MENU

रिपोर्ट

635x90

वामगठबन्धन : सिट बाँडफाँटमै सकस

रविराज बराल शुक्रवार, आश्विन २७, २०७४

१७ असोजमा ‘वामगठबन्धन’ गर्नुअघि नै एमाले–माओवादी केन्द्रबीच ६०–४० को भागवण्डामा कुरा मिलेको थियो । । ०७० को संविधानसभा र हालै सम्पन्न स्थानीय तह चुनावको परिणामलाई मुख्य आधार बनाएर बाँडफाँट गर्ने भनियो । तीन दिनभित्र सिट संख्या बाँडफाँट गर्न कार्यदल पनि गठन गरियो । तर, लक्ष्यभन्दा दोब्बर समय बितिसक्दा पनि कार्यदलले सहमति जुटाउन सकेको छैन । दलहरूभित्र आकांक्षी बढेपछि बाँडफाँटको विषय पेचिलो बनेको छ । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० सिटमा गठबन्धमा रहेका नयाँशक्ति र हृदयेश त्रिपाठीको समूहलाई सिट दिएर बाँकी सिटमा एमाले माओवादी केन्द्रले ६०–४० को भागवण्डा गर्ने सहमति भएको थियो ।

माओवादी केन्द्रका नेता मणि थापा भन्छन्, ‘दलहरूभित्रै आकांक्षी बढेकाले टुंग्याउन गाह्रो भएको हो ।’ हरेक दललाई आकांक्षीको दबाब त छ नै, त्यसबाहेक ‘हेभी वेट’हरूको चुनावी क्षेत्र व्यवस्थापनमा पनि चुनौती देखिन्छ । गोरखा र दाङ जिल्लाको विवाद सतहमै आएको छ । गोरखा २ लाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रतिष्ठाको विषय बनाएका छन् । भट्टराईले चुनाव लड्ने घोषणा गरिसकेको यो क्षेत्रमा माओवादी केन्द्रले श्रेष्ठलाई सिफारिस गरेपछि कसले लिने र कसले छोड्ने भन्ने सकस परेको हो । भट्टराईका सहयोगी विश्वदीप पाण्डे भट्टराई जुनसुकै हालतमा यही क्षेत्रबाट चुनाव लड्ने बताउँछन् । यस्तै समस्या दाङमा पनि देखिएको छ । एमाले नेता शंकर पोखरेल र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दुवैको नजर दाङ ३ मा छ ।

कार्यदलका सदस्य एमाले नेता विष्णु पौडेल निर्वाचन क्षेत्रमा व्यस्त हुने भएपछि उनको सट्टामा कार्यदलमा गएका नेता शंकर पोखरेल अध्ययनको क्रममा नै धेरै समय गएको बताउँछन् । ‘कसको स्थिति कस्तो छ, कसले चुनाव जित्न सक्छ भन्ने अध्ययनमा समय लाग्यो, अब केही दिनमा टुंगिन्छ,’ पोखरेल भन्छन् । आफ्नै निर्वाचन क्षेत्रमा देखिएको समस्यालाई पनि उनी सामान्य भन्छन् । ‘हामी ठूलो मिसनमा हिँडेका छौँ, यस्ता सामान्य समस्याहरू मिलाउन सक्छौँ,’ उनी भन्छन् । एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिट बाँडफाँट कार्यदलमा एमालेका विष्णु पौडेल र सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव तथा नयाँशक्तिका गंगा श्रेष्ठ सदस्य छन् ।

घोषणापत्र अन्तिम चरणमा

सिट बाँडफाँटमा समस्या देखिए पनि वाम गठबन्धनले प्रतिनिधिसभा चुनावको घोषणापत्र लेख्ने काम भने अन्तिम चरणमा पुर्‍याएको छ । १७ असोजमा भएको तालमेल तथा एकीकरण सहमति पत्रमा ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने’ उल्लेख छ । घोषणापत्र मस्यौदाका लागि गठित आठ सदस्यीय समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको समितिका एक सदस्य विश्वभक्त दुलाल ‘आहुति’ बताउँछन् । घोषणपत्र मस्यौदा समितिमा एमालेका तर्फबाट वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, आहुति र नयाँशक्तिको तर्फबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा छन् । आहुतिका अनुसार ‘समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा’लाई केन्द्रमा राखेर घोषणपत्र मस्यौदा भइरहेको छ । ‘सहमतिका ६ बुँदालाई मुख्य आधार बनाएर पाँच वर्ष र १० वर्षमा के–के गर्ने भन्नेमा केन्द्रित छौँ,’ आहुति भन्छन्, ‘सबैले जिम्मेवारी बाँडेर काम गरेका छौँ, कम्पाइल गर्न बाँकी छ ।’ यो साता घोषणापत्र लेखनको काम सकिने उनले बताए । प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्ने गठबन्धनको तयारी छ ।

हिमाली तथा उच्च पहाडी ३२ जिल्लाहरूमा १० मंसिरमा चुनाव हुँदैछ भने बाँकी ४५ जिल्लामा २१ मंसिरमा हुँदैछ । प्रत्यक्षतर्फ पहिलो चरणमा चुनाव हुने जिल्लाहरूका लागि ५ कात्तिकमा उम्मेदवारी मनोनयन गर्नुपर्छ भने दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा १६ कात्तिकमा उम्मेदवारी मनोनयन गर्नुपर्छ । समानुपातिकमा भने उम्मेदवारको बन्दसूची २९ असोजमै पेस गर्नुपर्ने भएकोले दलहरू समयको दबाबमा छन् । अघिल्ला निर्वाचनहरूमा प्रत्यक्षतर्फ नपरे पनि समानुपातिक सूचीमा राख्ने भनेर आकांक्षी थुम्थुम्याउन सजिलो भए पनि यसपटक आयोगले समानुपातिक सूची पहिला बुझाउने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेपछि दलहरूलाई अर्को सकस परेको हो । आयोगमा बुझाएको बन्दसूचीको क्रमांकअनुरूप सांसद छान्नुपर्नेछ । त्यसमा पनि समावेशी समूहको पहिलो क्रमका व्यक्तिले नै अवसर पाउने व्यवस्था छ । ‘समानुपातिकको बन्दसूची पहिला बुझाउँदाका अप्ठ्यारा त छँदैछन्, तर हामी तीन–चार–दिनमा सबै विषय टुंग्याइसक्छौँ,’ पोखरेलले दाबी गरे ।

 

प्रतिकृया दिनुहोस