MENU

सम्पादकीय

635x90

रोहिंगामाथि अत्याचार रोक

अन्‍नपूर्ण टुडे शुक्रवार, भाद्र ३०, २०७४

बर्मेली नेतृ आङ सान सुकी बन्दी छँदा उनको एउटा भनाइ चर्चित थियो, ‘मानिसहरू भन्छन्, सत्ताले भ्रष्ट बनाउँछ । वास्तवमा मानिसलाई भयले भ्रष्ट बनाउँछ ।’ दुर्भाग्य, सुकी आफैं देशभित्र भय सिर्जना गरेर भ्रष्ट नेतृमा दरिन पुगेकी छन् ।यो साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघ महासभामा सुकी नजाने निश्चित छ । २० सेप्टेम्बरमा शुरु राष्ट्रसंघ महासभामा उनी नजाने पहिलो र अन्तिम कारण हो, म्यानमारमा जारी राज्यआतंक । रोहिंगा मुस्लिम विद्रोहीले थालेको हिंसाको जवाफ दिने नाममा निहत्था नागरिकमाथि राज्य निर्मम बन्दै गएपछि नोबेल शान्ति विजेता सुकीको विश्वभरबाट आलोचना भएको छ । यी तिनै सुकी हुन्, जसलाई जुन्ता सैन्यसत्ताले थुन्दा सिंगो विश्वले चासो राखेको थियो । उनी लोकतन्त्र, मानवअधिकार र शान्तिकी अग्रदूतका रूपमा पुजिएकी थिइन् । हाल म्यानमारमा घटित मानवअधिकार उल्लंघनका शृंखलाबद्ध घटनाबाट उनको त्यो बिम्ब सधैंका लागि विघटित भएको छ ।
गत २५ अगस्तमा रोहिंगा साल्वेसन सेनाले सरकारी सेनामाथि हमला गरेयता भड्किएको हिंसा अझै रोकिएको छैन । म्यानमारको सेनाले जनतामाथि हतियारबन्द कारबाही चलाएपछि देश छाड्ने रोहिंगाको संख्या तीन लाख ७० हजार नाघिसकेको छ । बुद्धमार्गीहरूको बहुलता रहेको म्यानमारलाई लक्षित गर्दै दलाई लामाले भनेका छन्, ‘यस्तोमा स्वयं गौतम बुद्ध हुन्थे भने उनीहरूलाई ससम्मान देश फर्काउँथे होलान् ।’१० सेप्टेम्बरदेखि विद्रोही पक्षले एकपक्षीय युद्धविराम गर्दै सरकारलाई युद्धविराम गर्न आग्रह गरेको छ । तर, सरकारी पक्षले आतंककारीसँग वार्ता नगर्ने बताएको छ । आतंकलाई देखाएर नागरिकमा उत्पन्न सन्त्रासबारे अब राज्यपक्ष जिम्मेवार देखिएको छ ।

रोहिंगा मुस्लिमहरू जुनसुकै देश, जाति, धर्म, वर्ण, रंगका भए पनि सबैभन्दा पहिला मानिस हुन् । उनीहरूलाई मानवीय व्यवहार नगरिनुमा एउटै दोष देखाइयो, उनीहरू मुस्लिम अल्पसंख्यक हुन् । उनीहरू भागेर गएका ठाउँमा पनि ‘उग्रवादी’ ठानिएको छ । तिरस्कार र उपेक्षाको यस्तो बिम्ब निर्माण गर्नमा कतिपय मिडिया र सामाजिक सञ्जालसमेतको हात छ । हिजो म्यानमारकी एउटी नेतृतिर ध्यान लगाएको विश्वले अब लाखौं नागरिकतिर फर्केर सोच्नुपर्नेभएको छ । बंगलादेश पुगेका रोहिंगाको जीवन नाजुक बन्दै छ । भारत छिर्नेहरू मुस्लिम भएको आरोपमा लखेटिँदै छन् । दोस्रो विश्वयुद्ध सकिएपछि राष्ट्रहरूमा विस्तार भएको अन्तर्राष्ट्रियतावादको भावनालाई महाशक्ति अमेरिकादेखि गरिब मुलुकसमेतले राष्ट्रवादको नारामार्फत् असान्दर्भिक तुल्याउने प्रयास गरेका छन् । पृथ्वी सबै मानिस र प्राणीहरूको हो । देशका सीमारेखाहरू आजका अकाट्य तथ्य हुन्, तर मानिसहरूले कोरेका । विडम्बना लोकतान्त्रिक भनिएका भारतजस्ता देशका सरकारदेखि समृद्धिले विश्वको ध्यान खिचिरहेका चीन आदिसमेत म्यानमार सरकारकै पक्षमा आफूलाई उभ्याइरहेका छन्।

तर, त्यहाँका नागरिकहरूप्रति प्राथमिक दायित्व उसैको हुने वकालत गर्न हिच्किचाइरहेका छन् । यसअघि सन् १९९० को दशकमा भुटानबाट नेपालीभाषीहरू लखेटिँदा पनि यस्तै रवैया देखिएको थियो । नागरिकहरूको जीवनको मूल्य तोक्नेबारे शासनमा बस्नेहरूको कुरा छिटो मिल्छ भन्ने देखाउँछ । राष्ट्रसंघले रोहिंगामाथिको दमनलाई मानवताविरुद्धको अपराध ठहर गरेको छ । भलै उसको भूमिका अन्यत्रका शान्ति बहालीमा झैं त्यहाँ पनि प्रभावकारी बन्न सकेको छैन । एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट वाचलगायत विश्वभरिका मानवअधिकारकर्मीले रोहिंगामाथि भएको सरकारी व्यवहारको आलोचना गरेका छन् । रोहिंगाहरूले आफूहरूलाई सबैबाट फुटबलझैं खेलिएको कारुणिक कटाक्ष गरेका छन् ।

आतंकवादीको कुनै धर्म, जात, लिंग, राष्ट्र हुँदैन । कुनै घटनाविशेषलाई देखाएर निश्चित जातिविशेषलाई आतंककारी करार गर्न पाइन्न । रोहिंगामाथि आज थोपरिएको संकट केवल म्यानमारको होइन । कुनै पनि बहानामा हुने यस्ता राज्यआतंकलाई समयमै रोकथाम गर्न सकिएन भने दीर्घकालीन संकट उत्पन्न हुन सक्छ । शान्तिकी नायिका सुकीको कुरा त अब त्यस्तै भयो, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारजगत सबैले रोहिंगाहरूमाथि मानवीय सहायताको लागि अपिल गर्नु आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस