MENU

पात्र/प्रवृत्ति

635x90

दीर्घकालीन विचार निर्माणको स्रोत ‘पुस्तक ’ : ओबामा

अन्‍नपूर्ण टुडे बिहिवार, श्रावण २६, २०७४

जीवनप्रतिको दृष्टिकोण, विश्वास प्रणाली र विश्वदृष्टि निर्माणका लागि पढ्ने र लेख्ने अमेरिकी राष्ट्रपतिमा लिंकनपछि बाराक ओबामा नै पर्छन् । जनवरी २०१७ मा राष्ट्रपतिबाट निवृत्त हुनु केही दिनअघि ओबामाले न्युयोर्क टाइम्सकी प्रमुख पुस्तक समालोचक मिचिको काकुतानीसँग पुस्तकले उनको राष्ट्रपतिकाल र समग्र जीवनमा खेलेको महत्वपूर्ण भूमिकाबारे कुरा गरे । पुस्तक युवावस्थामा किन महत्वपूर्ण साथी बने र उनको पहिचान र विचार निर्माणमा कसरी सघाए भन्नेमा ओबामाको संवाद केन्द्रित थियो । 

ह्वाइट हाउसको आठवर्षे बसाइमा उनलाई धेरै जानकारी आउँथे, कतिपय अवस्थामा तुरुन्तै प्रतिक्रिया दिनुपर्ने गरी । विभाजनकारी विचार बोक्नुपथ्र्यो, विसंगतिपूर्णजस्ता लाग्ने निर्णय गर्नुपथ्र्यो । यस्तो बेलामा पुस्तक नै ओबामाका लागि दीर्घकालीन विचार निर्माणका स्रोत हुन्थे । पुस्तकले मानवीय संसारमा हुने जटिलता र विसंगति बुझ्न सहयोग गर्थे । 

घटनाक्रम छिटोछिटो अघि बढिरहँदा र धेरै जानकारी आइरहँदा पुस्तकले खासगरी दुई तरिकाले आफूलाई अमूल्य योगदान दिएको ओबामा ठान्छन् । पुस्तक पढाइले जीवनको गतिलाई केही ढिलो बनाएर दृष्टिकोण बनाउन खुराक र समय दिएको र आफूलाई अरूको ठाउँमा राखेर विश्वलाई बुझ्ने अवसर दिएको उनी ठान्छन् । भन्छन् ‘पुस्तक पढ्ने बानीले मलाई राम्रो राष्ट्रपति बन्न सघायो/सघाएन थाहा छैन, तर मेरो राष्ट्रपति काललाई सन्तुलित बनाउन भने अवश्य योगदान गरेका छन् ।’ 

ओबामा भन्छन्, ‘एकदम अप्ठेरो अवस्थामा राष्ट्रपतिको काम एक्लोपनको आभास गराउने खालको हुन्छ । यस्तो बेलामा लिंकन, मार्टिन लुथर किङ जुनियर, गान्धी र नेल्सन मण्डेलाका लेखन कृति उपयुक्त हुन्छन्, पढ्नका लागि । कोसँग ऐक्यबद्धता जनाउने भन्ने निर्णय लिन यस्ता पुस्तक सहयोगी हुन्छन् । कहिलेकाहीँ इतिहासमा यस्तै एक्लोपन महसुस गरेका व्यक्तिहरूको अनुभव पनि खोजेर पढ्नुपर्ने हुन्छ सान्त्वनाका लागि ।’ लिंकनजस्तै ओबामाले पनि आफ्नाबारे जानकारी दिन र विचार, आदर्श अरूलाई बताउन लेख्न सिके ।

हुन पनि लिंकन, मार्टिन लुथर किङ र ओबामामा एक किसिमको निरन्तरता पाइन्छ । ओबामाको अमेरिकाका विद्यमान रंगभेद र अन्यायपूर्ण व्यवहारलाई विश्व र अमेरिकाको इतिहासको परिदृ श्यमा देखाउने शब्द र भाषा प्रयोगको शैली लिंकन र किङबाट प्रभावित छन् । लिंकन र किङलेझैं ओबामाले पनि अमेरिका आदर्श समाज बन्न अझै धेरै सुधार हुनुपर्ने बताउँछन् । अमेरिका र अमेरिकीले बद्लिँदो मान्यताअनुरूप निरन्तर आफूलाई पुनःपरिभाषित गर्नुपर्ने ओबामा ठान्छन् । 

ओबामाको इतिहासबारे विस्तृत तर सूक्ष्म जानकारी हुनुपर्ने र लोकतन्त्र आफैँ नजोगिने र यसलाई जोगाउन कडा मिहिनेत गर्नुपर्ने धारणा उनले पुस्तक पढेर बनाएको बलियो विश्वास हो । शेक्सपियरका कृतिमा भनिएझैं मानव जीवन र मानव समाज क्रूरता, मूर्खता, गल्तीका साथसाथै लचकता, सौम्यता र अनुशासनको मिश्रित रूप हो भन्ने ओबामाको बुझाइ बन्नुमा पनि पुस्तककै हात छ ।

 राष्ट्रपतिका रूपमा अमेरिकाकै भूतपूर्व राष्ट्रपतिहरूको जीवनीले पनि आफूलाई सन्तुलित बनाउन र प्रेरित गर्न सहयोग गरेको ओबामा बताउँछन् । भन्छन्, ‘कहिलेकाहीँ अप्ठेरो परिस्थिति सामना गरिरहँदा आफूले सामना गर्नुपरेको समस्या आफूलाई मात्रै परेको र गाह्रो हो जस्तो लाग्छ । तर, रुजवेल्टले दोस्रो विश्वयुद्धको अनिश्चित समयमा कसरी नेतृत्व गरे होलान् भन्ने सोचले सान्त्वना दिन्छ । त्यो अनुभव पनि पढेरै थाहा पाइन्छ ।’ 


ओबामा भन्छन्, ‘कहिलेकाहीँ आफ्नो दैनिक जीवनभन्दा फरक प्रसंगको पुस्तक पढेर पनि केही सिकिन्छ । जस्तो चिनियाँ लेखक लिऊ सिजिनले लेखेको वैज्ञानिक कृति ‘दी थ्री बडी प्रोब्लम’ पढ्दा अमेरिकी कंग्रेससँगको आफ्नो विवाद सानोजस्तो लाग्छ । सो पुस्तकमा बाहिरी ग्रहका जीवहरू (एलियन)ले पृथ्वीमा आक्रमण गरेर यसलाई कब्जा गर्ने कथा छ । कब्जामै परेपछि कंग्रेससँगको विवाद केका लागि ?’ १९९५ मा प्रकाशित उनको पुस्तक ‘ड्रिम्स फ्रम माई फादर’मा ओबामाले युवावस्थादेखि नै पढेका पुस्तकले कसरी आफ्नो विश्वास प्रणाली बनाए भन्ने उल्लेख गरेका छन् ।

त्यसबेला उनी बाल्डविन, एलिसन, ह्युगेज, राइट र माल्कोम एक्स जस्ता लेखकका पुस्तक पढ्थे । उनका अनुसार रंगभेद कायमै रहेको अमेरिकामा ‘कालो वर्ण’को आफूलाई कसरी अगाडि बढाउने भन्ने तयारीका लागि उनले ती लेखकका पुस्तक पढ्थे । उनको क्याम्पस जीवनका अन्तिम दुई वर्ष भने उनले सेन्ट अगस्टिन, नित्से, इमर्सन, सात्र र नेइवरजस्ता दर्शनशास्त्रीका पुस्तक पढे र आफूलाई आत्ममूल्यांकनमा केन्द्रित गरे । 

पुस्तकप्रति ओबामाको लगाव कस्तो छ भने अहिलेसम्म पनि पुस्तक पढाइ उनको दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनेको छ । उनले हालसालै छोरी मालियालाई दिन चाहेका किताबहरू भएको किन्डल दिएका छन्, जसमा ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’, ‘दी गोल्डन नोटबुक’, ‘दी वुमन वारिअर’जस्ता पुस्तक छन् ।

ओबामाको अमेरिकाका विद्यमान रंगभेद र अन्यायपूर्ण व्यवहारहरूलाई विश्व र अमेरिकाको इतिहासको परिदृश्यमा देखाउने शब्द र भाषा प्रयोगको शैली लिंकन र किङबाट प्रभावित छन्।

प्रत्येक दिनजसो रात छिप्पिएपछि करिब एक घण्टाजति समसामयिक आख्यान र गैरआख्यानका कृति पढ्ने गरेका छन् । हालसालै आख्यानमा उनले ‘दी अन्डरग्राउन्ड रेलरोड’ र गैरआख्यानमा डेनियल काहनेमानको ‘थिंकिङ फास्ट एन्ड स्लो’ र एलिजावेथ कोलबर्टको ‘दी सिक्स्थ एक्सटिङसन’ पढे । उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित नभएका यस्ता पुस्तकले उनलाई दिनभरि पढ्नुपर्ने ‘ब्रिफिङ’ र ‘पोलिसी पेपर्स’भन्दा फरक संसारमा लैजान्छन् र ‘राष्ट्रपतीय’ जीवनशैलीबाट केही मुक्ति दिन्छन् ।

उपन्यासले उनलाई अहिले सर्वसाधारण मानिसको जीवन कसरी अगाडि बढिरहेको छ भनेर बुझ्न सहयोग गरेको ठान्छन् । उदाहरणका लागि मेरिलिन रोबिनसनको उपन्यासले उनलाई सन् २००८ को राष्ट्रपतीय निर्वाचनको क्रममा आयोवा प्रान्तमा भेटिएका मानिस र अमेरिकाको मध्यपश्चिम क्षेत्रका आफ्ना आमातिरका हजुरबा र हजुरआमा जस्ता कडा मिहिनेत गर्ने, इमानदार र सरल व्यवहार भएका मानिस सम्झाएको ओबामाले बताए ।

