MENU

रिपोर्ट

635x90

थाङ्कामा नलेखिएको जीवन

राजु स्याङ्तान आइतवार, कार्तिक १२, २०७४

रामेछाप बेथानका वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङ (६०) कुनै समय थाङ्का लिएर मखनटोल जान्थे । फुटपाथमा तन्ना बेच्ने व्यापारीलाई थाङ्का बेचेर आउँथे । उनी ठमेल पनि पुग्थे । पर्यटकलाई बाटोमा माला बेच्दै हिँड्ने व्यापारीलाई थाङ्का बेचेर फर्किन्थे । केही वर्षपछि उनले थाहा पाए, थाङ्का किन्ने दुवैजना त्यही थाङ्का विदेशीलाई बेचेर अर्बपति भइसकेछन् ।

४० वर्षदेखि थाङ्का लेख्दै आएका चौंरी–देउराली, काभ्रेका धावा दोर्जे लामा (५५) को पनि कथा उस्तै छ । उनी पनि ठमेलमा थाङ्का लिएर जान्थे । सडकमा अम्बा बेचिरहेका व्यापारीले उनको थाङ्का किन्थे । केही वर्षपछि उनले थाहा पाए, अम्बा बेच्नेले पनि राजधानीमा पाँच वटा घर बनाइसकेछन् ।
माथिका केही उदाहारण थाङ्का कलामा आबद्ध खाइबा (वरिष्ठ कलाकार) हरूका अनुभूति हुन् । उनीहरूको थाङ्काको मूल्य वर्षौं एउटै हुन्थ्यो । ग्राहकले लिन मान्दैन भन्दै लिन आनाकानी गरे जस्तो गर्थे । तर, कैयौं गुणा बढी मूल्यमा विदेशीलाई थाङ्का बेच्थे ।

के हो थाङ्का ?

थाङ्का बुद्ध दर्शनसँग सम्बन्धित चित्रकला हो । लामा तथा भिक्षुहरूले बुद्ध दर्शनको प्रचारका लागि थाङ्काको प्रयोग गर्थे । तामाङ भाषामा ‘थाङ्का’, ‘थाँगु’ भनिने यस चित्रकलालाई नेपाल भाषामा ‘पौभा’ भनिन्छ । नेपालबाटै विकास भएको थाङ्का तिब्बत पुगेर महायानी सम्प्रदायको विकाससँगै फस्टाएको मानिन्छ । शुरुमा थाङ्कालाई कसले डिजाइन गर्‍यो भन्नेबारे अनभिज्ञता छ । यद्यपि थाङ्काभित्रकै चित्रकला ‘कालचक्र मण्डला’लाई दलाई लामाले डिजाइन गरेको आम धारणा छ ।

thanka1

थाङ्का प्रायः चीन, जापान, फ्रान्स, जर्मनी, अमेरिका, बेलायत निर्यात हुन्छ । मृतकको सम्झनामा थाङ्का चित्रको तल परिवारका सदस्यहरूको नाम लेखी बुद्धको मूर्ति र ‘छ्योइ’ (पुस्तक)सँगै पूजाकोठामा राख्ने चलन छ । कोठाको सजावटमा पनि यसको प्रयोग गरिन्छ ।

वरिष्ठ पौभा कलाकार लोक चित्रकार थाङ्काभन्दा ‘पौभा’ फरक कला भएको तर्क गर्छन् । उनी ‘थाङ्का’ तिब्बती शब्द र ‘पौभा’ नेपाली शब्द भएको जिकिर गर्छन् । पाचौंं शताब्दीबाटै विकास भएको पौभा १६ औं शताब्दीमा तिब्बत पुगेको उनको धारणा छ ।

विदेशीहरू नेपालबाट फर्किँदा चिनोस्वरूप थाङ्का लिएर जान्छन् । तर, नेपालबाट वार्षिक कति मूल्य बराबरको थाङ्का बाहिरिन्छ भन्नेबारे यकिन तथ्यांक छैन । ठूलो परिमाणमा थाङ्का बाहिर लैजाँदा पुरातत्व विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ । विभागसँग नयाँ र पुरानो प्रमाणित गर्नेबाहेक कुनै नीति छैन । तर, जानकारहरू वार्षिक अर्बौंको थाङ्का बाहिरिने गरेको बताउँछन् ।

manbahadur डाक्टरको पहिलो प्रश्न हुन्छ, ‘तपाईं थाङ्का कलाकार हो ?मानबहादुर दोङ वरिष्ठ थाङ्का कलाकार

