MENU

रिपोर्ट

635x90

देउवाको रोडम्याप

नवीन झा बुधवार, माघ १२, २०७३

गत फागुनमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भइसकेपछि शेरबहादुर देउवाको प्रस्ट उद्देश्य थियो, वामपन्थी गठबन्धन तोड्ने । दुई ठूला वामशक्ति एमाले र माओवादी एकै ठाउँमा रहँदा कांग्रेस कमजोर हुने बुझेर नै उनले गठबन्धन टुटाउने रणनीति अख्तियार गरे । भारत पनि यी दुई वामशक्ति एकै ठाउँमा रहेको देख्न चाहँदैनथ्यो ।

केही महिना चलेको राजनीतिक रस्साकस्सी र उतारचढावपछि एमाले–माओवादी गठबन्धन टुट्यो र बन्यो, कांग्रेस–माओवादी गठजोड । त्यही गठबन्धनअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेससहितको सरकार गठन भयो । नौ महिनापछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सहमतिअनुसार गठबन्धन निर्माण भएको थियो । सहमतिको पूर्ण पालना भए नयाँ वर्षसँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने सम्भावना छ ।

‘प्राइममिनिस्टर इन वेटिङ’ का रूपमा अहिले चित्रित गरिएका उनै देउवाको राजनीतिक रोडम्याप के होला ? सबैले चासोका रूपमा लिएको यस प्रश्नमा देउवानिकट नेता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘कांग्रेसलाई थप ऊर्जाशील बनाउनु, संविधान कार्यान्वयनको माहोल बनाउनु र छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउँदै बढ्ने कुरामा केन्द्रित हुनुहुन्छ ।’

पार्टीभित्रै असन्तुष्टि
सभापतिमा निर्वाचित भएको १० महिना बितिसक्दा पनि पार्टी सञ्चालन र व्यवस्थापन चुस्त हुन नसकेपछि अहिले उनको पार्टीभित्रै आलोचना हुन थालेको छ । निर्वाचित भएपछि जति नै गुट/उपगुट नरहने बताए पनि गुटबन्दी बढेको छ । विभाग, समितिहरूले पूर्णता पाएका छैनन् । केन्द्रीय सदस्य नै मनोनयन गर्न बाँकी छ । ‘यी सबै बाँकी काम चाँडै सकिन्छन्,’ कार्की भन्छन्, ‘सभापति राष्ट्रिय राजनीतिक मामिलामा अलि व्यस्त हुनुपरेकाले ढिलाइ भएकै हो ।’

purushottambasnetलामो समय वर्चस्व स्थापित गरेको कोइराला परिवारका सदस्यलाई पराजित गरेका देउवाले आफ्नो वर्चस्व बढाउने सोच राख्नु अस्वाभाविक होइन।पुरुषोत्तम बस्नेत लेखक

कतिपय कुरामा चाहिँ देउवा सभापति भएपछि पार्टी ‘ट्रयाक’ मा आएको उनीनिकट नेताहरू दाबी गर्छन् । ‘भातृ संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दलका आन्तरिक समस्या किनारा लगाइयो,’ कार्की भन्छन्, ‘सबैभन्दा ठूलो कुरा त हाम्रै नेतृत्वमा संविधान जारी भयो ।’देउवा पक्षधर नेताहरूले जे दाबी गरे पनि जानकार स्रोतचाहिँ स्थापित गर्ने रणनीतिअनुसार उनले नियुक्ति र विभागहरूलाई पूर्णता दिन ढिलाइ गरेको दाबी गर्छन् ।

राजनीतिक विश्लेषक पुरुषोत्तम बस्नेत भन्छन्, ‘कांग्रेसमा लामो समय वर्चस्व स्थापित गरेको कोइराला परिवारका सदस्यलाई पराजित गरेर देउवा नेतृत्वमा पुगेका हुन् । पार्टीका कमान लिएपछि उनले आफ्नो वर्चस्व बढाउने र संस्थापन भन्ने पुराना खेमालाई सिध्याउने सोच राख्नु अस्वाभाविक होइन ।’

कांग्रेसमा देउवा सुशील कोइरालाको अवसानपछि हाबी भएका हुन् । ‘महाधिवेशनपछि पार्टीको नेतृत्वमा आउने र अन्य गुटका नेतालाई विस्तारै सिध्याउने रणनीतिमा उनी देखिन्छन्,’ विश्लेषक बस्नेत तर्क गर्छन्, ‘देउवा खेमाभित्रै त्यति ठूलो समस्या सिर्जना गर्ने मानिस छैनन् । खासगरी, पार्टीको उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्रीलगायत पदमा हुने मनोयनमा पार्टीभित्रै पनि ठूलो रस्साकस्सी चलिरहेको देखिन्छ ।’ कुनैबेला गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र रहेका देउवा पछि उनीविरुद्ध मात्रै उत्रिएनन्, पार्टी विभाजनको नेतृत्वसमेत गर्न भ्याए ।

पार्टी एकीकरण भयो, दोस्रो जनआन्दोलन पछि । त्यसबेलादेखि नै पार्टीभित्र आफ्नो वर्चस्व कायम गर्न लागिपरेका देउवा सभापति भइसकेपछि पनि पार्टीभित्र कसरी बलियो पकड बनाउने भन्नेमै बढी केन्द्रित छन् ।

चाहना कमजोर एमाले
पार्टीभित्र बलियो बन्ने अनि राष्ट्रिय राजनीतिको मुख्य विपक्षीलाई कमजोर बनाउने रणनीतिमा छन्, देउवा । उनी नेतृत्वमा आएदेखि नै एमालेलाई कमजोर गराउनसके आफू बलियो होइन्छ भन्ने सोचमा छन् । जतिबेला सुशील कोइराला सभापति थिए, कांग्रेस–एमाले सहकार्य बलियो थियो । दुई ठूला पार्टी मिलेर सरकार बनाउनेदेखि संविधान निर्माणसम्मका महत्वपूर्ण भूमिका निर्वाह गरे ।

प्राइममिनिस्टर इन वेटिङ’ का रूपमा चित्रण गरिएका कांग्रेस सभापति शेरबहादुर देउवाको अबको राजनीतिक मार्गचित्र के होला ?

संविधान निर्माण भयो । मधेशीहरू त्यसको विरोधमा गए । उनीहरू आन्दोलनमा होमिए । कांग्रेसको मुख्य आधारक्षेत्र मधेशमा आन्दोलनरत मधेशी नेताहरूको व्यापक दबाब हुँदाहुँदै कांग्रेसको तत्कालीन नेतृत्व एमालेसँग मिलेर अघि बढ्यो । तर, कोइरालाको अवसानपछि कांग्रेस लगातार एमालेसँग दूरी बढाउँदै छ । मधेशी पार्टीहरूको संविधान संशोधन मुद्दामा एमाले अनुदार देखिँदा कांग्रेस त्यसको प्रखर समर्थकका रूपमा उभिन थालेको छ र एमालेप्रति देउवासहितका नेता सार्वजनिक रूपमै खनिन थालेका छन् ।

‘कांग्रेसले मधेशलाई चिढ्याएर आफनो राजनीतिक भविष्य नदेखेकै कारण पछिल्लो समयमा एमालेको मधेशविरोध मनोविज्ञानलाई भजाउन खोजेका हुन्,’ विश्लेषक बस्नेत भन्छन्, ‘पहिलो मधेश आन्दोलन उठ्दा कांग्रेसले गल्ती गरेकै कारण पहिलो संविधानसभाको निर्वाचनमा पराजय बेहोरेको हो ।’ उनका अनुसार देउवाले पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाउँदा त्यसको तराई–मधेशमा दबदबा रहनुको अर्थ हो, समीकरणका कारण काम भइरहनु ।

