MENU

समीक्षा

635x90

जिस्क्याउने बानी हिंसाकै रुप

किरण दहाल बुधवार, माघ १९, २०७३

रेणुका खतिवडा (२३) लाई स्नातक तह पढ्दाताकाको सम्झनाले अहिले पनि घोचिरहन्छ । कलेजबाट घर फर्किंदा बाटोमा केटाहरूले नजिस्क्याएको दिन नै हुँदैनथ्यो, कहिले–कहिले त बाटो छेकेर हात समाउनसमेत आउँथे । स्कुटर चढ्न थालेपछि उनी त्यस्ता दुव्र्यवहारबाट एक हदसम्म मुक्त भएकी छन् । ‘केटाहरूले बाटो छेक्ने, अश्लील शब्द बोल्ने र हात समाउनै आउने घटना निकै भए ।

त्यसैले स्कुटर चलाउन थालें,’ खतिवडा भन्छिन् । सडक, बस, माइक्रोबस, कलेज या सिनेमा हलमा दुव्र्यवहार घटेको छैन । खासगरी, किशोरीहरू बढी पीडित छन् । कोही प्रतिकार गर्छन्, कोही चुपचाप सहेर हिंड्छन् । एक्लै हिंड्दा दुव्र्यवहारको बढी सामना गर्नुपरेको किशोरीहरूको भोगाइ छ । पुरानो बानेश्वरस्थित आइसर कलेजमा एमए दोस्रो सेमेस्टरकी एन्जिला पौडेल (२५) ले पनि त्यस्ता केही घटना भोगेकी छन् ।

एक पटक इमाडोलस्थित घरबाट बहिनीसँग बाहिर घुम्न निस्कँदा क्रिकेट खेलिरहेका केटाहरूले जिस्क्याउँदै अश्लील शब्द बोल्दा निकै पीडा भयो उनलाई । बनेपाकी पुजा भैला (२४) ले पनि त्यस्ता क्षणबाट गुज्रिनुपरेको छ । भन्छिन्, ‘कसैले घुमाउरो पारामा आदर गरेजस्तै गरी जिस्क्याउँछन् । कोही–कोही त अश्लील शब्द नै बोल्छन् ।

त्यस्तो हुँदा कतिलाई गाली गरेर हिँडेकी छु ।’ कलेज ड्रेसभन्दा अरू कपडामा हुँदा केटाहरूले बढी जिस्क्याउने गरेको उनको अनुभव छ । त्यसरी पीडा दिनेमा गाडीका स्टाफ बढी रहेको उनको भोगाइ छ । किशोरीहरूलाई जिस्क्याउने प्रवृत्ति नयाँ होइन, चार दशकअघि पनि यस्तै थियो । ताहाचल घर भएकी युद्धकुमारी पौडेल (७१) ०३५ सालतिर काठमाडौं मखनमा होटेल चलाउँथिन् ।

सामान किन्न कहिलेकाहीँ पद्मकन्या कलेजछेउ पुग्थिन् । त्यस क्षेत्रमा केटाहरूले केटी जिस्क्याएको खुबै देखिन्थ्यो । त्यतिबेला जिस्क्याउन प्रयोग हुने एउटा गीत उनलाई अझै मुखाग्र छ, ‘वाग्मती, विष्णुमती, पद्मकन्याका ठिटीजति मेरी श्रीमती ।’ केटाहरूले कलेज अगाडि बसेर जिस्क्याउँदा केटीहरूले चप्पलले हिर्काएको र केटाहरूले चप्पल नै लिएर भागेको देखेको अहिलेजस्तै लाग्छ उनलाई । ‘कलेज अगाडि केटाहरूको लाइन नै हुन्थ्यो । केटीहरू पनि प्रतिवाद गर्थे,’ उनी भन्छिन् ।

सामाजिक सञ्जालमा पनि
गत वैशाख पहिलो साता कलाकार प्रियंका कार्कीले आफूमाथि सामाजिक सञ्जालमा गरिने अश्लील गालीहरूको विषयलाई लिएर ‘स्टाटस’ नै लेखिन् । नयाँ फोटो राख्दा, भिडियो सेयर गर्दा आफूमाथि अनावश्यक गाली र आरोप लगाइएकामा उनले चित्त दुखाउँदै लेखेकी थिइन्, ‘यहाँहरूको घरमा छोरी–चेली छैनन् ? एक पटक सोच्नुस् त, तपाईंको घरका दिदी–बहिनी, आमा, भाउजू, छोरीहरूमाथि यस्तो शब्द कसैले प्रयोग गर्दा तपाईंलाई कस्तो महशुस हुन्छ ? बरु ब्लक गर्नुस् मलाई तर कृपया अश्लील र जथाभावी नलेखिदिनुहोला ।’ यस मामिलामा एन्जिलाको भोगाइ उस्तै छ । ‘प्रोफाइल पिक्चरमा अनावश्यक कुरा गर्ने, अनलाइनमा द्विअर्थी कुरा गर्ने, अनावश्यक लिंक पठाउने, रुचिबाहिरको ग्रुपमा जोडिदिने गर्छन्,’ उनी भन्छिन् ।