थाङ्कामा कुनै मूल्य र कर प्रणाली निर्धारण गरिएको छैन । खाइबा मानबहादुर एउटा सामान्य थाङ्का पसलबाट मात्रै वार्षिक करोेडमाथिको बिक्री हुने बताउँछन् । उनकाअनुसार सो प्रकृतिका पसलहरू देशभर तीन सयभन्दा धेरै छन् । नेपाल ललितकला प्रज्ञा प्रष्तिठानका प्राज्ञ तथा परम्परागत तथा शिल्पकला विभागका प्रमुख निमा घ्याम्छो लामा वार्षिक खर्बौंको कारोबार हुने बताउँछन्  ।

२०२५ सालदेखि व्यवसायिक रूपमा बिक्री हुन थालेको थाङ्का कलामा १५ हजारभन्दा बढी कलाकारहरू संलग्न रहेको अनुमान छ । थाङ्का कलाका अध्येताहरूका अनुसार उपत्यकामा मात्रै नौ हजार थाङ्का कलाकार छन् । त्यसबाहेक रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुलीका गाउँ–गाउँमा थाङ्का लेखिन्छ ।

पढ्ने आधार

उच्च शिक्षाका लागि युवा शहर आउँछन् । शहरमा थाङ्का लेख्दै पढ्नु उनीहरूको पहिलो रोजाइ हुने गर्छ । थाङ्का कलाबाट आर्थिक उपार्जन सँगसँगै कलाको ज्ञान, बुद्ध दर्शनको ज्ञान पनि पाउँछन् उनीहरूले । एकजना कलाकारले दैनिक तीन सयदेखि तीन हजारसम्म कमाउँछन् । त्यसैबाट उनीहरूको विद्यार्थी जीवन चलेको हुन्छ । कतिपयले घर खर्चसमेत चलाउँछन् ।

thanka2

थाङ्का कलाकारलाई ‘थाङ्का मजदुर’ पनि भन्ने गरिन्छ । तर, खाइबाहरू सो तर्कलाई अस्वीकार गर्छन् । कलालाई अपमान गर्ने उद्देश्यले लगाइएको आरोप भएको उनीहरू बताउँछन् । बौद्ध परम्परागत थाङ्का कला प्रतिष्ठानका अध्यक्ष होम तामाङ थाङ्का कलाकार मजदुर नभएको जिकिर गर्छन् ।
४० वर्षदेखि थाङ्का कलामा आबद्ध अध्यक्ष तामाङले थाङ्का स्कुल सञ्चालन गरेका छन् । सो स्कुलबाट दुई हजारभन्दा धेरै विद्यार्थीहरू उत्पादन भइसकेको उनी बताउँछन् । भन्छन्, ‘यसलाई राम्रोसँग प्रबद्र्धन गरिए कामका लागि विदेश भौंतारिनु पर्दैन । मासिक ५० हजार तलब नेपालमै लिन सकिन्छ ।’

राजधानीका विभिन्न स्थानमा थाङ्का स्कुलहरू सञ्चालित छन् । ‘खाइबा’ बन्न १० वर्ष लाग्ने खाइबाहरू बताउँछन् । कला साधनामा जति वर्ष लामो अनुभव भयो त्यति बढी पैसा कमाउन सकिने उनीहरूको मान्यता छ । सामान्यतः ६ महिना सिकेपछि उसले १० हजारसम्म कमाउन सकिने बताइन्छ ।
थाङ्काबाट करिअर शुरु गरेका कैयौं कलाकार राज्यको उपल्लो निकायमासमेत पुगेका छन् । पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ एक समय थाङ्का कलाकार थिए । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका दुई दाइहरू दीर्पासिंह घिसिङ र गणेश घिसिङ थाङ्का लेख्थे । कुलमानलाई पढाउन दुई दाइहरूले थाङ्का लेखेर सहयोग गरेको बताउँछन्, कुलमानका छिमेकी खाइबा मानबहादुर ।

 lokनेपाललाई चिनाउने परम्परागत कला राज्यबाटै उपेक्षामा परेको छ। लोक चित्रकार वरिष्ठ पौभा कलाकार

स्कुलमा केही समय थाङ्का सिकिसकेपछि कलाकारलाई पसलमा राखिन्छ । जब थाङ्का पसलमा पर्यटकहरू आउँछन्, त्यसवेला उनीहरूलाई थाङ्का पसलका साहुजी तथा गाइडहरूले ‘दे आर अर्फन’ (यिनीहरू टुहुरा हुन्) भनिदिन्छन् । कला र श्रमको सम्मान गर्नेभन्दा दयाको पात्र बनाएर आफ्नो व्यवसायिक फाइदा उठाउने गरेको प्रति नयाँ थाङ्का कलाकारहरू दुःखेसो पोख्छन् ।

बिचौलियाको शिकार

थाङ्का कलाकारहरू लाखौं खर्चिएर पसल राख्न सक्दैनन् । थाङ्कासम्बन्धी तीसौं वर्षको अनुभव भए पनि आर्थिक अभावका कारण अरूको पसलमा काम गर्न वा थाङ्का बुझाउन पुग्छन् । त्यसवेला उनीहरूले श्रमको उचित मूल्य पाउँदैनन् । खाइबा दोर्जे लामा भन्छन्, ‘राज्यबाट कुनै शुल्क निर्धारण नहुँदा पसलेहरूले मनपरी मूल्य तोक्छन् । यसबाट हामी मर्कामा परेका छौँ ।’ थाङ्का कलाभित्र हुने श्रम शोषणबारे प्राज्ञ नीमा लामाको आफ्नै मत छ । उनी बिचौलियाले ‘लुटे मात्रै’ भनेर भावनात्मक रूपमा प्रस्तुत हुन नहुने बताउँछन् । त्यसका लागि थाङ्का कलाकर्मीहरू आफैं सक्षम बन्नुपर्ने धारणा राख्छन् । भन्छन्, ‘व्यापारीको काम नै नाफा कमाउनु हो । उनीहरूले पैसा धेरै कमाए भन्नु ठीक हुँदैन । त्यसका लागि कलाकार आफैं सक्षम हुनुपर्छ ।’

स्वास्थ्य समस्या

थाङ्का घरभित्र बसेर लेखिन्छ । त्यसवेला उनीहरूले घामको उज्यालो देख्न पाउँदैनन् । घन्टौं बसेर काम गर्दा विभिन्न रोगबाट ग्रसित हुन्छन् । क्षयरोग, मुटुरोग, दम, प्यारालाइसिस, आँखाको समस्याबाट उनीहरू पीडित हुन्छन् ।

thanka.jpg2

१४ वर्षको उमेरदेखि थाङ्का लेख्न शुरु गरेका खाइबा दोर्जे लामाले एकपटक आँखाको शल्यक्रिया गरिसकेका छन् । हाल उनी दम र मुटुरोगबाट पीडित छन् । आफ्ना एक सय ५० विद्यार्थीहरू कुनै न कुनै रोगबाट पीडित भएको उनको भनाइ छ ।

शुरु–शुरुका अधिकांश कलाकारहरूमा क्षयरोग देखापरेको बताउँछन्, खाइबा मानबहादुर । हाल उनी पनि घाँटीको रोगबाट पीडित छन् । बिहान उज्यालो भएदेखि राति ११ बजेसम्म उनीहरूले काम गर्छन् । मानबहादुर सुनाउँछन्, ‘अशक्त भएर अस्पताल जाँदा डाक्टरको पहिलो प्रश्न हुन्छ, ‘तपाईं थाङ्का लेख्नुहुन्छ, हो ?’

बेखबर राज्य

उनीहरूलाई दलका नेताहरूले प्रयोगसमेत गरेका छन् । विभिन्न पार्टीका थाङ्का कलाकार संघ खुलेका छन् । थाङ्का सांस्कृतिक परिवार पनि छ । कुनै समय उनीहरूले पार्टीका लागि एक घण्टा काम बराबरको शुल्क बुझाए । आन्दोलनमा ढुंगामुढा गर्ने, टायर बाल्ने, मशाल बाल्नेसमेत गरे । तर, नेताहरू मन्त्री भएपछि उनीलाई चिनेनन् । ‘निर्मल लामा, नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, अमिक शेरचनलगायतलाई धेरै सहयोग गरियो । तर, सत्तामा पुगेपछि हामीलाई बिर्सिदिए,’ खाइबा मानबहादुरले गुनासो गरे ।

nima यो कला राज्यको उपेक्षामा परेको छ । बजेट अभावका कारण प्रभावकारी काम गर्न सकिएको छैन । निमा घ्याम्छो लामा प्राज्ञ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान

