MENU

कविता

635x90

आमा : तोरीको दाना (कविता)

स्वप्‍निल स्‍मृति् आइतवार, आश्विन ८, २०७४

‘‘आओ नानु आओ
सुत नानु सुत, भरे बिहान उठ
तिम्रो लागि ‘मुन्’ मेरो लागि जून
अस्ताई सक्यो अब, बन्द गर कार्टुन !
लोहोई नानु लोहोई रिमोट लेऊ त खोई !
आओऽऽऽओ !’’

....नि लै लै...
त्यसै धर्ती भनेका होइन रहेछन् आमालाई
ममताको सागर
प्रेमको सगरमाथा
यस्तै यस्तै ....
त्यसै त भनेका होइन रहेछन् ।

‘‘महान् हुन् आमा ’’
शायद यो पुरुषहरूको भाष्य हो !
एउटा पुरुष हो कि म मानिस ?
प्रश्न गर्छु–
के अब पनि महान् हुन सक्छिन् आमा ?
जबकि बजारको एक्काइसौं शदि हो यो ।

‘‘आओऽऽऽओ !’’
नि मेरो छोरो
उमेर उल्टो हिँडेर आमा नै छोरो भएजस्तो
दुरुस्तै हो आमाजस्तो,
मेरो छोरो !
भोक लाग्छ आमालाई
क्वाप्प खानु मिल्दैन सन्तानलाई
र न गइन् तिम्रो आमा कतै,
शायद मरुभूमि गइन् चरि खान !
समुद्र तरिन् तिर्खा तृप्त हुन !!
हिमाल काटिन् स्वभिमान उच्च पार्न !!!
– थाहा छैन ।

के के हो जिन्दगीमा–
मेरो माया
तोरी झैं फुल्यो शुरुमा त सर्लक्कै,
पाकेपछि पो छरपस्ट भयो
कोषा फुटी उछिट्टिने तोरीको दाना झैं,
एउटा पुरुष हो कि म मानिस ?
सकिन बटुल्न पोखिएको माया
तोरीका सबै एक–एक दाना
अर्थात् तिम्रो आमा–
‘‘आओ छोरो आओ !’’

कत्ति विशाल छ यो धर्ती अर्थात् आमा !
तै सबै सन्तानलाई अपुग छ
रुनलाई एउटा–एउटा कुना ?
मेरो छोरो, अहो !
कुक्रुक्क सुतेको छ कुनातिर फर्केर
– रिमोट चेपेर
– दुई हात बाँधेर ।
शायद यो धर्तीकै सुगम कुना हो
जहाँ रातैपिच्छे
मेरो छोरोको चिम्सो आँखाभित्र
प्रवेश गर्छिन् आमा अर्थात् तोरीको दाना । ि

प्रतिकृया दिनुहोस