भीएस नइपाउलको उपन्यास ‘अ बेन्ड इन दी रिभर’ले क्रियाशील नहुने मानिसको लागि पृथ्वीमा केही पनि नभएको भनी दिएको सन्देश आफूलाई शिक्षामूलक लागेको ओबामा ठान्छन् । पढ्ने र लेख्ने बानीले व्यक्तिगत रूपमा आफ्नो वर्ण, परिवार र वर्गको स्थान अमेरिकी समाजमा कहाँ छ भनेर बुझ्न सघाएको उनको धारणा छ । 

छोटा कथाका लेखक 

युवावस्थामा ओबामा सिकागोमा समुदाय व्यवस्थापक (कम्युनिटी अर्गनाइजर)को काम गर्थे, त्यसैबेला उनले कामबाट फर्किएपछि दैनिकी र छोटा कथा लेख्न थाले, कामका बेला उनले भेट्ने मानिसहरूसँगको अन्तरक्रियाको आधारमा । ओबामा स्वयं पनि एक किसिमले अमेरिकी समाजमा ‘बाहिरको मान्छे (आउटसाइडर)’ जस्ता थिए । उनका पिता केन्याका थिए र उनी दुई वर्षको हुँदा उनलाई छाडेर गएका थिए । त्यसपछि उनकी आमाले एक इन्डोनेसियनसँग विवाह गरेपछि उनको बालककालमा केही समय इन्डोनेसिया पनि बसे । बाल्यकालदेखि नै उनी एक किसिमले विस्थापित जस्ता भए । यस्तै अनुभव र बुझाइले मानिसलाई एक अर्कालाई बुझ्न सघाउँछन् । 

उनले समाजबाट सिकेको बुझाइ उनको राष्ट्रपतीय निर्वाचन प्रचारका मुद्दाहरू बने । सुरक्षित र सम्मानयोग्य रोजगारी, बालबच्चाको सुरक्षित भविष्यको चाहना उनका चुनावी मुद्दा थिए । यस्ता मुद्दाले अमेरिकी बीचको विभेद र विभाजनलाई पुर्दै लग्ने ओबाको विश्वास थियो । ध्रुवीकृत हुँदै गइरहेको अहिलेको विश्वमा इन्टरनेटले मानिसलाई आफूसँग विचार मिल्ने मानिससँग मात्रै नजिक्याएको ओबामाको बुझाइ छ । यस्ता समूहले मानिसका विश्वास र पूर्वाग्रहलाई झन् झन् बलियो बनाउने ओबामा ठान्छन् । राम्रा उपन्यासले सत्यसँग साक्षात्कार गराइदिने ओबामा ठान्छन्, चाहे त्यो हामीले सुन्न र पढ्न नचाहेको कुरा नै किन नहोस् । 

जुनोट डायज र झुम्पा लहिरीका आख्यानले समसामयिक विश्वमा आप्रवासीका मनोदशा झल्काउने ओबामाको बुझाइ छ । बाहिरबाट आएर अमेरिकामा बस्नेहरूमा अमेरिकाजस्तो समृद्ध समाजप्रतिको आकर्षण छ, तर उनीहरूमा आफ्नो मूलथलो छोड्नुपर्दा विस्थापित हुनुपरेको मानसिक छटपटी पनि छ । फिलिप रोथ र साल बिलोका आख्यानमा अमेरिकामा आएका अरू देशका मानिसहरूले अनुभव गर्नुपर्ने ‘आउटसाइडर’को अनुभव र त्यस समाजमा एकीकृत हुन चाहने भावनाबारे लेखिएको ओबामा ठान्छन् । 

ओबामा ह्वाइटहाउस छिर्नुअघि लेखक थिए र निवृत्त भएपछि पनि लेखक नै बन्न चाहन्छन् । उनी आफ्ना संस्मरण र ह्वाइटहाउस हुँदाका दैनिकीमा काम गर्दैछन् । तर कार्यव्यस्तताका कारण ती दैनिकी व्यवस्थित छैनन् । राष्ट्रपतिबाट निवृत्त हुनु केही साता अगाडि ओबामाले आफूले रुचाएका उपन्यासकारहरू– डेभ एगर्स, ह्वाइटहेड, ज्याडी स्मिथ, डायज र बारबारा किङसल्भरहरूलाई भेटेका थिए । उक्त भेटमा उनले अमेरिकाको राजनीति र सञ्चारमाध्यमका अलावा उनीहरूका पुस्तक यात्राका बारेमा पनि बातचित गरेका थिए । उनले त्यस भेटमा उनी पुस्तकको पहिलो ड्राफ्ट कसरी लेख्छन् भनेर पनि छलफल गरेका थिए । 

ओबामाले उनको वेबसाइटबाट राम्रा पुस्तकको प्रबद्र्धन गर्न चाहन्छन् र राम्रा पुस्तकप्रति मानिसका आकर्षण बढाउन चाहन्छन् । उनको बेवसाइटमा उनले केही पुस्तक पढ्न सिफारिश गरेर यो कामको शुरुवात गरिसकेका छन् । यसले सार्वजनिक रुपमा पुस्तकका बारेमा छलफल बढाउने उनको विश्वास छ । (यो भावानुवाद १६ जनवरी २०१७ को न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा आधारित छ ।) 

 

प्रतिकृया दिनुहोस