उनीहरूले राज्यबाट कुनै सुविधा पाएका छैनन् । गतवर्ष क्षेत्रीय पुरस्कार पाएका खाइबा मानबहादुर राज्यले पूरै बेवास्ता गरेको बताउँछन् । कुनै पुरस्कारभन्दा थाङ्का कलाकारको वास्तविक मर्मलाई सम्बोधन गर्ने योजना बनाउन संस्कृति मन्त्रालय र ललितकला प्रतिष्ठानलाई उनको सुझाव छ ।
सीटीईभीटीबाट थाङ्काको तालिम दिँदा उनीहरू बेखबर भए । थाङ्का चित्रबारे कुनै ज्ञान नभएकालाई नै थाङ्का प्रशिक्षक बनाइएको गुनासो गर्छन्, खाइबा दोर्जे लामा । खाइबा मानबहादुर जापान पुग्दा नेपाली थाङ्का कलालाई तिब्बती कला भनी संग्रहालयमा राखेको देखे । जसलाई राज्यको उपेक्षाको परिणाम मान्छन्, उनी ।

राज्यले परम्परागत कलालाई नहेरेको गुनासो गर्छन्, वरिष्ठ पौभा कलाकार लोक चित्रकार । त्रिविको स्नातक तहमा पौभा कलासम्बन्धी पढाइ हुने गरी पाठ्यक्रम निर्माण भए पनि क्याम्पसले पढाउन पहल नगरेको आरोप लगाउँछन्, उनी । भन्छन्, ‘नेपाललाई चिनाउने परम्परागत कला उपेक्षामा परेको छ ।’

प्राज्ञ निमा लामा नेपालबाट परम्परागत कला ओझेल पर्दै गएको स्वीर्काछन् । भन्छन्, ‘यो विधामा एकदमै थोरै बजेट छ । यो कला राज्यको उपेक्षामा छ ।’ सो विभाग हेर्ने प्राज्ञलाई नै उपेक्षाको दृष्टिले हेर्ने गरेको उनको तितो अनुभव छ । उनी भन्छन्, ‘परम्परागत कलालाई प्रतिष्ठानमै उपेक्षाको दृष्टिले हेर्ने गरिन्छ ।’

पहिलो पटक थाङ्का कलाबाट प्राज्ञ भएका उनले वार्षिक रूपमा परम्परागत चित्रकलाको प्रदर्शनी गरेका छन् । त्यसबाहेक बजेट अभावका कारण प्रभावकारी काम गर्न नसकिएको उनको भनाइ छ ।

 homथाङ्का कलालाई प्रबद्र्घन गरियो भने कामका लागि विदेश भौंतारिनुपर्दैन। मासिक ५० हजार तलब नेपालमै लिन सकिन्छ। होम तामाङ, अध्यक्ष बुद्धिष्ट परम्परागत थाङ्का कला प्रतिष्ठान

उनीहरूसँग कुनै परिचयपत्र छैन । कैयौं पटक थाङ्का कलाकारहरूले राज्यको विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर आफ्ना समस्याहरू सुनाएका थिए । तर, आजसम्म कुनै सुनवाइ भएको छैन । प्राज्ञ लामा भन्छन्, ‘मापदण्ड बनाएर परिचयपत्रसम्म वितरण गर्ने योजना बन्दैछ ।’

थाङ्का कसरी बन्छ ?

यसका लागि क्यानभासको आवश्यक पर्छ । क्यानभासमाथि खाइबाहरूले बुद्ध दर्शनसँग सम्बन्धित विभिन्न चित्र कोर्छन् । त्यहाँ रंग भरिन्छ र सेटिङ गरिन्छ । त्यसपछि ‘चे’ (बुट्टाहरू भर्ने काम) गरिन्छ । ‘च्याङ्चे’ (चित्रको मुखाकृति निकाल्ने) गरेपछि अन्तिममा सुन लगाइन्छ र ‘ह्सि’ (चित्रलाई टल्काउने वस्तु) ले टल्काएपछि थाङ्का तयार हुन्छ । एउटा थाङ्का तयार हुन कम्तीमा महिना दिन लाग्छ । जहाँ वरिष्ठदेखि नयाँ कलाकारहरूले काम गर्छन् । जसको मूल्य पाँच हजारदेखि पाँच लाखसम्म पर्छ ।

प्रतिकृया दिनुहोस