कुण्ठाको अभिव्यक्ति
लेखक प्रनिता कोयु त्यस्तो प्रवृत्तिलाई यौनकुण्ठाको अभिव्यक्ति मान्छिन् । त्यसमा पुरुष नै अगाडि देखिएको उनको भनाइ छ । ‘आफूभन्दा कमजोर ठानेर जिस्क्याउने र मनोरञ्जन लिने खराब प्रवृत्ति समाजमा छ । महिलालाई जिस्क्याउने मनोविज्ञानमा यौनकुण्ठा पनि जोडिन्छ,’ उनी भन्छिन् । लेखक तथा अनुसन्धाता कैलाश राई पनि उनको तर्कमा सहमत छिन् ।

त्यसरी जिस्क्याउने प्रवृत्ति लिंगप्रधान भएको उनको निष्कर्ष छ । भन्छिन्, ‘हाम्रो समाजको लिंगीय धारणाअनुरूप नै सबैको सामाजिकीकरण हुने हुँदा केटाहरूले नै बढी केटी जिस्क्याउने गरेका छन् । यसको मतलब केटीहरूले केटा जिस्क्याउँदैनन् भन्नेचाहिँ होइन ।’मनोविश्लेषक नानी थापाचाहिँ जिस्क्याउने कुरालाई लिंगप्रधान मात्रै मान्न नहुने बताउँछिन् ।

भन्छिन्, ‘यो कुरा संस्कृति, ठाउँ, समय, परिस्थिति, उमेर र मुडमा पनि भर पर्छ ।’ कारण खोतल्ने क्रममा कोयुचाहिँ सामाजिक संरचनाको कमजोरी बढी देख्छिन् । भन्छिन्, ‘यहाँ आफूभन्दा कमजोरलाई जिस्क्याउन पाउनु अधिकारझैं ठानिएको छ । पुरुषहरू आफूलाई बलियो ठान्छन् र त्यही अधिकार प्रयोग गरिरहेको मान्छन् ।’

परपीडक प्रवृत्ति
केटाहरूको जिस्क्याइका कारण रेणुका एक पटक दुर्घटनामै परेकी छन् । उनी कपनबाट पुरानो बानेश्वर जाँदै थिइन् । पछाडिको माइक्रोले नजिकै आएर बेस्सरी ‘हर्न’ बजाउन थाल्यो । उनको स्कुटरले ‘साइड’ त छाडेकै थियो । तर पनि, माइक्रोले पिछा गरिरहेको थियो । उनी आत्तिइन् र स्कुटर लड्यो । अरूलाई जिस्क्याएर आफू मनोरञ्जन लिने परपीडक संस्कृतिका कारण दुर्घटना भएका धेरै उदाहरण छन् ।

renukaकेटाहरूले बाटो छेक्ने, अश्लील शब्द बोल्ने र हात समाउनै आउने घटना निकै भए। त्यसैले स्कुटर चलाउन थालें। रेणुका खतिवडा, विद्यार्थी

मानसिक असर त देखिने नै भयो । लेखक कोयु हिंसाको तहअनुसार असर देखिने बताउँछिन् । सामान्य किसिमको जिस्क्याइ पनि नियमित हुँदा पढाइमा असर पुग्ने, राम्रोसँग काम गर्न नसक्ने समस्या देखापर्छ । ‘त्यस्तो व्यवहार बढ्दै जाँदा पीडित मानसिक रूपले कमजोर हुँदै जान्छ । पीडकको भने मनोबल बढ्दै जान्छ । त्यसैले यस्तो हिंसा बलात्कारको तहसम्म पुगेको पनि पाइन्छ,’ उनी भन्छिन् ।

लैंगिक हिंसा
आशक्ति वा आकर्षण दर्शाउन र आफूतिर ध्यान केन्द्रित गर्न यसरी जिस्क्याइने गरेको पाइएको अनुसन्धानता राईको निष्कर्ष छ । आत्मरति र आनन्द लिन पनि यस्तो काम गरिएको हुनसक्ने उनको अनुमान छ । तर, यो हिंसाको एउटा स्वरूप रहेकाले यतिमा मात्रै सामान्यीकरण गरेर हेर्न नहुने उनी बताउँछिन् । भन्छिन्, ‘विशुद्ध रमाइलो वा मनोरञ्जनकै लागि मात्रै जिस्क्याउने गरिन्छ भन्नुचाहिँ यो प्रवृत्तिलाई सामान्य ठानेर स्वीकार्नु हो । कसैलाई अपमान गरेर वा पीडा दिएर रमाइलो गर्नु हिंसाकै स्वरूप हो ।’ यस्तो दुव्र्यवहारबाट महिला बढी पीडित देखिने गरेका छन् ।