बहुदलीय व्यवस्थामा निर्वाचन महत्वपूर्ण हुने भएकाले दोस्रो ठूलो दल एमालेलाई कमजोर बनाउनैपर्ने रणनीति कांग्रेसले अख्तियार गर्नुपर्छ,’ बस्नेत भन्छन्, अब ढिलोचाँडो मुलुक निर्वाचनमा जान्छ, त्यसका लागि कांग्रेस नेतृत्वले एमालेसँगै प्रतिस्पर्धा गर्ने हो, त्यही भएर राणनीतिक रूपमा पनि वर्तमान कांग्रेस नेतृत्वले एमालेलाई कमजोर बनाउनै पर्छ ।’ पछिल्लो समयमा माओवादी र मधेशी पार्टीसँगको कांग्रेसको सहकार्य त्यसकै प्रतिफल भएको पनि उनको भनाइ छ ।

दक्षिणतिर ढल्किँदै
कांग्रेस नेतृत्वकै सरकारको पालामा नयाँ संविधान जारी भयो । त्यससँगै भारतसँगको सम्बन्ध चिसियो । भारतले नेपालको प्रमुख दलहरूसँग चिढिएको सन्देश लगातार दिइरह्यो । सुशील कोइरालाको कांग्रेस नेतृत्वकै सरकारको पालामा मधेश आन्दोलनको निहुँ पार्दै भारतले नाकाबन्दीसमेत गर्न भ्यायो । तर, देउवाले कांग्रेसको कमान्ड सम्हालेदेखि भारतसँगको सम्बन्धमा सुधार आएको विश्लेषण आउन थालेको छ । पछिल्लो वर्ष लगातार भारत भ्रमण गरेका उनीसँग भारतीय पक्षले गरेको व्यवहारले पनि त्यस्ता भनाइलाई बल पुर्‍याएको देखिन्छ ।

 

gyanendraदेउवा कांग्रेसलाई थप ऊर्जाशील बनाउनु, संविधान कार्यान्वयनको माहोल बनाउनु र छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउँदै बढ्ने कुरामा केन्द्रित हुनुहुन्छ। ज्ञानेन्द्रबहादुर कार्की नेता, कांग्रेस

केही महिनाअघि भारतीय सतारूढ पार्टी भाजपाको ‘थिंक ट्यांक’ले आयोजना गरेको एउटा औपचारिक कार्यक्रम देउवा चीनको दलाई लामा पक्षधरसँग एउटै मञ्चमा बसेपछि उत्तरी छिमेकीले कडा प्रतिक्रिया नै जनाएको थियो । नेता कार्की भने कांग्रेस दुवै छिमेकीसँग समान सम्बन्धका साथ बढ्न खोजेको दाबी गर्छन् । तर, विश्लेषक बस्नेतको ठहर छ, ‘वर्तमान कांग्रेस नेतृत्व दक्षिणतिर अलि बढी ढल्केको छ ।

कांग्रेस–माओवादीको संयुक्त सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र देउवाका पछिल्ला गतिविधिले त्यसैको पुष्टी गर्छन् ।’ सुशील कोइरालाका पालामा कांगे्रस र भारतको सम्बन्ध चिसिएको दाबी गर्छन्, उनी । ‘नत्र कांग्रेस नेतृत्वकै सरकारको बेलामा भारतले किन नाकाबन्दीसम्मको कदम चाल्नु पथ्र्यो,’ उनी भन्छन्, ‘पछिल्लो समयमा भारत र वर्तमान कांग्रेस नेतृत्वबीच देखिएको घनिष्टताले केही सुधार भएको देखाउँछ तर चिसिएको सम्बन्ध पूरै ठीक ठाउँमा आइसकेको छैन ।’

उनको बुझाइमा सुधारका लागि देउवाले विभिन्न पहलकदमी लिइरहेको भए पनि सार्थकता पाउन केही समय कुर्नुपर्छ । यद्यपि, ‘प्राइममिनिस्टर इन वेटिङ’ देउवाकै रोडम्यापअनुसार राजनीति बढ्छ/बढ्दैन ? त्यसमा विश्वस्त हुने आधारहरू छैनन् ।

 

 

 

प्रतिकृया दिनुहोस