MENU

सम्पादकीय

635x90

चुनावको सन्देश

अन्‍नपूर्ण टुडे शुक्रवार, आषाढ २३, २०७४

केही हिंसाका घटना, अन्योल र आशंकाबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएको छ र चुनावी नतिजा पनि करिब–करिब आइसकेको छ । बुधबार बेलुकासम्म प्राप्त नतिजाअनुसार, एमालेले १ सय ३९ स्थान, कांग्रेसले १ सय १७ र माओवादी केन्द्रले ३६ स्थानमा विजय हासिल गरेर क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । तीन प्रदेशका तीन सय ३४ स्थानीय निकायका लागि १४ असारमा निर्वाचन भएको थियो । यसअघि भएको पहिलो चरणको निर्वाचनमा पनि एमालेले कांग्रेस र माओवादीलाई उछिनेको थियो ।

अब २ असोजमा तेस्रो चरणमा प्रदेश २ मा चुनाव हुनेछ । पहिलो र दोस्रो चरणको निर्वाचनले ल्याएको उत्साह र यसले सिर्जना गरेको जबर्जस्त दबाबले तेस्रो चरण चुनाव सुनिश्चित गरेको छ । चरणबद्ध रूपमै भए पनि स्थानीय निकाय निर्वाचन सम्पन्न हुनुले नयाँ संविधानको कार्यान्वयनलाई संस्थागत गरेको छ । यो सकारात्मक उपलब्धि हो । दुई चरणमा सम्पन्न स्थानीय चुनावले केही सन्देश दिएको छ । एक, चुनावमा जुन आकर्षण र सहभागिता देखियो, त्यसले नेपाली जनता लोकतान्त्रिक विधि र प्रक्रियाप्रति प्रतिबद्ध छन् भन्ने देखायो ।

दुई, चुनाव परिणामले नेपाली राजनीतिमा अझै ठूला दलहरूको वर्चश्व स्थापित गरेको छ । नेपाली कांग्रेस र एमाले २०४६ सालको राजनीतिक परिवर्तनका पक्षधर शक्तिहरू हुन् । तिनै शक्तिबीच मुख्य प्रतिस्पर्धा हुनुले जनमत उनीहरूतिरै रहेको देखियो । तीन, ०६४ को संविधानसभा निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी केन्द्रले पनि सम्मानजनक स्थान बनायो । बितेका दश वर्षमा माओवादी जति स्खलित हुँदै गयो, जुनस्तरमा फुट र विभाजन भयो, त्यस आधारमा माओवादी केन्द्रको राजनीतिक हैसियत निकै तल पुग्ने विश्लेषण गरिएको थियो तर तेस्रो स्थानमा टिक्न सकेर माओवादीले आफूलाई निकै हदसम्म बचाउन सक्यो ।

चौथो, मधेशी राजनीतिक दलका लागि यो चुनाव त्यति लाभदायक भएन । राजपाले चुनावमा सहभागी नभएर गम्भीर त्रुटि ग¥यो । जसले उसलाई राजनीतिक रूपमा रक्षात्मक अवस्थामा पु¥यायो भने रणनीतिक रूपमा चुनावलाई उपयोग गर्ने सकारात्मक नीति लिएका उपेन्द्र यादव–विजय गच्छेदारहरूले पनि सन्तोषजनक नजिता ल्याउन सकेनन् । पाँचौ, वैकल्पिक राजनीतिक शक्ति भनेर दाबी गरेका नयाँ शक्ति, साझा पार्टी र विवेकशील पार्टीलगायत साना दलका लागि पनि चुनाव उत्साहप्रद भएन । यी पार्टीहरूका लागि यो चुनाव पाठकका रूपमा रह्यो ।

नयाँ दलहरूले उपत्यकामा भएको पहिलो चरणको निर्वाचनमा उल्लेख्य मत ल्याए पनि समग्रतामा उनीहरूको राजनीतिक हैसियत कहीँ कतै देखिएन । त्यसकारण यो चुनावी नतिजा नयाँ दलहरूको लागि गम्भीर पाठ बन्न पुगेको छ । नयाँ दलहरूलाई नपत्याए पनि ठूला पार्टीहरूका युवा उम्मेदवारप्रति मतदाताले निकै रुचि देखाए । अर्थात् यो चुनावको अर्को सन्देश हो, जनता नयाँ अनुहारको खोजीमा छ । चुनावी समीक्षा गर्दै गर्दा निर्वाचन आयोगको भूमिकालाई बिर्सन मिल्दैन । यो चुनावमा निर्वाचन आयोगको भूमिकालाई लिएर निकै टीकाटिप्पणी भयो ।

निर्वाचन आयोगले तोकिएको मितिमा चुनाव सम्पन्न गर्न सक्यो । यसलाई सकारात्मक रूपमै हेरिनुपर्छ । तर, आचारसंहिता पालनाका क्रममा उसले सरकार, राजनीतिक दलहरूप्रति जुन कडाइ अपनाउन सक्नुपथ्र्यो, त्यसमा चाहिँ नराम्ररी चुक्यो । निर्वाचन आयोगकै उदासीनताका कारण मौनअवधि अथवा प्रचार अवधिहरूमा निर्वाचन आचारसंहिताका गम्भीर उल्लंघनहरू भए । तर, आयोगले त्यसलाई नियन्त्रण गर्न सकेन । निर्वाचन आयोग संवैधानिक निकाय हो । चुनावमा सरकारले व्यवस्थापनलाई आयोगलाई सहयोग गर्ने हो ।

र, व्यवस्थापनमा आवश्यक पर्दा आयोगले सरकारसँग सहयोग माग्ने हो । निर्देश दिन सक्ने निकाय भए पनि आयोग सरकारका अघि निरीह देखियो । कतिपय सन्दर्भमा आयोग कार्यकारीको लाचार छायाँ जस्तै मात्र देखियो । आफ्ना कमीकमजोरीहरूको गम्भीर समीक्षा गर्दै आयोगले तेस्रो चरण र त्यसपछिका दिनमा हुने प्रदेशसभा र केन्द्रको चुनावमा आफ्नो भूमिकालाई बलियो बनाउन सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस