MENU

राजनीति

635x90

चुनावी दाउमा ठूला नेताको प्रतिष्ठा

रविराज बराल आइतवार, कार्तिक १२, २०७४

अघिल्ला चुनावहरूमा झैं आगामी संघ र प्रदेश चुनावमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य भिडन्त हुने पक्कापक्की छ, तर यसपल्ट भिन्न रौनक थप्ने विषय बनेको छ– वाम र लोकतान्त्रिक गठबन्धनको नयाँ लहर ।

पहिलो चरणमा ३२ जिल्लामा १० मंसिरमा हुने लागेको यो चुनावमा अधिकांश क्षेत्रमा दुईपक्षीय भिडन्त हुने संकेतहरू भर्खरैको उम्मेदवारी मनोनयनबाट प्राप्त भएका छन् । यी जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ क्षेत्र छन् । एमाले र माओवादीले सबै क्षेत्रमा तालमेल गरी उम्मेदवारी दिएका छन् भने कांग्रेसले पनि राप्रपा र नयाँ शक्तिसँग तालमेल गरी उम्मेदवारी दिएको छ । राप्रपाले म्याग्दी, बैतडी र धादिङमा एक/एक प्रदेशसभा सदस्य पाएको छ । बदलामा उसले कतै पनि उम्मेदवारी नदिई कांग्रेस उम्मेदवारलाई सघाउने छ । यता नयाँशक्तिले गोरखा २ मा प्रतिनिधिसभा सदस्य र गोरखा र रसुवामा गरी दुई प्रदेशसभा सदस्यका लागि तालमेल गरेको छ । यी दुई जिल्लाबाहेक अन्यत्र भने नयाँशक्तिले उम्मेदवारी दिने छ । पहिलो चरणको उम्मेदवारी दिएका दलहरू २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्ने अन्तिम तयारीमा छन् । निर्वाचन आयोगले पहिलो चरणका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी जितहारको लेखाजोखा शुरु भइसकेको छ । अन्नपूर्ण टुडेले स्थानीय तह चुनावको परिणामको आधारमा मुख्य १० निर्वाचन क्षेत्रमा उम्मेदवारको अवस्था आकलन गरेको छ । निर्वाचन क्षेत्रभित्रका स्थानीय तहका वडामा दलहरूले पाएको मतलाई आकलनको मुख्य आधार मानिएको छ ।

गोरखा २

बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ

gorkha

गोरखा २ मा कसले बाजी मार्ला भन्ने प्रश्नको उत्तर सजिलो छैन । किनभने बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवै राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने नेता हुन् । २०६४ मा गोरखा २ र २०७० मा गोरखा १ बाट निर्वाचित भट्टराईले माओवादी परित्याग गरी गठन गरेको नयाँशक्ति गोरखामा स्थानीय तह चुनावको मतका आधारमा तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको कांग्रेससँगको चुनावी तालमेलको फाइदा भट्टराइलाई पक्कै हुनेछ तर क्रमशः पहिलो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र एमालेका साझा उम्मेदवार श्रेष्ठ पनि कमजोर छैनन् ।

२०७० को चुनावमा मकवानपुर २ बाट पराजित श्रेष्ठ यसपटक सुरक्षित क्षेत्र खोज्ने क्रममा आफ्नै गृह जिल्लाबाट चुनाव लड्न लागेका हुन् । भट्टराईलाई गोरखा २ नभई नहुने, श्रेष्ठले छोड्न नमानेपछि वाम गठबन्धनबाट बाहिरिएर नयाँशक्ति कांग्रेसको शरणमा पुगेको थियो । कांग्रेसको समर्थन रहेको भट्टराईलाई राप्रपाको पनि साथ छ । गोरखा २ को दुईपक्षीय भीडन्तमा जितहारको अनुमान गर्न स्थानीय चुनावमा यो निर्वाचन क्षेत्रमा दलहरूले पाएको मतको लेखाजोखा गर्नुपर्ने हुन्छ । गोरखा २ मा सिरानचोक, सुलीकोट र अजिरकोट गाउँपालिका तथा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाका ७ वटा वडा पर्छन् । यी स्थानीय तहका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा क्रमशः माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, नयाँशक्ति र राप्रपा आउँछन् ।

