MENU

रिपोर्ट

dishhomeapp

उमेर नपुग्दै विवाह गर्छन् जाँजरकोटा किशोरी

राजेन्द्र कार्की, जाजरकोट मंगलवार, श्रावण २४, २०७४

जाजरकोट भेरीनगरपालिका ६ की धनसरी विश्वकर्माको १३ वर्षमा स्थानीय मानबहादुर विश्वकर्मासँग विवाह भयो । १५ वर्षमा छोरी जन्माइन् । छोराको आस गर्दागर्दै तीन छोरी जन्माइन् । २३ वर्षकै उमेरमा विश्वकर्मा चार सन्तानकी आमा भइसकेकी छन् । २५ वर्षीया विश्वकर्माको कान्छो छोरो नै दुई वर्षको छ । उनले भनिन्, ‘विवाहबारे केही थाहा थिएन । महिनावारी पनि भएकी थिइनँ ।

आमाबाले बिहे गरिदिए ।’ उनका श्रीमान रोजगारीका लागि कालापहाड (भारत) गएका छन् । सम्पत्तिको नाममा एक टुक्रो पाखो बारी मात्र छ । ‘घरमा खाने अन्न छैन । श्रीमान्ले पैैसा पठाउनुभएको छैन । कसरी छाक टारौँ,’ उनले दर्द पोखिन्, ‘यी छोराछोरी स्याहारौँ कि ? म के काम गरूँ ?’भेरी नगरपालिका ७ की गीता अधिकारीको १४ वर्षमा बिहे भयो । ८ कक्षामा पढ्दा पढ्दै गाउँकै युवकसँग विवाह गरिन् । गतवर्ष बिहे गरेकी गीताले यो वर्ष बच्चा जन्माइसकिन् । ‘के के न होला भनेर बिहे गरेँ ।

बिहे भनेको त जेल रहेछ,’ उनले भनिन्, ‘अब त पछुताउनुशिवाय केही बाँकी रहेन ।’ बिहेसँगै उनको पढाइ छुटेको छ । श्रीमान् विदेश गएका छन् । केही वर्ष पहिलेसम्म ‘महिनावारी नहुँदै छोरीको बिहे गरिदिए पुण्य कमाइन्छ । बढेकी छोरी घर राखे बिग्रन्छे । इष्ट खोजेर बिहे गरिदिनुपर्छ’ भन्ने रुढिवादी मानसिकता बोकेका अभिभावकका कारण बालविवाह धेरै हुन्थ्यो । यही अन्धविश्वासको शिकार भइन्, धनसरी ।अहिले पढाइमा कमजोर भएका, मोबाइललगायत सञ्चार प्रविधिको बढ्दो प्रयोग, देखासिकी जनचेतनाको कमीले पनि गीताजस्ता थुप्रै बालिकाहरू उमेर नपुग्दै बिहे गरिरहेका छन् ।

महिला तथा बालबालिका कार्यालयका सुपरभाइजर शकुन्तला आचार्य टिप्पणी गर्छिन्, ‘शुरुमा रहरले बिहे गर्छन् । अहिले फुर्सदमा पछुताउँछन् ।’ उनका अनुसार सानै उमेरमा गरिने विवाहका कारण महिलाहरूले राम्रो शिक्षादीक्षा पाउँदैनन् । आत्मनिर्भर हुन सक्दैनन् । पुरुष पनि बेरोजगार हुन्छन् । जुन परिवारिक विग्रहको बीउ पनि बनिरहेको छ । उनले भनिन्, ‘बालविवाहकै कारण जिल्लामा सम्बन्धविच्छेद र घरेलु हिंसाका घटना दिन÷प्रतिदिन बढिरहेका छन् । यो एकदमै दुःखको कुरो हो ।’ गत आर्थिक वर्षमा मात्र जिल्ला अदालतमा ६९ ओटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । उमेर नपुग्दै गरिने बिहे, श्रीमान् वैदैशिक रोजगारीको लागि जाने र घरकी श्रीमतीले परपुरुषसँग अवैध सम्बन्ध गाँसेका कारण सम्बन्धविच्छेद सामाजिक विकृतिकै रूपमा रहेको कानुन व्यवसायी सहदेवजंग शाहको भनाइ छ ।

 जाजरकोटमा १९ वर्षमुनिका ७४ प्रतिशत किशोरीले बिहे गरेका छन्।

उनी सम्बन्धविच्छेदको जड नै बालविवाहलाई ठान्छन् । बालविवाह न्यूनीकरणमा विभिन्न अभियान सञ्चालन गरिए पनि बालविवाह घट्नुको सट्टा बढ्दै गएको उनले बताए । राष्ट्र्यि जनगणना २०६८ ले जाजरकोटमा १९ वर्षमुनिका ७४ प्रतिशत किशोरीले बिहे गरेको देखाएको छ । तीमध्ये पनि १५ वर्ष नपुग्दै आधाले बिहे गर्ने गरेका छन् । नेपालमा ‘बिहेवारी २० वर्ष पारी’ भन्ने छ । अर्थात् मुलुकी ऐनको बिहावारीसम्बन्धी महलमा ‘२० वर्ष उमेर नपुगेको स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे गराएको रहेछ भने ६ महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ व्यवस्था छ ।

उमेर नपुग्दै बिहे गर्ने महिलामा विभिन्न स्वास्थ्य समस्यासमेत देखापरिरहेका छन् । बहुआयामिक अध्ययन तथा विकास मञ्चले गरेको एक अध्ययनअनुसार जिल्लामा ४७ प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । यस्तै, बालविवाहकै कारण मातृ तथा शिशु मृत्यदर उच्च रहेको, कम तौलका बच्चा, पुड्का र कुपोषित बच्चाको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस