MENU

रिपोर्ट

Annapurna635x90

किन हराए ढुंगेधारा ?

अशोक दुलाल आइतवार, भाद्र २५, २०७४

तीन दशकअघि काठमाडौं टेबहालकी नानीमैया नकर्मी (७९) सुन्धाराको ढुंगेधारामा तामाको गाग्री बोकेर पानी थाप्न जान्थिन् । सुन्धाराको पँधेरो उनलाई छिमेकी र संगी भेट्ने बहाना हुन्थ्यो । ती दिन सम्भिँदै उनी भन्छिन्, ‘टोलका मात्रै होइन, गणबहाल, बागबजार, त्रिपुरेश्वर, लगन, नयाँसडकसम्मका केटीहरू सुन्धारामा पानी लिन आउँथे । पँधेरोमा पानी थाप्ने बहानासँगै साथी भेट्ने मेसो मिल्थ्यो ।’टेबहालकै राजेन्द्रलाल नकर्मी (६४) बाल्यकालमा वागमती नदीमा माछा मारेर सुन्धाराको ढुंगेधाराको पानीमा नुहाउँथे । भन्छन्, ‘सुन्धारामा पानीको फोर्सले गर्दा वर्षामा नुहाउन सकिन्नथ्यो । टोलका साथीहरूले भाँडाले पानी जिउमा खन्याइदिन्थे । पानी पनि कञ्चन कलकल बग्ने । त्यसबेलाको रमाइलै अर्कै ।’ढोकाटोलकी सुजाता श्रेष्ठ (६२) घर नजिकैको ढुंगेधारामा संगीहरूसँग मिलेर पञ्चमीका दिन नुहाएको कहिल्यै बिर्सिदिनन् ।

२०४४ सालमा सञ्चयकोष भवन बनेपछि सुन्धाराको ढुंगेधारा सुक्यो । अहिले धाराको पानी स्थानीयका लागि सम्झनामा मात्र छ । ढुंगेधारा क्षेत्र नै फोहर पानी जम्ने थलोमा परिणत भएको छ । सुन्धारा मात्र होइन, बढ्दो शहरीकरणले उपत्यकाका अधिकांश ढुंगेधाराबाट पानीको थोपा झर्दैन । स्थानीय घरछेउको ढुंगेधारा हेर्दै ‘मिनरल वाटर’ किनेर खान्छन् । श्रेष्ठ भन्छिन्, ‘केटा मान्छेलाई मतलब हुँदैन । हामी केयूकेएलसँग ४० प्रतिशत छुटमा ल्याएको जारको पानी ५ रुपैयाँमा किनेर खान्छौँ ।’साढे दुई दशकअघि राजधानीमा मेलम्चीको पानी ल्याइने सपना बाँडियो । एकातिर मेलम्ची आउन ढिला हुँदै गयो भने अर्कोतिर खानेपानीको विकल्पका रूपमा रहेका ढुंगेधारा क्रमशः सुक्दै जाँदा काकाकुल राजधानीवासीले खानेपानी समस्या बेहोर्नुपर्‍यो ।

dhungedhara1

ढोकाटोलकी सुजाता केयूकेएलको ट्यांकीबाट पानी थाप्दै । 

३० वर्षअघि काठमाडौंको अवस्था नै बेग्लै थियो । राजकुलो बग्थ्यो । स्थानीय खेतको आलीमा हिँड्थे । पानीघट्ट चल्थे । वागमतीको नदीमा पौडी खेलेको सम्झँदै कुपोण्डोलका राजेन्द्र शाक्य भन्छन्, ‘हरेक टोलमा ढुंगेधारा हुन्थे । आमा र दिदीहरू माटोको गाग्रीमा पानी थाप्न जानुहुन्थ्यो ।’ललितपुर पाटनका कृष्णलाल प्रजापतिको अनुभवमा उपत्यकाका शहरी बस्तीमा धानखेती मासिएपछि ढुंगेधारा सुक्न थाले । ‘ललितपुरको लेलेबाट बग्ने राजकुलो बन्द भएपछि पाटनका पोखरी र इनारमा पानी छैन । पोखरीसँगै ढुंगेधारा पनि सुकेका छन्,’ उनले अनुभव सुनाए ।