माओवादी केन्द्रले १७ हजार सात सय ४५ मत यो निर्वाचन क्षेत्रभित्रका वडाहरूमा पाएको छ भने कांग्रेसले १६ हजार ६ सय ५४ मत पाएको छ । यस्तै एमालेले सात हजार पाँच ९२ मत पाएको छ भने नयाँशक्ति नेपालले सात हजार पाँच सय ३० मत पाएको छ । राप्रपाले पाएको मत चार सय ६२ छ । एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा २५ हजार तीन सय ३७ हुन्छ भने कांग्रेस, नयाँशक्ति र राप्रपाको मत जोड्दा २४ हजार ६ सय ४६ हुन्छ । अर्थात्, भट्टराई वामगठबन्धनका श्रेष्ठभन्दा ६ सय ९१ मतले पछि देखिन्छन् । गोरखा २ का ९० हजार आठ सय ६२ मतदाताले कसलाई रोज्छन् ? अनुमान सहज छैन ।

सिन्धुपाल्चोक १

अग्‍नि सापकोटा र मोहनबहादुर बस्नेत

sindhuli1

दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि ‘हेभिवेट’ भिडन्त छ । सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका नेता अग्नि सापकोटा र सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत भिड्दैछन् । स्थानीय चुनावको मतपरिणाम केलाउने हो भने बस्नेत खतरामा रहेको देखिन्छ । यो क्षेत्रमा एमालेको २४ हजार ९७ र माओवादी केन्द्रको १९ हजार नौ सय ८५ गरी वाम गठबन्धनसँग ४४ हजार ८२ मत छ । यता कांग्रेसको २१ हजार तीन सय ९९ र राप्रपाको तीन हजार ६ सय ९९ मत जोड्दा २५ हजार ३८ मत हुन्छ । नयाँशक्ति, संघीय समाजवादी, ताम्सालिङ लोकतान्त्रिक, नेमकिपा, माले र लोकतान्त्रिक फोरम अस्तित्वमा देखिए पनि उपस्थिति न्यून छ । वाम गठबन्धनसँग कांग्रेसभन्दा १९ हजार ४४ मत बढी देखिन्छ । यस क्षेत्रमा कुल एक लाख १४ हजार तीन सय ४४ मतदाता छन् ।

सिन्धुपाल्चोक २
पशुपतिशमशेर राणा र शेरबहादुर तामाङ

sindhuli
अर्को रोचक भिडन्त सिन्धुपाल्चोक २ मा हुँदैछ, जहाँ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा छन् । ०७० को संविधानसभा चुनावमा तामाङसँगै पराजित भएका राणाले यसपटक हारको बदला लिनेछन् वा राजनीतिक जीवनको सम्भवतः अन्तिम चुनावमा पराजित हुनेछन्, अनुमान गर्न सहज छैन । तर स्थानीय चुनावमा दलहरूले पाएको मत विश्लेषण गर्ने हो भने वाम गठबन्धनलाई पराजित गर्नु राणाका लागि सजिलो छैन । यो क्षेत्रमा एमालेको ३४ हजार दुई सय ९१ र माओवादी केन्द्रको १९ हजार ६ सय १२ गरी वाम गठबन्धनसँग ५३ हजार नौ सय तीन मत छ । उता कांग्रेससँग २८ हजार आठ सय ९० र राप्रपासँग ११ हजार दुई सय सात मत जोड्दा ४० हजार ९७ मत पुग्छ । १३ हजार भन्दामाथिको मतान्तर पूर्ति गर्नेगरी मतदाताको विश्वास जित्नु राणाको लागि कम चुनौती होइन । पूर्वपञ्च राणाले बहुदल स्थापनापछि ०४८, ०५१ र ०५६ मा चुनाव जितेर ह्याट्रिक गरेका थिए । तर ६४ र ७० माओवादीका उम्मेदवारसँग उनी पराजित भए । यसपटक उनले पराजय टार्लान् वा हारमै ह्याट्रिक बनाउलान् त्यो हेर्न मतपरिणाम नै कुर्नुपर्ने हुन्छ । यो क्षेत्रमा कुल एक लाख १२ हजार एक सय ९६ मतदाता छन् ।

