MENU

सम्पादकीय

635x90

परनिर्भरता घटाऊ

अन्‍नपूर्ण टुडे सोमवार, श्रावण २३, २०७४

खाद्यलगायत अन्य उपभोग्य वस्तुमा नेपालको परनिर्भरता अत्यासलाग्दो तरिकाले बढ्दै गइरहेको छ । मकै, गहुँ, चामल, जुनेलो र कोदोजस्ता अनाज, केरा, स्याउ, आँप, लिची, भुइँकटहरदेखि आरुसम्मका फलफूल, आलु र प्याजजस्ता तरकारीका लागि चाहिने खाद्यवस्तु, खसी, कुखुरा, बंगुर, भैंसी, खरायो, हाँसको मासुसमेत आयात हुने गरेको छ । तेल उत्पादनका लागि प्रयोग हुने भटमास, तोरी, सूर्यमुखीका दानादेखि नेपालमा नै बनाउन सकिने आइस क्युबहरू र प्रशोधन गर्न सकिने पानीसमेत नेपालले विदेशबाट आयात गर्छ ।

चुरोट र चुरोटजन्य कच्चा पदार्थ, छड, सिमेन्ट र जस्तालगायत निर्माण सामग्री मात्र होइन, टिमुरको पाउडर, टुथपिक, चुइँगम र ग्लुकोजसमेत नेपालले विदेशी मुद्रा तिरेर किन्छ । भारत र चीनबाट मात्र होइन अमेरिका र युरोपका विभिन्न मुलुक बंगलादेश, श्रीलंका, भुटानलगायत एक सय ४६ मुलुकबाट नेपालले विभिन्न उपभोग्य वस्तु आयात गर्छ । अहिले नेपालको आयात सात सय ७५ अर्ब र निर्यात जम्मा ८५ अर्ब रुपैयाँ बराबर छ । निर्यातको तुलनामा आयात करिब नौ गुणाले बढी छ ।

छिमेकी मुलुक भारतसँगको निर्भरता र व्यापार घाटा बढ्दो छ । ०६२/६३ मा भारतसँगको व्यापार घाटा ६६ अर्ब रहेकोमा ०७३/७४ मा करिब ६ खर्ब पुगेको छ । केही वर्षअघिसम्म भारतीय रुपैयाँ सञ्चित हुने परिस्थिति उल्टिएर अहिले अमेरिकी डलर खर्चेर भारु खरिद गर्नुपरेको छ । स्वदेशी उत्पादनलाई प्रबद्र्धन र संरक्षण गर्नेबारे सरकार गम्भीर नभएको अर्थशास्त्री र उद्योगी व्यापारीहरूले जनाएका छन् । सरकारले निर्वाध रूपमा आयातको अनुमति दिने गरेको उनीहरू बताउँछन् । लोडसेडिङ अन्त्य/कम भएपछि स्वदेशी उत्पादन केही बढेको छ र १०/१५ प्रतिशतसम्म महँगो भए पनि सरकारलाई चाहिने सामान स्वदेशी उत्पादन नै किन्ने भनेपछि उद्योगी/व्यवसायीहरू केही उत्साहित छन् ।

कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान नौ दशमलव चार प्रतिशतबाट घटेर अहिले जम्मा पाँच दशमलव दुई प्रतिशत पुगेको छ । सन् २०१४/१५ मा कुल गार्हस्थ उत्पादनको तुलनामा १५ प्रतिशत रहेको व्यापारघाटा अहिले ३४ दशमलव चार प्रतिशत पुगेको छ र यो चिन्ता गर्नुपर्ने विषय हो । अर्थशास्त्री मदनकुमार दाहाल नेपालको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको बताउँछन् । अहिले नेपालको अर्थतन्त्रलाई विप्रेषणले धानेको छ । विप्रेषणको योगदान कुल गार्हस्थ उत्पादनमा २६ दशमलव नौ प्रतिशत, कुल राष्ट्रिय उत्पादनमा २५ प्रतिशत, कुल वैदेशिक मुद्रा सञ्चितिमा ६४ प्रतिशत, कुल गार्हस्थ बचतदरमा १० दशमलव तीन प्रतिशत र राष्ट्रिय बचतदरमा ४३ दशमलव आठ प्रतिशत छ ।

तर, विप्रेषण अर्थतन्त्रको विश्वसनीय आधार होइन । विदेशी मुद्रा आर्जनको माध्यम कृषिजन्य उत्पादन, पर्यटन र निर्यातमुखी अर्थतन्त्र हुनुपर्नेमा नेपालले विप्रेषणबाट आर्जन गरेको विदेशी मुद्रा उपभोग्य वस्तुको अनियन्त्रित आयातमा खर्च गर्ने गरेको छ । नेपाली युवाहरू बिदेसिँदा नेपालको कृषियोग्य जमिन बाँझै रहेका छन् र उद्योग धन्दामा कामदार पाउन पनि गाह्रो छ । नेपालमा भन्दा विदेशमा आकर्षक तलब पाइने हुनाले युवा विदेश पलायन भएका हुन् । यसैले पनि नेपाल कृषिजन्य उत्पादनहरूमा समेत आयातमा भरपर्ने परिस्थिति निर्माण भएको हो ।

अब कृषिजन्य उत्पादनमा आत्मनिर्भरता सिर्जना गर्दै विदेशी मुद्रा आर्जनका लागि निर्यातमुखी अर्थतन्त्रलाई जोड दिनुपर्छ । यसका लागि दीर्घकालीन दृष्टिकोणसहितको नीति, दृढ इच्छाशक्ति र राष्ट्रप्रतिको गम्भीर जिम्मेवारीमा निरन्तरता चाहिन्छ । बारम्बारको सरकार परिवर्तनले गर्दा दीर्घकालीन नीति बन्न र कार्यान्वयन हुन नसकेको हो  । सरकार अस्थिर भए पनि नीतिगत निरन्तरता हुन सक्ने हो भने यी लक्ष्य हासिल गर्न सकिएलान् । यस्तो शुरुवात गर्न ढिलो भइसकेको छ । अहिलेको भूमण्डलीकरण र खुला बजार अर्थतन्त्रको विश्वमा अर्थतन्त्रलाई पूरै आत्मनिर्भर बनाउन सम्भव नभए पनि यो हदसम्मको परनिर्भरता जोखिमपूर्ण छ । अबको सरकार परनिर्भरता घटाउनतिर दीर्घकालीन नीति बनाएर लाग्नुपर्ने टड्कारो आवश्यकता छ ।

 

 

प्रतिकृया दिनुहोस