MENU

समीक्षा

635x90

भीमको काँधमा गधा कि गदा ?

राजु स्याङ्तान सोमवार, आश्विन २, २०७४

पुस्तक : नेपाली कसरी लेख्ने ? 
लेखक :  शरच्चन्द्र वस्ती 
विधा   : भाषा 
प्रकाशक : शिक्षक मासिक 
मूल्य  : ३०० रुपैयाँ

केही समयअघि नेपाली भाषाबारे चर्को विवाद भयो । विवाद स्कुल, क्याम्पसदेखि एकेडेमीका सभा समारोहसम्म पुग्यो । छिटफुट चियाचौतारोमा समेत सुनियो । मिडिया हाउसहरूमा धेरथोर चर्चा भयो । भाषा सम्पादन गर्नेहरू अक्षरको खुट्टा काट्ने कि नकाट्ने भन्नेबारे अलमलमा परे । भाषिक सहजता र शुद्धताका लागि प्राज्ञिक बहस भइरहँदा कैयौं सामान्य मानिसले भने विवादको भेउ पाएनन् । उनीहरू सरल र शुद्ध नेपाली कसरी लेख्ने भन्नेमा चिन्तित थिए । त्यो चिन्ता हटाउन शरच्चन्द्र वस्तीको ‘नेपाली कसरी लेख्ने ?’ प्रकाशनमा आएको छ । पुस्तकमा हिज्जे, शब्द, वाक्य, अनुच्छेद र शैली निर्माणबारे सरल तरिकाले प्रस्तुत गरिएको छ ।

पुस्तकमा हिज्जेबारे उहाहरण दिँदै ‘भीमको काँधमा गधा’बारे रोचक प्रस्तुति छ । लेखकले भीमसेनको काँधमा गदा हुनुपर्नेमा ‘गधा’ हुन पुग्दा अर्थको अनर्थ कसरी लाग्छ भन्ने प्रस्ट पारेका छन् । त्यस्तै पुस्तकमा विख्यात नाटककार शेक्सपियरको नामको अघि ‘श’ हुनुपर्नेमा ‘स’ लेखिदिँदा ‘यौन–जोडा’ भन्ने अर्थ लागि अनर्थ हुने बताएका छन् । समग्र नेपाली भाषा संकटमा छ । भाषाको समृद्धिका लागि भूमिका लेख्नुपर्ने शैक्षिक क्षेत्रमा आयातीत भाषाको वर्चस्व बढ्दो छ । स्कुलमा नेपाली बोलेवापत जरिवाना तिर्नुपर्ने परिघटना अब पुरानो भइसक्यो । भाषा संकटमा पर्दै गएको अवस्थामा पुस्तक प्रकाशित हुनु आफैंमा प्रशंसनीय काम हो । पुस्तक प्रत्येक स्कुल, क्याम्पसमा राखेर अध्ययन गर्न योग्य बनेको छ । त्यतिमात्रै होइन, देशभरका प्रत्येक पुस्तकालयमा राख्नुपर्ने देखिन्छ ।

भाषालाई समृद्ध बनाउने अर्को शक्तिशाली माध्यम हो सञ्चार । छापा माध्यमले नेपाली भाषालाई बलशाली बनाउन जति भूमिका खेलेको छ, त्यति नै भूमिका अनलाइन मिडियाको पनि छ । पछिल्लो समय अनलाइन मिडियामा भएको गुणात्मक विकास भाषा प्रवाहका लागि सकारात्मक माध्यम हो । भाषालाई पाठकवर्गसम्म पुर्‍याउने शक्तिशाली माध्यमका रूपमा अनलाइन मिडिया देखिएको छ । छापा माध्यमले भन्दा कैयौं गुणा बढी अनलाइन मिडियाले भाषालाई पाठकसम्म पुर्‍याउन सक्छ । तर, आजभोलि भाषा विकृत बनाउनेमा अनलाइन मिडिया नै अगाडि छन् । भर्खरै एउटा अनलाइनले ‘भुकम्प’ शब्द लेखेर समाचार प्रकाशित गरे । भूकम्प गएको वर्षौं बितिसक्दा पनि शुद्ध लेख्न नसक्ने मिडियाको स्तर देख्दा पाठकहरू आफूमाथिको मजाक सोच्दा हुन् । थोरै मात्र भाषिक शुद्धतामा ध्यान नदिँदा आफ्नो विश्वसनीयता गुम्दैछ भन्ने अनलाइन मिडियाले हेक्का राख्नुपर्छ । त्यसका लागि यो पुस्तक अति उपयोगी देखिन्छ । प्रत्येक पत्रकारले आफ्नो झोलामा यो पुस्तक राख्नु आवश्यक छ ।