रुकुम पश्‍चिम
जनार्दन शर्मा र गोपालजीजंग शाह

janardan

जनार्दन शर्मा रुकुम पश्चिममा बलिया उम्मेदवार हुन् । ०६४ र ०७० मा रुकुम २ बाट निर्वाचित शर्मा पटक–पटक सरकारमा सहभागी भएर आफ्नो प्रभावकारी उपस्थिति देखाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजीजंग शाह छन् । स्थानीय चुनावको लेखाजोखा गर्ने हो भने यो क्षेत्रमा वाम गठबन्धनका शर्माले जित्ने देखिन्छ । एमाले र माओवादी केन्द्रसँग ३६ हजार तीन सय २७ मत छ भने कांग्रेससँग १८ हजार चार सय एक मत छ । करिब दोब्बर मत बढी रहेको वाम गठबन्धनलाई चुनौती दिन कांग्रेससँग भरपर्दा सहयात्री छैनन् । किनभने गठबन्धनमा रहेको राप्रपाको उपस्थिति यहाँ न्यून छ । यो क्षेत्रमा ८४ हजार ३२ मतदाता छन् ।

ताप्लेजुङ
योगेश भट्टराई र केशव दाहाल

yogesh-bhattarai

प्रदेश १ को ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल चुनावी मैदानमा छन् । ०६४ र ०७० को निर्वाचनमा काठमाडौं ६ बाट पराजित भट्टराईले यसपटक सुरक्षित क्षेत्र खोज्दै गृहजिल्ला पुगेका छन् । तर के ताप्लेजुङका मतदाताले उनलाई सुखद् जित दिलाउलान् ? नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा पाँच वटामा एमाले र चार वटामा कांग्रेसले अध्यक्ष/प्रमुख जितेका छन् ।

वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत विश्लेषण गर्दा वाम गठबन्धनको पक्षमा २५ हजार ६ सय ३१ र कांग्रेस नेतृत्वको गठबन्धनसँग १९ हजार तीन सय ५२ मत छ । दाहाललाई ६ हजार दुई सय ७९ मतान्तर पूर्ति गर्नु सहज देखिँदैन ।

स्थानीय चुनावमा ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुखमा पराजित कांग्रेस जिल्ला पूर्वसभापति दाहाललाई प्रतिनिधिसभा चुनावमा मतदाताले कसरी ‘रेस्पोन्स’ गर्छन्, मतगणनासम्म कुर्नुपर्ने हुन्छ । ०६४ को चुनावमा क्षेत्र १ मा कांग्रेसले र २ मा एमालेले जितेकोमा ७० मा भने दुवै क्षेत्रमा एमालेले जित हात पारेको थियो । यहाँ ७८ हजार चार सय ११ मतदाता छन् ।

नुवाकोट २
डा. रामशरण महत र हितबहादुर तामाङ

nuwakot

कांग्रेस नेता डा. रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङको चुनावी प्रतिस्पर्धाको सिलसिला कम्ता रोचक छैन । ०६४ र ०७० को चुनावमा महतसँग पराजित तामाङले यसपटक उनको ‘ह्याट्रिक’ रोक्छन् वा आफैं हारको ह्याट्रिक बनाउँछन् हेर्न बाँकी छ । यसअघिका निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने गरेको भए पनि यसपटक दुईपक्षीय भिडन्त भएकोले वाम गठबन्धन बलियो देखिन्छ ।

०६४ र ०७० को चुनावमा तेस्रो स्थानमा रहेको एमाले र दोस्रो हुने गरेको माओवादी केन्द्रको गठबन्धन महतका लागि चुनौती बन्न सक्छ । स्थानीय तहको मत हेर्दा कांग्रेसभन्दा एमाले अघि छ । एमालेसँग २२ हजार आठ सय ६९ मत छ भने कांग्रेससँग २२ हजार चार सय ५७ । माओवादीको १५ हजार एक सय ३१ मत जोड्दा वाम गठबन्धनसँग ३८ हजार मत पुग्छ भने कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाको उपस्थिति यस क्षेत्रमा न्यून छ । यो क्षेत्रमा एक लाख दुई हजार नौ सय चार मतदाता छन् ।

