MENU

सम्पादकीय

635x90

चुनावी गठबन्धनका प्रतिबद्धता

अन्‍नपूर्ण टुडे शुक्रवार, आश्विन २७, २०७४

एमाले–एमाओवादी केन्द्रबीच वामगठबन्धन बने लगत्तै लोकतान्त्रिक गठबन्धन पनि जुर्मुराएको छ । कांगे्रसको कित्तामा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायत उभिएका छन् । लोकतान्त्रिक गठबन्धनमा समेटिने साना दलहरूले आफूलाई यति भाग दिनैपर्ने भन्ने तोकेर अडान लिएपछि कांगे्रस सकसमा परेको छ । प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटमध्ये कसले कति सिट पाउने भन्नेमै छलफल केन्द्रित छ । कांग्रेससँग राजपा/फोरमले नै ५५ सिट मागेका छन् भने दुवै राप्रपा र गच्छदारको लोकतान्त्रिक फोरमले पनि ५५ सिट नै मागेका छन् ।

जबकि, गठबन्धनमा सहभागी दलहरूलाई १ सय ६५ मध्ये ८० सिट मात्र दिने तयारी कांग्रेसले गरेको थियो । यदि उनीहरूले मागेकै सिट दिँदा कांग्रेससँग ५५ सिट बाँकी रहन्छ । उक्त सिट कांग्रेसले आफ्नै बलबुताले जित्न सक्छ भन्दै एकथरीले दबाब दिएका छन् । वामगठबन्धनपछि लोकतान्त्रिक गठबन्धनलाई पनि ठूलै उपलब्धि ठानिएको थियो । तर, लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्ने आन्तरिक गृहकार्य परिपक्व भइसकेको देखिँदैन । उता उम्मेदवारको बन्दसूची बझाउनुपर्ने २९ असोजको मिति घर्किदै गए पनि वाम गठबन्धनबीच पनि उम्मेदवार छनोटमा अझै विवाद कायमै छ । एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनका लागि ६० र ४० को भागवण्डा त गरे, तर उम्मेदवारको टुंगो लगाउन उनीहरूलाई हम्मेहम्मे परेको छ । भागवण्डा नमिल्दा निर्वाचन क्षेत्र कसको भागमा पर्ने भन्नेमा अझै द्विविधा छ ।

पहिलो चरणको चुनावका लागि ५ कात्तिकमा तथा दोस्रो चरणको चुनावका लागि १६ कात्तिकमा प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले सूची जारी गरेको छ । प्रमुख दलहरूले आन्तरिक रूपमा सूची ल्याए पनि भागवण्डाका आधारमा उम्मेदवारको टुंगो लगाउन सकस भएको हो । खासगरी राजपा/फोरमको पकड भएको प्रदेश २ मा उम्मेदवारी टुंग्याउनु दलहरूलाई फलामको चिउरा चबाउनुसरह भएको छ । आफूहरूले दाबी गरेअनुरूप सिट संख्या नपाए राजपा/फोरम लोकतान्त्रिक गठबन्धनमा नसमेटिई दुई दलको मात्रै गठबन्धन गर्ने गृहकार्यमा पनि छन् । लोकतान्त्रिक फोरमले कांग्रेसकै मोर्चामा सहभागी हुनेगरी चुनावमा भाग लिन दौडधुप गरिरहेको छ । त्यसो त यो दलको अगुवाइ गरिरहेका गच्छदार दलबलसहित कांगे्रसमै छिर्ने हल्ला पनि चलेको थियो । तर गच्छदारको आगमनले मात्रै कांगे्रसको गठबन्धन बलियो हुने देखिँदैन । त्यसैले, कांग्रेसभित्र एक्लै चुनावमा जाने विषयमा समेत बहस शुरु भएको छ । कांग्रेसका शीर्षस्थ नेताहरूले वाम तालमेलबाट अत्तालिन नहुने, सिद्धान्त नमिल्ने पार्टीहरूसँग गठबन्धन गर्नुभन्दा बरु एक्लै चुनावमा जानुपर्ने विषयमा जोड दिएका हुन् ।

वामगठबन्धन घोषणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको ‘पवित्र’ गठबन्धनमा शंका नगर्न अनुरोध गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनलाई दुई तिहाइ ल्याउन कसैले रोक्न नसकिने अभिव्यक्ति दिएका छन् । धेरैले यसलाई सत्ता स्वार्थको मिलन पनि भनेका छन् । सत्ता स्वार्थको लागि यसअघि पनि धेरै गठबन्धन नबनेका होइनन् । तर अबको वाम, लोकतान्त्रिक, राजपा/फोरमको गठबन्धन सत्ता स्वार्थको लागि मात्रै भने हुनु हुन्न ।

गठबन्धन गर्नेहरूले सिटसंख्यामा मात्रै अलमलिनुभन्दा अबको पाँच वर्ष मुलुलकलाई कता डो¥याउने भन्नेबारे संयुक्त घोषणापत्र जारी गर्नुपर्छ । प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्नेबारे ठूला दलका ठूला नेताहरूको चासो देखिन्न । उनीहरू अझै केन्द्रमै रुम्मलिन चाहन्छन् । तर, केन्द्रको राजनीतिसँगै अबको प्रदेश कस्तो हुनुपर्छ ? प्रदेशको व्यवस्थापन कसरी गर्ने ? तिनका सीमा के हुने ? यसबारे गठबन्धन गर्नेहरूले स्पष्ट खाका ल्याउन अबेर गर्नु हुँदैन ।

प्रतिकृया दिनुहोस