MENU

समीक्षा

635x90

महिला क्रिकेट : खेलविहीन खेलाडी

हिमाल दाहाल, इटहरी सोमवार, माघ १७, २०७३

महिलाको राष्ट्रिय टोलीकी कप्तान रुविना क्षत्री सानो छँदा घरछेउको चौरमा गाउँका दाइहरूले क्रिकेट खेलेको हेर्थिन् । उनलाई खेलमा निकै चाख लाग्थ्यो । बिहानदेखि साँझसम्म खेल हेरिरहँदा एक दिन उनलाई क्रिकेट खेल्ने प्रस्ताव आयो ।‘दाइले खेल्ने भनेर सोध्नुभयो, मैले बल समातेँ,’ उनी भन्छिन्, ‘ब्याटिङ गर्दा चोट लाग्छ भनेर मलाई प्रायः बलिङ गराउनुहुन्थ्यो ।’ दाइहरूसँग खेल्दै सिक्न थालेको केही समयपछि ०६५/६६ मा आएर उनी जिल्लामा सञ्चालित क्रिकेट एकेडेमीमा आबद्ध भइन् । जिल्ला, क्षेत्र हुँदै राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागी बनिन् ।

एउटै खेलमा विपक्षीको ६ विकेट लिएपछि उनी सबैको आँखामा परिन् । उनी भन्छिन्, ‘सोही वर्ष मलेसियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत डेब्यु गरेँ ।’गत पुसमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको टोलीबाट भिडेकी रोजी कडाँरीको खेल सिकाइको अनुभव पनि क्षत्रीको भन्दा भिन्न छैन । उनले पनि गाउँले दाजुभाइबाटै सिकेकी हुन् । र, उनलाई पनि खेल्ने इच्छा जाग्यो ।

खेल्न थालेको चार वर्ष बितिसकेको छ, अहिले पनि अभ्यास गर्ने महिला साथी हुँदैनन् । ‘प्रतियोगिताहरूमा मात्र हो दिदीबहिनीहरूसँग अभ्यास गर्न पाइने,’ कँडारी भन्छिन् । पूर्वाञ्चलकै खेलाडी कविता गौतमको क्रिकेट यात्राको शुरुवात पनि गाउँकै दाजुभाइको प्रेरणाबाट भएको थियो । उनी भन्छिन्, ‘क्रिकेट खेल्ने दिदीबहिनी त गाउँमा अझै छैनन् ।’ महिला क्रिकेटमा नयाँ खेलाडी आइरहेका छैनन् ।

किनकि, महिलाका लागि खेल क्षेत्र सजिलो छैन ।समूह बाँधेर क्रिकेट खेल्न थालेयताका आठ वर्ष क्षत्रीका लागि सजिला थिएनन् । यस अवधिमा केही फेरिएन, न त उनको पारिवारिक समस्या, न क्रिकेटको नीतिगत झन्झट । परिवारको सहयोग र समर्थन नहुने हो भने महिला खेलाडीहरू अगाडि बढ्ने अवस्थामा छैनन् । मुख्य समस्या त प्रतियोगिताहरूको निरन्तरताको अभाव नै हो ।

‘घरेलु खेल कहिलेकाहीँ हुन्छन्,’ क्षत्री भन्छिन्, ‘लामो समय गेम नहुँदा खेलाडीलाई अभ्यास गर्ने अवसर नै छैन ।’ हुन पनि, महिला क्रिकेटरका लागि वार्षिक तालिकाका कुनै प्रतियोगिता छैनन् ।कँडारीले सातौं राष्ट्रिय खेलकुदअघिको एक वर्षमा मुस्किलले दुई वटा प्रतियोगिता खेलिन् । त्यसयता एकै पटक सातौं राष्ट्रिय खेलकुद छनोट खेलिन् ।

