फोटो फिचर
इम्जा अझै खतरामा (फाेटाेफिचरसहित )

नेपालमा विष्फोटन खतरामा रहेका २१ ‘ग्लेसियर’मध्ये इम्जा हिमताल पहिलो सूचीमै पर्छ । गत मंसिरमा सेनाको प्राविधिक टोलीले इम्जातालको साढे तीन मिटर जलसतह घटायो । यो प्रयास जोखिम न्यूनीकरणको अपेक्षा थियो । तर, तालले क्षेत्र विस्तार गर्ने क्रम झन् झन् बढाउँदै गएकाले अझै खतरामुक्त हुन सकेको छैन । ‘इम्जा हिमताल खतरा नै थियो । अझै खतरा नै छ,’ खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निमादार्जी शेर्पा भन्छन्, ‘इम्जा फुट्छ भन्ने सन्देशले हामीलाई चिन्तित बनाएको छ ।’तालको पानी ५० मिटर लामो नहरबाट इम्जा खोला हुँदै दूधकोशीमा मिलाइएको छ । हिउँ पग्लिने क्रम बढ्दो छ ।
जसबाट उत्तर, दक्षिण र पश्चिमी क्षेत्रबाट तालको क्षेत्रफल बढ्दै गएको छ । सन् १९६० सम्म सानो पोखरीको रूपमा अस्तित्वमा रहेको यो हिमताल अहिले सवा एक वर्ग किमिमा फैलिएको छ । ताललाई पैदल एक फन्को लगाउन करिब तीन घण्टा लाग्छ । तालमा सात करोड ५२ लाख घनमिटर पानी रहेको विभिन्न अध्ययनले देखाएको छ । तर, पछिल्लो समय पानी बढेको बढ्यै छ ।
ल्होत्सेसार हिमालको फेद हँुदै फैलिएको तालको दूरी अहिले गुणात्मक रूपमा फैलिँदै गएको छ । जलसतह घटाए पनि हिउँ पग्लिने क्रमसँगै तालको क्षेत्र फैलिएर खतरामुक्त बन्न सकेको छैन ।समुद्र सतहदेखि इम्जा पाँच हजार १० मिटर उचाइमा छ । नेपालका चार हजार मिटरमाथिका दुई हजार एक सय ११ तालमध्ये सबैभन्दा ठूलो इम्जाताल नै हो ।
कुनै पनि वेला हिमताल पग्लेर फुट्न सक्ने भनी विश्व वातावरण कोष (जीईएफ) र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को करिब ३१ करोड रुपैयाँ खर्चेर पानी सतह घटाए पनि खतरा उस्तै छ । सन् १९९२ देखि जल तथा ऊर्जा आयोगले अध्ययन गर्दै विभिन्न रिपोर्ट प्रकाशन गरेपछि सन् २००९ मा इसिमोडले च्छोरोल्पा, इम्जा र ठुलागीको थप अध्ययन गरी विस्फोटन हुने खतराको रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसपछि खुम्बुवासीले इम्जालाई ‘सत्रु’ ठानेका छन् ।
जलसतह घटाए पनि हिउँ पग्लिने क्रमसँगै तालको क्षेत्र फैलिएर खतरामुक्त बन्न सकेको छैन।
खुम्बु क्षेत्रका दिङबुचे, सोमारे, पाङबोचे, दिबुचे, फुङीठागा, जोरसल्ले, फाक्दिङ र सोलुखुम्बु हुँँदै बग्ने दूधकोशी नदीअन्तर्गतका सुर्के, जुभिङ, वासा, वाकु, पावै, देउसा, मुक्ली, पञ्चन, जुबु, तुङनटार, रेबुवावासी ताल फुट्ने खबरले बेचैन छन् ।हिमताल खतराको स्रोत बन्नुको कारण भने बढ्दो विश्व तापमान हो । इसिमोडको तथ्यांकले पछिल्लो पाँच वर्षको अन्तरमा सन् २०१७ सम्ममा ०.०५६ डिग्री तापक्रम वृद्धि भएको छ । नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय गतिविधिका कारण जलवायु परिर्वतनको असर सीधै हिमालमा पर्दा पाँच हजार चार सय मिटरमा पाइने हिँमरेखा पाँच हजार सात सय मिटरमा पुगेको छ । सेता हिमाल नांगिँदै काला बन्दै गइरहेका छन् ।
कार्बन उत्सर्जनमा कमी गरेवापत मुलुकले प्राप्त गरेको अर्बौ रकम खर्चि पनि ठोस उपलब्धि भएको छैन ।‘हिमताल कहिले के हुन्छ भन्ने अनुमान विज्ञले समेत गर्न सक्दैनन्,’ जल तथा मौसम विज्ञान विभागअन्तर्गत समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजनाका वरिष्ठ प्राविधिक सल्लाहकार प्रवीणदास मास्केले भने, ‘तालको पानी निकास गर्ने प्रयास जोखिम न्यूनीकरणको सन्देश मात्र हो ।’ उनको भनाइबाट पनि खतरा पूर्ण रूपमा नटरेको प्रस्ट हुन्छ ।
प्रतिकृया दिनुहोस