MENU

रिपोर्ट

Annapurna635x90

प्रदेश नं. २ निर्वाचन : पत्रकार कि प्रचारक ?

मनिका झा, जनकपुर शुक्रवार, भाद्र २३, २०७४

पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झाले फेसबुकमा लेखे, ‘प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार राप्रपा (प्रजातान्त्रिक) बाट जनकपुर उपमहानगर मेयर उम्मेदवार बने ।’ त्यसैको कमेन्टमा महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले थपे, ‘अब प्रेस स्वतन्त्रता सेनानी उपाधि के हुने ? रौनियार उठ्ने भएपछि उनी महासंघ पार्षद रहने/नरहने चर्चा जनकपुरमा छ ।  जनकपुरकै सेन्चुरी टाइम्सले राजपाबाट व्यापारी शिवशंकर साह ‘हिरा’ लाई टिकट दिए जित पक्का भनी लेख्यो । उक्त अनलाइनमा साह नै उपयुक्त उम्मेदवार ठोकुवा गरियो । २ असोजको स्थानीय चुनावका लागि दलहरूमात्रै होइन, स्वयं पत्रकार पनि प्रचारमा व्यस्त छन् ।

अहिलेसम्म पत्रकारहरू विभिन्न दलको भ्रातृसंगठनको रूपमा संगठन खडा गरी अप्रत्यक्ष रूपमा दलहरूको प्रचार गर्थे । तर, प्रदेश नं २ को निर्वाचनमा कार्यकर्ताकै भेषमा पत्रकारिताको धर्मलाई तिलाञ्जली दिएर खुलेआम प्रचारबाजीमा लागेका छन् । कांग्रेसले प्रदेश नं २ को निर्वाचनमा आफ्नो पक्षमा प्रचार गर्न मिडिया सेन्टरको स्थापना गरेको छ । उक्त मिडिया सेन्टरको काम स्थानीय तहमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिनेहरूको प्रचार गर्नु हो । मिडिया सेन्टरमार्फत् कांगे्रसी पत्रकारहरूले आफ्नो सञ्चारमाध्यममा अन्य दललाई स्थान नदिई कांग्रेसकै गुणगान गाउन निर्देशन दिएका छन् । दलगत रूपमा पत्रकारहरूले निर्वाचनमा पक्ष/विपक्षमा भविष्यवाणी गर्ने र आफूसमर्थित दलको उम्मेदवार नै सबैभन्दा राम्रो भनी सन्देश दिने खालका समाचार सम्प्रेषण गर्दा पत्रकारिताको मूल सिद्धान्त सत्यतथ्य, अनि निष्पक्षता नै गुमेको छ ।

हरेक व्यक्तिलाई चाहेको दल वा व्यक्ति रोज्ने स्वतन्त्रता सुनिश्चित भए पनि पत्रकारहरू नै दलका कार्यकर्ता भएर आफ्ना सञ्चारमाध्यमलाई दलीय मुखपत्र बनाउन थालेपछि प्रश्न उठेको हो । महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र भन्छन्, ‘स्वतन्त्र पत्रकारको समग्र हक/हितका लागि हामी संघर्षरत छौँ, तर केही पत्रकार दलमा लिप्त छन् । र, आचारसंहितालाई लत्याउने काम गरिराखेका छन् । यसले पत्रकारिता पेसालाई नै लज्जित बनाएको छ ।’ समाजले पत्रकारलाई एउटा सम्मान दिएको छ, पत्रकार कसैको पक्ष/विपक्षमा नभई तटस्थ हुन्छ भन्ने आमधारणा छ । तर, ती सबै विश्वासलाई अहिले दलगत प्रचारमा लागेका पत्रकारहरूले ओझेलमा पार्ने काम गरिराखेको मिश्रको बुझाइ छ । दलप्रति आस्था राख्नु र दलको कार्यकर्ता नै भएर प्रचारमा लाग्नु फरक कुरा रहेको उनको भनाइ छ । 

पछिल्लो संविधानसभाको निर्वाचन तथा आन्दोलनमा पनि पत्रकारहरू दलको कार्यकर्ताकै रूपमा प्रयोग हुँदा थुप्रै दुर्घटना भएका उदाहरण छन् । एकपक्षीय भई पत्रकारहरूले आचारसंहिताको पालना नगरी सञ्चारमाध्यमबाट प्रचार गर्दा आन्दोलनकारी र विपक्षीहरूको निशानामा समेत परेका छन् । तर, दुर्घटनाबाट समेत पाठ नसिकेर पुनः निर्वाचनमा दलीय प्रचारमा लागेका पत्रकारहरू आफ्नो सुरक्षाको जिम्मेवारी आफैं लिनुपर्ने वा जुन दलको प्रचारमा लागेका हुन्, तिनले लिनुपर्ने ठम्याइ अधिकांश सक्रिय पत्रकारहरूको रहेको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा आमसञ्चार माध्यमले पालना गर्नुपर्ने आचरणको विषयमा उल्लेख गरिएको छ । जसमा आमसञ्चारमाध्यमले निर्वाचनसम्बन्धी शिक्षामूलक समाचार र सूचनालाई उच्च प्राथमिकता दिनुपर्ने, सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्ष सम्प्रेषण गर्ने, पेसागत आचरण तथा मान्यताविपरीत हुने काम कारबाही गर्न नहुने, विभिन्न जाति सम्प्रदाय, लिंग, धर्म, भाषी र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल नपर्ने गरी सूचना वा समाचार प्रकाशन, प्रसारण र सम्प्रेषण गर्ने भनी स्पष्ट उल्लेख छ ।

आचारसंहितामा उल्लेख भएअनुसार उम्मेदवार वा दलको पक्ष÷विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबुक, ट्विटर, भाइबरजस्ता सामाजिक सञ्जालको माध्यमबाट प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्ने भनिएको छ । तापनि, सामाजिक सञ्जालहरूमा पत्रकारहरूले आफूनजिकका दलका उम्मेदवार नै योग्य र अरू अयोग्य भनी जुहारी नै चलाएको देखिन्छ । धनुषाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका न्यायधीश राधाकृष्ण उप्रेती भन्छन्, ‘समाजको बौद्धिक तप्का र राज्यको चौथो भनी सम्मान पाएका पत्रकारहरूले यदि आचारसंहिताको पालना नगरी दलीय प्रचार गर्नु विडम्बना हो ।’

 

प्रतिकृया दिनुहोस