MENU

समीक्षा

635x90

प्रचण्ड–बाबुराम : किन मिल्ने ?

अन्‍नपूर्ण टुडे बुधवार, माघ १९, २०७३

विचार, सिद्धान्त, मूल्य–मान्यता नेपाली राजनीतिका लागि अब टाढाका विषय हुँदै गएका छन् । राजनीति केही सीमित नेताहरूको लहड र स्वार्थको घेरोमा सीमित छ । शक्ति र सत्ता प्राप्तिलाई नै अन्तिम र एक मात्र उपलब्धि ठान्ने प्रवृत्ति बढ्दो छ । सत्तामा टिक्न जस्तोसुकै सम्झौता र सौदावाजी गर्न नेताहरू तम्तयार देखिन्छन् ।

सबैभन्दा उदेकलाग्दो कुरा, यिनीहरू बोली फेरिरहन्छन्, विचार बदली रहन्छन् । नेपाली राजनीतिलाई प्रभावित पार्ने शक्तिकेन्द्रहरूका हावा जता बग्छन्, यिनका बोली र व्यवहार उतै बहकिन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल उसै पनि बहकिने नेतामध्येमा पर्छन् । हालै एउटा कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सहकार्य गरेर बढ्ने अवस्था आएको उनको अभिव्यक्तिलाई लिएर अहिले टिकाटिप्पणी हुन थालेको छ ।

भट्टराइले पनि ऐतिहासिक उपलब्धि रक्षार्थ एकै ठाउँमा आउन सक्ने आसय व्यक्त गरेपछि प्रश्नहरू उठ्न थालेका छन् । आखिर दाहाल–भट्टराई एकै ठाउँमा आउनुपर्ने के त्यस्तो राजनीतिक अवस्था आयो ? विचार, सिद्धान्त, व्यवहार केही पनि नमिल्ने दाबी गर्दै नयाँ सोच र शैलीमा अघि बढ्ने प्रण गरेर डेढ वर्ष अघि मात्रै माओवादीबाट बेग्लिएका भट्टराई पुनः एकै ठाउँमा आउन प्रेरित गर्ने रसायन के हो ? प्रश्न उठ्नु स्वाभाविक हो ।

राजनीतिक रूपमा एक ठाउँमा आउन दलहरूबीचको सैद्धान्तिक, वैचारिक आधार एक हुनुपर्छ । हुन त नेपालमा कम्युनिस्टहरूले विचारको संघर्ष हुन्छ भन्दै एउटै पार्टीमा फरक–फरक धारको अभ्यास नगरेका होइनन् । तर त्यसले पार्टीमा गुटबन्दी बढाउने, अस्वस्थ प्रतिस्पर्धा विकास गर्ने र अन्ततः पार्टी विभाजन हुने गरेका अनेकौ दृष्टान्त हामीले देखेभोगेकै छौँ ।

दाहाल–भट्टराईबीचको विभाजन पनि विचार, व्यवहार, कार्यशैली, प्रतिष्ठाको लडाइँ आदि कारणबाट भएको थियो । अझ भट्टराईले त जुन सैद्धान्तिक धरातलमा उभिएर माओवादी पार्टी निर्माण गरेका थिए, त्यसलाई समयानुकुल रुपान्तरित गर्नुपर्ने भन्दै दाहालसँग मात्रै होइन, सिंगो माओवादीसँग नाता तोडेका थिए ।

उनले राजनीतिक आन्दोलन र संघर्षको चरण सकिएकाले माक्र्सवादको प्रयोग नयाँ ढंगबाट गर्नुपर्ने तर्क गर्दै समृद्धिको मुद्दा अघि सारेका थिए । यता दाहालले डा. भट्टराईमा विचलन आएको भनेर आलोचना गरेका थिए । फरक दृष्टिकोणसहित बेग्लै राजनीतिक दल खोलेका भट्टराई र दाहाल अहिले कसरी एक अर्काका परिपुरक हुनसक्छन् ?

केही महिनाअघि एकले अर्कोलाई आलोचना गरेर नथाक्ने यी दुई नेताबीच अहिले किन सहकार्यको भाव पलायो ? के राजनीतिक रूपमा एक हुन सैद्धान्तिक, वैचारिक एकता हुनु पर्दैन ? के कारण भट्टराई संविधान जारी गरेर त्यसको खुसीयालीमा सरिकसमेत नभई बेग्लिएका थिए र अहिले के त्यस्तो अवस्था आयो जसले एकै ठाउँमा आउन सकिने सोँच पलायो ?

जबसम्म विभाजनको औचित्य स्थापित हुँदैन, तबसम्म यी दुई नेताबीच सहकार्य हुनसक्ने आधार निर्माण भएको मान्न सकिदैन । हुन त नेपाली नेताहरू आज एउटा भाषण गर्छन् र भोलि त्यसको खण्डन गर्न रत्तिभर हच्किदैनन् । र, दाहालले सहकार्य गर्ने भनेपनि यसले कुनै परिपक्व आधार निर्माण गरिसकेको छैन । दुवै नेताले सम्भाव्यता व्यक्त गरेका हुन् ।

यसैलाई आधार मानेर दुई नेताबीच एकता हुने भयो भन्ने निक्र्यौल निकाल्न सायद मिल्दैन । तर, जसरी हचुवाका भरमा पार्टी छाड्ने अनि कमजोर भएको महसुस हुने वित्तिकै पुन एक हुने जुन प्रवृत्ति नेपाली पार्टीहरूमा छ, त्यसमा चाहिँ प्रश्न हुनुपर्छ । कम्तीमा पार्टी, जनस्तरबाट प्रश्न उठ्नु जरुरी छ । दाहाल, भट्टराईले ऐतिहासिक उपलब्धि रक्षाका लागि एक हुनुपर्ने तर्क गरेका छन् ।

तर, जुनबेला उनी पार्टी छोड्दै थिए, के त्यो बेला ऐतिहासिक उपलब्धि रक्षा गर्ने दायित्व उनले बिर्सेका थिए ? निश्चय पनि लोकतन्त्रमा दलहरू बलियो हुनुपर्छ, नेताहरूबीच लोकतन्त्रको विकासका लागि एकता सहकार्य आवश्यक छ तर यस्ता एकताका पछाडिको प्रस्ट आधार हुनुपर्छ । कसैको स्वार्थ र पुठमा गरिने एकता दिगो हुँदैन । एकता दिगो, परिणाममुखी हुन नेताहरूले त्यसको वैचारिक आधार तय गर्न सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस