MENU

रिपोर्ट

Annapurna635x90

चालकको लापरबाही बढ्याे

राजु स्याङ्तान सोमवार, भाद्र २६, २०७४

७ भदौ बेलुकी ५ बजे अनिता ताम्राकार र गौतम ताम्राकार दम्पति पाटन जान घरबाट निस्किए । असन घर भएका उनीहरू खुलामञ्च नजिकै आइपुग्दा जाममा परे । जाम खुल्नै लाग्दा अचानक पछाडिबाट बा २ ख ७८०६ नम्बरको मिनीबसले पछाडिबाट ठक्कर दियो । ताम्राकार दम्पति लडे । गौतम उठ्न सकेनन् । पत्नी अनिताका अनुसार उनलाई खासै चोट लागेन । उनी उठेर पतिलाई तान्न थालिन् । गाडी अगाडि बढ्न थाल्यो । अनिताले एक हातले पतिको खुट्टा समाएर तान्दै अर्को हातले गाडी रोक्न अनुरोध गरे तर गाडी रोकिएन । हेर्दाहेर्दै गौतमको शरीरमाथिबाट गाडी गुडेर गयो । उनी हेरेको हेर्‍यै भइन् । वरपरका मानिस रमिता हेरिरहेकै थिए ।

रक्तमुछेल भई उनको पति सडकबीचमा लडिरहेका थिए । कुनै सहयोगी हात जुटेन । उनी हार गुहार गर्दै चिच्चाउन थालिन् । अलि तल पुगेर गाडी रोकियो । चालक सरासर प्रहरी चौकीतर्फ दौडिए । भीड जम्मा हुन थाल्यो । १५ मिनेट बितेपछि प्रहरी आइपुगे । प्रहरीले अनितालाई आफन्तलाई फोन गर्न भने । घटना भएको १० दिन बितिसक्दा पनि घटनाको छिनोफानो हुन सकेको छैन । काँडाघारी बस्दै आएका चालक रामप्रसाद पौडेल गोठाटार यातायात व्यवसायी संघसँग आबद्ध छन् । चितवनका ३४ वर्षीय उनी हाल नेपाल प्रहरी सिंहदरबार वृत्तको नियन्त्रणमा छन् । मृतकका आफन्त र स्थानीयवासी पीडकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रत्येक दिन विरोध प्रदर्शन गरिरहेका छन् । रत्नपार्कमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले लाठीचार्जसमेत गरेको थियो ।

गोठाटार बस व्यवसायी संघका अध्यक्ष गजेन्द्र बस्नेत चालकको नियत मान्छेको ज्यान लिने नरहेको दाबी गर्छन् । भन्छन्, ‘दुर्घटना भवितव्यले हुन्छ । हाम्रो नियत कसैको ज्यान लिने हुँदैन ।’ उनले राज्यको नीतिअनुसार पीडितले क्षतिपूर्ति र पीडकले सजाय पाउने बताए । ‘बिमास्वरूप पीडितले पाँच लाख र मृत्यु संस्कारका लागि २५ हजार रुपैयाँ पाउने छन्,’ उनले भने । ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनाल दुर्घटना हुनुमा सडक, पदयात्री र चालक तिनै पक्षको दोष देख्छन् ।

‘पछिल्लो समय चालकको मनोमानी बढेको छ । लापरबाही गरेर मानिसको ज्यान लिने चालकलाई कर्तव्य ज्यानको मुद्दा लाग्नेछ ।’

पछिल्लो समय सडक दुर्घटना नबढेको बताउँछन्, उनी । ‘सडक राम्रो छैन । त्यो बन्नु पर्‍यो । चालकको असली अनुमतिपत्र हुनुपर्‍यो । पदयात्री पनि तोकिएको स्थानबाट हिँड्नुपर्‍यो । अनि मात्र दुर्घटना कम हुन्छ,’ उनले भने । ट्राफिक प्रहरीको पछिल्लो तथ्यांकअनुसार साउन महिनामात्रै उपत्यकामा पाँच सय ४९ वटा दुर्घटना भए । तीमध्ये १४ गम्भीर प्रकृतिका छन् । 

आर्थिक वर्ष ०७३/७४ मा मात्रै राजधानीमा पाँच हजार पाँच सय ३० दुर्घटना भए । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा दुर्घटना हुने क्रम स्थिर देखिन्छ । आव ०७२/७३ यातायात व्यवस्था कार्यालय बागमतीमा मात्रै ९४ हजार सवारी साधान दर्ता छन् । यसमध्ये ६४ हजार मोटरसाइकल छ । सडक विभागअनुसार राजधानीमा एक हजार पाँच सय ९४ किमि मात्र सडक छ । उक्त सडकमा दैनिक ६ लाख सवारी गुड्ने ट्राफिक प्रहरीको तथ्यांक शाखाले देखाउँछ । यसले दुर्घटना न्यूनीकरणमा समस्या भइरहेको ट्राफिक प्रहरीको जिकिर छ ।

महाशाखा प्रमुख खनाल चालकको लापरबाही बढेको स्वीकार्छन् । सबैलाई ‘ओरेन्टिएसन’ दिने काम भइरहेको उनले बताए । चालकहरू निर्दयी बन्दै गएको कुरा उनी अस्वीकार गर्छन् । भन्छन्, ‘एउटा घटनालाई आधार मानेर त्यसो भन्न सकिन्न ।’यातायात व्यवस्था विभागका सूचना अधिकारी टोकराज पाण्डे भने पछिल्लो समय चालकको लापरबाही बढेको तर्क गर्छन् । भन्छन्, ‘पछिल्लो समय चालकको मनोमानी बढेको छ । लापरबाही गरेर मानिसको ज्यान लिने चालकलाई कर्तव्य ज्यानको मुद्दा लाग्‍नेछ ।’

प्रतिकृया दिनुहोस