MENU

समीक्षा

635x90

बहस : यसकारण धर्मनिरपेक्षता

प्रा.कृष्ण भट्टचन सोमवार, माघ १७, २०७३

हिन्दुराज्यको माग अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएपछि शुरु भएको हो । नेपालमा राज्यको हिन्दुत्वकरणको कुरा गर्दा एकीकरणकालमा फर्किनुपर्छ । एकीकरणपछि पृथ्वीनारायण शाहले नेपाललाई ‘असली हिन्दुस्तान’ बनाउने उद्देश्यले नेपाली समाज र राजनीतिको ‘हिन्दुत्वकरण’ शुरु गरे । यसपछि नेपाल विस्तारै हिन्दुराज्य बन्नेतिर बढ्यो ।

त्यसअघि यहाँका मानिसले स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म मान्न पाउँथे । राणाशासनका बेला ल्याइएको मुलुकी ऐनले नेपाललाई पूरै हिन्दुराज्य बनायो । राजा महेन्द्रले मुलुकी ऐनमा संशोधन गरेको भनिए पनि हिन्दुराज्यको मान्यतालाई निरन्तरता दिएपछि धर्मनिरपेक्षताको वकालत गर्ने पक्ष कमजोर बन्यो । यो प्रयास पञ्चायतकालमा सबैभन्दा उचाइमा पुग्यो ।

२०४७ को संविधानमा नेपाललाई ‘राजतन्त्रात्मक हिन्दु अधिराज्य’ भनिएको छ । तर, त्यो संविधान जारी हुनु अगाडि धर्मनिरपेक्षताको माग गर्दै ज्यादै ठूलो जुलुस निस्किएको थियो । त्यसको सुनुवाइ कतै भएन । त्यो संविधानले पनि नेपाललाई बहुधार्मिक मुलुकका रूपमा भने स्वीकारेको थियो । २०६३ सालको अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दै जनजाति र सीमान्तकृत वर्गका धर्म, संस्कृति आदिलाई मान्यता दिने अग्रगामी प्रावधान राखिएका थिए ।

पहिलो संविधानसभा हुँदै दोस्रो संविधानसभाले संविधान जारी गर्ने बेलामा सबै धारामा एक–एक छलफल भएर पास हुनुपर्ने ठाउँमा एकमुष्ठ रूपमा संविधानका धाराहरू पास गरिए र संविधान जारी गरियो । संविधानमा नेपाललाई धर्मनिरपेक्ष भनिए पनि धर्मको व्याख्या गर्ने अन्य धारामा सनातनदेखि चलिआएका धर्मलाई संरक्षण गर्ने भनेर धर्मनिरपेक्षताको ‘चौरासी व्यञ्जन’मा धर्मसापेक्षताको अलिकति ‘आची’ मिसाइएको छ ।

धर्ममा विश्वास
समाजशास्त्री युर्गेन ह्याबरमास र टोनी ब्लेयरलगायतले आधुनिकीकरणसँगै धर्म मान्ने परम्परा कम हुँदै जान्छ भनेर लेखेका थिए । तर, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय, बेलायतको युरोपियन युनियनबाट बहिर्गमन, भारतमा भारतीय जनता पार्टीको विजय, मध्यपूर्व र नेपालमै पनि बढ्दै गएको धार्मिक अतिवादीको आवाजले यसलाई गलत देखाएको छ ।

आधुनिकीकरण हुँदैमा धर्ममा विश्वास हराउने नहुँदो रहेछ । जीवनका सबै घटनामा व्याख्या नभेटेपछि मानिस धर्ममा विश्वास गर्न थाल्छन् । अहिलेसम्म सबै कुराको वैज्ञानिक व्याख्या पाइएको छैन । त्यसैले मानिस धर्म र ईश्वरमा विश्वास गर्छन् । बौद्ध धर्मबाहेक अरू धर्म मिथकमा आधारित छन् । तर, ती धर्म मान्ने मानिस त्यसो भन्यो भने आवेशमा आउँछन् । धर्मका मिथकलाई उनीहरूले आफ्नो विश्वास–प्रणालीमा राखिसकेका छन् । त्यसलाई सम्मान पनि गर्नुपर्छ । आफ्नो धर्म राम्रो र अरूको नराम्रो भन्ने अनि अरूको धर्मलाई अपमान गर्ने गर्नु हुँदैन ।

के हो धर्मनिरपेक्षता ?
धर्मनिरपेक्षतामा बहुसंख्यकले अपनाउने धर्मले अल्पसंख्यकको धर्ममा हस्तक्षेप गर्न पाउँदैन, धर्मको बारेमा बोल्न पाउने र आफूले मानेको धर्मलाई निर्वाध अपनाउन पाउने अधिकार हुन्छ, चाहे बहुसंख्यक हिन्दु, बौद्ध, इस्लाम वा क्रिस्चियन जोसुकै हुन् । अल्पसंख्यकले आफ्नो धार्मिक अधिकार निर्वाध उपभोग गर्न पाउनु पर्छ । सार्वजनिक क्षेत्रमा धर्मले प्रभाव पार्नु हुँदैन । आर्थिक, सामाजिक, वैज्ञानिकलगायत क्षेत्रमा कुनै पनि धर्मको हस्तक्षेप हुनु हुँदैन भन्ने हो ।

विज्ञान र प्रविधिको विकासले आफ्ना अगाडि घटेका घटनाको दैवी व्याख्यामा भर पर्नु नपर्ने भो । धर्म निरपेक्षताको अर्थ राजनीतिमा धर्मको प्रभाव हुनु हुँदैन भन्ने हो । राज्य लोककल्याणकारी भइसकेपछि आफ्ना आवश्यकता पूरा गर्न ईश्वरको भर पर्नु परेन । अहिले उल्टोे भएको छ । मानिस शिक्षित हुँदै झन्–झन् आधुनिक हुँदै जाँदा अझ धार्मिक हुँदै गइरहेका देखिएको छ । धर्मको प्रभाव समाजमा घट्दै जानुपर्नेमा बढेर गएको छ ।

विभिन्न धर्मका अलग–अलग विश्वास हुन्छन्, चाहे ती सत्य र वैज्ञानिक हुन् वा नहुन् । विभिन्न धर्मका मानिसले तिनका विश्वासलाई अपनाउन पाउनुपर्छ । नेपालको अहिलेको सन्दर्भमा धर्मनिरपेक्षता भनेको हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियन, बोन मान्नेहरूले आ–आफ्ना धर्म मान्न पाउनुपर्छ भन्ने हो । कुनै पनि धर्म नमान्नेलाई पनि स्वतन्त्रता हुनुपर्छ । धर्म परिवर्तन गर्न पाउनुपर्ने अधिकार पनि हुनुपर्छ ।

शाह र राणाहरूको शासनकालमा हिन्दुलाई राज्यको धर्म बनाइयो । यसरी नेपाल राज्य धर्मसापेक्ष राज्य भयो । यहाँसम्म कि, हिन्दु वर्णाश्रमभित्र नपर्ने आदिवासी जनजातिलाई पनि ‘मतवाली’ भन्दै हिन्दु धर्मभित्र पारियो । त्यतिखेर सबै क्षेत्रमा राज्यको पहुँच नपुगेकाले जनजातिले आफ्नो परम्पराअनुसार गर्न पाएका थिए । तर, यातायात र सञ्चारको सुविधा विस्तार भएपछि राज्यको पहुँच पनि विस्तार भयो र अल्पसंख्यकमाथि हिन्दुवादी संस्कार लाद्न सजिलो भयो ।

इसाईकरणप्रति संवेदनशीलता
उल्लेख्य संख्यामा नेपालीले इसाई धर्म अपनाउन थालेपछि धर्मपरिवर्तनको मामिलामा बढी आवाज उठ्न थालेका छन् । बरु बौद्ध, बोनजस्ता धर्म मान्दा अप्ठ्यारो मानिँदैन किनकि यी यहीँका हुन् । पृथ्वीनारायण शाहकै पालादेखि क्रिस्चियनहरूलाई फिरंगी भनेर फरक र विभेदपूर्ण तरिकाले हेरिएकाले उनीहरूको संख्या बढ्दा नेपालमा चिन्ता बढेको हो । पृथ्वीनारायण शाहकै पालादेखि नेपालका ऐन, कानूनहरू पनि क्रिस्चियनप्रति अनुदार रहँदै आएका थिए र त्यो क्रम अद्यापि जारी छ ।

यदि छुवाछुतबाट मुक्ति पाउन मानिस क्रिस्चियन धर्ममा प्रवेश गर्छन् भने त्यो हिन्दु धर्मकै कमजोरी हो।

नेपालमा युरोपेली मुलुकले कार्यपालिका, न्यायपालिका, विधायिका र गैरसरकारी संस्थाहरूलाई दिएको आर्थिक सहयोग लिने तर उनीहरूको धर्मलाई चाहिँ दुत्कार्ने विरोधाभाषपूर्ण प्रवृत्ति देखिएको छ । यसरी आर्थिक सहयोग लिएपछि केही न केही असर त परिहाल्छ । धर्म परिवर्तनमा पनि त्यही भएको छ ।
कहिलेकाहीँ नेपालका अल्पसंख्यक बौद्ध धर्म मान्ने र मुस्लिमहरूले पनि नेपाल धर्मनिरपेक्षभन्दा हिन्दुराष्ट्र हुँदा आफूलाई स्वतन्त्रता बढी भएको भन्ने गरेको पाइन्छ । तर, यसो भएको अल्पसंख्यकहरू हिन्दु धर्म, संस्कृति र चालचलनबाट अति नै प्रभावित भएर र डराएर हो । त्यहीमाथि निरपेक्ष हुँदा आफ्नो धर्मबाट इसाई बन्ने मानिस धेरै भए भने धर्म संकटमा पर्छ भनेर पनि हो ।

धर्म परिवर्तनका कारण
मानिसले विभिन्न कारणले धर्म परिवर्तन गरेको देखिएको छ । हिन्दु र बौद्ध धर्म मान्नेहरूमा एकअर्कालाई धेरै वास्ता नगर्ने प्रचलन छ । नेपालका क्रिस्चियनहरू हरेक साता भेट भएर सुख–दुःखका कुरा गर्छन् । एकअर्काको बारेमा सोधखोज गर्छन् र नजिक बन्छन् । यसले उनीहरूलाई क्रिस्चियन बन्न प्रेरित गरेको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीमा मृत्यु संस्कार महँगो र झन्झटिलो छ । मरेर गए पनि बाँचेका मानिसलाई मृत्यु संस्कारका बेला गरेको खर्चले पिरोल्छ । नेपालका क्रिस्चियनमा मृत्यु संस्कार सस्तो र सजिलो छ । अर्को कुरा, क्रिस्चियनहरूले शिक्षा र स्वास्थ्यजस्ता सेवामूलक क्षेत्रमा हात हालेका छन् । नेपालका सेन्ट जेभियर, सेन्ट मेरिजजस्ता विद्यालय र विभिन्न क्षेत्रमा खोलिएका मिसन अस्पतालले असाध्यै अप्ठ्यारोमा परेका बिरामीको पनि राम्रोसँग उपचार गरिदिएका छन् ।

बौद्ध र हिन्दु धर्मावलम्बीले किन शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छैनन् ? रोजगारमूलक क्षेत्रमा किन लगानी गरेका छैनन् ? यस्तो गर्न सक्ने हो भने मानिसलाई अर्को धर्ममा नजाऊ भन्नु पर्दैन । मानिस स्वतःस्फूर्त यी धर्म मानिरहन्छन् । त्यहीमाथि, हिन्दु वर्णाश्रममा ‘शुद्र’ भनिएकाहरू क्रिस्चियन धर्ममा लागेपछि आफूलाई अरू समान महशुस गर्न पाउँछन् । त्यसैले उनीहरू त्यस धर्ममा प्रवेश गर्छन् । जातीयता मानवताविरोधी कलंक हो । कुनै पनि धर्मले बलपूर्वक, मानिसलाई भ्रममा पारेर र आर्थिक लाभ देखाएर धर्म परिवर्तन गराउन हुन्छ भन्छजस्तो लाग्दैन । सबैले नभए पनि केही ठाउँमा त्यस्ता अनुचित तरिकाले धर्म परिवर्तन गराइएका हुन सक्छन् ।