प्रतियोगिताहरू पर्याप्त नहुँदा महिला खेलाडीमा अनुभव र आत्मविश्वास दुवै कमी हुने गरेको उनी बताउँछिन् । ‘एक पटक खेलेपछि अर्को प्रतियोगितालाई डेढ वर्षसम्म कुर्नुपर्छ,’ उनी भन्छिन्, ‘प्रतियोगिता नै हतपति नभएपछि अभ्यास र अनुभव कसरी हुन्छ ?’ सुरुमा रहरले खेल्न थालेकी कडाँरी क्रिकेटको सीप र तरिकाभन्दा बढी नेपाली क्रिकेटको अस्तव्यस्तता र राजनीतिबारे जानकार छिन् ।

लामो समय प्रतियोगिताविहीन भएर बस्नु अनि खेलको मुखैमा केही साताको अभ्यास गर्नु महिला क्रिकेटरको बाध्यता हो । मुलुकमा महिला खेलाडीका लागि चुनौती धेरै छन्, आर्थिक, पारिवारिक, अभ्यास गर्ने ठाउँ र दक्षता तिखार्ने प्रतियोगिताको अभाव । महिला खेलाडीलाई न राज्यको सहयोग छ, न त निजी क्षेत्रकै । महिलालाई अवसर दिन निजी क्षेत्र पनि हिच्किचाउने गरेको क्षत्रीको आरोप छ ।

निजी क्षेत्रले पुरुषतर्फका मात्र प्रतियोगिताहरू गरिरहेको बताउने उनी भन्छिन्, ‘थोरै रकम थपेर महिलाको स्पर्धा पनि गराउने हो भने हामी पनि प्रोत्साहित हुन्थ्यौं ।’ उनका अनुसार महिला क्रिकेटमा अहिले देशभरबाट ४० खेलाडी पनि मुस्किलले उपलब्ध हुन्छन् ।सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका महिला खेलाडी अहिले घरमा थन्किएका छन् । यसबीचमा न त खेलाडीसँग प्रतियोगिता छ, न त अभ्यासको मौका नै । आगामी दुई वर्षसम्म उनीहरू प्रतियोगिताविहीन रहने लगभग निश्चित छ ।

सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको महिला क्रिकेट टिमका प्रशिक्षक रहेर स्वर्ण दिलाएका प्रशिक्षक प्रदीपराज पाण्डे भन्छन्, ‘बीचमा प्रधानमन्त्री कप भयो भने मात्र हो, नत्र अबको दुई वर्षपछि एकैपटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।’ फागुनमा हुने भनिएको प्रधानमन्त्री कपको टुंगो छैन । पाण्डे भन्छन्, ‘अबको दुई वर्षसम्म खेलाडीहरू आइडल भएर बस्नुपर्ने अवस्था छ ।’

सातौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका महिला खेलाडी अहिले घरमा थन्किएका छन्। आगामी दुई वर्षसम्म उनीहरू प्रतियोगिताविहीन रहने छन्।

यही उपेक्षाका कारण खेलमा नयाँ पुस्ता भित्रिन नसकेको हो । पाँच वर्षयताका खेलाडीको सूची हेर्ने हो भने परिवर्तन नभएको क्षत्री बताउँछिन् । उनी आफैं पनि निराश छिन् । खेलको अवस्था नसुध्रिएपछि अहिले पढाइलाई निरन्तरता दिएकी छन् । बीबीएस दोस्रो वर्षमा पढ्दै गरेकी उनी भन्छिन्, ‘खेलमा पनि भविष्य छैन, पढाइ पनि नभए के गर्नु ?’

बितेको एक दशकमा महिला क्रिकेटको विकास खासै छैन । पूर्वकै सन्दर्भमा हेर्ने हो भने पनि झापा, इलाम, सिरहा र मोरङमा मात्र महिला क्रिकेट टिम छन् । राष्ट्रिय प्रतियोगिताका लागि भएको छनोटमा पनि तिनै टिम भिडेका थिए । महिला क्रिकेट निरन्तर नहुँदा दर्शक बटुल्न पनि सहज छैन । महिला क्रिकेट खेलाडी नभएको सुनसरीमै यस पटकको राष्ट्रिय खेलकुद भएको थियो, दर्शक अत्यन्तै न्यून आए ।