लोप हुनुका कारण

काठमाडौं उपत्यकामा ढुंगेधाराको प्रचलन लिच्छिविकालदेखि शुरु भएको मानिन्छ । लिच्छिवि राजा मानदेवका नाति भारवीको पालामा काठमाडौंको हाँडीगाउँमा बनेको ढुंगेधारा सबैभन्दा प्राचीन मानिन्छ । ढुंगेधारामा देवी देवताका कलात्मक मूर्ति पनि कुँदिएका हुन्थे । तर, ती प्राचीन ढुंगेधारा अहिले सुकिसकेका छन् । ढुंगेधारा लोप हुने मुख्य कारण, बढ्दो शहरीकरण हो । ढुंगेधारासँगै अग्ला अग्ला घर बनाइँदा पानीको मुहान भत्केका छन् । घरका ट्युबेलले पनि ढुंगेधारा सुकाउन मद्दत गरिरहेका छन् । काठमाडौंका रैथाने हुनेखानेलाई ढुंगेधाराको आवश्यकता नहुनु अर्को कारण हो । उनीहरू खाना पकाउन पनि जारको पानी प्रयोग गरिरहेका छन् । निजी कम्पनीले बेच्ने ट्याङ्करको पानी नुहाउने र लुगा धुन प्रयोग हुन्छ ।

काठमाडौं उपत्यकाका करिब चार सय ढुंगेधारामध्ये आधाभन्दा बढीमा पानी आउँदैन। पँधेरो आफन्त र साथी भेट्ने थलो थियो। धारा सुकेसँगै पँधेरो संस्कृति पनि हराएको छ। 

जुन ढुंगेधाराको विकल्प बनेको छ । राजधानीमा तत्कालीन खानेपानी संस्थानले पानी वितरण गर्न थालेपछि ढुंगेधाराको आकर्षण घटेको प्रजापतिको अनुभव छ । ढुंगेधारामा पानी भर्ने अधिकांश काठमाडौंवासी विपन्न वर्गकै हुन् । भाडामा बस्नेहरू पानी आउने ढुंगेधारा वरिपरि नै डेरा खोजेर बस्ने गरेको पाइन्छन् । पाटन दरबार परिसरमा भेटिएकी सविता तिमल्सिना बाह्रै महिना पानी भर्न पाउने लोभले महालक्ष्मीस्थानबाट च्यासल डेरा सरेको बताउँछिन् । भन्छिन्, ‘बिहानको कलेज छ, दिउँसोको जागिर । हरेक दिन धारामा पानी आउँदैन ।

आजकल राति ढुंगेधाराको पानी थाप्न सजिलो भएको छ ।’राष्ट्रिय अभिलेखालयका अनुसार काठमाडौं उपत्यकामा तीन सय ९० वटा ढुंगेधारा छन् । सबैभन्दा बढी काठमाडौंमा एक सय ६६ वटा छन् । उपत्यकाका आधाभन्दा बढी ढुंगेधारामा पानी आउँदैन । अभिलेखालय प्रमुख शौभाग्य प्रधानांगले प्रस्ट पारिन्, ‘२९ प्रतिशत ढुंगेधारा काम नलाग्ने भइसकेका छन् । साढे ११ प्रतिशत त लोप नै भइसके । पानी नै नआउने धारा करिब १८ प्रतिशत छन् ।’ठमेलको बजेट होटलसँगै गाःहिटी ढुंगेधारा ध्वस्त भयो । १२ वैशाख २०७२ को भूकम्पले उपत्यकाका धेरै ढुंगेधारा भत्केका छन् । उनी भन्छिन्, ‘शहरका धेरै ढुंगेधारा घरैघरका बीचमा छन् । घर भत्किँदा ढुंगेधारा पनि भत्कन्छन् । नयाँ घर बनाउदा ढुंगेधारा नष्ट हुने खतरा छ ।’

dhungedhara2

 ललितपुरको सुन्धारामा काठको टेकोमा अड्याइएको सुनको ढुंगेधारा  ।

 काठमाडौं उपत्यकाका ढुंगेधारा

काठमाडौं  - १६६
ललितपुर  - ६१
मध्यपुर ठिमी नपा  - ६५
कीर्तिपुर - ११
भक्तपुर  - ८७
जम्मा - ३९०

ढुंगेधाराको अवस्था

लोप भएका - ४५
पानी नआउने - ६९
पाइपद्वारा सञ्चालित - ४३
प्राकृतिक - २३३
जम्मा - ३९०

स्रोत : राष्ट्रिय अभिलेखालय

 

प्रतिकृया दिनुहोस