नेताहरूको शैलीमा आधारभूत अन्तर देखिन्न । यी तीन देशको नाम यहाँ किन स्मरणीय छ भने : एक, यी महाशक्ति र क्षेत्रीय शक्तिहरूले अपनाएको शैलीबाट अरू देशहरूले प्रेरणा लिने खतरा धेरै छ । दुई, यी तीन देशहरू यस्ता उदाहरण हुन्, जोसँग नेपालको प्रत्यक्ष र अप्रत्यक्ष दुवैखाले सम्बन्धको घनत्व छ । एक दशकअघि राजतन्त्रलाई बिदा गरेसँगै बहुनायकत्वबाट शासित यो देशमा फेरि एकत्वको पक्षमा आवाजहरू बलशाली हुँदै गएका छन् । धर्म, जाति र क्षेत्रविशेषका जनतालाई संगठित गरेर एकत्व लाद्ने, गुमेको प्रभुत्व फिर्ता गर्ने छद्म अभ्यासहरू शुरु भएका छन् ।

संघ र प्रदेशको चुनावको टिकट वितरणमा राजनीतिक नेतृत्वले केन्द्रीकृत प्रवृत्ति देखाउनु, तिनलाई निश्चित स्वार्थ समूहले चलाउनु यसैको परिचायक हो । आउँदै गरेको चुनावमा एउटा नयाँपन पक्कै अनुभूति हुनेछ– कारण हिजोसम्म दलका झण्डामुनि बसेर राजनीति चलाइरहेका मानिसहरू अब बृहत् दुई गठबन्धनमुनि हुनेछन् । यसले नेतृत्वको केन्द्रीकरणमा थप बल दिनेछ । राजनीतिक स्थिरताको आवरणमा एक व्यक्तिलाई निरंकुश बनाउँदै लैजाने कुनै पनि प्रकारको काम हुनु हुँदैन । गतिशील र जीवन्त लोकतन्त्र त्यो हो, जहाँ बहुविचारहरूले सम्मानित स्थान पाउँछन् ।

शक्तिमानहरूले थप सत्ता र शक्ति आर्जन गर्दा देशलाई फाइदा हुन्छ भनेर ‘उदार तानाशाह’ खोजी गर्नेहरूको यो देशमा पनि कमी छैन । तर हामीले यस बीचमा देख्यौं, दलगत आडमा बढेको स्वेच्छाचारिता र अनियमिततालाई राज्य संरचनाहरूका छिद्रहरूमार्फत् संस्थागत गर्न खोजियो । नीतिगत भ्रष्टाचारहरूदेखि ठूला घोटालाहरू हुँदा विभिन्न दिशातिर फर्केका पार्टी नेतृत्वहरू एकैनास मौन बसे । लोकतान्त्रिक आदर्शको आवरणमा नागरिकको मुख थुन्न खोजियो । हामी समाचारमा जुन देशहरूबारे हरेक दिन पढ्छौँ, त्यहाँभित्रका असन्तुष्टिहरू हामीभन्दा कोसौं टाढा छन् । अखबार, टीभीमा शक्तिशाली ट्रम्प, सी र मोदीबारे सबै जानकारीहरू राख्दैगर्दा हामी आफ्ना राष्ट्रिय प्राथमिकताहरूबारे बेखबर भइरहेका हुन सक्छौं । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले जीवन्त लोकतन्त्रका लागि सचेत नागरिक स्वरको वकालत गरिरहेको सन्दर्भ यहाँ उल्लेख्य छ । के हामी आफ्ना सचेत आवाजहरूलाई शक्तिसीनहरूको स्वेच्छाचारिताविरुद्ध उपयोग गर्न सक्षम छौँ ?

शक्तिको अति केन्द्रीकरण गर्दै एकत्वको शासन गरिरहेका विश्व नेताहरूबाट ध्यान आफ्नो देशतिर खिचौँ । वर्चश्वशालीहरूको पद, पैसा, पहुँच र प्रतिष्ठाको प्रयोगमार्फत् चुनावबाट चुनावसम्म यात्रा गरिरहेको, तर नागरिकहरूलाई थप कमजोर पारिरहेको यो समयले सचेत र सक्रिय नागरिक स्वर मागिरहेको छ । लोकतान्त्रिक स्थायित्वका लागि तिनलाई एक एक गर्दै समेटौँ । मुखर नागरिकहरूले मात्रै निरंकुश शक्तिमानहरूमाथि लगाम लगाउन सक्छन् ।

प्रतिकृया दिनुहोस