धर्मनिरपेक्षता किन ?
नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ । किनभने, बहुसंख्यक मानिस गैरहिन्दु छन् । तथ्यांकअनुसार ८० प्रतिशतभन्दा बढी हिन्दु छन् भनिएको छ । तर, त्यो तथ्यांक अविश्वसनीय छ, त्यो वास्तवमा तथ्यांक नभएर ‘मिथ्यांक’ हो । मिथ्यांकअनुसार पनि जनजातिको जनसंख्या ३७÷३८ प्रतिशत छ । तर, वास्तवमा नेपालमा जनजाति ५० प्रतिशतभन्दा बढी छन् । सरकारी तथ्यांकमा दलितको जनसंख्या १३/१४ प्रतिशत भनिएको भए पनि दलित विद्वानले उनीहरूको जनसंख्या २० प्रतिशतभन्दा बढी भएको अनुमान गरेका छन् ।

त्यहीमाथि नेपालमा क्रिस्चियन, इस्लाम, बोन र अरू धर्म मान्नेहरू पनि छन् । बाहुन, क्षत्रीको हकमा पनि अलिक शिक्षित र जानेबुझेकाहरू कि त नास्तिक छन् कि त अरू धर्म र विचारप्रति सहनशील । यिनै कारणले गर्दा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ । नेपाल धर्मनिरपेक्ष हुँदा धार्मिक अल्पसंख्यक र जनजातिले पनि सजिलै र बिना कुनै संकोच आफ्ना पहिचान अभिव्यक्त गर्न पाउँछन् ।

यसो भयो भने जातिगत र धर्मका आधारमा हिंसा हुने सम्भावना घटेर जान्छ । नेपालमा माओवादी सशस्त्र संघर्षका बेला वर्गीय आधारमा द्वन्द्व भएको भए पनि जातीय र धार्मिक आधारमा युद्ध यो मुलुकमा भएको छैन । यदि यस्तो भयो भने त्यस्ता द्वन्द्व धेरै खतरनाक हुन्छन् । माओवादी युद्धकालमा भन्दा अत्यधिक मानिस मारिन सक्छन् ।

यस्तो सम्भावित द्वन्द्व रोक्न नेपाललाई धर्मनिरपेक्ष बनाइनु फाइदाजनक हुन्छ । यसले राजनीतिक स्थायित्व दिन्छ र सकारात्मक शान्ति ल्याउँछ । त्यसपछि मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ जान सक्छ । नत्र, लामो समयसम्म अर्को पुस्तालाई पनि असर पार्नेगरी हिंसाको दुश्चक्र चलिरहन सक्छ ।

धर्मनिरपेक्षता इसाईकरणका लागि वकालत गरिएको हो भन्ने कमजोर तर्क हो । हिन्दु धर्ममा जातिप्रथालगायत अरू मानवअधिकारको हनन् गर्ने प्रावधान छन् । वास्तवमा, छुवाछुतलाई मानवताको कलंक वा मानवताविरुद्धको गम्भीर अपराध भन्न मिल्छ । यदि छुवाछुतबाट मुक्ति पाउन मानिस क्रिस्चियन धर्ममा प्रवेश गर्छन् भने त्यो हिन्दु धर्मकै कमजोरी हो । आफ्नो कमजोरी लुकाउन क्रिस्चियन र दाताहरूलाई दोष दिएर उम्किन मिल्दैन ।
(कुराकानीमा आधारित)

 

प्रतिकृया दिनुहोस