MENU

रिपोर्ट

635x90

झुलाघाट पुल : कहिले बन्ला पक्की ?

भगीरथ अवस्थी, बैतडी आइतवार, आश्विन २९, २०७४

 भारतसँग सीमा जोडिएको झुलाघाट नाका नाम चलेको नाका हो । झुलाघाटको महाकाली नदीमाथि नेपाल–भारत सीमा वारपार गर्ने झोलुंगे पुलको पनि नाम आइहाल्छ । यो पुलबाट दैनिक सयौंले आवतजावत गर्छन् । करिब डेढ सय वर्षअघि इस्ट इन्डिया कम्पनीले नेपाल–भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो । कर्णालीयता यातायातको सुविधा नपुगेका समयमा सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका सर्वसाधारणको राजधानी र भारत पस्ने प्रमुख नाका झुलाघाट नै रहेको थियो । यो दुई देशको सम्बन्ध जोड्ने पुलसमेत रहेको भारतीय पत्रकार प्रमोद भट्ट बताउँछन् । भन्छन्, ‘झुलाघाट पुल नेपालको मात्र नभएर भारतीय चासोको विषय हो । यो पुलको ठाउँमा पक्की पुल बनाउनुपर्छ । तर, पक्की पुल त टाढाको विषय, पुलको जीर्णोद्वारमा समेत चासो दिइएको छैन ।’

झुलघाटमा पुल नबन्दा भारतको उत्तराखण्ड राज्यका नागरिकसमेत पीडित बनेको भारतको झुलाघाट व्यापार संघका अध्यक्ष सञ्जीव जोशी बताउँछन् । भन्छन्, ‘झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना हो । यो पुल निर्माण भएपछि दुई देशबीचको मित्रता अझ प्रगाढ हुने र उत्तराखण्डको नेपालसँग व्यापार पनि बढ्छ ।’ झुलाघाट नाकामा पुल निर्माणको लागि २०५५ सालदेखि सर्वे मात्रै हुने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन । सर्वेअनुसार सो पुलको लम्बाइ ९० मिटर छ । ०५६ सालमा पुलको डीपीआरसमेत बनेको थियो । उक्त डीपीआरअनुसार पुल निर्माणका लागि साढे ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो ।

‘सुदूरपश्चिमको बैतडीमा मात्रै सात वटा भगवतीका मन्दिर छन् । यस्तै, सातै वटा केदारका पनि मन्दिर छन् । ती मन्दिरमा धेरैजसो छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गरेका छन् । तर झुलाघाटमा पक्की पुल नहुँदा सबै दर्शनार्थी आउन सकेका छैनन्,’ दशरथचन्द नगरपालिका त्रिपुराका स्थानीय गणेश थापा बताउँछन् । सीमा बजार झुलाघाटसम्म सडक सुविधा पुगेको भए पनि मोटरेबल पक्की पुल नहुदाँ आवतजावतमा निकै सास्ती हुने गरेको छ । पहाडी क्षेत्रमा सुविधायुक्त अस्पताल नहुदाँ सुदूरका बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायतका सर्वसाधारण उपचारका लागि झुलाघाट नाकाबाट भारतीय शहर जाने गर्छन् । सडक सुविधा पुगेको दुई दशक बित्दासमेत यो पुलले पूर्णता नपाउँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्ट बताउँछन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्वार हो।

पुल बनाउन भारत सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि नेपालले चासो नदेखाएको उनी गुनासो गर्छन् । करिब १० वर्षअघि उद्योग वाणिज्य संघ जिल्ला शाखाले पुलको माग गर्दै १० हजार जिल्लावासीको हस्ताक्षर संकलन गरेर सरकार र भारतीय दूतावासमक्ष ज्ञापनपत्र बुझाएको थियो । भारतीय राजदूतसँग पनि त्यस विषयमा कुराकानी भएको र नेपालको तर्फबाट कूटनीतिक पहल भए पुल बन्ने बताइएको थियो ।पत्रकार लक्ष्मीदत्त पाण्डेय भन्छन्, ‘दक्षिण एसियाकै लामो गुफा पाताल भुमेश्वर बैतडीमै छ, यसको अध्ययन र अवलोकनमा धेरैको चासो छ । पुल नभएकै कारण त्यस्ता अध्ययनमा आउनेहरू भिœयाउन सकिएको छैन ।’

झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुपै्र नेपाली उत्पादन निर्यात गर्न सकिने व्यापारी चक्रदेव पाण्डेय बताउँछन् । भन्छन्, ‘झुलाघाटमा पुल बनेमा किसानहरूको स्थानीय उत्पादनले पनि बजार पाउनेछ ।’ साथै उत्पादित तरकारी, मह, चिउरीको घ्युलगायत उत्पादनले भारतीय बजारमा ठाउँ पाउने उद्यमी इन्द्रदेवशरण भट्ट पनि बताउँछन् । तर मोटरेबल पुलको अभावमा उत्पादित सामान निर्यात गर्न सकिएको छैन । झुलाघाटमा पक्की पुल निर्माण भए सुदूरपश्चिमका पहाडी जिल्लाहरूको आर्थिक अवस्थामा कायापलट हुने जानकारहरू बताउँछन् ।

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा दशैंमा सीमावर्ती भारतीय गाउँबाट त्रिपुरासुन्दरी, निंगलासैनी, मेलौलीको दर्शन गर्न पर्याप्त दर्शनार्थी आउन नसकेको बताउँछन् । भन्छन्, ‘यो हाम्रो लागि आर्थिक र पर्यटकीय हिसाबले घाटाको कुरा हो ।’ नेपाल र भारतका नागरिकबीचको सम्बन्धलाई झोलुंगे पुलले जोडेको यथार्थ बताउँछन्, समाजसेवी सुरेश श्रेष्ठ । उनी यो सम्बन्धलाई बलियो बनाउन अब पक्की पुल बनाउने कुरामा जोड दिन्छन् ।

 

 

प्रतिकृया दिनुहोस