MENU

सम्पादकीय

635x90

राजपा हठ

अन्‍नपूर्ण टुडे शुक्रवार, आषाढ २, २०७४

राष्ट्रिय जनता पार्टी (राजपा)को अराजनीतिक गतिविधि र हठका कारण दोस्रो चरणको स्थानीय निकाय निर्वाचन अन्योलग्रस्त बन्न पुगेको छ । केही दिनअघि चुनावमा सहभागी हुने छनक दिँदै प्रधानमन्त्रीको चुनावमा सरिक भएको राजपा पुनः पुरानै अडानमा फर्किएको छ । चुनावमा आफू सहभागी नहुने मात्रै होइन, विथोल्ने घोषणासहित आन्दोलनमा उत्रिएको छ । मधेशका जिल्लाहरूमा राजपासमर्थित कार्यकर्ताहरू तोडफोड र हिंसामै उत्रिएका छन् । जसरी पनि मधेशमा हिंसा र तनाव सिर्जना गरेर चुनाव भाँड्ने उसले लिएको बाटो अराजनीतिक र अलोकतान्त्रिक छ । आफूलाई लोकतन्त्रवादी दाबी गर्ने दलले यस्तो चरित्र प्रदर्शन गर्न सुहाउँदैन ।

त्यसकारण आफ्ना गम्भीर त्रुटि सच्याउँदै राजपाले अविलम्ब चुनावी बाटो समात्नु बुद्धिमानी हुन्छ । चुनाव लोकतान्त्रिक विधि हो । यो स्थानीय चुनावको महत्व‍ के छ भने, यसले संविधानसभा २ बाट जारी नेपालको नया“ संविधानको कार्यान्वयनलाई प्रभावकारितातर्फ डोर्‍याउँछ । स्थानीय हु“दै प्रदेश र केन्द्रका चुनाव निर्धारित समयमा गर्नसके संक्रमणकालको अन्त्य हुँदै नयाँ पद्धति संस्थागत हुँदै जानेछ । बितेका दश वर्षमा मधेशले पनि थुप्रै राजनीतिक उपलब्धि हासिल गरेको छ । भलै अझै केही असन्तुष्टि छन् र उचित मुद्दाहरूको सम्बोधित हुनुपर्छ, तर यसको अर्थ ०६३ को आन्दोलनपछि मधेशले केही नै पाएन भनेर व्याख्या गर्नु आग्रही सोच हो ।

प्राप्त उपलब्धिहरू गुम्न नदिन पनि स्थानीय चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नु आवश्यक छ । चुनावमार्फत् लोकतन्त्रलाई स्थानीय तहसम्म पुर्‍याउने अवसरलाई सबै मिलेर उपयोग गर्न सक्नुपर्छ । स्थानीय तहसम्म लोकतन्त्रको सही अभ्यास हुन सके त्यसले नया“ राजनीतिक व्यवस्थालाई थप मजबुत बनाउँछ भन्ने कुरा राजपाले पनि बुझ्नु आवश्यक छ । राष्ट्रिय राजनीतिमा मधेश बेवास्ता गर्न नमिल्ने शक्तिका रूपमा स्थापित हुँदै गएको छ । मधेशलाई आफ्नो मुख्य क्षेत्र बनाएर राजनीति गर्नेहरूका लागि यो उपलब्धि होइन ? संविधान जारी भएदेखि नै आन्दोलन, हिंसा, असन्तुष्टि, वार्ता, सबैखाले गतिविधि अघि बढेको छ । जति सरकार आए, सबैले मधेशलाई रिझाउने प्रयास गरेका छन् । यसबीच पनि कतिपय मधेशका मुद्दा सम्बोधन भएका छन् ।

स्थानीय निकायमा केही संख्या थप्ने, निर्वाचनको मिति राजपाकै आग्रह र अनुकूलमा पटक–पटक सार्ने, राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको संशोधन आदि कुरा उसलाई चुनावमा सहभागी गराउनकै लागि भएका हुन् । तर, राजपा राजनीतिक रूपमा लचक नभई अतिवादउन्मुख हुँदै गएको छ, जसले राजनीतिलाई हिंसा र मुठभेडतर्फ उन्मुख गराएको छ । लोकतन्त्रमा शान्तिपूर्ण ढंगले आफ्ना माग राख्न पाउने अधिकार सबैमा सुरक्षित हुन्छ । राजपाले पनि आफ्ना माग राख्न पाउँछ, राख्दै आएको पनि छ ।

तर, चुनावै बिथोल्न गरी हिंसाको सहारा लिने छुट उसलाई छैन । उसले चुनावमा सहभागी अरू पार्टीका झण्डा जलाउने, नेताहरूको पुत्ला जलाउने निन्दनीय क्रियाकलाप गरेको छ, यसले उसैलाई राजनीतिक हानि हुनेछ । चुनावकै सन्दर्भमा पनि संघीय समाजवादी फोरमलगायत मधेशकेन्द्रित कतिपय दल सहभागी हुँदैछन् । र, मधेशमा चुनावमा जानुपर्छ भन्ने जनमत बलियो छ । तर, हिंसाको माध्यमबाट बन्दै गरेको माहोललाई बिथोल्ने राजपाको गतिविधि आलोच्य छ ।

घुर्कीले मात्रै राजनीति टिक्दैन । राजपाले चुनावमार्फत् आफ्नो हैसियत र शक्ति पोख्ने अवसरलाई उपयोग गर्न सक्नुपर्छ । चुनावमार्फत् सम्मानजनक हैसियत प्राप्त गर्न सके त्यसले आफ्ना मुद्दालाई स्थापित गराउन पनि सहज हुन्छ भन्ने कुरा राजपाका नेताहरूले बुझ्नुपर्छ । स्थानीय, प्रदेश, केन्द्रका चुनावमा बलियो शक्तिका रूपमा स्थापित भएपछि संविधानमा आफूअनुकूल संशोधन गर्दै लान सकिने प्रशस्त सम्भावना हुँदाहुँदै चुनाव भाँड्ने कुनियत राखेर राजनीतिलाई अस्थिरतातर्फ धकेल्नु कुनै पनि शर्तमा उचित हुन सक्दैन । राजपाले अलोकतान्त्रिक र हठवादिता त्यागेर लोकतन्त्रलाई बलियो बनाउने राजनीतितर्फ शीघ्र अग्रसर हुनुपर्छ ।

 

प्रतिकृया दिनुहोस