नुवाकोट १
अर्जुननरसिंह केसी र नारायण खतिवडा

nuwakot1

नुवाकोट १ मा पनि वाम गठबन्धनविरुद्ध जित हात पार्नु कांग्रेसका लागि चुनौतीपूर्ण छ । कांग्रेस नेता अर्जुननरसिंह केसी र एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाबीचको चुनावी भिडन्तको नतिजा अनुमान गर्न सहज छैन तर स्थानीय चुनावको मतका आधारमा हेर्दा वाम गठबन्धनको स्थिति बलियो छ । स्थानीय चुनावमा कांग्रेसले २२ हजार सय १७ मत ल्याएको छ भने राप्रपाको एक हजार आठ सय ४१ मत छ । यता वाम गठबन्धनसँग भने एमालेको १८ हजार नौ सय ६३ र माओवादी केन्द्रको १८ हजार ८० गरी ३७ हजार ४३ मत छ । ११ हजार भन्दा बढीको मतान्तर पूर्ति गरी विजयी हुनु केसीका लागि सजिलो छैन । ०६४ को चुनावमा माओवादीसँग पराजित केसी ७० मा भने यही क्षेत्रबाट निर्वाचित भएका थिए । यहाँ एक लाख पाँच हजार दुई सय ८७ मतदाता छन् ।

रोल्पा
वर्षमान पुन र अमरसिंह पुन

rolpa

२०६४ मा ललितपुर १ बाट निर्वाचित माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ०७० मा मोरङ ९ बाट पराजित भए । यसपटक उनी आफ्नै गृहजिल्ला रोल्पाबाट चुनाव लड्दैछन् र उनका प्रतिस्पर्धी छन्, कांग्रेस रोल्पाका सभापतिसमेत रहेका वर्तमान सिँचाइ राज्यमन्त्री अमरसिंह पुन ।
माओवादी केन्द्रको प्रभाव क्षेत्र रोल्पामा एमालेको १४ हजार पाँच सय ८८ सहित वाम गठबन्धनमा ४६ हजार नौ सय चार मत छ । यता कांग्रेससँग २२ हजार पाँच सय ७० मत छ । राप्रपाको समेत मत जोड्दा पनि वाम गठबन्धनसँग दोब्बर मत देखिन्छ । स्थानीय तह चुनावको परिणामका आधारमा विश्लेषण गर्दा यो क्षेत्रमा वर्षमान पुनविरुद्ध जित निकाल्नु कांग्रेस उम्मेदवार पुनका लागि फलामको चिउरा चबाउनुसरह देखिन्छ । रोल्पामा एक लाख २७ हजार ६ सय ६८ मतदाता छन् ।

जाजरकोट
शक्तिबहादुर बस्नेत र राजीवविक्रम शाह

jajarkot

७० को चुनावमा दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटमा १ बाट माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेस नेता राजीवविक्रम शाह विजयी भएका थिए । तर यसपटक जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि यी दुई चुनावी मैदानमा आमनेसामने भएका छन् । स्थानीय चुनावको परिणाम हेर्दा वाम गठबन्धनको सामना गर्नु शाहका लागि सजिलो देखिँदैन । एमालेसँगको २० हजार तीन सय ७३ र माओवादी केन्द्रको १६ हजार नौ सय २५ जोड्दा ३७ हजार दुई सय ९८ हुन्छ, तर कांग्रेससँग १९ हजार पाँच सय ५७ मतमात्र छ । १७ हजारभन्दा बढीको मतान्तर पूरा गर्नु कांग्रेसका उम्मेदवार शाहका लागि त्यति सहज देखिँदैन । जाजरकोटका ८३ हजार नौ सय ३६ मतदाताले बस्नेत र शाहको संघीय संसद्को यात्रा तय गर्नेछन् ।

लमजुङ
देव गुरुङ र दिलबहादुर घर्ती

lamjung

२०६४ को संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर १ र मनाङबाट विजयी भएका माओवादी केन्द्रका नेता देव गुरुङले यसपटक लमजुङबाट उम्मेदवारी दिएका छन् । स्थानीय तहको चुनावमासमेत जिल्लामा गठबन्धन गरेर चुनाव लडेका एमाले र माओवादी केन्द्रले वडाहरूमा ४० हजार नौ सय ९५ मत ल्याएका छन् ।

यता कांग्रेसको ३२ हजार सात सय १४ मत छ । राप्रपाको मत नगन्य भएकोले यसबाट घर्तीलाई धेरै राहत मिल्ने देखिँदैन । स्थानीय चुनावको परिणामका आधारमा कांग्रेसका उम्मेदवार घर्तीभन्दा गुरुङको स्थिति बलियो देखिन्छ तर अन्तिममा मतदाताले कसलाई रोज्छन् भन्ने थाहा पाउन परिणाम नै पर्खिनुपर्ने हुन्छ । लमजुङमा कुल एक लाख १५ हजार चार सय ४९ मतदाता छन् ।


 

प्रतिकृया दिनुहोस