फोटो फिचर
कहिलेसम्म यो छाउ पीडा ! (फाेटाे कथा )

पवित्रादेवी जैसी(२९) (दायाँ) र शारदा जैसी(३०) (बायाँ) छाउपडीमा आफ्ना केटाकेटीहरूसँग ।
१६ वर्षीया रोशनी तिवारी सधैंजसो जंगलबाट घाँसदाउरा लिएर साँझ घर आइन् । पुसको जाडो अछामका गाउँबस्तीहरूलाई छुन आइसकेको थियो । आमा दिलु तिरुवाले छोरीलाई चिसो नलागोस् भनी घर नजिकैको छाउघरमा आगो बालिसकेकी थिइन् ।रोशनीले खाना खाइन् । त्यो महिनावारीको तेस्रो दिन थियो । उनी छाउघर छिरिन्, बाबु बाजेदेखिको चलनचल्तीमा रहेको छाउपडी प्रथालाई निरन्तरता दिन ।
अछामकी पवित्रा देवी जैसी (२९) छाउगोठमा पस्दै ।
रोशनी छाउघर छिर्न त छिरिन्, तर कहिल्यै बाहिर ननिस्कने गरी । भोलि बिहान अबेरसम्म छोरी उठेको नदेखेपछि ढोका फोरेर हेर्दा त्यहाँ मृत शरीरमात्रै थियो । समाचारअनुसार रोशनीको मृत्यु निसास्सिएर भएको देखिन्थ्यो । त्यो दिनदेखि आमा दिलुको मानसिक सन्तुलन खलबलिएको छ । प्रथा धान्ने हुँदा ज्यान गुमाउन पुगेकी छोरीको वियोग बिर्सन के सक्थिन्, उनी !
पवित्रा देवी जैसी नुहाउन जाँदै ।
रोशनी मात्र होइन विगत १० वर्षमा नौ महिला तथा किशोरीहरूले छाउपडी प्रथाको शिकार बनेर ज्यान गुमाइसकेका छन् । सुदूरपश्चिमका जिल्लाहरूमा अझै प्रचलित छाउपडी प्रथा महिनावारी हुने महिला र किशोरीहरूका लागि अनिवार्यजस्तै हो । यो चलनअनुसार महिला तथा किशोरीहरूले छाउ हुँदा सातदेखि नौ दिनसम्म घरबाट छुट्टै साँघुरो छाउगोठमा बस्ने गर्छन् ।
पवित्रा देवी जैस बाहिर खाना खादै ।
यस अवधिमा घरभित्र गए देउता रिसाउने अन्धविश्वास त्यहाँ छ । गाउँको कुलोमा जान, धारामा नुहाउन वर्जित छ । छाउगोठ नगई अन्य कार्यमा सरिक भए परिवारका सदस्य आफन्त बिरामी पर्ने, जंगलबाट बाघ, सर्प आदि आई घरपालुवा जनावर खाइदिने, साँपले टोक्नेजस्ता मान्यता समाजमा छ ।
अछामकी पवित्रा देवी जैसी (२९) कर्कलाको पातमा ओतिएर खाना कुर्दै ।
महिनावारी अवधिमा महिलाहरूले गोरुलाई छोएमा गाईले दूध दिन बन्द गर्ने, पतिलाई छोए ऊ बिरामी पर्नेजस्ता भ्रमपूर्ण धारणाहरू व्याप्त छन् । नेपाली समाजमा अद्यापि रहेका यस्ता विभेदकारी प्रथाहरूले महिला र किशोरीहरूको आधारभूत मानवअधिकार हनन् मात्रै गरेको छैन, विश्वमञ्चमा नेपालबारे नकारात्मक बिम्बसमेत निर्माण हुन पुगेको छ ।
अछामकी विरालटोली गाउँमा छाउघरको छेउमा गाउँलेले मारेको सर्प ।
अहिले यो प्रथा हटाउने प्रयासहरू हुन थालेका छन् । विभिन्न सामाजिक संस्था तथा स्थानीय युवा समूहहरू जागरुक हुँदैछन् । भर्खरै छाउ प्रथाविरुद्धको कानुन संसद्मा सर्वसम्मतबाट पारित भएको छ, तीन महिना जेल र तीन हजार रुपैयाँ जरिवानासहितको ।
हत्केलामा मृतक रोशनी तिवारीको तस्बिर ।
छाउप्रथा समाजको एक विचार हो, कुनै पनि कानुनले तुरुन्तै यसलाई हटाउन नसक्ला, बरु सामाजिक मूल्य मान्यतामा परिवर्तन ल्याउन पहल गर्ने हो कि ? १८ वर्षीया ध्रुवा तिमल्सिना आफू बसेको छाउगोठबाट भन्दै थिइन्, ‘म आफू आर्थिक तथा सामाजिक रूपमा सक्षम नभइकन यो प्रथाविरुद्ध लड्न सक्दिनँ ।’
महिनावारी भएका महिलाहरू अछामको एक मेलामा अलग्गै बसिरहेको अवस्था ।
लक्ष्मी भण्डारी बिहानै छाउघरबाट निस्कदै ।
छाउघर भित्र भावुक मुद्रामा पवित्रा देवी जैसी ।
प्रतिकृया दिनुहोस