सुविधा र अवसरविहीन खेलाडीबाट बढी आशा गर्ने नेपाली खेलप्रेमिहरू उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता नजित्दा सत्तोसराप गर्छन् । खेलाडी र प्रशिक्षक भने बुझेर मात्र दर्शकको प्रतिक्रिया आओस् भन्ने चाहन्छन् । कुनै निकायबाट सहयोग नपाएको खेल र खेलाडीबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उपलब्धि आशा गर्न नसकिने क्षत्रीको ठम्याइ छ । ‘रिजल्ट किन नल्याएको भनेर सबैले सोध्छन्,’ प्रतियोगिता आउनुअघिको एक महिने अभ्यासले मात्र केही नहुने बताउँदै थप्छिन्, ‘खेल्न कति गाह्रो छ, हामीलाई पो थाहा छ ।’

नेपाल सँगसँगै महिला क्रिकेटमा अगाडि बढेका धेरै मुलुकले आफ्नो स्तर उकासेका छन् । सन् २०१४ मा दक्षिणकोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा नेपाली टोली बंगलादेशसँग पराजित भयो । जबकि, त्यसको सात वर्ष अघिसम्म पनि बंगलादेश नेपालको ठूलो प्रतिद्वन्द्वी थिएन । अढाई महिनाअघि हङकङमा भएको टेस्ट नखेल्ने राष्ट्रको वल्र्डकप छनोटमा नेपाल दोस्रो भयो । त्यसपछि खेलेको एसियाकपका सबै म्याच हार्‍यो । चीन, हङकङ, संयुक्त अरब इमिरेट्सजस्ता मुलुक पनि महिला क्रिकेटमा अगाडि छन् ।

विदेशी खेलमा सहभागिता जनाइसकेका खेलाडीहरू अन्य मुलुकसँग नेपाली महिला क्रिकेटको तुलना गर्न रुचाउँदैनन् । ‘राष्ट्रिय प्रतियोगितासँग अन्तर्राष्ट्रियको तुलना नै गर्न सकिन्न,’ मध्यमाञ्चलकी क्रिकेटर शोभा आले भन्छिन्, ‘क्रिकेटका महँगा खेल सामग्री आफैं किनेर, आफ्नै गोजीको खर्च गरेर खेलिरहेका खेलाडीका लागि अभ्यास र प्रतियोगिताको वातावरणसमेत छैन ।’

नेपालको पुरुष क्रिकेटले राम्रो उचाइ र चर्चा पाइसके पनि महिला क्रिकेट त्यो उचाइमा पुगेको छैन । राज्यको बेवास्ताका बावजुद महिला खेलाडी नितान्त आफ्नो अनि पारिवारिक ‘स्पिरिट’मा अगाडि बढ्ने गरेको प्रशिक्षक पाण्डेको अनुभव छ । महिला क्रिकेट पुरुषको हाराहारी पुग्न निकै धेरै समस्या देख्छन् उनी ।

राज्यले चासो नदिनु एउटा पाटो हो । महिला खेलाडीको शारीरिक तन्दुरुस्ती र विवाहपछि पलायन हुने प्रवृत्ति पनि समस्या मान्छन् प्रशिक्षक पाण्डे । तर, उनको विचारमा यी सबै समस्याको मूल कारण निरन्तर प्रतियोगिता नहुनु र राज्यले दिनुपर्ने प्रोत्साहनको अभाव नै हो ।अहिलेकै अवस्थामा महिला क्रिकेटबाट केही आशा पनि गर्न सकिँदैन ।

त्यसमाथि नेपाल क्रिकेट संघ (क्यान)को विवादले पुरुष क्रिकेटको व्यवस्थापनमा पनि संकट छ । यस्तो अवस्थामा महिला क्रिकेटबारे झनै कसैले नसोचेको खेलाडी तथा खेल पदाधिकारीको गुनासो छ । क्यानले केही समयअघि महिला खेलाडीलाई वर्गीकरण गरेर मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर, क्यान नै नरहेपछि त्यो रकम पनि खेलाडीले पाएका छैनन् ।

 

प्रतिकृया दिनुहोस