MENU

समीक्षा

635x90

चौथो अंग : ‘कपी–पेस्ट’ पत्रकारिता

लुइँटेल दिनेश सोमवार, माघ १७, २०७३

प्रविधिको विकासले पत्रकारितामा नैतिकताको संकट गहिरिँदै छ । इन्टरनेट र अनलाइनको विकाससँगै शुरु भएको अनलाइन पत्रकारिता व्यवस्थित हुन नसक्दा सम्पूर्ण पत्रकारिता क्षेत्र बदनाम बन्ने खतरा छ । सशक्त अनुगमन हुन नसक्दा केही अनलाइनकै कारण समग्र अनलाइन पत्रकारिताले ‘चोर’ पत्रकारिताको उपमा पाउन थालेको छ ।भोको पेटमा आन्द्रा बटार्दै दिनभर समाचार संकलन, रातभर समाचार लेखन र सम्पादन गरेर दैनिक पत्रिकाका पत्रकार खटिरहेका हुन्छन् । १२ घण्टाको परिश्रममा दैनिक पत्रिकामा एउटा समाचार छापिन्छ ।

एउटा समाचारका लागि महिनौ संघर्ष गर्नुपर्छ । तर, पत्रिका बजारमा झुण्डिन नपाई अनलाइन पत्रकारको टेबुलमा पुग्छ । समाचार छापिएको पत्रिकाको नाम र ‘बाइलाइन’ काटेर आफ्नो अनलाइनमा छाप्छन् ।दैनिक पत्रिकाका समाचार बिहानै सम्बन्धित पत्रिकाको वेबसाइटमा प्रकाशित हुन्छ । अर्को अनलाइन पत्रकार त्यही वेबसाइट खोलेर ‘इन्टर’ दबाइरहेको हुन्छ । भोक, तिर्खा नभनी महिनौँ लामो खोज र अनुसन्धानबाट तयार पारेको समाचार अनलाइन पत्रकारले पाँच सेकेन्डमा आफ्नो बनाइसकेको हुन्छ ।

यसमा उसलाई कुनै दण्ड र जरिवाना हुँदैन । उल्टै, ऊ बजारमा चर्चित अनलाइनको सम्पादक भएको हल्ला पिट्दै हिँड्छ । प्रवृत्तिका हिसाबले नेपालमा दुई प्रकारका अनलाइन चल्तीमा छन् । परम्परागत र आधुनिक अनलाइन ।दैनिक पत्रिका, रेडियो, टेलिभिजन र साप्ताहिकका नाममा सञ्चालन भएका अनलाइनलाई परम्परागत अनलाइन मान्न सकिन्छ । तिनले अन्य दैनिक पत्रिकाका समाचार साभार गरेर प्रकाशित गर्दैनन् । यद्यपि, रेडियो र टेलिभिजनमा दैनिक पत्रिकाका समाचार वाचन हुन्छन् ।

आधुनिक अनलाइनले भने आफ्नै निम्ति समाचार उत्पादन र प्रकाशित गर्छन् ।ठूलो संख्यामा सञ्चालनमा रहेका अधिकांश अनलाइन ‘कपी–पेस्ट’ गरेरै मात्र पनि सञ्चालनमा  छन् । अधिकांश आधुनिक अनलाइनमध्ये चर्चित मानिएका अनलाइनखबर, सेटोपाटी, रातोपाटीले बिहानै दैनिक पत्रिकाको समाचार साभार गर्छन् । अनलाइन खबरले आठ वर्ष अघिदेखि पत्रपत्रिका खण्ड बनाएर पत्रिकाका समाचार प्रकाशित गर्दै आएको छ ।अब यो शैली भद्दा र कुरूप भएको ठम्याइ अनलाइनखबरका संस्थापक तथा प्रधान सम्पादक धर्मराज भुसालको बुझाइ छ ।