सरल भाषामा लेखिएको यो पुस्तक शुद्ध नेपाली लेख्न चाहनेका लागि उपयोगी छ।

नेपालमा जान्नेसुन्ने देखिनलाई दुरुह शब्दावली थोपरेर लेख्ने प्रवृत्ति छ । जसले जति ठूलो शब्द थुपार्न सक्यो, ऊ त्यति ठूलो लेखक । यो भ्रम लेखक र पाठक दुवैमा आज पनि जबर्जस्त छ । जार्गन र शब्दजालले भरिएको मोटो पुस्तक हातमा लिएर सेल्फी खिच्ने अनि फेसबुकमा राख्ने प्रचलन मौलाएको छ । त्यसले आम मानिसमाथि आफू पढेलेखेको हुँ भन्ने भ्रम त पार्न सक्छ । तर, जब ऊ त्यो जार्गनमा अल्झिन्छ, उसले पुस्तकबाट पाउनुपर्ने खास ज्ञान पाउँदैन । यसमा पाठक र लेखक दुवैको गल्ती छ । दोस्रो व्यक्तिलाई आफू निकै जान्ने बनेर धाक लगाउनु पनि ऊमाथि शासन गरेको मान्ने हो भने लेखकले पाठकमाथि शासन गरिरहेको छ । आफूसँग भएको ज्ञान बाँड्न चाहिरहेको छैन । लेखक अरूभन्दा आफू अब्बल हुँ भनेर सावित गर्दै सामाजिक हैसियत बढाउन मात्रै खोजिरहेको छ । लेखक र पाठक बीचको यो दूरी हटाउन पुस्तक उपयोगी छ ।

पुस्तकमा केही अवगुण पनि छन् । भाषा समाजको गतिसँगै अगाडि बढ्छ । समयअनुकूल सामाजिक मूल्य मान्यता बदलिँदै जान्छ । त्यही मूल्य अनुकूलको भाषा निर्माण हुँदै  जान्छन् । पुस्तकले ठेट/मौलिक नेपाली शब्द प्रयोगमा जोड दिनुपर्ने बताएको छ । लगभग दशवटा कुर्चीको सट्टा गोडादशेक कुर्ची भन्नु राम्रो हुने बताइएको छ । समाजमा हिजो बोलिने भाषा परिवर्तन हुँदै गएका छन् । ‘गोडादशेक’ जस्ता शब्द आजको पुस्तालाई अप्ठेरो लाग्न सक्छ । अझ जसको नेपाली पहिलो भाषा होइन, त्यो समुदायले यस्ता शब्द प्रयोगमा नल्याउन सक्छन् । त्यसलाई नराम्रो मान्न सकिँदैन । सबै मौलिकता काम लाग्ने नहुन सक्छन् । अर्को ‘परेलीका ओठबाट आँशु झरिरह्यो...’ भन्ने गीतलाई ओठबाट आँशु झर्छ र ? भनि लेखक प्रश्न गर्छन् ।

दोष र अलंकारको सामान्य ज्ञान नभएका कारण बिग्रिएको वाक्य भनी गीतकारलाई आरोप लगाइएको छ । लेखकका अनुसार ‘आँखाको परेलीबाट आँशु झरिरह्यो’ चाहिँ शुद्ध हुन्थ्यो । यस्तो बनेको भए यो कुनै काव्य नभई एक अनुच्छेदमात्रै रहन्थ्यो । साहित्यको सौन्दर्यबारे लेखकले हेक्का राख्नुपर्छ । साहित्यमा परेलीका ओठबाट आँशु झर्न सक्छ । यति हुँदाहुँदै पनि सरल भाषामा लेखिएको यो पुस्तक शुद्ध नेपाली लेख्न चाहनेका लागि भने उपयोगी छ ।

प्रतिकृया दिनुहोस