MENU

कविता

635x90

म गुराँस हुँ

रञ्जना निराैला मंगलवार, माघ ४, २०७३

म गुराँस हुँ
म गुराँस नै हुँ
पुलेर भीरपाखा
दीप्त बनाएको देखी
नखुट्याऊ मेरो भूगोल
अप्ठ्यारो सजिलो
जहाँ पनि फुल्न सक्ने
यो त मेरो स्वभाव हो !

म गुलाब हुँ
म गुलाब नै हुँ
कोमल सुन्दरतासँगै
काँडाहरूको माझ
मुस्कुराएको देखी
नछुट्याऊ मेरो परिवेश
काँडाहरूलाई टेकेर उठ्ने
यो पनि मेरो स्वभाव हो !

म जून हुँ
म जून नै हुँ
स्निग्ध उज्यालो ल्याउन
अँध्यारो माझ्दा
मेरा परेलीबाट
झरेका शीतहरूलाई
मेरो आँसु मानी
नदेखाऊ दया
आँखाहरू रमाउँछन्
सदा पानीभित्रै
यो पनि मेरो स्वभाव हो !

म मुस्कान हुँ
म खुसी हुँ
समयले मलाई गरेको
सम्बोधन सुन्न
मौन बसेका मेरा ओठ देखेर
नगर मेरो जीवनको परिभाषा
तिम्रो विचारले
गुनासो नराखी
समयलाई सुन्ने
यो पनि मेरो स्वभाव हो !!

हो गुराँस हुँ म, गुलाब हुँ
गुराँसलाई दिने कस्तो रंग छ र तिमीसँग ?
गुलाबलाई सिँगार्ने कस्तो कला छ र तिमीसँग ?
जूनलाई उष्ण पार्ने कस्तो विधि छ र तिमीसँग ?

त्यसैले
भो नखुट्याऊ, न औंल्याऊ र न छुट्याऊ
मेरो अस्तित्व
किनकि गुराँस हुँ, गुराँस नै रहन देऊ
म गुलाब हुँ, गुलाब नै रहन देऊ !

 

प्रतिकृया दिनुहोस