उनीहरू हतास हुने र मानसिक तनावबाट गुज्रिने भएकालाई यस्तो व्यवहारलाई महिला हिंसासँग जोड्नुुपर्ने तर्क राईको छ । पुरुष पनि पीडित र हताश छन् भने उत्तिकै गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ । मनोविश्लेषक थापा भने त्यस्तो व्यवहारले अपमानित वा नराम्रो महशुस गराएको अवस्थालाई मात्रै हिंसाको रूपमा हेर्नुपर्ने बताउँछिन् । ‘कतिले आफू राम्री भएर जिस्क्याएका हुन् भन्ने सोच्छन् । त्यस्तो अवस्थामा नकारात्मक असर देखिँदैन,’ उनको तर्क छ ।

पुरुष पनि मारमा
जिस्क्याइको मारमा पर्ने पुरुष पनि नभेटिने होइनन् । मैतीदेवीका प्रभात हुमागाई (२४) त्यसैमध्येका हुन् । उनले धेरै पटक केटी जिस्क्याएका छन्, कति पटकचाहिँ आफू पनि परेका छन् । ‘बाटोमा एक्लै हिँड्दा केटीहरूले पनि जिस्क्याउँछन् । आफू एक्लै र केटी धेरै छन् भने बढी जिस्क्याउँछन् । केही दिनअघि मात्रै बाटो हिँड्दा केटीहरूले ‘ओई हिरो’ भनेर बोलाए । फर्केर हेर्दा गलल्ल हाँसे । लजाउनुको विकल्प नै भएन,’ उनले बेलीविस्तार लगाए, ‘केटीहरूले जिस्क्याउँदाचाहिँ केटाले जस्तो अश्लील शब्द प्रयोग गर्दैनन् ।’

उनको तर्कलाई पुष्टि गर्दै लेखक कोयु जिस्क्याउनु पनि ‘पावर प्ले’ भएको बताउँछिन् । केटाहरू एक्लै हुँदा हत्तपत्त केटी जिस्क्याउने आँट नगर्नुको कारण त्यही भएको उनको भनाइ छ । केटाहरूले जिस्क्याउँदा हामीले चाहिँ किन नहुने भन्ने मानसिकताका कारण केटीहरू पनि अग्रसर देखिएको उनको निष्कर्ष छ ।

प्रतिवाद जरुरी
धोवीधारा घर भएकी पूजासिंह राजवंशी (२२) लाई घरछेउको गल्लीमा साँझपख हिँड्दा केटाहरूले खुबै जिस्क्याउँथे । दैनिकजसो जिस्क्याउन थालेपछि उनले उभिएर शाब्दिक प्रतिवाद गरिन् । त्यो कुरा उनले घरमा अभिभावकलाई पनि सुनाइन् । अभिभावकले सह्राएपछि उनको मनोबल बढ्यो । त्यसपछि त कसैले जिस्क्यायो भने प्रतिवादमा उत्रिहाल्छिन् । उनको निष्कर्ष छ, ‘प्रतिवाद गर्ने हो भने जिस्क्याउन कम हुँदोरहेछ । यस्ता कुरा अभिभावकलाई पनि भन्ने हो भने सुरक्षा र मनोबल दुवै बढ्छ ।’

पूजा भैला पनि उनीसँग सहमत छिन् । केही समयअघि उनी साथीहरूसँग स्कुटरमा दरबारमार्गतिर जाँदै थिइन् । बाइक चलाएका केही केटा पछि लाग्न थाले । पूजाले सुनाइन्, ‘हामीले स्कुटर रोक्दा उनीहरूले पनि रोक्थे । कहिले अगाडि गएर डिस्टर्ब गर्थे । त्यसपछि हामीले बाइक रोकेर नै शाब्दिक प्रतिवाद गर्‌यौं । त्यसपछि उनीहरू हच्किए ।’

नानी थापा भन्छिन्, ‘यो लोकलाजसँग सम्बन्धित कुरा भएकाले प्रतिकारले पनि केही हदसम्म त्यस्तो दुव्र्यवहार कम गराउन मद्दत पुग्छ । तर, आवेगमा पीडकले थप नकारात्मक व्यवहार गर्न सक्नेतर्फ भने सचेत हुनुपर्छ ।’

प्रतिकृया दिनुहोस