MENU

सम्पादकीय

635x90

डोक्लाममा बजेको घण्टी

अन्‍नपूर्ण टुडे आइतवार, श्रावण १५, २०७४

भारत, चीन र भुटानको त्रिदेशीय सीमामा उब्जिएको विवाद विश्वभरि नै चासोको विषय बनेको छ । भारत र चीनकै उच्चतहबाट एकअर्कालाई दोष लगाउँदै ‘जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको’ भन्दै मिडियाबाजी हुन थालेपछि कतै यी दुई मुलुकबीचको शीतयुद्धले तातो रूप धारण गर्ने त होइन भन्ने आशंका पनि व्यक्त भए ।

भारत र चीनबीचको सीमा विवाद राम्रोसँग सल्टिन नसकेको इतिहासको अवशेष हो । यी दुई देशबीचमा च्यापिएकाले नेपालका लागि पनि यो विषय स्वाभाविक चिन्ताको विषय बन्छ । भारत तथा चीनबीच सन् १९६२ मा सीमायुद्ध भएको थियो, र ती दुई मुलुकबीच अहिलेसम्म स्पष्ट सीमांकन भएको छैन । अन्तर्राष्ट्रिय राजनीतिका विगतका अनुभवहरूले विवादित सीमा जहिले पनि विष्फोटक बन्न सक्ने देखाएका छन् । अझ पारस्पारिक विवाद र द्वन्द्वका इतिहास भएका मुलुकबीचको सीमाविवाद जहिले पनि द्वन्दमा धकल्ने कारण बन्न सक्छन् ।

रणनीतिक र सामरिक रूपमा निकै नै महत्वपूर्ण डोक्लामलाई भुटान र चीनले दाबी गर्दै आइरहेका छन् । डोक्लाम भारत, भुटान र चीनको त्रिदेशीय विन्दु भएको दाबी पनि भारतको छ । भारतको मुख्यभूमिलाई संवेदनशील उत्तरपूर्वी क्षेत्रसँग जोड्ने भारतको साँघुरो क्षेत्र (चिकेन्स नेक) डोक्लामबाट नजिकको दूरीमा पर्छ । अहिले चीनले डोक्लाममा सामरिक उद्देश्यले सडक र अन्य पूर्वाधार विकास गर्न खोजेको र त्यसले चिकेन्स नेकको सुरक्षामा गम्भीर असर पर्ने आरोप भारतले लगाएको छ ।

भारत र भुटानबीच सन् १९४९ को शान्ति तथा मैत्री सम्झौतामा भुटानको विदेश मामिला भारतीय ‘सल्लाह’मा चल्ने स्पष्ट रूपमा उल्लेख गरिएको थियो । सन् २००७ मा भएको भारत र भुटानबीचको नयाँ सन्धिमा यस्तो प्रावधान नभए पनि व्यावहारिक रूपमा भारत भुटानको विदेश मामिला र सुरक्षामा भारतको प्रभाव रहँदै आएको छ । यसैले पनि चीन र भुटानको सीमा विवादमा भारत स्वाभाविक हिस्सेदार बन्न पुगेको भारतीय दाबी छ । परम्परागत सैन्य शक्ति र आणविक शक्तिमा पनि भारतभन्दा धेरै नै माथि रहेको चीनसँग यसपालि भारतले लिएको अडानलाई चासोपूर्वक हेरिएको छ । जब सुरक्षा र चीनसँग सीमा जोडिएका हिमालय क्षेत्रको सीमाको विषय आउँछ, भारत कुन हदसम्म जान तयार छ भन्ने यस प्रकरणले देखाएको छ । डोक्लाम प्रकरणले हिमालय क्षेत्रमा भारत र चीन एकअर्काको प्रभाव घटाउन र आफ्नो प्रभाव बढाउन लागिपरेको देखिएको छ ।

सन् १९९० पछि भारत आदर्शमा आधारित विदेशनीति त्यागेर शक्तिमा आधारित विश्वराजनीति गर्ने सुरमा लागेको छ । केही दशक अघिदेखि शुरु भएको तर अहिले तीव्रता दिइएको अमेरिका, जापान, इजरायलजस्ता मुलुकसँगको रणनीतिक सामीप्यताले यस्तै संकेत गरेका छन् । भारतले चीनसँग सीमामा रहेका उसका मात्र होइन नेपाल र भुटानका हिमालहरूलाई पनि भारतीय सुरक्षा प्रणालीका प्राकृतिक पर्खाल मान्ने गरेको छ । नेपाल र भुटानलाई भारतले उसको प्रभावक्षेत्रभित्रका मुलुक मान्छ र यी मुलुकका चीनसँगको सम्बन्धलाई चासोका साथ हेर्छ ।

अहिले चीन पनि नेपालमा आक्रामक रूपमा आउन थालेकोे छ । राज्यका विभिन्न निकायसँग प्रत्यक्ष सम्बन्ध बढाउने, गैह्रसरकारी संस्थाहरूलाई सहयोग गर्ने, नेपालमा विचार र नीति निर्माण गर्ने तहमा प्रभाव पार्ने प्रयास चीनले गरेको छ । नेपाललाई ‘एक पेटी एक सडक’ अवधारणामा सहमत गराउन पनि आक्रामक रूपले लागेको थियो, चीन । नेपाल र भुटानलाई भारतले तर्साएर राखेको र चीनसँग स्वतन्त्र रूपमा सम्बन्ध स्थापित गर्न नदिएको आरोप पनि चीनका सरकारी सञ्चारमाध्यमले लगाएका छन् ।

नेपालमा चीनको उपस्थितिप्रति भारतले यस्तैखाले प्रतिक्रिया नदेखाउला, तर भारत बढी संवेदनशील मात्रै बन्न थाल्यो भने पनि त्यसले नेपाललाई अप्ठेरोमा पार्न सक्छ । भविष्यमा आउन सक्ने यस्ता जटिलतालाई सामना गर्न नेपालले अहिलेदेखि नै कूटनीतिक तयारी गर्नुपर्छ । डोक्लाममा बजेको घण्टीले नेपाललाई पनि सतर्क बनाउनुपर्छ । 

 

 

प्रतिकृया दिनुहोस