‘कन्टेन्टका हिसाबले पहिला पत्रपत्रिका बलिया र अनलाइनहरू तुलनात्मक रूपमा कमजोर थिए तर अहिले परिस्थिति ठीक उल्टो भएको छ । कन्टेन्ट र ओपिनियन मेकिङमा अनलाइनखबर हाबी भइसकेको छ, पत्रिकाहरू कन्टेन्टका हिसाबले सुख्खा भइसके,’ भुसाल भन्छन्, ‘हामीलाई पत्रपत्रिका सेक्सनमा के समाचार हाल्ने भन्ने संकट पर्न थाल्यो ।’कतिपय पत्रिकाले नै अनलाइनका समाचार कपी–पेस्ट गरेर प्रकाशित गर्ने गरेको अनुभव भुसाल साट्छन् । ‘बिहान पत्रिका हेर्दा सबै हामीले हिजो पोस्ट गरेकै समाचार हुन्छन्, कतिपय त कपी–पेस्ट नै हुन्छन् ।

अब पाठकले दैनिक पत्रिकामा के छापिएछ भनेर खोजिरहनुपर्ने अवस्था रहेन,’ भुसाल भन्छन्, ‘हामी त्यो खण्ड हटाउँदैछौँ ।’पहिलो पोस्टका सम्पादक उमेश श्रेष्ठ दैनिक पत्रिकाका समाचार अनलाइनमा प्रकाशित हुनुलाई नौलो मान्दैनन् । भन्छन्, ‘बीबीसीलगायत अन्तर्राष्ट्रिय मिडियामा पनि यस्तो चलन छ तर नेपालमा मिडियालाई नै छायाँमा पार्ने गरी अन्य मिडियाले ‘क्रेडिट’ लिने गरी जसरी समाचार साभार गरिन्छ, त्यो अनइथिकल हो ।’सीएनएन र डेलिमेलका अनलाइन समाचारमा पनि अन्य मिडियालाई उद्धृत गरेर लेखिएका समाचार पढ्न पाइन्छ ।

तर, त्यहाँ उद्धृत गरिएको मिडियाको नामलाई प्राथमिकताका साथ राखिएको हुन्छ । कतिपय समाचारमा स्थानीय मिडियाको समाचारको लिंकलाई समेत समावेश गरिएको हुन्छ । नेपालमा भने त्यसको ठीक विपरीत स्रोतलाई लुकाएर समाचार कपी–पेस्ट गरेको देखिन्छ ।यो प्रवृत्तिले अनलाइन पत्रकारिताको ‘क्रेडिबिलिटी’ गुम्ने खतरा रहेको सम्पादक श्रेष्ठको बुझाइ छ । ‘जस्तो : कुनै–कुनै मिडियामा भएभरका समाचार ‘कपी–पेस्ट’ गरेपछि अन्तिम या वाक्यको बीचमा ‘फलानोमा खबर छ’ मात्रै लेखिएको हुन्छ ।

यसले पाठकलाई के भ्रम हुन्छ भने त्यो अनलाइनले नै लेखेको खबर हो । यो प्रक्रियाले छापा पत्रिकालाई संकटमा पार्ने त होइन ? तर, अनलाइनको आफ्नै क्रेडिबिलिटी गुम्ने अवस्थामा आउन सक्छ,’ सम्पादक श्रेष्ठ भन्छन् ।जिम्मेवार पत्रकारिता नभएमा अनुगमन गर्ने सरकारी निकाय प्रेस काउन्सिल छ । तर, करोडौँको बजेट आए पनि अनलाइन पत्रकारितामा देखिएका विकृतिमाथि काउन्सिललाई बहस गर्ने फुर्सद नै छैन । अनलाइन पत्रकारितामा जति धेरै विकृति आजका दिनमा देखिएका छन्, त्यस्तै विकृति छापामा छैन भन्न सकिँदैन ।

एउटा दैनिक पत्रिकाको समाचार अर्को दैनिकमा जस्ताको तस्तै छापिएका उदाहरण पनि हामीसँग छन् भने सम्पादक भुसालले भनेजस्तै अघिल्लो दिन अनलाइनमा प्रकाशित समाचार भोलिपल्ट पत्रिकामा छापिएकोसमेत देख्न सकिन्छ । एउटै सम्पादकीय दर्जनौँ साप्ताहिक पत्रिकामा छापिएका प्रमाण भेटिन्छन् । बिहानै टेलिभिजन र रेडियोले समेत दैनिक पत्रिकाका समाचारलाई प्रसारण गरिराखेका हुन्छन् । यो प्रवृत्ति निरुत्साहित गर्न हुर्कदो ‘कपी–पेस्ट’ पत्रकारिताका विषयमा बहस आवश्यक छ ।

प्रतिकृया दिनुहोस